Showing posts with label Feeling. Show all posts
Showing posts with label Feeling. Show all posts

हिलोमा कमल फुल्छ भनेझै समस्याकै बीचमा हाम्रो देशको मानव विकास सुचकांक सुधारोन्मुख छ । यसपाली देशको आर्थिक बृद्धिदर बढेको छ । हिजोआज गाँउँगाउँमा बिद्यालय खुलेका छन् । पहिले घाँसदाउरामा मात्र सिमित हाम्रा छोरीचेलीहरु स्कुलमा भेटिन्छन् । चुल्होचौकामा सिमित दिदी, भाउजु, आमा, हजुरआमा अहिले संसारका अत्याधुनिक मुलुकमा सहज आवतजावत र परिश्रम गर्न सक्षम छन् । यातायातका साधन देख्नमात्रै पनि दिनौ हिड्नुपर्ने ठाउँमा धुले नै सही सडक पुगेको छ । महिनौ कुरेर हुलाक मार्फत परदेशी आफन्तको समाचार सुन्न बाध्य दुर दराजका गाउँलेसँग अहिले अत्याधुनि प्रबिधि सहितको मोवाइल फोनमाथि पहुँच बढ्न थालेकोछ । एउटामात्र मोवाइल फोन नभएको घर सायद नभेटिएला हिजोआज केही अपवाद बाहेक । बिदेशमा बस्ने पति, छोरा, बुबा, आमा, श्रीमती, भाउजु र दिदीबैनीसँग भिडियो हेर्दै फोन वा कम्प्युटर मार्फत गरिने प्रत्यक्ष कुराकानी अनौठो हुनथालेको छ । अनुरोध गीतका लागि चिठ्ठी पठाएर प्रसारणको आसमा महिनौ कुर्न बाध्य नागरिक आज आफै रेडियो, टिभी र पत्रपत्रिकाका मालिक भएका छौ । 
सञ्चारक्षेत्रमा भएको विकासमा हामी दक्षिण एशियामै उदाहरणीय छौ । साना तथा मझौला किसिमका बिद्युत आयोजनाले गाउँहरु झलमल्ल छन् । गाविस तथा नगरपालिकामा समुदाय र सरकारको सहकार्यमा उदाहरणीय कामहरु भएकाछन् । पहिलेपहिले महिनौ दिन लाएर काठमाण्डौ पुग्ने पुस्ताका सन्तान अहिले कोषौ टाढा बिदेशमा बसेर देशको अर्थतन्त्रलाई मजबुत बनाउन योगदान दिइरहेका छन् । उनीहरुले पठाएको रकम रेमिट्यान्सको रुपमा देशको अर्थतन्त्रको बलियो मेरुदण्ड बन्दैछ । देशमै भएको युवा जमात केही न केही सिर्जनशिल काममा जुटेका छन् । आमाहरु सुइटर बुन्ने र धारापधेरामा सिमित कुराकानीबाट बाहिर निस्केर समाज विकासका लागि खबरदारीमा लागेकाछन् । जेष्ठ नागरिक जमात आफ्ना अनुभव र ज्ञानहरु नयाँ पुस्तालाई हस्तान्तरण गर्न बाहिर आएका छन् । जात, भाषा, लगायत अन्य किसिमले हिजो दवाइएका पहिचानहरु आज सगर्व बाहिर आएर आफ्नो अस्तित्वका लागि लडिरेका छन् । सूचना प्रबिधिले संसारलाई मोवाईल, कम्प्युटर, टिभी वा अन्य बिद्युतीय सामग्री मार्फत हरेकका घर, कोठा, ओछ्यान, भान्सामा पुर्याएको छ, जससँग सहज पहुँच भएको नेपाली जमात हरेक क्षण बढिरहेको छ । तरकारीको भाउ बुझेर बारीको तरकारी टिप्ने र बजार लाने किसानहरु यही समाजमा छन् । गाइबस्तु पालेर उन्नती गरेका प्रगतिशील हातहरु यही माटोमा छन् । गाउँमा इन्टरनेट पुर्याएर विश्वलाई समेत उदाहरणीय पाठ सिकाउने मेगासेसे पुरस्कार बिजेता नागरिक यही भुमिमा छन् । आँखाको क्षेत्रमा बिश्वमै प्रभावकारी काम गर्ने डाक्टरहरु हामीकहाँ नै छन् । यस्ता थुप्रै कामको फेहरिस्त छ जसले बितेका १० १५ बर्षमा यही भुमिमा श्रम र पसिना बगाएर यो देशको सान उच्च राखेकाछन् ।  
विश्व राजनीतिक, आर्थिक तथा वातावरणीय परिवेशमा आएको परिवर्तनसँगै हामी नेपालीको पनि पैसा र प्रबिधीमा सहज पहुँच स्थापना हुने क्रम तिब्रतर छ । प्रबिधी, पैसा र पहुँचको देखिने प्रभाव हो हामीमा अहिले बढेको आत्मविश्वास । त्यही आत्मविश्वासको परिणाम स्वरुप वितेका दशकमा हामीले यो देशमा उल्लेख्य काम गरेका छौ । तर ती कामहरुले उचित रुपमा चर्चा र सम्मान नपाउँदा हुनसक्छ हामी आफुले गरेका कामहरुलाई पत्याउन सकिरहेकाछैनौ । आफुलाई नपत्याउने र आपुजस्तो राम्रो काम गर्न नसक्नेलाई गाली गर्नु हाम्रो दिनचर्या बनेको छ । गालिको केन्द्रमा छ राजनीति र गालि मार्फत हामी यसरी प्रस्तुत भइरहेका छौ की मानौ यो देशमा बितेको बर्षहरुमा केही भएकै छैन ।
तर त्यसो हैन । बितेको बर्षहरुमा मनग्गे राम्रा कामहरु भएकछन् । हो, खुल्ला र प्रतिस्पर्धी बजार अर्थतन्त्रतका चुनाती मनग्गे छन् । त्यसैले यहाँ टिक्नका लागि पनि ठुलै पापड बेल्नुपर्छ । समाजका हरेक क्षेत्रमा नाफामुखि चरित्र हावी हुनाले समाज विकास गौण बनेको हो की भनेर बुझ्नु गलत होइन । त्यसमाथि ठुला मिडियाको चरित्र नाफामुखि छ । साथै बढ्दो शहरीकरणले निम्त्याएका आम चुनौतीहरु विश्वका अरु ठुला शहरमा पनि तीनै हुन् जुन हामी यहाँ भोगिरहेकाछौ । फरक यतिमात्र हो अरुले चुनौती सामना गरे, समाधान गरे हामी त्यही गर्न नसकेर त्यसको दोष एकअर्कालाई खासगरी राजनीतिमाथि थोपरीरहेकाछौ । सबैलाई थाहा छ, हाम्रो राजनीति ईतिहासको अत्यन्तै जटिल मोडबाट गुज्रिरहेको छ । इतिहासमा सधै यस्तो अवस्था आउँदैन । समय लाग्छ रुपान्तरणका लागि । र पनि २०४६ पछिको राजनीतिले हामीलाई आत्मविश्वासी बनाउँदै आफ्नो भविष्यका लागि आफै जिम्मेवार हुन सिकाएको सत्यलाई हामीले कुल्चिनु भुल हो भन्ने ठान्छु म । माथि बर्णन गरिएका राम्रा कामहरु पनि यही बेला भएका हुन् जुन हामीले नै गरेका हौ । जस मार्फत पैसा र प्रबिधिमा हाम्रो पहुँच बढ्दैछ । प्रबिधीमाथिको पहुँचले हामी र यो राष्ट्रको विकासलाई आउने दिनमा अबस्य सहज बनाउँछ । अहिलेको अवस्थामा खाँचो छ भएका राम्रा कामहरुको उचित चर्चा, सम्मान र सकारात्मक सोच र व्यवहारको ।  
प्रतिस्पर्धी खुल्ला बजार अर्थतन्त्रमा ठुला मिडियाहरु नाफामुखि चरित्रमा सञ्चालित छन् । नाफा बजारले दिने हुनाले बजारमा जे बिक्छ त्यही बिषयको वरिपरी आमसञ्चार माध्यमका बिषयहरु घुम्नु स्वभाविक हो । बजारमा राजनीति, सेक्स, ग्ल्यामर, अपराध, दुर्घटना र नराम्रा घटनाहरु जति छिटो बिक्छन् राम्रा कुराहरुमा मानिसको ध्यान कम जान्छ भन्ने मान्यताले मिडियाले आफ्ना बिषयबस्तु प्रस्तुत गरिहेको अबस्था छ । जसले गर्दा परम्परागत मिडियाप्रति उपभोक्ताको गुनासो बढ्दो छ । यस्तो अबस्था लोकप्रीय हुदै गैरहेको सोसल मिडियाका लागि राम्रो गर्ने अवसर हो । सोसल मिडियाले परम्परागत मिडियाले गर्न नसकेको काम गर्दै विकल्प दिन सक्छ । कसरी भनेः
हामी सोसल मिडियालाई त्यही रुपमा प्रयोग गर्न सक्छौ जुन ठाउँमा यसको आवश्यकता छ । हामी त्यहाँ पुग्न सक्छौ जहाँ परम्परागत मिडियाहरु पुगेनन् । उनीहरुले चाहेर पनि दिन नसकेका बिषयबस्तु हाम्रा छलफलका बिषय हुनसक्छन् । माथि उल्लेख भएका बाहेक अरु पनि थुप्रै राम्रा काम भएका छन् यो समाजमा । सोसल मिडिया मार्फत हामी ती कामहरु बाहिर ल्याउन सक्छौ । सरकार र नागरिकले गर्नै पर्ने कामको फेहरिस्त तयार पार्न सक्छौ । प्राथमिकतामा आधारमा ती सवालहरुलाई छलफल र कार्यान्वयनका लागि दवाव दिन सक्छौ । आवाज विहीनको आवाजको रुपमा सोसल मिडियालाई स्थापीत गर्न सक्छौ । अधिकार र कतव्र्यका लागि वकालत गर्न सक्छौ । कुनै कुराको ठाडो बिरोधमात्र हैन बिकल्प सहित रचनात्मक भुमिका खेल्न सक्छौ ।   
असल कामहरुको सकारात्मक प्रस्तुती सोसल मिडिया प्रयोगकर्ताको रणनीति किन बन्न सक्दैन र? नकारात्मक कुराहरुलाई निरुत्साहनका लागि सोसल मिडिया अगाडि आउन सक्दैन र? हिजो रेडियो नेपाल, नेपाल टिभी र गोरखापत्रको बिकल्पमा एफएम रेडियो, निजी टिभी र पत्रपत्रिका शुरु भए र तीनले राम्रो काम गरिरहेका छन् भने सोसल मिडियाले ती परम्परागत मिडियाको सिमालाई चिर्दै बिकल्प दिन सक्दैन? टिएफसी, गाउँमा किताव, नेपाल युनाइट्स, आइब्लड जस्ता उदाहरणीय कामलाई शुरुवात र सम्पादन गर्न सक्ने मन र मस्तिष्कले अरु पनि राम्रा काम गर्न सक्दैन भनेर कसैले पत्याउँछ? भ्रष्टाचारीलाई किरा परोस् भनेर सराप्ने स्थान सोसल मिडिया मार्फत भ्रष्टाचार बिरोधी अभियान किन शुरु हुन सक्दैन?    
यस्ता थुप्रै सवालहरु छन् जुन सोसल मिडियामार्फत छलफल गर्न सकिने र यो अवसर पनि हो । लोकतन्त्र, बिधिको शासन, नेट फ्रिडम, प्रेस प्रिडमका लागि सोसल मिडिया दह्रो बैकल्पिक पहरेदारको रुपमा स्थापीत हुन सक्छ । सक्दैन र?
बुबा आमाबट अलग्गिएपछि पटकपटक गरी भाडामा बस्न थालेको १७ बर्ष भएछ । काठमाण्डौ खाल्डो र आसपासमा आफ्नै कमाईबाट घरबासको व्यवस्था नभै सकेको र हुने संंभावना पनि कमै भएकोले यसै भन्न सकिन्न अझै कति बर्ष यसरी नै बित्छ जिन्दगी । यसो हिसाब गरेको इटहरी र सोलुखुम्बु बाहेक काठमाण्डौमा मात्रै भाडामा बसेका स्थानहरु जोड्दा १० पुगेछ । त्यसमध्ये आधाजति स्थान जेठो दाजुले जोहो गरेका कोठा र प्mल्याटमा बिते भने बाँकी ५ स्थान आफैले खोजेका र भोगेका परेछन् । सोलु र इटहरीको भाडाको बसाई रहर र बाध्यता दुवै थियो । घर, घरवेटी, पानी, बिजुली, फोहोर व्यवस्थापन र रहनसहन अनि त्यसले घरवेटीलाई पार्ने प्रभाव, एउटा भाडामाबस्नेको १६ बर्षे भोगाईमा आधारित यो लेखका प्रमुख सवाल हुन् ।

‘हेल्लो, हेल्लो, हेल्लो... ‘ १७ बर्ष अगाडिको कुरा हो । एसएलसीको नतिजा सार्वजनिक भएको दुई दिनपछि बल्ल गाँउमा थाहा भयो नतिजा प्रतिकुल आएको थियो । भोलिपल्ट बिहानै भालेको डाकसँगै मेरा पाइलाले घरको जघाँर पार गरे । “गाउँमा बस्नु भन्दा सत्रुका अगाडि मुख नदेखाउनु नै राम्रो हो, जा दाजु छ त्यसैले केही गर्छ अब,” बुबाले भैसी गोठ जानुअघि मलाई बिदा गर्दै भनेका शब्दहरु अहिले पनि मनमा गाडिएर बसेका छन् । भोजपुरको भुल्केबाट २ दिन हिडेर चतरा हुदै इटहरी पुग्दा मामा घरकी हजुरआमाको देहवसान भैसकेको थियो । इटहरीबाट त्यही दिनको रात्रीबस चढेर भोलिपल्ट बिहान ९ बजे कलंकी झरेर जीवनमै पहिलोपल्ट फोन छोएको क्षण डर र उत्सुकताले भरिपुर्ण थियो । पसलवालाले नम्बर थिचेर मलाई बोल्नु त भन्यो तर कहिल्यै फोन नदेखेको मान्छे पहिलोपल्ट फोन कानमा लगाउने बित्तिकै भन्न थालेछु हेल्लो हेल्लो हेल्लो ... कोही बोलेन त भनेर साउजीलाई फोन फर्काएपछि पो थाहा भयो घण्टि गइरहेको थियो तर उतातीर फोन उठेको थिएन । एकछिन् पछि ताहाचलबाट लिन पुग्नु भएको दाजुको मोटरसाईकलमा डराउँदै बसेर पुगेको घर थियो काठमाण्डौमा मेरो दोश्रो डेरा अनुभव । यसअघि ४९ सालताका केही दिनको घुमाईको लागि पहिलोपटक काठमाण्डौ टेक्दा कालिमाटीमा बसेको थिए जहाँबाट दाजु भाउजुले जाउँभनेको स्थानमा जान बाहेक म कहिल्यै डेराबाट बाहिर निस्किन सकिन । कारण थियो, म ९ बर्षको हुदाँ राजबीराजमा हराएको थिए, त्यसैले काठमाण्डौका गल्लिमा एक्लै हिड्न मलाई प्रतिबन्धजस्तै थियो ।

पानी, बिजुली, फोहोर, रहनसहन र उठबसः घरबेटी र भाडावालको सम्बन्धलाई सुमधुर र प्रतिकुल बनाउने मुख्य तत्वहरु हुन् जस्तो लाग्छ । स्थान ताहाचल, घर थियो तीनतलाको । ताहाचलमा बस्दा स्टोभमा खाना पकाउनु पर्ने । भाउजु सानो दुर्घटनामा परेपछि खाना पकाउने जिम्मा मेरो हुन्थ्यो । उत्तिस, पात्ले र गुराँसका सुकेका दाउरा हुर्र बाल्दै अगेनामा आगो बाल्ने हातले स्टोभ बाल्न सिक्न पनि कम्ता धौ हुन्थेन । सबभन्दा डर त्यतिबेला हुन्थ्यो जतिबेला किचन नजिकैको भर्याङमा महिला चप्पल बज्दै ओहोर दोहोर गर्थे । “स्टोभ बालेर घर त कालै मसान नै बनाउने भए, कस्ता मान्छेलाई भाडामा लाइएछ,” घरकी मालिक्नी जसको ब्लड प्रेसर उच्च थियो प्यारप्यार कराउँदै म फुच्चेको समेत प्रेसर उच्च बनाउँथिन् । “ए बाबु, पानी त्यसरी पोख्ने हैन, हेर हेर फोहोर पनि कत्ति पार्न सकेका, ल हेर घर त कालै भएछ, स्टोभमा नपकाउ भन्या हैन तिमेरलाई?, ओहो हेर हेर, कस्ले चप्पल भित्र ल्यार आको, यसो गर्नु हुन्न बुझेउ” नेवारी लवजमा साउनीको यस्तै फतफत नसुनेको दिन कान पनि छक्क पर्थे ।

कुरो नरदेवीको । कोठामा एक्लै थिए । दाजुको हैसियत स्टोभबाट एक खुड्कीला माथि चढेको थियो । मट्टितेलबाट चल्ने अलिक परिष्कृत चुल्हो प्रयोगमा थियो । स्पष्ट सम्झना नभएपनि चाइनीज थियो जस्तो लाग्छ त्यो चुल्हो । सिकारु नै थिए । एकदिन बाल्नमात्र के थालेको थिए चुल्होबाट निस्केको कालो धुवाँले कोठा भरियो । काठको भर्याङमा मानव आकृती हिडेको स्पष्ट आवाज नजिकै आइपुग्यो । “लौ हेर कोठा त बर्वाद भयो नी, ए बाउ, त्यसलाई राम्ररी बाल, कालो भयो कोठा,” “हुन्छ हजुर बल्दैछ तर धुवाँ धेर आयो ।” “ल यसरी बाल्नु हुन्न, कोठा कालो हुन्छ हेर त धुवाँ आएको?” “एकछिनमा ठिक हुन्छ हजुर, बल्दैछ ।” “ओ हो बर्वादै भयो नी, कोठा त खत्तम, ए बाउ त्यसलाई राम्ररी बाल, किन धुवाँ बनाएको?” घर मालिक्नीको एककोहोरो रटान बन्द नभएपछि चुल्हो निभाएर भन्नै पर्यो “हस हजुर बन्द गरे, अब पकाएर पनि खान्न, बाहिर गएर खाएर आउँछु ढुक्क हुनु तपाईको घरमा चुल्हो बल्दैन अब ।” रिसले अनुहार रातो नै भएपनि हाँस्दै बाहिर निस्कनुको अर्को बिकल्प थिएन त्यो दिन ।

घरबेटीले मुलढोका बन्द गर्ने र भाडावालको फिर्ने समयको तालमेल नहुनु भाडावालको जिन्दगीको अर्को महत्वपुर्ण हिस्सा हो । स्थान बिजुलीबजार । रातको १० बजेपछि मुलगेट बन्द हुन्थ्यो । जसरी पनि १० बजे अगाडि नै पुग्नु पर्ने । गेटमा भित्रबाट पनि चाबी लाग्ने भएकोले तीनतले घरमा बस्ने सबैसँग चाबी हुन्थेन । एकदिन घर आउन अलि अबेर भयो । कुनै हालतमा ढोका खुलेन । रातको ११ बजेको हुदो हो । न कसैको फोन थियो न त फोन गर्ने ठाउँ नै । रात बिताउनका लागि कि त गेटमै भुईमा सुत्नुपथ्र्यो कि होटल जानु । गोजीमा पैसा नहुनुको पिडा त्यो दिन भोग्नु पर्यो । केही नलागेपछि सडकमा आएर हिड्दै हिड्दै कोपुण्डोल पुगे । म काम गर्ने अफिसको गेट र अफिस तलाका कोठाको चावी गोजीमा नै थियो । सरासर अफिस कोठामा पुगेर कुर्सी र टेवलमा सुते । त्यो रात त्यसरी नै बित्यो । भोलीपल्ट बिहानै कोठामा पुग्दा मुलगेट खुलिसकेको थियो ।

बिजुली बजारमै एकरातको घटना । पुरै फ्ल्याट लिने हैसियत हाम्रो थिएन । त्यहाँ अरु पनि बस्थे । भर्खर रंङ्गिन टिभी भित्रीएको बेला निकै अबेरसम्म टिभी हेरिन्थ्यो । दाजु बाहिर गएको बेला थियो । कसैले ढोका ढक्ढकायो । खोलेको मात्र के थिए, जिब्रो बटारिएको भावभंगीमा लर्बरिदै एकजना मान्छे करायो, “मेरो कोठामा किन पसेको? चोर्न आको? पुलिसलाई बोलाउ?” छक्कपर्दै एकछिन सवाल जवाफ गरेपछि थाहा भयो उ हाम्रो छेउको कोठामा बस्थ्यो, त्यो रात टन्न रक्सी पिएर आएकोले गर्दा उसले आफ्नो कोठा नचिनेर हाम्रोमा आइपुगेछ ।

बिजुलीबजारमा रहँदा नै हो मैले निर्णय गरे अब एक्लै वा साथीसँग बस्छु । त्रिपुरेश्वरमा अफिस भएकोले नजिकै कोठा खोज्ने मनसाय थियो । घुम्दै जाँदा टेकु पुगे । एउटा घरमा कोठा खाली भएको पत्तो पाएपछि नसोधी भएन भनेर त्यो घरमा पुगे । अधबैसे लोग्नेमान्छे रवाफिलो शैलीमा प्रकट भयो । नामदेखि कामसम्म उमेरदेखि शिक्षासम्म उसले सोधेका प्रश्नको उत्तर रिठ्ठो नबिराईकन दिए । अन्तमा उसले भन्यो रुम त छ तर भाईलाई नदिने । केही दिनपछि उसको घरनजिकै कोठा भेटियो । केही दिनमा थाहा पाए त्यो मान्छेले कोठा नदिने कारण त उसकी श्रीमती रैछन् । पहिलेकी बितेर हो की क्या हो उसले आफुभन्दा आधा उमेर कान्छि केटीलाई बिहे गरेको रैछ । उसको छिमेकीले भन्थ्यो जो आउँछ भाडामा बस्न उसले पहिले उमेर सोध्छ रे । तर भाडामा कोठा चाँही कसैलाई दिएको छैन ।

टेकुकै अर्को घटना । साथी दिपेन्द्र र मैले जीवनमा पहिलोपल्ट मादक पदार्थ सेवनको योजना बनायौ । प्रदर्शनीमार्गको दिपेन्द्रको पसलबाट निस्कँदा साझ छ बजेको थियो । टेकु चोकमा पुगेर १ केजी कुखुराको मासु र गीलमेरी एक क्वार्टर बोकेर डेरा पुग्यौ । मासु पकाउन सौखिन दिपेन्द्रले कोठाका सबै झ्याल खोलेर पकाउन थाल्यो । चिकेनको वास्ना वरिपरी फैलिएरै हो की गर्मि भएर हो पल्लोकोठाको ढोका खुल्यो । ठुलै स्वर भएको तराईतीरको मान्छे सपरिवार बस्थ्यो त्यो कोठामा । बुढाबुढी नै निस्केर गफीन थाले । एकछिनपछि अलि पर कोठा भएको अर्को परिवार पनि निस्कियो । हामी आफ्नै धुनमा मख्ख । मासु र गीलमेरी खाने योजनामा हामीलाई बाहिर मानिस किन उठे भन्ने चासो थिएन । पकायौ, खायौ, झ्याल बन्द गर्यौ, सुत्यौ । सधै मज्जाले बोल्ने पल्लो कोठाकी दिदी भोलीपल्ट बिहान बोल्दै बोल्दिनन् । दाईहरु मुख फुलाएर हिड्न थाले । आफुले बोलेको कुरामा वेवास्ता गर्नेक्रम बढ्दै गएपछि कारण जान्न कोशीस गरे । उनीहरुलाई अघिल्लो रात देखाएर मासु पकाइयो तर खान चाँही नबोलाएको कारण पो रिसाएका रहेछन् उनीहरु । त्यही कारणले गर्दा टुकेको मेरो बास मैतिदेवी सर्यो ।

तत्कालिन राजा वीरेन्द्रको बंशनासको हल्लाले केही दिन म मात्र हैन सिंगो काठमाण्डौ नै अन्यौलमा थियो । तत्कालिन युवराज दिपेन्द्रको मृत्युपछिका केही दिन तनावग्रस्त थिए । कफ्र्युको बिचमा उनको शबयात्रा भएको थियो । त्यसपछि पनि केही दिन कहिले पुरा दिन त कहिले केही समय कफ्र्यु लाग्थ्यो । एकदिन कफ्र्यु खुलेको मौका पारी हामी रेडियो सगरमाथा बखुण्डोलमा भेला भएका थियौ । त्यहाँबाट ननिस्कीदै फेरी कफ्र्यु लागिहाल्यो । त्यो रात रेडियो सगरमाथामा नै सुतियो । भोलिपल्ट १२ बजेतिर आफ्नो कोठा मैतिदेवी पुगे । कोठाको ढोका तोडिएको थियो । कोठा खुल्लै थियो । चोर पसेको आशंका थियो तर कुरो अर्कै परेछ । भएको के रहेछ भने कफ्र्युको बेला मैतिदेवी चोकमा कसैले प्रहरीलाई ढुंगा हानेर भागेछ । प्रहरी पनि के कम, खेद्दै गयो । चोकबाट नजिकै भएकोले भाग्ने मनुष्य म बसेकै घरमा छिरेछ । प्रहरी पनि आइपुग्यो । एउटा फ्ल्याटमा हामी बिद्यार्थीमात्र बस्थ्यौ । सबैका ढोकामा पुलिस पुग्यो र खोल्न अह्रायो । तर मेरो ढोका खुलेन । भाग्ने मान्छे त्यही भित्र छ भन्ने आंशकाले प्रहरीले ढोका फोर्यो तर केही नभेटेपछि प्रहरी फर्कियो । घरवेटीले ७÷८ सय खर्चेर ढोका त बनायो तर भाडा असुल्ने बेला त्यसलाई पनि भाडामा जोडेर मैबाट असुल्यो ।

२०५८ सालमा काठमाण्डौ छोडेपछि ४ बर्ष पुर्ण रुपमा काठमाण्डौ बाहिर नै बिते । सोलु र इटहरीमा भाडामा नै बसेपनि उल्लेख्य र स्मरणीय कुनै घटना भएनन् । हामी बसेको घरमा बाहिरबाट चुकुल लगाएर प्रहरी र सेनालाई माओवादीले घायल पारेको घटना नै अविष्मरणीय रह्यो सोलुको डेरा बसाईमा । त्यो बेला काठमाण्डौ आउजाउ गर्दा बुद्धनगरमा थियो दाजुको फ्ल्याट त्यतै बसिन्थ्यो । तीन तलामाथिको फ्ल्याटमा जानका लागि जमिन तलादेखि नै जुत्ता चप्पल खोलेर हातमा बोक्दै जानुपथ्र्यौ । त्यस्तो बेलामा पनि घर मालिक्नीको रुखो व्यवहार यतिसम्म हुन्थ्यो की जुत्ता चप्पल हातमा बोकेर जानु पनि अपराध गरे सरह हुन्थ्यो । उनको बीचारमा जुत्ता चप्पलको स्थान जमिन तलामा नै हुनुपर्छ तर अचम्म त्यहाँको मुख्य प्रबेशद्धार २४ घण्टा खुला हुन्थ्यो । चारतलामाथि चेनगेटमा सुरक्षित घरवालालाई भाडामा बस्ने र उनका सामानको सुरक्षामा किन मतलब होस् पनि । घरवेटीहरु त्यही बाटो हिड्ने, जुत्ता चप्लल भिरेर निष्फिक्री हिड्थे, यस्तो लाग्थ्यो भाडावालका जुत्ता चप्पललेमात्र फोहोर बोक्थे ।

२०६२ सालमा काठमाण्डौ फर्किने निर्णय गरियो । धुइपाताल खोज्दा पनि भनेजस्तो कोठा भेटिएन । भक्तपुरको लोकन्थलीमा एउटा फ्ल्याट भेटियो । सस्तो रहेछ । नजिकैको फर्निचर पसलबाट एउटा पलङ किनेर लगेर ओछ्याइयो र केही दिनभित्रै सर्ने योजना पनि बन्यो । कार्पेट बिछ्याउने काम पनि भयो । तर लोकन्थली बस्न दुवै जनाको मनले मानिरहेको थिएन । यस्तै अबस्थामा भैसेपाटीमा एउटा सिंगो घर भेटियो । खुबै मन पर्यो । भक्तपुरको फ्ल्याटलाई दिएको बैना रकम समेत माया मारेर पिकअप भ्यानमा पलंग र कार्पेट बोकेर भैसिपाटी पुगेपछि पैसा गुमाउँदा भन्दा पनि भनेजस्तो घर पाउँदाको आत्मसन्तुष्टि बेग्लै थियो ।

लामोसमय भैसेपाटीको बसाई अत्यन्तै सुखद थियो । तर जतिबेला घरवेटी जागिरबाट फर्केर घर थप्ने र बिहे गर्ने योजना बनाउन थाले घर बनाउँदा हुने सम्भावित धुलो र बालुवाको असर नवजात छोरामा पर्ने डरले त्यहाँबाट सर्नका लागि भाईसमेतको सक्रियतामा उचित स्थानको खोजी तीब्र हुनथाल्यो । धोवीघाटमा राम्रो ठाउँ भेटियो । शुरुका केही दिन त रमाईलै बिते । तर बस्दै जाँदा थाहा भयो घरवेटीको हस्तक्षेप नचाहिदो किसिमले बढिरहेछ । “जुत्ता त्यहाँ नराख, त्यो ढोका नखोल, लुगा किन धोएको? यतिका लुगा किन लाउनु पर्यो मैलीने गरी?” सुन्ने नसुन्ने गरी  नियमित जस्तो चियो र चर्चो हुन थाल्यो । आगँनमा भर्खरै बामे सर्दै गरेको छोराको उपस्थिती पनि असह्य हुन थाल्यो साउजीलाई । इटहरीबाट बुबा आउनु भएको, वहाँको बिहानै उठेर नुहाउने बानी, तर तल धारा खोलेको थाहा पाएपछि पानीको मुहान (माथिबाट झर्ने) नै बन्द गर्दिने । टाउको र जिउमा सावुन दलेर पखाल्न नपाउदै बुबा निस्कनुहुन्थ्यो । यस्तो कैयोचोटी भयो । अचाक्ली भएपछि एकदिन झगडै भयो । जुन दिन झगडा भयो त्यही दिन त्यहाँबाट सरेर अहिले जहाँ बसिन्छ त्यहाँ पुगेको छ भाडावालको जिन्दगी ।

२०६९ भदौ २० गते, कुमारीपाटी

Popular Posts

Blogger templates

Blogger news

Blogroll