जबजब शहरमा झिलिमिली बत्तिको मौसम शुरुहुन्छु म अनायास भावुक हुनपुग्छु । बारीका कान्ला, बगैचा, खेतका गराहरु, बाटोको छेउछाउ ढकमक्क सयपत्रि, मखमलि फुल्न थालेपछि यो मन ढक्क फुल्न थाल्छ । सास फेर्न गारो भएजस्तो लाग्छ । हरेक साल यही बेला आउने तीहारले मेरो मनलाई भारी बनाउँछ, यस्तो लाग्छ म हरेक साल यहीबेलो बोझिो मनको भारी बिसाउने दिदी बैनीको अभावमा एक्लै तडपिन्छु, लुकेर सुक्सुकाउँछ, एकान्तमा आसुँ झार्छु, दिदीबैनी नहुनुको पिडाले फुलेको छाती बोकेर मान्छेका अगाडि बनाबटी हाँसो हाँस्छु ।
आज रेडियो सगरमाथाको उहिल्यै बाजेका पालामा भन्ने रेडियो कार्यक्रममा भैरब रिसालसँग कुरा गर्दै बुबाले भन्नुभयो, “मेरी दुईटी छोरी थिए, तर सानैमा बिते ।” भोजपुर भुल्केको अनकन्टार ठाउँमा उपचार नपाई दिदीहरुको मृत्यु भएको कुरा सुन्दा तीहारको मुखमा आज फेरी भक्कानीए एकछिन । त्यसो त दिदीहरुलाई मैले देखिन । न त फोटो नै देख्न पाए । बुबा आमा भन्नुहुन्छ दिदी १२ बर्षको उमेरमा खस्नुभयो । (मृत्यु हुनुलाई बोलीचालीको भाषामा खस्नु भन्छन् अहिलेपनि धेरैले) । कारण के थियो अहिलेसम्म थाहा थिएन । तर आज बुबाले भन्दा कुनै रोग थियो, गाउँमा उपचार हुन सकेन । बाँचेकी भए मेरी दिदी, आहा कस्तो रमाइलो हुन्थ्यो होला? चारजना दाजुभाईकी एउटी दिदी । भगवानले दिएको अमुल्य उपहार हुने थियो होला । तर भाग्यमा पनि विश्वास गर्ने हो भने हरेकको भाग्यले उसको भोगाई निर्धारण गर्छ । म र मेरा दाजुभाईको जीवनमा पनि दिदीको अभाव हुनु हामी अभागी भएर नै होला ।
मैले तीहारमा अहिलेसम्म धेरैजनाको हातबाट टिका थापे । केही बर्ष भयो, टिका लाउन छोडेको । जसले टिका लाइदिए पनि त्यहाँ कहिल्यै दिदीभाईको वा दाजुबैनीको जस्तो आत्मीयता मैले अनुभव गरिन । दिदीभाई, दाजुबैनीको सम्बन्ध कति आत्मीय हुन्छ? भोगेको नभएपनि देखेको भरमा भन्दा यो सम्बन्ध पवित्र हुन्छ । दाजुभाईलाई भन्दा दिदीबैनीलाई साथी, सहयोगी साथै आमाको बिभिन्न रुप र भुमिकामा देख्न सकिन्छ भन्छन् भोग्नेहरु । तर मलाई के थाहाँ । र त रहर लाग्छ । मनमा सोच्छु आहाँ मेरी पनि दिदी भैदिएकी भए? बैनी भइदिएकी भए?
तीहारमा टिका लाउनमात्र हैन तीजको दरखाने समय पनि मेरा लागी उत्तिकै पिडादायी छ । जुन दिदीबैनीसँग प्रत्यक्ष जोडिएको छ । दिदी हिड, दर खान जाऔ । भाई आइज टिका लगाउँ । सम्बन्धलाई अझ प्रगाढ बनाउनका लागि यस्ता शब्दहरु कति मर्मस्पर्शी हुनसक्लान् । तर भोग्न नपाएको माया र सम्बन्धको कागजी ब्याख्याले मनको घाउ निको हुन्छ र? कदापी हुदैन । मेरी दिदी बाँचेकी भए आज म पनि भन्थे होला, दिदी आउ दर खाउ । उनले मलाई संसारको जुनसुकै कुनाबाट बोलाउथिन् होला भाई जहाँ भएपनि आइज, निधार खाली नराख । आफु पनि नरो, मलाई पनि नरुवा । आहा, संझिदा पनि त्यसैत्यसै रोमाञ्चित हुन्छु यस्ता कल्पनाले । तर वास्तविकतामा म धेरै अभागी छु । मेरी दिदी पनि छैनन् बैनी पनि छैनन् । अरुका दिदीबैनी देख्दा यस्तो लाग्छ मेरो चाँही किन भएनन्? म चाँही हरेक तीजमा किन एक्लिन्छु, तीहारमा सबैका निधारमा दिदीबैनीको हातको टिका हुन्छ मेरो निधार किन खाली हुन्छ? सायद नियतीको खेल भन्या यस्तै होला ।
त्यसैले त तीज र तीहार मेरा लागि पर्व खुशीको पर्व हुन सकेन । तीहार बत्तिको झिलीमिली र फुलको पर्व भनेपनि मेरा लागि यो हैन भन्ने वास्तविकतामा नै म आजसम्म बाँचीरहेको छु । अनि तीज पनि । हुन म भाग्यमानी यस अर्थमा छु की श्रीमतीले जहिल्यै पनि मेरै अगाडि उनका दाजुभाईलाई टिका लगाउछिन् । टिका लगाउनका लागि उनी माइत जान्नन्, दाजुभाईलाई उनकै घरमा बोलाउछिन् । कारण उनी मेरो अवस्थासँग परिचित छन् । मलाई एकछिन भएपनि अरुसँग हाँसेको, खेलेको र रमाइलो गरेको हेर्ने उनको इच्छाले गर्दा मलाई मान्छेका अगाडि आँसु झार्न दिदैन । तर पनि एकान्तमा फेरी उही । सोच्छु मेरी पनि दिदीबैनी भइदिएका भए ।