तीहारको दुईदिन अघि किर्तीपुरको चोभामा चङ्गाचैट कार्यक्रम सम्पन्न भयो । सिकारुहरुलाई लक्षित गरेर आयोजना गरिएको चङ्गा उडाउने कार्यक्रममा स्थानीय युवाहरुसहित ब्लगर, सञ्चारकर्मी तथा युवासहित दर्जनबढी सहभागीहरुले चङ्गा उडाएका थिए । प्रतियोगीतमा स्थानीय अनिष थापाको चङ्गाले प्रथम स्थान हासिल गर्यो भने ब्लगर कविता गुरागाई र स्थानीय प्रदिप लामा दोश्रा भए । काठमाण्डौका रिक्सन शाक्य तेश्रो भएका थिए । बिजेताहरुलाई क्रमशः तीनहजार, दुईहजार र एकहजार रुपैयाँ बराबरका पुरस्कार कुपन वितगरण गरिएको थियो । मेरोरिपोर्ट, मिडियामञ्च र रेडियो कार्यक्रम नयाँनेपालले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रम शान्ति, सद्भाव र शुसासन प्रबद्धन तथा मिडिया सुरक्षाका लागि नागरिकको चासो र जिम्मेवारी बोध गराउने प्रयायस्वरुप गरिएको इक्वल एक्सेस नेपालका कार्यक्रम संयोजक विनय गुरागाईले जानकारी दिए ।
जबजब शहरमा झिलिमिली बत्तिको मौसम शुरुहुन्छु म अनायास भावुक हुनपुग्छु । बारीका कान्ला, बगैचा, खेतका गराहरु, बाटोको छेउछाउ ढकमक्क सयपत्रि, मखमलि फुल्न थालेपछि यो मन ढक्क फुल्न थाल्छ । सास फेर्न गारो भएजस्तो लाग्छ । हरेक साल यही बेला आउने तीहारले मेरो मनलाई भारी बनाउँछ, यस्तो लाग्छ म हरेक साल यहीबेलो बोझिो मनको भारी बिसाउने दिदी बैनीको अभावमा एक्लै तडपिन्छु, लुकेर सुक्सुकाउँछ, एकान्तमा आसुँ झार्छु, दिदीबैनी नहुनुको पिडाले फुलेको छाती बोकेर मान्छेका अगाडि बनाबटी हाँसो हाँस्छु ।

आज रेडियो सगरमाथाको उहिल्यै बाजेका पालामा भन्ने रेडियो कार्यक्रममा भैरब रिसालसँग कुरा गर्दै बुबाले भन्नुभयो, “मेरी दुईटी छोरी थिए, तर सानैमा बिते ।” भोजपुर भुल्केको अनकन्टार ठाउँमा उपचार नपाई दिदीहरुको मृत्यु भएको कुरा सुन्दा तीहारको मुखमा आज फेरी भक्कानीए एकछिन । त्यसो त दिदीहरुलाई मैले देखिन । न त फोटो नै देख्न पाए । बुबा आमा भन्नुहुन्छ दिदी १२ बर्षको उमेरमा खस्नुभयो । (मृत्यु हुनुलाई बोलीचालीको भाषामा खस्नु भन्छन् अहिलेपनि धेरैले) । कारण के थियो अहिलेसम्म थाहा थिएन । तर आज बुबाले भन्दा कुनै रोग थियो, गाउँमा उपचार हुन सकेन । बाँचेकी भए मेरी दिदी, आहा कस्तो रमाइलो हुन्थ्यो होला? चारजना दाजुभाईकी एउटी दिदी । भगवानले दिएको अमुल्य उपहार हुने थियो होला । तर भाग्यमा पनि विश्वास गर्ने हो भने हरेकको भाग्यले उसको भोगाई निर्धारण गर्छ । म र मेरा दाजुभाईको जीवनमा पनि दिदीको अभाव हुनु हामी अभागी भएर नै होला ।

मैले तीहारमा अहिलेसम्म धेरैजनाको हातबाट टिका थापे । केही बर्ष भयो, टिका लाउन छोडेको । जसले टिका लाइदिए पनि त्यहाँ कहिल्यै दिदीभाईको वा दाजुबैनीको जस्तो आत्मीयता मैले अनुभव गरिन । दिदीभाई, दाजुबैनीको सम्बन्ध कति आत्मीय हुन्छ? भोगेको नभएपनि देखेको भरमा भन्दा यो सम्बन्ध पवित्र हुन्छ । दाजुभाईलाई भन्दा दिदीबैनीलाई साथी, सहयोगी साथै आमाको बिभिन्न रुप र भुमिकामा देख्न सकिन्छ भन्छन् भोग्नेहरु । तर मलाई के थाहाँ । र त रहर लाग्छ । मनमा सोच्छु आहाँ मेरी पनि दिदी भैदिएकी भए? बैनी भइदिएकी भए?

तीहारमा टिका लाउनमात्र हैन तीजको दरखाने समय पनि मेरा लागी उत्तिकै पिडादायी छ । जुन दिदीबैनीसँग प्रत्यक्ष जोडिएको छ । दिदी हिड, दर खान जाऔ । भाई आइज टिका लगाउँ । सम्बन्धलाई अझ प्रगाढ बनाउनका लागि यस्ता शब्दहरु कति मर्मस्पर्शी हुनसक्लान् । तर भोग्न नपाएको माया र सम्बन्धको कागजी ब्याख्याले मनको घाउ निको हुन्छ र? कदापी हुदैन । मेरी दिदी बाँचेकी भए आज म पनि भन्थे होला, दिदी आउ दर खाउ । उनले मलाई संसारको जुनसुकै कुनाबाट बोलाउथिन् होला भाई जहाँ भएपनि आइज, निधार खाली नराख । आफु पनि नरो, मलाई पनि नरुवा । आहा, संझिदा पनि त्यसैत्यसै रोमाञ्चित हुन्छु यस्ता कल्पनाले । तर वास्तविकतामा म धेरै अभागी छु । मेरी दिदी पनि छैनन् बैनी पनि छैनन् । अरुका दिदीबैनी देख्दा यस्तो लाग्छ मेरो चाँही किन भएनन्? म चाँही हरेक तीजमा किन एक्लिन्छु, तीहारमा सबैका निधारमा दिदीबैनीको हातको टिका हुन्छ मेरो निधार किन खाली हुन्छ? सायद नियतीको खेल भन्या यस्तै होला ।

त्यसैले त तीज र तीहार मेरा लागि पर्व खुशीको पर्व हुन सकेन । तीहार बत्तिको झिलीमिली र फुलको पर्व भनेपनि मेरा लागि यो हैन भन्ने वास्तविकतामा नै म आजसम्म बाँचीरहेको छु । अनि तीज पनि । हुन म भाग्यमानी यस अर्थमा छु की श्रीमतीले जहिल्यै पनि मेरै अगाडि उनका दाजुभाईलाई टिका लगाउछिन् । टिका लगाउनका लागि उनी माइत जान्नन्, दाजुभाईलाई उनकै घरमा बोलाउछिन् । कारण उनी मेरो अवस्थासँग परिचित छन् । मलाई एकछिन भएपनि अरुसँग हाँसेको, खेलेको र रमाइलो गरेको हेर्ने उनको इच्छाले गर्दा मलाई मान्छेका अगाडि आँसु झार्न दिदैन । तर पनि एकान्तमा फेरी उही । सोच्छु मेरी पनि दिदीबैनी भइदिएका भए ।

Changa Chait, 2011 at Chobhar, Kirtipur. It was organized jointly by www.meroreport.net, www.mediamanch.net & Radio Program Naya Nepal - programs of Equal Access Nepal. Well participated by bloggers, journalists, friends and family of equal access nearly dozen people engaged themselves in flying kite.
कैयौ दिनदेखि म उकुसमुकुस भएको महशुस गरिरहेको छु । मनमा नानाथरी बिचारहरु बर्षाको भेलसरी मडारिदै आउँछन्, मलाई बिचलित बनाउँछन् । मलाई यस्तो लाग्छ, म यो समाजसँग, यहाँका पात्रसँगै, परिवेशले सिर्जना गरेका बिसंगतीहरुलाई देखेर बिचलित भएकोछु, बिचलित अबस्थामा मनमा निस्कीएका ज्वारभाटारुपी बिचारहरुलाई थन्क्याउन नपाएकोमा झोक चलेपछि म झनै आन्दोलित हुन्छु । बिचलनको परकाष्टा सायद यसैलाई भन्छ होला । हावा पुर्वबाट पश्चिम बहेकोबेला मलाई हावालाई पश्चिमबाट पुर्वतीर बहाउन मन लाग्छ । म पहिलेपनि सजिलो मान्छे थिइन । सजिलो यस अर्थमा की मलाई मैले भनेको मात्र सही लाग्थ्यो, मेरो त्यो बानी अहिले झनै बलियो भएको छ । ममात्रै सही भन्ने अहमताले नै होला मेरा पाइलापाइलामा ठेसीएका बिसंगतीको डङगुर पहाडलाई बिथोल्न सक्ने, तीनीहरुलाई संगठित हुन नदिएर छरपष्ट पार्नसक्ने एउटै माध्यम भनेको तीनिहरुको बिर्सजनहो, त्यस्ता अहमतारुपी सवाल र कुबीचारहको बिर्सजन हो, त्यो त्यतिबेलामात्र सम्भव हुन्छ जतिबेला म तीनीहरुलाई स्वच्छन्द रुपमा पोख्न सक्छु । मलाई मेरा भावनाहरु पोख्नका लागि स्थानको अभाव छैन । र पनि म किन सकिरहेको छैन? किन रुमल्लिइरहेको छु? किन कुष्ठित भइरहेकोछु । सायद समय व्यवस्थापनको ज्ञानको कमीले गर्दा होला म महिनौदेखि प्रयास गर्दा पनि लेख्न सकिरहेको छैन । आफुलाई व्यक्ताउन सकिरहेको छैन । सायद यो मेरो कमजोरी हो । यसलाई लुकाएर म झनै कुष्ठित हुनेछैन । मैले निर्णय गरे म फेरी दैनिकी वा साप्ताहिकीको रुपमा आफ्नो मनलाई सबैलाई छताछुल्ल पार्न लेख्न थाल्नेछु । जसको श्रीगणेश हो मेरो आजको यो लेख ।
श्रीमती र बर्षाको मौसम बीचमा समानता के हो भने श्रीमतीको मुड र बर्षा यामको मौसम परिवर्तन अनुमान गर्न सकिदैन । जेठ २९ गते धनगढी बिमानस्थलमा बुद्ध एयरको जहाज अवतरण गर्न पाँच मिनेटमात्र ढिलो भएको भए हामी त्यो बेलुका डडेलधुरा नभै आ–आफ्नै घरमा हुनेथियौ । काठमाण्डौमा उड्दा घाम झलमल्ल थियो । धनगढीमा सामान कुर्दाकुर्दै कालोमुस्लो बादल मडारिन थाल्यो र शुरु भयो मुसलधारे दर्के झरी । नेपाल पत्रकार महासंघका सभापती शीव गाँउले, संविधानबिद काशीराज दाहाल र सहकर्मी दुर्गा लामिछानेसहित डडेलधुराको अमगरगढी हिडेको हाम्रो समूह कैलालीको बाख्रापालन भन्ने ठाउँसम्म पुग्दा पनि मुसलधारे पानी रोकीएको थिएन । अनुभवी चालक हुनुको फाइदा बाङ्गोटिङ्गो सडकमा पनि पुर्ण होसियारी । एकदिन अगाडिमात्रै पुर्वको चन्द्रगढीबाट काठमाण्डौ फर्केको म पुग्नुपर्ने थियो धनगढी हुदै अमरगढी । ५८ साल बैशाखमा बझाङ जाँदा छिचोलेको लामो बाटो अहिले कस्तो होला? मनभरी कौतुहलता थिए । भासुकोभीर, अरुको मुखमा सुन्दा सारै डरलागेको थियो, त्यसमाथि पानी परेको चिप्लो बाटो, बाख्रापालनमा खानाका लागि सुस्ताइरहँदा पनि मन भने शान्त थिएन । चन्द्रगढी, इलाम, इटहरी, धरान, बिराटनगरमा हप्ता बिताएर फर्केकै भोलीपल्ट अर्को हप्ताको पुरै योजनासहित घर छोड्दा यसपाली श्रीमतीको मात्र हैन छोराको पनि राम्रैसँग मुड बिग्रीएको महशुस गर्न गाह्रो थिएन । बर्षाको हवाइयात्रा, डर आप्mनालाई नै हुन्छ ।

काठमाण्डौबाट धनगढी र बंगलादेशको ढाकाको हवाई दुरी झन्डै उती नै छ । एकघण्टा १५ मिनेट । मलाई यस्तो लाग्छ, धनगढीको हवाईयात्रा ढाका जाँदा भन्दा पट्यारलाग्दो छ । ढाका जाँदा र आउँदा यात्राभरी नेपालीहरु भेटिन्छन्, धेरैचाँही मलेशिया जाँदै गरेका, उताबाट फर्केका युवा र अधबैशे, अल्लारे, चर्को गर्मिमा पनि बाक्लो छालाको ज्याकेट र बुट लगाएका । जहाज चढ्ने र ओर्लने बेलामा उनीहरुको हर्कत हेर्न लायक हुन्छ, धेर्यता छदैछैन । तर धनगढी जाने र त्यहाँबाट आउनेहरु चाँही भद्रभलाद्मी, राष्ट्रिय, अन्तराष्ट्रिय संघसंस्थामा कार्यरत, नेता, कर्मचारी हुँदाहुन् एकआपसमा बोल्न पनि पैसा लाग्छ झै गर्छन् । जहाज नै भलाद्मी ठहरीन्छ । यसपटकको मेरो यात्रा देशका गन्यमान्य दुईजना व्यक्तित्वको साथमा भएकोले पनि होला जहाँज चढ्ने सबैलाई मैले चाहिनेभन्दा भलाद्मी देखेजस्तो अनुभव गरे । कुहिरोमा पसेर जहाज छटपटाउदामात्र मेरो मन झस्किन्थ्यो । अरुबेला यस्तो लाग्यो देशको कोलाहल र अशान्तिले वाक्कव्याक्क म टिनको बट्टामा बसी आकाशमा उड्दै शान्तिको परमोभोग गरिरहेको छु ।

स्कुलमा छँदा अमरसिंह थापाको वीरगाथा मज्जाले पढिन्थ्यो । तीनै वीरको नाममा नगरपालिकाको नामाकरण भएको रहेछ । गर्व लाग्यो । भीमदत्त पन्तको शालिक छेउमा उभिएर पत्रकार महासंघका सभापती शीव गाउँले पश्चिम पहाडका ७ जिल्लाका पत्रकारहरुको –यालीलाई सम्बोधन गर्दा उनलाई टुलुटुलु हेर्ने स्थानीय नागरिक र प्रहरीले खासै भेउ पाएनन् पत्रकारहरु किन आन्दोलित छन् भनेर । गाँउलेले राज्यलाई दिनुसम्म दनक दिए । तर बहिरो जस्तो लाग्ने राज्यले सिंहदरबार अगाडि उभिएर कुर्लिदा त सुन्दैन भने सबैले सुदुर भनेको त्यो पहाडबाट बोलेको कुरा पत्रकार कुट्ने अपराधी र अपराधलाई पालनपोषन गर्ने सरकार र तीनका मतियारले किन सुन्थे । “दाई पहिले पनि भाषण गर्नुहुन्थ्यो की कसो?” गाउँलेको जवाफ थियो, “हैन, समय बलबान हुदो रहेछ, यसैले सिकायो ।”

“बिरालोबाट कसरी बच्ने भन्दा भन्दै एउटा मुसो जाँडले भरीएको गाग्रीमा छिरेछ । बाँच्नका लागि उसले बिरालोसँग हारगुहार गर्यो । निकाल्न आग्रह गर्यो । बिरालोले निकाल्नुभन्दा अगाडि बाचा बाँध्न लगायो । मुसाले यसरी बाचा गर्यो , हेर बिरालो दाई, म अहिले जाँडमा डुवेको छु, तिमीलाई थाहा छैन, म डुब्दा कति जाँड खाँए होला? म अहिले टन्न मातेको छु, मातेको मलाई अहिले नै नखाउँ । बाहिर निकाल, मलाई नुहाइदेउ, अनि घाममा सुकाउ । त्यसपछि मज्जाले खानु । मात पनि लाग्दैन, अघाउँछौ पनि । मुसाको बाचा बिरालालाई मनपर्यो । उसले मुसालाई बाहिर निकाली मुसाले भनेझै गर्यो । घाममा सुकाएर यसो आँखा अर्कोतीर फर्काएको के थियो मुसो त दुलोभित्र पस्यो । धोका भएको सम्झी बिरालोले मुसालाई धोकेबाज आदी इत्यादी भन्दै गुनासो गर्यो । चलाख मुसो के कम? भन्यो हेर मुसा दाई, अघि म मातेको थिए, मैले के के भने मलाई केही थाहा छैन, फेरी मातेको बेला गरेको सभ्झौता कार्यान्वयन भएन भनेर तिमी किन निरास हुन्छौ? यस्ता सम्झौताहरु मातेकै बेला त हुन्छन नी, मेरो ज्यान बचायौ, धन्यबाद ।” बाख्रापालनबाट अगाडि बढ्दै गर्दा दाहालसरले भनेको यो कथा नेपालको अहिलेको राजनीतिसँग मेलखाने खालको थियो । तर दाहालसरले भासुकोभीरबाट हाम्रो ध्यान अन्त मोड्नलाई यो कहानी सुनाएको कुरा हामीले डडेलधुरा पुगेपछिमात्र थाहा पायौ । सारै सरल, नम्र र शालिन व्यक्तित्वका धनी दाहाल सरसँगको यात्रामा भएको अर्को महत्वपुर्ण उपलब्धी अमरगढीको दर्शन गर्न पाउनु पनि रह्यो ।

“अहिले साढेपाँच बज्यो, गढी त तीनबजेपछि हेर्न पाइदैन, भोली आउनुहोला,” अमरसिंहले अग्रेजसँग लड्न बनएको ऐतिहासिक अमरगढी किल्लाको सुरक्षार्थ खटिएका सैनिकको भनाईले हामीलाई निरास बनायो । मुसुक्क हाँस्दै दाहालसर अगाडि सर्नुभयो । वहाँ र ती सैनिकका बीचमा के के कुराकानी भयो कुन्नी एकछिनपछि माथि (किल्लाभित्र) बाट संकेत आयो । हामीले गढी हेर्न पायौ । त्यो बेला ढुंगाले बनाएको किल्ला देख्दा पत्याउन मुस्किल पर्यो एकछिन त । भित्रभित्रैबाट घण्टौ टाढा खाना र पानीको जोहो गर्न मिल्ने गरी बनाएको किल्ला । महसुस भयो त्यस्ता दुरदर्शी र बहादुर सिपाही अहिले पनि त्यत्तिकै जरुरी छ देशलाई । किल्लाबाट गरेको लडाईको बर्णन किताबमा मात्र पढेको मलाई प्रत्यक्ष देख्न पाउँदा देशभक्तिले ओतप्रोत बनायो । अनि त किन सकुन अग्रेजले नेपाली वीरलाई जित्न? इतिहासको साक्षात्कर गर्न सम्भव गराउने दाहाल सर धन्यबादका पात्र हुनुहुन्छ । गढी घुमेपछि पसिना निकाल्दै व्याडमिन्टन खेलिरहेका प्रमुख जिल्ला अधिकारी र डिएसपीले देखाएको सम्मानले पनि बताउथ्यो काशीराज दाहालको महत्व ।

पत्रकारहरु आन्दोलित भएको मौसम हुनाले हाम्रो डडेलधुरा बसाई एकदिन छोटियो । साँझ साढे छ बजे अमगरगढीबाट धनगढीका लागि हिड्दा धनगढीमा बास पाइएला त, मनभरी डर थियो । खाना खाने सहमति भयो बाख्रापालन भन्ने ठाउँकै लागि । जाँदा सारै स्वादीलोसँग चिउरा तरकारी खान पाएकोले होला दालभात पनि मिठै पाइएला भन्ने आशा । डडेलधुराको खानाको स्वाद मुखमा झुन्डिएकै थियो । बाटोमा जहाँबाट फोनको सिग्नल टिप्छ कहिले धनगढी त कहिले बाख्रापालन फोन गर्दै खाना र बासको प्रबन्ध गर्नु नै थियो । साढे ८ बजे रातीतीर बाख्रापालनभन्ने ठाउँमा खाना खाएर धनगढी आइपुग्दा रातको साढे १० बज्नै लागेको थियो । कञ्चनपुरका अग्रज समाजिक कार्यकता ऋषीराज लुम्सालीदेखि पत्रकार महासँघ कैलालीको सभापति भरत शाहको प्रयासमा भेटिएका दुईटा होटलमा बाँडिएर रात काट्दा त्यो सम्पुर्ण यात्रालाई आनन्दको रुपमा लिनुको बिकल्प थिएन । शान्त र शितल पहाडि भुगोलबाट तातो समथर भुभागमा झर्दा भोलिदेखि हुने गर्मिको छटपटहाटले फेरी मन पोल्न थालेपनि बिकल्प थिएन । के थाहा कुन बेला मौसमको मुड परिवर्तन हुन्छ र चर्को घाममा पनि पानी परी शितलता दिन्छ । श्रीमतीसँगको मायालु संवादले भने मुड र वातावरण दुवैलाई शान्त र शितल बनाएको थियो ।
साउन २ गते, काठमाण्डौ ।

Popular Posts

Blogger templates

Blogger news

Blogroll