“.....बाहिरको तापक्रम ३२ डिग्री सेल्सीयस रहेको छ ..... ” एयरहोस्टेसले प्रायगरी उडान अवधिभर दुईचोटी बोल्छन्, उडान र अवतरणका बेला । सिर्जनशील नहुदाँनहुदै पनि युवतीको आकर्षण छ यो पेशामा । सायद पैसा नै होला । उनीहरु बोल्दा त्यहाँ नयाँपन केही हुन्छ भने त्यो हो सम्बन्धित क्षेत्रको बिमानस्थलको वरपरको तापक्रम । जेठ २२ गते चन्दग्रढीमा अवतरण भएपछि सुरिलो स्वरमा भट्याउने बिमानपरिचारीका हेर्दा ठिकै राम्री हुन्, ले अरु सधै भन्ने कुरा भनिन् तर मेरो ध्यान भने ३२ डिग्रीमा नै केन्द्रित भयो । अर्को तिर बस्ने रजनी र एलिजावेथलाई हेरे, उनीहरुको ध्यान पनि ३२ डिग्रीतीरै केन्द्रित छ भन्ने आभाष पाउन मुस्किल परेन । सामानको प्रतिक्षा गरिरहँदा मन्द मुस्कानमा रुपवती एलीजावेथ भन्दैथिन्, “म त पसिनाले नुहाइरहेकी छु ।” सायद मेरोलागि पनि गर्मि चर्कै थियो । रजनी, त्यसै त खान्दानी ज्यान, पसिनाले निथ्रुक्कै । एलिजाबेथसँग हो मा हो मिलाउनु उनको बाध्यता थियो । सामान संकलन गर्दै दुबैलाई हेरे लाग्यो दुवै जना दुःखी छन् ।
रजनी, एलिजावेथ र म यो उखर्माउलो गर्मिमा हिडेका थियौ बिर्तामोड । भोलिपल्ट कार्यक्रम थियो पुर्वको इलाम, झापा, पाँचथर, ताप्लेजुङ, मोरङ, सुनसरीका मिडिया व्यवस्थापकहरुसँग व्यवस्थापकीय चुनौतीका बारेमा छलफल । हामी तीनैजना काम गर्ने संस्था इक्वल एक्सेस आयोजक संस्था भएकोले कार्यक्रमको नतृत्वदायि भुमिका ममाथि थियो । एलीजाबेथ अर्को महिना अध्ययनको लागि अमेरीका फर्कने भएकोले नेपालको सुदुरपुर्वी तराई देखाइदिउँ भनेर मैले नै जाउँ भनेको थिए । उखरमाउलो गर्मिमा उ बिरामी नहोस् म रातदिन सोचिरहन्थे । बिर्तामोडमा पुगेर पनि के गर्ने? दुईबज्नै लागेको थियो, योजना बनाए कन्याम घुमाउने । कुरो मिल्यो । एलिजावेथ एक्साइटेड देखिइन् । रजनीको पनि पहिलो यात्रा रहेछ इलामको सुन्दर हरियाली पहाडमा ।
कन्याम, वाह क्या रमाईलो । फुसफुसे कुहीरो, सिमसिमे पानी । इलामको चिया, चिसोमा वाइवाईको सुप, त्यो भन्दा धेरै नखाने भन्नेमा मौन सहमत तीनैजना । फर्किदा लागिरह्यो फेरी हाम्रो छालाले यस्तो चिसो र अनुपम आनन्ददायी मौसम अनुभव गर्न पाउँदैन । मनमनै सोचे, बिर्तामोडमा रहँदा शरीरको कुन त्यस्तौ अंग÷भाग नहोला जहाँबाट पसिना नआओस् । भयो पनि त्यस्तै । लोडसेडिङको बेलामा तराईको यात्रा त्यो पनि उखरमाउलो गर्मिमा । होटेल हेभन ग्राण्डको बगैचामा बसेर एक बोतल वियर चुस्की नलगाउने पनि के बिदेशी? मनमनै सरापे एलिजाबेथलाई । बेलुकासम्म त्यहाँ सञ्चारकर्मीमित्रहरु शुशील मैनाली, अर्जुन उप्रेती, जीवन शर्मा भेला भएका थिए । तर उनीहरुको उपस्थितीले वातावरणलाई फरक पारेन । मौसमले च्यालेल्ज गर्यो भन्ने भनाई व्यवहारमा उत्रिएन, चिसो पानी, जिन्दावाद । मैले मनमनै भने ‘चिसोपानी मात्र मुर्दाबाद ।’
भोलीपल्टको छलफलपछि मैले एकछिन बिताएँ चन्द्र भण्डारीसँग । जो पहिले कम्युनिष्ट राजनीति गर्थे, अहिले सञ्चारकर्मी । कुराकानीको क्रममा उनले भने “मैले राजनीती नगरेर गल्ति गरिनछु ।” लामो समयसम्म जेल बसेका चन्द्र अहिले किताव लेख्दैछन् जेलको अनुभवलाई समेटेर । उनले प्रशिक्षित गरेका कमरेडहरु अहिले मन्त्रिछन्, तर उनलाई पछुतो छैन । जेलसम्बन्धि किताबले चाँही कतिजनाको पोल खोल्ने हो, उनले सार्वजनिक गर्न मानेनन् । तर संकेत गरे, “अहिलेका कतिपय नेताका बारेमा थाहा नपाएका कुराहरु कितावले बाहिर ल्याउनेछ ।” अरु पनि थुप्रै कुरा भयो । त्यो अन्तर्वार्तालाई म कतै छाप्ने तयारीमा छु ।
५३÷५४ सालतीर हुनुपर्छ । बिर्तामोडमा एउटा राजनीतीक दलको कार्यक्रममा भाग लिएर फर्कने बेला गाडि पाइएन । मित्र पवन (हाल दुवईमा छन्) र म रिक्सा चढेर झिलझिले आइपुग्यौ, त्यो पनि राती । दमकबाट आमसभामा गा’को, बिद्यार्थीको सहुलियत टिकटमा, ५० रुपैयाँमा रिक्सा चढ्दा पवन र मेरो झगडै भाथ्यो कस्ले तिर्ने भनेर । दमक त्यो बेला यति घना थिएन । वस्ती र बजार दुबैलाई देख्दा लाग्यो मान्छेको उत्पादन दिन दुगुना रात चौगुनाको रुपमा बढेछ । मित्र शुसिलले पनि दिइहाल्यो मान्छे उत्पादनको कारखानामा अहिलेसम्म हडताल नभएर होला । पक्कै ट्रेड युनिएन त्यहाँ चै छैन । पत्रकार मित्र गोपाल गड्तौलाको आतिथ्यतमा भुजा, प्याज, पकौडालाई एकै ठाउँ मोलेर खाँदा कलेज पढ्दाका दिन याद आए । बास बस्न पुगियो, इटहरीको मेचीकाली लेकसाईड होटल ।
“लौन न, त्यस्ले त खाली घरको फोटो खिची?” क्यारामबोर्डमा रमाईरहेका केटाहरुको स्वर सुनियो । उनीहरु एलिजावेथलाई लक्षित गरेर त्यसो भनिरहेका थिए । डर पनि लाग्यो । अनुमति बीना फोटो खिच्दा डरलाग्नु स्वभाविक हो । टुटेफुटेको अंग्रेजीमा साजीलाल मावी सुन्दरपुर, मोरङका प्रधानाध्यापक नारायण सरले आफ्नो परिचय दिदाँ एलिजाले पनि भनिन्, “विनय मेरो साथी हुनुहुन्छ, म घुम्छु र यहाँ आको ।” सायद दुवैले दुवैको कुरा बुझे होलान्, म बीचमा प्वाक्क बोलिन । “उ त्यो भैसीको छेउमा फोटो खिच्देन?” एलिजाको आग्रहलाई मैले नाई भनिन । परबाट फेरी केटाहरु कराए, “यसले त केही नराख्ने भई ।” यतीबेला म एलिजालाई लिएर इटहरीसँग जोडिएको मोरङको सुन्दरपुर गाविस ८ मा अवस्थीत थारु बस्ती घुमिरहेको थिएँ । उसले त्यहाँ हाँसदेखि, बाख्रा कुखुरा, मान्छे, सुँगुर, घर, नाली, ट्युवेल, सबैको फोटो खिची । हरेक घरबाट मान्छेहरु निस्केर उसलाई नै हेर्दै थिए । सबको कौतुहलता देख्दा लाग्थ्यो म भालु नचाउने चटके हुँ सेती रंगको जनावर गाउँमा डुलाउदैछु । एलिजापनि औधी रमाई । उसको त्यो पहिलो भ्रमण थियो जहाँ उसले तराईको आदीबासी समुदाय थारुको जीवनशैलीलाई क्यामेरामा कैद गरिरहेकी थिई ।
मेरो घर जहाँ बुबाआमा बस्नुहुन्छ पनि नजिकै थियो । आमाले पकाएको खाना मलाई मात्र हैन एलिजालाई पनि मन पर्यो । मेरो बुबा उसलाई आफ्नै हजुरबा जस्तो लाग्यो रे । तर फरक के भने उसको हजुरबा अग्रेजी जान्दथ्यो मेरो बुबा स्कुल जानु भएन । अर्को फरक सुन्दा चाँही उ भुतुक्क भई । मेरो बुबाले १५ बर्षमा बिहे गरेको जतिबेला आमा १२ बर्षकी हुनुहुन्थ्यो । सोध्नु सोधी । कति कुराको त मैले उल्था गरेर बुबाआामालाई सुनाउन सकिन । उसको जस्तो खुल्ला समाज मेरो थिएन । १७ वटा बच्चा पेटमा हुर्काएकी मेरी आमा उसका लागि दन्त्यकथाकी पात्र जस्तै लाग्यो होला । यो थाहा पाउँदा उसको मुख एकमिनेट बन्दै भयो । लामो सासमात्र फेर्दै थिई । पछि मलाई भनि, म चाँही तेरो आमाको ठाउँमा भएको भए मर्थे होला । उसको भनाईलाई मैले सुनेमात्र, थप बोल्नु आवश्यक ठानीन । दुईदिनपछि भेडेटारपुग्दा पनि उसले भन्दैथिई, तेरो आमा महान हुनुहुन्छ । त्यो दिन एलिजाले नेपाली महिलाहरुको प्रजनन स्वास्थ्य अधिकार आदी बिषयमा लामो कुरा गरी ।
एकरात बिर्तामोड, तीन रात इटहरी, शरीरमा घमौराले राम्रै घरजम गरेकाथिए । तर एकरातको भेडेटार बसाईले घमौरा भगाउनमात्र हैन एलिजालाई नेपाल चिन्न ठुलो मद्दत गर्यो रे । फरक फरक ठाउँको फरक अनुभव बटुल्न । अर्को महिना अमेरीका फर्कने तयारीमा रहेकी एलिजा भेडेटार पुगेपछि निक्कै भावुक भई । पढाईका लागि चाहिने प्रशस्त पैसा जुटाउने चिन्ता थियो । पढाइसकेपछि नेपाल नै फर्किन प्रयास गर्छु पनि भन्दैथिई । भेडेटारको भ्यु टावर चढेपछि फोटो खिचीरहँदा उसले भनि अहिले भुइचालो अयोभने हामी बाँच्छौ? म हाँसेमात्र । सोचे जहाज चढ्याबेला म पनि सोच्छु, अहिले यो जहाँज झर्यो भने म बाँचौला त? मनमनै गमे, छाला जतिसुकै फरक भएन, चालनचलन फरक भएपनि मान्छेको सोच समान हुदोरहेछ ।
चारवटा माफियाँ र २०÷२५ जना नागरिकको बीचमा माफियाहरु सारै शक्तिशाली । झन्डै झन्डै सबै नागरिक माफियाद्धारा सखाप हुनै आट्दा नागरिकले माफिया चिने र सबैलाई पालैपाली मारे । गाउँमा खुशी छायो । नागरिकले जीते माफियाले हारे । भेडेटारको भेडेटारभ्यू होटलमा सुनसरीका बिद्याथी, प्रहरी, एनजीओ, राजनीतिकदलका प्रतिनिधिहरुलाई खेलाएको खेलको नाम थियो माफिया । तासको सहाराले खेलिने खेलले सबैलाई मनोरञ्जन दियो, सँगै गएकी एलिजालाई पनि । भोलीपल्ट छुट्टिने बेलामा साथीहरुले भन्दैथिए, सरलाई अब माफियाँकै रुपमा चिन्नेछौ । एकैरात भएपनि सही शान्ति, संविधान, सुशासनका लागि युवा, नागरिक समाज, राजनीतिक दल र प्रहरी मिलेर गरिने कामको बारेमा छलफल र कार्यक्रम निर्माणका लागि भेला भएका प्रतिनिधिहरुका बीचमा माफियाँको परिचय बनाएर फर्किए बिराटनगर हुँदै काठमाण्डौ, एकदिन बसेर डडेलधुरायात्राको तयारीका लागि ।
असार ५ गते, २०६८
न्यू मिडिया, सामाजिक सञ्जाल भर्सेस परम्परागत मिडिया । बिश्वमै चलिरहेको बहसले हामीलाई पनि छोएको छ । ब्लग, ट्वीटर, फेसबुक तथा अन्य सामाजिक सञ्जालहरु न्यू मिडियाका लोकप्रीय माध्यम बन्दैछन् । केही दिन अगाडि प्रेस काउन्सील नेपालले माइसंसारडटकम नामक लोकप्रीय ब्लगलाई चिठ्ठी लेखेपछि नयाँ शिराबाट बहस शुरु भएको छ के ब्लगिङ् पत्रकारिता हो त? परम्परागत सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीहरुको आचारसंहिताले न्यू मिडियालाई पनि समेट्छ त? पत्रकारहरुले आचारसंहिता लागु गरे नगरेको अनुगमन नै गर्न पनि चुनौती मोलिरहेको नेपाल प्रेस काउन्सिलले ब्रोडकास्टीङ र अनलाईनलाई समेट्न नसकिरहेको अबस्थामा ब्लगिङ्को आचारसंहिता लिएर प्रश्न गर्न सक्ला? यसलाई आफनो कार्यक्षेत्रमा ल्याउन सक्ला? असंगठित र कानूनी दायरामा नआईकन व्यक्तिले वेवसाइटमार्फत सूचना, जानकारी, साहित्यीक सिर्जना, फोटो, भिडियो मार्फत सञ्चालन गरिरहेका ब्लगिङ्लाई आचारसंहिताको परिधिमा ल्याउन काउन्सीललाई सजिलो छैन, तर अप्ठ्यारो छ भने उम्किन मिल्ने ठाउँपनि छैन । तर अहिलेको सवाल हो के गर्ने? यो बहससँग इन्टरनेटको उपलब्धता तथा त्यसको उपयोग पनि जोडिएर आउँछ । किनभने ब्लगिङ् त्यतिबेलामात्र सम्भव छ जतिबेला प्रयोगकर्ताको पहुँच इन्टनेटमा हुन्छ । किनभने ब्लग ९द्ययिन० भनेको वेवसाइट हो यो इन्टरनेटमा शुक्क सहित र निशुल्क दुवै रुपमा उपलब्ध छ ।
इन्टरनेटमा अथाह सूचना भण्डार छ । त्यसलाई उपयोग गर्नमात्र जानेको खण्डमा पनि सूचना अधिकारबाट कोही पछि पर्दैन । सूचनाले शक्ति आर्जन गर्न सघाउँछ । इन्टरनेटमा उपलब्ध सूचनाबाट फाइदा लिनु भनेको शक्तिशाली हुनुपनि हो । इन्टरनेटमा उपलब्ध सूचनाहरुबाट फाइदा लिने सुविधाबाहेक आफुसँग भएका कुनै पनि सूचना, जानकारी, तस्विर इन्टरनेटको अथाह र निशुल्क (थोरै) स्थानमा भण्डारण गर्न पनि त्यत्तिकै सुबिधा छ । यही सुबिधाको फाइदा स्वरुप अहिले जो कोहीले जुनसुकै बेला इन्टरनेटमा खाता खोलेर आफुसँग भएका सूचना, जानकारी, फोटो, भिडियो भण्डारण गर्न र व्यापक बनाउन सकेकाछन् । यो व्यापकताको फाइदा लिनेहरुमा सबभन्दा अगाडि छन्, ब्लगरहरु ।
के ब्लगर पत्रकार हो? के हो त यसको उत्तर? कसैले भन्छन् ब्लगर पत्रकार हो । हैन भन्नेहरु पनि छन् । हो भन्नेकुरालाई मान्नेहरु भन्छन्, ब्लगर त्यतिबेला पत्रकार हो जतिबेला उसले अरु पत्रकारले जस्तै समाचारमुलक बिषयहरुलाई आफ्नो ब्लगमार्फत अद्यावधिक गर्छ । ब्लगर पत्रकार हैन भन्नेहरुको अनुसार आफ्ना भावना, साहित्यीक सिर्जना, फोटो, भिडियो आफ्नो सोखको रुपमा ब्लगमा राख्ने ब्लगर पत्रकार हैन । यी दुवै तर्क सही हुन् । तर प्रश्न उठ्छ, ब्लगमा राखिएको कुनै पनि सूचना गलत छ, कसैको मानहानी गर्छ, समाजमा व्यापक नकारात्मक प्रभाव पार्छ तर त्यो समाचार हैन, बिचारमात्र हो, ब्लगरको भावनामात्र हो । यस्तो अबस्थामा कानूनी उपचार के हुन्छ त? नेपाल प्रेस काउन्सीलले पत्र लेख्ने र कार्वाही गर्ने? कार्वाही गर्न सजिलो छैन किनभने काउन्सीलको अहिलको कार्यक्षेत्रले ब्लगलाई समेटदैन । त्यसोभए बिद्युतीय कारोवार ऐन अन्तगर्त कार्वाही होला अथवा के होला? तमाम प्रश्नहरु निरुत्तर छन् ।
ब्लग मार्फत सार्वजनिक हुने कुनै पनि सूचना जानकारीको प्रभाव परम्परागत माध्यमको भन्दा शक्तिशाी हुन्छ । अन्तरक्रिया, तत्काल अद्यावधिकता, सिर्जनानात्मक प्रस्तुती अनि सूचनाका उपभोक्ताबाटै समाचार वा सूचनाको सिर्जना, यसैकारण परम्परागत माध्यमका लागि चुनौतीपुर्ण बन्दैछ ब्लगिङ । ब्लगलाई जसरी पनि प्रयोग गर्न सकिन्छ जस्तै समाचार लेखेर, अद्यावधिक गरेर, फोटो, भिडियो अपलोड गरेर, बिचार सिर्जना गरेर । कसरी उपयोग गर्ने भन्ने कुरा उपभोक्ताको विवेकमा भरपर्छ किनकी यसको लागि पुर्वस्विकृती चाहिदैन । नियमनकारी निकायमा दर्ता गर्नुपर्दैन । इन्टरनेटमा खाता खोलेमात्र पुग्छ । ब्लगमार्फत सार्वजनिक कुनै पनि बिषयको पहुँच व्यापक छ । त्यहाँ पुगेपछि कुनैपनि कुरा गोप्य हुनै सक्दैन । तत्कालै व्यापक उपभोक्ताको नजरमा ती सामग्री एकैसाथ पुग्छन् । यसरी सार्वजनिकहुने सूचना, बिचार, भावना, तस्वीर, श्रब्यदृष्यले अवश्य सार्वजनिक चासो राख्छन् । यहि बिशेषताका कारण ब्लगमा उपलब्ध कुनै सामग्रीले कसैलाई लान्छाना, अभियोग, आरोप लगाएको, सूचना गलत भएको खण्डमा, बिचारहरुलाई तोडमरोड गरेर संम्पेशित गरेको पाइएमा उत्पन्न हुने क्षतिको जिम्मेवारी कसले लिने? नैतिकताको आधारमा कसैले जिम्मेवारीबोध नगरेको खण्डमा सम्बन्धित ब्लगलाई जिम्मेवार कसरी तुल्याउने?
यसका लागि केही न केही कानूनी उपचारको बाटो खोज्नु बुद्धिमानी हुन्छ । त्यस्तो कानूनीबाटोको शुरुवात ब्लगरहरु आफ्नै पहलबाट गर्नु जरुरी भैसकेको छ । यस्तो पहलको परिणाम ब्लगरहरुको आचारसंहिता निर्माण र कडाइका साथ त्यसको पालना हुनसक्छ । ब्लगको सार्वजननिकिकरणसँग स्वत बुझ्नु पर्ने हुन्छ की, सूचना सहि हुनुपर्छ, बिचार मर्यादित हुनैपर्छ, तथ्यांकलाई बङयाउन पाइदैन, कुनै पनि घटना तथा बिषयको अतिशयोक्तिपुर्ण बर्णन क्षम्य हुन सक्दैन । ब्लग अभिव्यक्ति स्वतन्त्रताको लागि उपयुक्त स्थान हो त्यसैले अभिव्यक्ति स्वतन्त्रताको उपयोग गर्दा ध्यानदिनुपर्ने आधारभुत कुराहरु ब्लगिङमा पनि लागुहुनुपर्छ । विस्वसनीयता, स्रोतको उपयोगजस्तो संवेदनशील सवालहरु परम्परागत माध्यममा कार्यरत पत्रकारहरुमामात्र नभै ब्लगरहरुमा पनि लागू हुनुपर्छ । प्रेस काउन्सील नेपालको हालको अधिकारक्षेत्रले यो सवाल समेट्दैन भनेर काउन्सीललाई गालि गर्ने कुरा एकठाउँमा सही होला तर यसो गरेर ब्लगरहरुले आफ्नो सामाजिक दायित्वबाट बिमुख हुन नमिल्ला की?
नेपालमा अहिले असंगठित तथ्यांक अनुसार सातसयको हाराहारीमा ब्लगर छन् । ब्लगर हुन कहि कतै आवद्ध हुनुनपर्ने, सदस्यता नचाहिने, योग्यता नचाहिने, दर्ता गर्नुनपर्नै, मात्र इन्टरनेटमा साक्षर र पहुँच भएमात्र पुग्ने भएकोले इन्टरनेटको पहुँच र लोकप्रीयतासँग ब्लगरको संख्या हरेक दिन बढ्न सक्छ । इन्टरनेटको पहुँच बढिरेको अबस्थामा आउनेदिनमा चुनौती रहित हुनेछैन ब्लगिङ् । त्यसैले समयसान्दर्भिक यस्तो चुनौतीलाई सामना गर्ने शुरुवाती प्रयास ब्लगरहरुको आचारसंहिता निर्माणबाट गरौ । नेपाल प्रेस काउन्सील यसका लागि सहयोग गर्न तत्पर हुनुपर्छ, पत्रकार महासंघले पनि यसलाई किनारा लगाउनका लागि सार्थक प्रयास शुरु गर्न ढिलो गर्नुहुदैन । तर सबभन्दा पहिलो पहल ब्लगरहरुबाटै हुनुपर्छ । आरोप, प्रत्यारोपभन्दा पनि भुमिकाको खोजी र सही उपयोगले सार्थक परिणाम निकाल्छ । बिज्ञ ब्लगर साथीहरुलाई भन्नै पर्दैन ।

I had a wonderful trip to Bhaktapur Darbar Square, after a long gap! Son also got enjoyed a lot seeing most impressive historic monument of the city.

Popular Posts

Blogger templates

Blogger news

Blogroll