हिलोमा कमल फुल्छ भनेझै समस्याकै बीचमा हाम्रो देशको मानव विकास सुचकांक सुधारोन्मुख छ । यसपाली देशको आर्थिक बृद्धिदर बढेको छ । हिजोआज गाँउँगाउँमा बिद्यालय खुलेका छन् । पहिले घाँसदाउरामा मात्र सिमित हाम्रा छोरीचेलीहरु स्कुलमा भेटिन्छन् । चुल्होचौकामा सिमित दिदी, भाउजु, आमा, हजुरआमा अहिले संसारका अत्याधुनिक मुलुकमा सहज आवतजावत र परिश्रम गर्न सक्षम छन् । यातायातका साधन देख्नमात्रै पनि दिनौ हिड्नुपर्ने ठाउँमा धुले नै सही सडक पुगेको छ । महिनौ कुरेर हुलाक मार्फत परदेशी आफन्तको समाचार सुन्न बाध्य दुर दराजका गाउँलेसँग अहिले अत्याधुनि प्रबिधि सहितको मोवाइल फोनमाथि पहुँच बढ्न थालेकोछ । एउटामात्र मोवाइल फोन नभएको घर सायद नभेटिएला हिजोआज केही अपवाद बाहेक । बिदेशमा बस्ने पति, छोरा, बुबा, आमा, श्रीमती, भाउजु र दिदीबैनीसँग भिडियो हेर्दै फोन वा कम्प्युटर मार्फत गरिने प्रत्यक्ष कुराकानी अनौठो हुनथालेको छ । अनुरोध गीतका लागि चिठ्ठी पठाएर प्रसारणको आसमा महिनौ कुर्न बाध्य नागरिक आज आफै रेडियो, टिभी र पत्रपत्रिकाका मालिक भएका छौ । 
सञ्चारक्षेत्रमा भएको विकासमा हामी दक्षिण एशियामै उदाहरणीय छौ । साना तथा मझौला किसिमका बिद्युत आयोजनाले गाउँहरु झलमल्ल छन् । गाविस तथा नगरपालिकामा समुदाय र सरकारको सहकार्यमा उदाहरणीय कामहरु भएकाछन् । पहिलेपहिले महिनौ दिन लाएर काठमाण्डौ पुग्ने पुस्ताका सन्तान अहिले कोषौ टाढा बिदेशमा बसेर देशको अर्थतन्त्रलाई मजबुत बनाउन योगदान दिइरहेका छन् । उनीहरुले पठाएको रकम रेमिट्यान्सको रुपमा देशको अर्थतन्त्रको बलियो मेरुदण्ड बन्दैछ । देशमै भएको युवा जमात केही न केही सिर्जनशिल काममा जुटेका छन् । आमाहरु सुइटर बुन्ने र धारापधेरामा सिमित कुराकानीबाट बाहिर निस्केर समाज विकासका लागि खबरदारीमा लागेकाछन् । जेष्ठ नागरिक जमात आफ्ना अनुभव र ज्ञानहरु नयाँ पुस्तालाई हस्तान्तरण गर्न बाहिर आएका छन् । जात, भाषा, लगायत अन्य किसिमले हिजो दवाइएका पहिचानहरु आज सगर्व बाहिर आएर आफ्नो अस्तित्वका लागि लडिरेका छन् । सूचना प्रबिधिले संसारलाई मोवाईल, कम्प्युटर, टिभी वा अन्य बिद्युतीय सामग्री मार्फत हरेकका घर, कोठा, ओछ्यान, भान्सामा पुर्याएको छ, जससँग सहज पहुँच भएको नेपाली जमात हरेक क्षण बढिरहेको छ । तरकारीको भाउ बुझेर बारीको तरकारी टिप्ने र बजार लाने किसानहरु यही समाजमा छन् । गाइबस्तु पालेर उन्नती गरेका प्रगतिशील हातहरु यही माटोमा छन् । गाउँमा इन्टरनेट पुर्याएर विश्वलाई समेत उदाहरणीय पाठ सिकाउने मेगासेसे पुरस्कार बिजेता नागरिक यही भुमिमा छन् । आँखाको क्षेत्रमा बिश्वमै प्रभावकारी काम गर्ने डाक्टरहरु हामीकहाँ नै छन् । यस्ता थुप्रै कामको फेहरिस्त छ जसले बितेका १० १५ बर्षमा यही भुमिमा श्रम र पसिना बगाएर यो देशको सान उच्च राखेकाछन् ।  
विश्व राजनीतिक, आर्थिक तथा वातावरणीय परिवेशमा आएको परिवर्तनसँगै हामी नेपालीको पनि पैसा र प्रबिधीमा सहज पहुँच स्थापना हुने क्रम तिब्रतर छ । प्रबिधी, पैसा र पहुँचको देखिने प्रभाव हो हामीमा अहिले बढेको आत्मविश्वास । त्यही आत्मविश्वासको परिणाम स्वरुप वितेका दशकमा हामीले यो देशमा उल्लेख्य काम गरेका छौ । तर ती कामहरुले उचित रुपमा चर्चा र सम्मान नपाउँदा हुनसक्छ हामी आफुले गरेका कामहरुलाई पत्याउन सकिरहेकाछैनौ । आफुलाई नपत्याउने र आपुजस्तो राम्रो काम गर्न नसक्नेलाई गाली गर्नु हाम्रो दिनचर्या बनेको छ । गालिको केन्द्रमा छ राजनीति र गालि मार्फत हामी यसरी प्रस्तुत भइरहेका छौ की मानौ यो देशमा बितेको बर्षहरुमा केही भएकै छैन ।
तर त्यसो हैन । बितेको बर्षहरुमा मनग्गे राम्रा कामहरु भएकछन् । हो, खुल्ला र प्रतिस्पर्धी बजार अर्थतन्त्रतका चुनाती मनग्गे छन् । त्यसैले यहाँ टिक्नका लागि पनि ठुलै पापड बेल्नुपर्छ । समाजका हरेक क्षेत्रमा नाफामुखि चरित्र हावी हुनाले समाज विकास गौण बनेको हो की भनेर बुझ्नु गलत होइन । त्यसमाथि ठुला मिडियाको चरित्र नाफामुखि छ । साथै बढ्दो शहरीकरणले निम्त्याएका आम चुनौतीहरु विश्वका अरु ठुला शहरमा पनि तीनै हुन् जुन हामी यहाँ भोगिरहेकाछौ । फरक यतिमात्र हो अरुले चुनौती सामना गरे, समाधान गरे हामी त्यही गर्न नसकेर त्यसको दोष एकअर्कालाई खासगरी राजनीतिमाथि थोपरीरहेकाछौ । सबैलाई थाहा छ, हाम्रो राजनीति ईतिहासको अत्यन्तै जटिल मोडबाट गुज्रिरहेको छ । इतिहासमा सधै यस्तो अवस्था आउँदैन । समय लाग्छ रुपान्तरणका लागि । र पनि २०४६ पछिको राजनीतिले हामीलाई आत्मविश्वासी बनाउँदै आफ्नो भविष्यका लागि आफै जिम्मेवार हुन सिकाएको सत्यलाई हामीले कुल्चिनु भुल हो भन्ने ठान्छु म । माथि बर्णन गरिएका राम्रा कामहरु पनि यही बेला भएका हुन् जुन हामीले नै गरेका हौ । जस मार्फत पैसा र प्रबिधिमा हाम्रो पहुँच बढ्दैछ । प्रबिधीमाथिको पहुँचले हामी र यो राष्ट्रको विकासलाई आउने दिनमा अबस्य सहज बनाउँछ । अहिलेको अवस्थामा खाँचो छ भएका राम्रा कामहरुको उचित चर्चा, सम्मान र सकारात्मक सोच र व्यवहारको ।  
प्रतिस्पर्धी खुल्ला बजार अर्थतन्त्रमा ठुला मिडियाहरु नाफामुखि चरित्रमा सञ्चालित छन् । नाफा बजारले दिने हुनाले बजारमा जे बिक्छ त्यही बिषयको वरिपरी आमसञ्चार माध्यमका बिषयहरु घुम्नु स्वभाविक हो । बजारमा राजनीति, सेक्स, ग्ल्यामर, अपराध, दुर्घटना र नराम्रा घटनाहरु जति छिटो बिक्छन् राम्रा कुराहरुमा मानिसको ध्यान कम जान्छ भन्ने मान्यताले मिडियाले आफ्ना बिषयबस्तु प्रस्तुत गरिहेको अबस्था छ । जसले गर्दा परम्परागत मिडियाप्रति उपभोक्ताको गुनासो बढ्दो छ । यस्तो अबस्था लोकप्रीय हुदै गैरहेको सोसल मिडियाका लागि राम्रो गर्ने अवसर हो । सोसल मिडियाले परम्परागत मिडियाले गर्न नसकेको काम गर्दै विकल्प दिन सक्छ । कसरी भनेः
हामी सोसल मिडियालाई त्यही रुपमा प्रयोग गर्न सक्छौ जुन ठाउँमा यसको आवश्यकता छ । हामी त्यहाँ पुग्न सक्छौ जहाँ परम्परागत मिडियाहरु पुगेनन् । उनीहरुले चाहेर पनि दिन नसकेका बिषयबस्तु हाम्रा छलफलका बिषय हुनसक्छन् । माथि उल्लेख भएका बाहेक अरु पनि थुप्रै राम्रा काम भएका छन् यो समाजमा । सोसल मिडिया मार्फत हामी ती कामहरु बाहिर ल्याउन सक्छौ । सरकार र नागरिकले गर्नै पर्ने कामको फेहरिस्त तयार पार्न सक्छौ । प्राथमिकतामा आधारमा ती सवालहरुलाई छलफल र कार्यान्वयनका लागि दवाव दिन सक्छौ । आवाज विहीनको आवाजको रुपमा सोसल मिडियालाई स्थापीत गर्न सक्छौ । अधिकार र कतव्र्यका लागि वकालत गर्न सक्छौ । कुनै कुराको ठाडो बिरोधमात्र हैन बिकल्प सहित रचनात्मक भुमिका खेल्न सक्छौ ।   
असल कामहरुको सकारात्मक प्रस्तुती सोसल मिडिया प्रयोगकर्ताको रणनीति किन बन्न सक्दैन र? नकारात्मक कुराहरुलाई निरुत्साहनका लागि सोसल मिडिया अगाडि आउन सक्दैन र? हिजो रेडियो नेपाल, नेपाल टिभी र गोरखापत्रको बिकल्पमा एफएम रेडियो, निजी टिभी र पत्रपत्रिका शुरु भए र तीनले राम्रो काम गरिरहेका छन् भने सोसल मिडियाले ती परम्परागत मिडियाको सिमालाई चिर्दै बिकल्प दिन सक्दैन? टिएफसी, गाउँमा किताव, नेपाल युनाइट्स, आइब्लड जस्ता उदाहरणीय कामलाई शुरुवात र सम्पादन गर्न सक्ने मन र मस्तिष्कले अरु पनि राम्रा काम गर्न सक्दैन भनेर कसैले पत्याउँछ? भ्रष्टाचारीलाई किरा परोस् भनेर सराप्ने स्थान सोसल मिडिया मार्फत भ्रष्टाचार बिरोधी अभियान किन शुरु हुन सक्दैन?    
यस्ता थुप्रै सवालहरु छन् जुन सोसल मिडियामार्फत छलफल गर्न सकिने र यो अवसर पनि हो । लोकतन्त्र, बिधिको शासन, नेट फ्रिडम, प्रेस प्रिडमका लागि सोसल मिडिया दह्रो बैकल्पिक पहरेदारको रुपमा स्थापीत हुन सक्छ । सक्दैन र?

0 comments:

Popular Posts

Blogger templates

Blogger news

Blogroll

Archive