अन्ततः जुँगाको लडाई सकियो । नेकपा एमालेको नवौ महाधिबेशन निर्धारित समयसिमा नाघेर पनि शान्तिपुर्ण र लोकतान्त्रिक रुपमा सम्पन्न भयो । अध्यक्षमा केपी ओलीले जिते । माधव नेपालको हार भयो । असहिष्णु बक्तब्यबाजी, अस्वस्थ प्रतिस्पर्धा, कमजोर ब्यवस्थापन, हाईटेट तथा खाईटेक, उद्घाटनस्थलमा कार्यकर्ता उद्धन्डता, भिडन्ट, गुटगत आरोपप्रत्यारोप, ढिलो मतगणना र मत परिणाम सार्वजनिक जस्ता केही बिशेषता सहित एमालेको नवौ अधिबेशनलाई अबिष्मरणीय रह्यो ।

४६ सालपछिको राजनीतिक रंगमञ्चमा एमाले सधै अग्रस्थानमा रहदैंआएको छ । नेपाली कांंग्रेसभित्रको आन्तरिक कलह र तत्कालिन छत्तिसे घातअन्तर्घातको फाइदा उठाउँदै ५१ सालमा एमालेले अल्पमतको सरकार बनायो । सरकारले लोकप्रीय बजेट तथा कार्यक्रम प्रस्तुत गर्यो । आफ्नो गाउँ आफै बनाउँ, जेष्ठ नागरिकलाई भत्ता, नौस जस्ता कार्यक्रम अत्यन्तै रुचाईए । परिणामतः एमालेको लोकप्रीयता थप चुलियो । ४० को उत्तरार्द तथा ५० को दशकको शुरुवातबेलासम्मपनि समाजले कम्युनिष्टलाई हेर्ने दृष्टिकोण उदार थिएन । कम्युनिष्टहरुले गाई काट्छन्, बृद्धबृद्धालाई गोली ठोक्छन्, धर्म मान्दैनन् जस्ताआम नागरिकको मनछुने संगिन अफवाहहरुको व्यापकता थियो । एमाले नै यस्तो कम्युनिष्टपाटी हो जसले यस्ता भ्रमहरुलाई गलत पुष्टि गराईदियो । कम्युनिष्ट शब्दकोषमा बहुदलीय प्रतिस्पर्धा, बिधीको शासन, मानवअधिकार, नागरिक स्वतन्त्रता छैनन भनेर हौवा पिटिन्थ्यो र हो पनि त्यस्तै । तर एमालेले प्रजातन्त्रीक चरित्रमा सम्झौता गरेन । जनताको बहुदलीय जनबादमार्फत बिश्वव्यापीरुपमा स्थापीत लोकतान्त्रिक मुल्यमान्यतालाई शिरोपर गर्यो । राष्ट्रियता, जनजीविका, धर्म निरपेक्षता, समावेशी प्रजातन्त्र, प्रभावकारी र जनउत्तरदायि सरकार जस्ता मुद्धामा एमालेले आफु सरकारमा हुदाँमात्र हैन संसदमा प्रतिपक्षमा रहँदापनि छिटफुट अपवाद बाहेक जिम्मेवार प्रतिपक्षको भुमिका खेल्यो । एमालेको संगठन गाउँगाउँमा पुग्न, गाउँको निम्न मध्यम र शहरीया मध्यम बर्गीय सचेत जमातको बीचमा लोकप्रीय रहनलाई एमालेका यस्तै चरित्रहरुले भुमिका खेले । पछिल्ला ५÷६ बर्षमा एमालेमा देखिएको निर्णयाक क्षमताको कमी, कांग्रेस र एमाओवादीको स्पष्ट धार र अडान सामु प्रष्ट दृष्टिकोण र स्थान अभाव, जनजाती र मधेशी समुदायको प्रतिनिधित्व गर्ने एमाले नेताहरुको बहिर्गमन, ६२÷६३ को परिवर्तनको मर्म अनुरुप अडिग पहिचान दिन नसक्दा पनि एमालेलाई आमनागरिकले बिश्वास नै गरे । राज्य रुपान्तरण र संघियताको बारेमा स्पष्ट धारणा नहुँदानहुदै पनि एमालेको संगठन भत्किएन । मंसिर ४, २०७० को चुनावको नतिजा त्यसैको प्रमाण हो ।

निर्णायक राजनीतिमा नेकपा एमाले कस्तो पाटी र कस्को पाटी भन्ने आलोचना खेपिरहेका बेला एमालेले नवौ अधिबेशन गर्यो । अधिबेशन अगाडि नै एमालेले भन्यो देशमा अब राजनीतिक क्रान्तिको आवश्यकता छैन । दुई हजारबढी कार्यकर्ता सहभागिता महाधिबेशनले आर्थिक क्रान्ति एमालेको कार्यदिशा पारित गर्यो । नेपाली कांग्रेस, एमाओवादी तथा अन्य भुरे टाकुरे कम्युनिष्ट पार्टीहरुले नेपाली समाजलाई बिभिन्न उपमा दिइरहने तर स्पष्ट दृष्टिकोण बनाउन रुमल्लिईरहेका बेला एमालेले छलफलयोग्य र बिवादास्पद भएपनि अबको कार्यनीति प्रस्तुत गरेको छ । यसलाई एमाले महाधिबेशनको एउटा उपलब्धि मान्न सकिन्छ । तथापी एमाले कस्तो पाटी र कस्को पाटी भन्ने प्रश्नलाई उत्तर दिनुको सट्टा केही थप अन्यौल सिर्जना गरेर नवौ महाअधिबेशन सकिएको छ ।

नेपालका राजनीतिक दलहरु आर्थिक हिसाबले कमजोर छन् । तर एमालेको अडिट रिपोर्टले यसलाई खण्डन गर्छ । करौडौको खर्च कटाएर पनि एमालेको बैंकखातामा करोडबढी बचत छ । एमालेमा बर्षौसम्म लेवी, सदस्यताशुल्क नबुझाउने कार्यकर्ताहरु धेरै छन् । लेवी वापतको लाखौ नतिर्ने, हिनामिना गर्ने नेता÷कार्यकर्ताहरुको चर्चा महाधिबेशनकाबेलामा पनि उठेको सुनियो । कार्यकर्ता र सभासदबाट उठ्ने लेबीले मात्र पाटीमा करौडौ बचत हुनसक्ला? एमालेले हिसावकिताव सार्वजनिक गरेर स्यावासी कमाएपनि त्यसको बिस्तृत स्रोत खुलाउन नसक्दा भने आम सचेत नागरिक जमातको कौतुहलता मेटाउन सकेको छैन । उल्टो थप कौतुहलता, एमाले नाफामा रहनुको राज के हो? कहाँबाट पैसा कमाउँछ? कसले दिन्छ? जस्ता अनुत्तरित प्रश्नले मुल प्रश्न खडा गरेको छ एमाले कस्को पाटी हो? के एमाले अब धनिमानी र सुकिलामुकिलाको पाटी भएको हो?

नवौ अधिबेशनपछि निर्वाचित पदाधिकारीलाई लिएर एमालेले चौतर्फी आलोचना खेप्नु परिरहेको छ । जुन स्वभाविक पनि छ । १४ जना पदाधिकारीमा केही जनजाती नेता बाहेक एकजना पनि मधेशी नपर्नुले अबको एमाले कस्तो र कस्को भन्ने प्रश्नलाई अझ जटिल बनाईदिएको छ । एमालेले आफुलाई राज्य रुपान्तरण र संघियताको मुद्धाबाट अलग्याएको सुनिएको छैन । अशोक राई, रामचन्द्र झा सहित अन्य जनजाती र मधेशी नेताले एमाले छोड्दा राज्य रुपान्तरण र संघिय संरचनाका लागि एमालेको स्पष्ट दृष्टिकोण अभावलाई दोष दिएका थिए । नवौ महाधिबेशन त्यो दोषबाट मुक्ति पाउने अवसर थियो । तर निर्णायकस्थानमा सिंगो मधेशी समुदायको एकजनाप्रतिनिधि समेत नहुनुले समावेशी नेपाल निर्माण अभियानमा एमालेको प्रतिबद्धता सधैका लागि शंकाको घेरामा रहनेछ ।

केपी ओलीको जितसँगै एमालेमा नेतृत्व हस्तान्तरणको मुद्धा स्थापीत भएको छ । ओलीको नेतृत्वमा एमालेले केही नयाँ र दिर्घकालिन महत्वका बिषयमा केही अबश्य गर्नेछ भनेर आशाबादी हौ । यद्यपी नयाँ नेपाल निर्माणका लागि उठेका सवालमा केपी ओली अनुदार छन् भनेर चित्रित गरिन्छ । राज्य रुपान्तरण, जातिय पहिचानका आधारमा राज्यको भागबण्डा, एमाओवादी र क्षेत्रीय दलहरुप्रति ओलीको अनुदार रबैया र टिप्पणी, छिमेकी भारतसँग उनको निकटतालाई लिएर प्रशस्तै बिवाद हुनेगरेको छ । ओलीका टिप्पणी र उनले लिने रबैयाले अबको एमाले कस्तो र कस्को पाटी बनाउन अहम भुमिका खेल्नेछ । अर्कातिर, हालसालै गठित एमाओवादी नेतृत्वको मोर्चाले सर्बदलिय सम्मेलनबाट नयाँ संविधान जारी हुनुपर्छ भन्ने अभिव्यक्ति सार्वजनिक गरेकोछ । मोर्चाका प्लेमेकर प्रचण्ड आफै भएकोले पनि यो निर्णयले बिशेष अर्थ राख्छ । एमाओवादीसँग अनुदार ओली र कांग्रेस, एमाले सत्ता गठबन्धनसँग असन्तुष्ट मोर्चाका गतिबिधिले राजनीतिक ध्रुबीकरण बढाउँदै लाँदा ओली नेतृत्वको एमालेले त्यसलाई कसरी सम्बोधन गर्नेछ त्यसले पनि बताउँछ आउने दिनमा एमाले कस्को र कस्तो पाटी भनेर ।

एमाले नेता माधब नेपालले पटकपटक भन्ने गरेका छन्, एमालेले डनवाद र धनवादलाई संरक्षण दिनुहुदैन । यसो भन्नुको पछाडि एमालेमा धनवाद र डनवाद मोह बढेको र त्यसले पाटीलाई पिरोलेको छ भन्ने बुझ्नलाई शब्दकोष पल्टाइरहनुपर्दैन । धनवाद र डनवाद संरक्षणमा एमाले क्याम्पमा कसैप्रति औला ठडिन्छ भने केपी ओलीप्रति नै ठडिन्छ । र जतिसुकै हैन भने पनि एमालेको ओली क्याम्पमा संरक्षित केही बिवादास्पद चरित्र बोकेका व्यक्तिहरुको बारेमा लोकलाई जानकारी छ । आउने दिनमा ओलीले डनवाद र धनवादको आरोपलाई कसरी व्यवस्थापन गर्लान्, त्यसले पनि सचेत नागरिक समाजले उत्तर पाउनेछ एमाले अब कस्को र कस्तो पाटी?

र अन्त्यमा, 

तथापी एमालेको नवौ महाधिबेशनबाट केही सकारात्मक सन्देशहरु पनि बाहिरिएकाछन् । नेतृत्व चयनमा एमालेले अपनाएको लोकतान्त्रिक बिधिले लोकतन्त्रप्रति बिधिको शासनको उसको प्रतिबद्धतालाई थप पुष्टि गरेको छ । यो महाधिबेशनले भावि नेपाल निर्माणका लागि संभावना बोकेका युवा र परिपक्क अनुहारलाई महत्वपुर्ण जिम्मेवारी सुम्पिएकोछ । युवा नेतालाई अघिबढ्न एमाले महाधिबेशन प्रतिनिधिले गरेको सुझबुझपुर्ण मतदान तारिफयोग्य छ । निश्चित उमेरपछि निर्णायक पदमा बस्न नपाईने नियमन स्वागतयोग्य छ । पदाधिकारीमा निर्वाचित धेरैजना युवा नेतासँग देशले आशा गरेको छ । एमाले केन्द्रिय कमिटीमा युवाले प्रतिनिधित्व गर्ने मुद्धा, नेतृत्व र कार्यनीति परिमार्जन तथा सुधारका लागि युवा नेताको व्यवहारले पनि पुष्टि हुदै जाला अबका दिनमा कस्को एमाले र कस्तो एमाले ?
न खानको टुङ्गो छ, न थाकेको बेला आराम गर्ने फुर्सद नै । बिहान जुरुक्क उठ्छु, चिया होस् या केही नास्ता जे पाकेको छ अलिकति खान्छु, अनि हिड्छु । मायाको भोक आँखामा सजाएर मलाई नै सर्बस्व ठान्ने श्रीमती र छोरालाई अँगालोभरी माया दिन नसकी नसकी ढोकाबाट बाहिर खुट्टा राख्छु । यस्तो लाग्छ म हिडिरहेको छैन दौडिरहेकोछु । बेलुका अबेर घर फर्कन्छु, जे पाकेको छ खान्छु । दिनभरीको थकाईले होला खासै धेरै बोलचाल नगरीकन ओछ्यानमा पल्टिन्छु । बाउ आउला, एकछिन खेल्ला, होमवर्क सिकाईदेला, ट्याब्लेटमा एकछिन टेम्पल रन खेलौला र लुटपुटीदै काखमा सुतौला भन्ने छोराको रहर रहरमै सिमित भएको छ । बुढो आउँछ, चिसोतातो जे भएनी सँगै खाउँला, दुःख सुख बाँडौला भन्ने श्रीमतीको चाहनाको पहाड दिनदिनै अग्लीदै गइरहेको छ । आफ्नो भने व्यस्तताको नाममा यति धेरै भागदौड हुनथाल्यो की न परिवारलाई दिने समय छ, न आफन्तसँग बोल्ने फुर्सद छ, न त छ साथीभाईसँग बसेर एकचुस्की चिया पिउने । जिन्दगीको भागदौड यति अव्यवस्थीत र सम्हाल्नै नसक्नेगरी अगाडि बढीसक्यो की अब पछाडि फर्केर हेर्नलाई नै बिशेष फुर्सद निकाल्नुपर्ने अबस्था सिर्जना भएकोछ ।
ज्यान र मन दुवै थाकेर लखतरान पर्दा पनि आँखाले चिम्लन बिर्सेको छ । सबै सुतेपछि मध्यरातमा जुरुक्क उठ्छु, छोरा र श्रीमतीको अनुहार हेर्छु अनि सोच्छु यो भागदौड के का लागि? के लिएर आएको थिएँ र के लिएर जान खोज्दैछु म? कहाँ हिडेको म? कसलाई भेट्नु छ? के को खोजीमा दौडिइरहेको छु? परिवार, आफन्त र साथीभाईको खुशी खोसेर एक्लै दौडिरहेको यो जिन्दगीले मबाट खोजेको के हो? अनगिन्ती प्रश्नहरुमा रुमल्लिएका मेरा उत्तर बिहीन दैनिकीहरु निरस झनै निरस हुदै गइरहेकाछन् । यस्तो लाग्छ म मेशिन भैसके, अब फेरी मान्छे हुन पो सक्दिन की?
आमाले अहिले पनि भन्ने गर्नुहुन्छ, 'तँलाई मैले जन्माएर झन्डै दुई दिनसम्म दुध चुसाइन ।' किन अरे भने म अगाडिका सन्तानको बाल्यकालमै मृत्युले मेरी आमाको मुटु छियाछिया भैसकेको रहेछ । सन्तान नबाँच्ने क्रम बढ्दै गएपछि आमाको मुटु ढुंगाको जस्तो भएको थियो जहाँ माया भन्दा बढी घृणा थियो रे । र आमाले भने अनुसार म त्यही घृणाको शिकार हुदाँ पनि दुईदिनसम्म बाँचे र आमालाई हराँए । आमाले हार्नुभयो, मैले जिते र म बाँचे । त्यो बेला म नबाँचेको थिएँ भने ३५ बर्ष अगाडि नै म यो धर्तिमा बिलिन भैसक्थे । ३५ बर्ष पुरा हुनैलाग्दाका हिउँद र बसन्तहरुको मैले अनुभव गर्न पाउँदिनथे । जिन्दगी रातो हुन्छ वा कालो, चिसो हुन्छ वा तातो मलाई थाहा हुने थिएन यदी आमाले जन्मेको दुईदिनसम्म मलाई दुध नचुसाउनुभएको भए ।
मान्छेलाई मृत्युसँग डरलाग्छ । तर पनि बेलाबेलामा मर्न पाए लन्ठैसित्ति भन्ने पनि सोच्छ मान्छेले । ममा पनि त्यस्तो भावना आउँछ बेलाबेलामा । तर डरले जित्छ र म बाँचिरहेको छु । बाँच्नेक्रमममा म कैयौपटक मृत्युको नजिक पुगेको छु । बालखमा गोगनको रुखबाट लड्दा होस् वा घुमिरहेको लिङ्गे पिङबाट खस्दा, ज्यान अधकल्चो बनाएर पनि प्राण पखेरु जोगिएको छ । ज्यानका पाटपुर्जाहरु टुक्राटुक्रा हुदाँ पनि सास रोकिएन । बालुवाको लोड बोकेको ट्रकले फुच्चो साइकलमा हान्दा म चारदिनसम्म बेहोस् भए रपनि मलाई डाक्टरले बचाएँ । मेनेन्जाइटिसले अन्तिम अबस्थामा पुर्याउँदा पनि दुई दिनपछि म फेरी होसमा आँए । यस्ता कैयौ डरलाग्दा र अरुलाई (खासगरी भोग्नेलाई) अत्यन्तै कठिन क्षणको अनुभव गराएर पनि म बाँचेको छु । र सायद अझै धेरै बाँच्नेछु पनि ।
बिभिन्न उतारचढावको यात्रामा आजको दिनसम्म आईपुग्दा धेरै अगाडि पुगिसकेको आभास हुन्छ । व्यवसायिक जिन्दगी फराकिलो हुदै गएपनि व्यक्तिगत जिन्दगी साँघुरिदो महशुस भैरहेको छ । सार्वजनिक चिनारीको बिस्तारसँगै खुम्चिएको व्यक्तिगत जिन्दगी र हरेक पाइलापाइलामा खुम्चिएको व्यक्तिगत स्वतन्त्रताले जिन्दगीको अप्ठ्यारो मोडमा ल्याइदिएको छ ।
यही मोडमा आईपुगेर अहिले फेरी पछाडि फर्केर आफैले हिडेको, दौडेको पथ हेरिरहेछु । त्यो पथ कहाँबाट शुरु भएको थियो ठम्याउन मुस्किल छ कहाँ समाप्त हुन्छ पहिल्याउन कठिन छ यद्यपी जिन्दगीको भागदौडले अहिले यस्तो मोडमा पुर्याईदिएको छ की अगाडि बढौ झनै एक्लो हुने डर छ, पछाडि फर्कौ जिन्दगी जित्नेहरुकै लागि हो, हार्नेहरु त क्षितीजमा हराउँछन् भन्छन् । यस्तो लाग्छ जिन्दगी अहिले बिच बाटोमा टक्क अडिएको छ । जहाँबाट अगाडि जान पनि डर, पछाडि फर्कन पनि डर । डरैडरको भरमा टिकेको जिन्दगी कसैको बन्न सकेन भर ।
सन् २०१० जुलाई, अन्तराष्ट्रिय सञ्चार प्रतिष्ठान सिएनएनले आफ्नो संस्थामा २० बर्ष सेवा गरेकी मध्यपुर्व बरिष्ठ सम्पादक अक्टाभीया नास्र्लाई अचानक बिदा गर्यो । कारण थियो उनले ट्वीटरमा पोष्ट गरेका १४० अक्षर । तीनै १४० अक्षरका कारण जागिरबाट हात धोएकी नास्र्ले आफ्नो स्पष्टिकरणमा भनेकी छन्, “कुनै पनि विवादीत बिषयमा आफ्ना बिचार राख्नलाई १४० अक्षर पर्याप्त जोखिमले भरिएका छन्, जसको म आफै उदाहरण हुँ ।” जागीरै जाने गरी उनले ट्वीटर ह्याण्डलमा के लेखिन् त? उनको ट्वीट यस्तो थियो, "Sad to hear of the passing of Sayyed Mohammad Hussein Fadlallah.. One of Hezbollah’s giants I respect a lot. #Lebanon.” (प्रभावशाली हज्बुल्लाह नेता सैयद मोहम्मद हुसैन फदलाल्लाह, जसलाई म सम्मान गर्छु, वहाँको मृत्युको खबरले सारै दुःखी छु) । उनको बिचारको चौतर्फी बिरोध हुन थालेपछि कारण सहित आफ्नो स्पष्टिकरण दिएपनि उनलाई सिएएनले बिदा गर्यो । कारण थियो, सैयद हुसैन अमेरीका बिरोधी तथा आतंकबादी नेताको रुपमा चित्रित थिए, उनकै कारणले सयौ अमेरीकी सैनिकको ज्यान गएको थियो । सिएनएनको सोसल मिडिया नीतिले भन्छ “सिएनएनले कुनै पनि सार्वजनिक सवाल, व्यक्ति वा संस्थाका बारेमा यदी समाचार बनाइरहेको छ भने त्यस्ता सवालमा सिएनएनका कर्मचारीले सार्वजनिक अभिव्यक्ति दिनुहुदैन ।” २० बर्ष सेवा गरेकी नास्र्को बिदार्ई सिएनएनका लागि गर्नैपर्ने एउटा बाध्यकारी संझौता थियो । (Octavia Nasr fired by CNN over tweet praising ……  http://www.guardian.co.uk/media/2010/jul/08/octavia-nasr-cnn-tweet-...)

फेसबुक तथा ट्वीटरमा लेखेकै कारण पत्रकारको जागिर गएको घटना नेपालमा आजका दिनसम्म सुन्नमा आएको छैन । यद्यपी सञ्चारगृहहरुमा सोसल मिडियामाथिको प्रतिबन्ध चर्चाको बिषय छ । सोसल मिडियामा पोष्ट भएका व्यक्तिगत सूचना, कुराकानी पत्रिकामा प्रकाशित भएका, अरु नै मिडियामा छापिएको बिषय हुवहु सारेर आफ्नै जस्तो बनाई प्रस्तुत गरेका केही घटना नभएका भने हैनन् । यसो हुनाका एउटा कारण हो नेपालमा सञ्चालित सञ्चार प्रतिष्ठानहरुमा सोसल मिडिया नीति बनेको छैन । सञ्चारसंस्था र कर्मचारीले गर्न हुने र नहुने काम स्पष्ट व्याख्या हुन नसक्दा आफ्ना व्यक्तिगत प्लेटफर्ममार्फत के गर्न हुने र के गर्न नहुने भन्ने बारेमा अस्पष्टता छ । “हामीले फेसबुक बन्द गरेका छैनौ, तर निश्चित केही स्वनियमनका उपायहरु अपनाएका छौ,” काठमाण्डौपोष्टका सम्पादक अखिलेष उपाध्याय भन्छन् “नीतिले सहजीकरण गर्छ यद्यपी त्यस्तो नीति बनेको छैन ।” रिपब्लीकाका सम्पादक कसमस विश्वकर्माका अनुसार उनको मिडिया हाउसमा हरेक दिन एउटा निश्चित समयसम्म फेसबुक बन्द हुन्छ । काममा तालमेल मिलाउन र छिटो काम होस् भन्नका लागि यस्तो गरेको भन्छन् विश्वकर्मा । अन्य सञ्चारमाध्यममा कार्यरत बरिष्ट संवाददाता तथा कर्मचारीका अनुसार मिडिया हाउसमा सोसल मिडिया नीति लागु हुनु त परको कुरा नीति हुनुपर्छ की पर्दैन भन्ने बिषयमा बहस नै भएको छैन ।
नेपालमा इन्टरनेट सेवा शुरु भएको दुई दशक हुन लाग्यो । बल्ल १८ प्रतिशत जनसंख्याको पहुँचमा पुगेको छ इन्टरनेट । अधिकांश सञ्चार प्रतिष्ठानहरुसँग इन्टरनेटको पहुँछ छ यद्यपी इन्टरनेट मार्फत गर्न सकिने बजार बिस्तार तथा अन्य फाइदाको भरपुर उपयोग भएको छैन । इन्टरनेट मार्फत पाठकको संख्या बढ्न थालेपछि अनलाईन र इ—पेपरको अवधारणा शुरु भएपनि सामाजिक सञ्जालको सहि उपयोग कसरी गर्ने भन्नेमा सिकारु चरणमा नै छ हाम्रो मिडिया । “मैले २ बर्ष अघि कान्तिपुर छोडे र द हिमालयनमा गएँ, भर्खरै मलाई कान्तिपुरबाट फोनमा कसैले सोध्यो त्यो कान्तिपुरको ट्वीटर ह्याण्डलको पासवर्ड के होला?” २ महिना अगाडि एक सार्वजनिक कार्यक्रममै द हिमालयन टाइम्स अनलाईन संस्करणका केशब कोइरालाको अभिव्यतिmले स्पष्ट पार्छ सञ्चार प्रतिष्ठानमा सोसल मिडियाको उपयोगमा अन्यौलता छ भन्ने बुझ्नलाई । कान्तिपुर पब्लिकोशनको ट्वीटर ह्याण्डल @ekantipur (https://twitter.com/ekantipur)  मा अहिले ५ हजारको हाराहारीमा फलोअरस् छन् तर त्यो ह्याण्डलबाट न त एउटा ट्वीट नै पोष्ट भएको छ न कसैलाई फलो नै गरेको देखिन्छ । नागरिक, उज्यालो अनलाईन, द हिमालयन, नेपाली टाइम्सजस्ता प्रकाशक तथा अनलाईने भने सामाजिक सञ्जालको उपयोग गर्न खोजेको देखिन्छ ।
सामाजिक सञ्जाल फेसबुक र ट्वीटरको उपयोगबाट गर्न सकिने बजार बिस्तार, पाठकसँगको अन्तरक्रिया र पृष्ठपोषण जस्ता केही फाइदका बारेमा स्पष्ट नहुनुको कारण सोसल मिडिया नीतिसँग पनि जोडिएको छ । एएफपीका नेपाल सम्वाददाता दिपक अधिकारीका अनुसार सोसल मिडिया नीतिले कुन सूचना व्यक्तिगत रुपमा सार्वनजिक गर्ने र कुन संस्थाको तर्फबाट भन्ने अन्यौलता कम गर्छ । एएफपीले कुनै पनि समाचार सबभन्दा पहिले आफ्नो संस्थागत ट्वीटर वा फेसबुकबाट प्रचार गरेपछिमात्र त्यहाँ कार्यरत संवाददाता, कर्मचारीले त्यसलाई आफ्नो व्यक्तिगत च्यानलमार्फत प्रस्तुत गर्न पाउँछन् । “यसो गरियो भने सहजता हुन्छ र अन्यौलको भरमा काम गर्नु पर्दैन, ” बिबीसी मिडिया एक्सनका दिपक भट्टराईको कथन छ । उनी थप्छन्, “सोसल मिडिया नीतिले नराम्रो गर्दैन, बनाउनुपर्छ, चािहन्छ भन्नलाई पनि कसै न कसैले नेतृत्व गर्नु पर्छ जसले गर्दा सञ्चारगृहले आवश्यकता महसुस गरुन् ।”
सोसल मिडियाको लोकप्रीयता नेपाली संचारकर्मीको माझ पनि बढ्दैछ । नेपाल पत्रकार महासंघले गरेको सर्वेक्षणका अनुसार झन्डै ७० प्रतिशत पत्रकार सामाजिक सञ्जाल फेसबुक प्रयोग गर्छन् । त्यसमध्ये आधा पत्रकार सूचना आदानप्रदानकै लागि सामाजिक सञ्जालहरु प्रयोग गर्छन् । बिभिन्न अन्तरक्रियाको क्रममा सुर्खेत, बाँके, दाङ, मकवानपुर, मोरङ, सुनसरी, पाँचथर तथा झापाका अधिकांश पत्रकाहरुले पंक्तिकारलाई बताएका छन् सामाजिक सञ्जाले उनीहरुलाई नयाँ सूचना थाहा पाउनका लागि समेत सहयोग गरेको छ । काठमाण्डौ पोष्टका सम्पादक अखिलेख उपाध्याय पनि स्विकार्छन्, “ट्वीटर जस्ता सामाजिक सञ्जाल मार्फत ब्रेकिङ न्युज थाहा हुन्छ ।”
पत्रकारहरुले इन्टरनेट तथा सामाजिक सञ्जालको भरपुर उपयोग गरिरहेको अबस्थामा पनि सम्बन्धित सञ्चारगृहले यसतर्फ कम चासो देखिएकोले थुप्रै कारण मध्ये किन र कसरी गर्ने भन्ने अन्यौल एउटा कारण हुनसक्छ ।
किन चाहिन्छ सोसल मिडिया नीति?
नीतिले बाँधेर हैन स्वनीयमनलाई प्रोत्साहन गरेर जिम्मेवार बन्न सकिन्छ भन्ने अवधारणालाई बलियो बनाउनका लागि पनि सोसल मिडिया सम्बन्धि सहजीकरण नीति हुनु आवश्यक छ । नियन्त्रण हैन जिम्मेवारी सिकाऔ र बोध गरौ भन्ने बेलामा नीति बनाउँदैमा चुनौती कम हुन्छन् भन्ने पनि हैन । यद्यपी सोसल मिडिया नीतिले केही स्पष्टता र अन्यौललाई सहजीकरण गर्दै जिम्मेवार सञ्चारकर्मी हुनलाई अझ मद्दत पुर्याउँछ । नीति भन्ने बित्तिकै गर्न नहुने कामको फेहरिस्त हैन की सञ्चारगृहका कर्मचारीले गर्न मिल्ने र हुने कामको जानकारी सहितको हुनुपर्छ, ।

कुन सूचना व्यक्तिगत हो कुन चाँही व्यवसायिकको हो भन्ने भेद छुट्याउन सकियो भने संभावित दुर्घटना हुनबाट बच्न सकिन्छ । जुन कुरा नीतिले सहजीकरण गर्न सक्छ । साथै सोसल मिडिया नीतिले सम्बन्धित सञ्चारगृह, उद्देश्य र गतिबिधिको बारेमा आम पाठकलाई सूसुचित गर्ने त छदैछ रचनात्मक अन्तरक्रिया तथा पृष्ठपोषणका लागि पनि सहयोग पुग्छ ।
धेरैजसो सञ्चारगृहले सोसल मिडियामाथि अनुदार दृष्टि राख्ने कारणमध्ये एक हो कर्मचारीको कार्यक्षमताको दुरुपयोग गर्न र समयसिमामा काम नसक्नका लागि सोसल मिडिया जिम्मेवार छन् । यो तर्कमा सहमत हुने आधारहरु छन् । यद्यपी जिम्मेवारीबोध सहितको सहजीकरण नियन्त्रणभन्दा प्रभावकारी हुन्छ ।
परिचय लुकाउने, जथाभावी लेख्ने, पुर्वाग्रही अभिव्यक्ति, गलत सूचना आदी सामाजिक सञ्जालका चुनौती हुन् । नीतिगत सहजीकरणले स्पष्ट परिचय र जिम्मेवारी सहित सत्य सूचना, अभिव्यक्ति प्रदान गरी पाठकसँगको सुमुधुर सम्बन्ध बढाउँदै पाठकको रुची अनुसारका सूचना तथा जानकारी प्रदान गर्नलाई पनि सहयोग पुग्छ । आफुले गरेका गलत कामको जिम्मेवारीबोधका लागि पनि केही न केही नियमनकारी उपाय अपनाउनैपर्छ ।
इन्टरनेट सार्वजनिक माध्यम हो । यद्यपी इन्टरनेटमा जेसुकै पोष्ट गर्न सकिने अबस्था छ । नितान्त व्यक्तिगत र सार्वजनिक चासो भन्दा बाहेकका केही पोष्टहरुले बिगतमा केही मिडिया हाउस बिवादमा नमुछिएका पनि हैनन् । कुन सूचनाको महत्व कति छ? कस्तो कुराकानीलाई कति स्थान दिने, स्थान दिने की नदिने, कुन जिज्ञासाको उत्तर दिने भन्ने कुराको निर्धारण नीतिले गर्यो भने व्यक्ति बिशेषले फरक फरक आचरण गर्नुपर्ने बाध्यता घट्छ ।
सूचनाको महत्व त्यसले पार्न सक्ने प्रभावसँग जोडिन्छ । सञ्चारगृहप्रति स्वतःरुपमा आम नागरिकको चासो हुन्छ । सञ्चारगृहभित्रका गतिबिधि तथा गोप्य सूचनाले आम नागरिकलाई फरक मत बनाउन भुमिका खेल्छ र त्यसको असर समाचारको प्रबद्र्धनमा पनि पर्न सक्छ । नीतिको सहायताले अति गोप्य र आम नागरिकको चासो नभएका कुराहरुमा अनावश्यक पोष्ट गर्न हतोत्साहन गर्छ । साथै नीतिले गर्दा कसैले गरेको पोष्ट नियमित रुपमा अनुगमन गर्न सजिलो हुन्छ र आवश्यक कार्यवाही प्रकृया सहज हुन्छ ।
प्रतिलिपी अधिकारको मुद्दामा इन्टरनेट जोडिएर हरेक दिन नयाँ नयाँ बहसहरु चलिरहेकाछन् । केही समय पहिले सिएनएनका कार्यक्रम सञ्चालक तथा टाइमका सम्पादक फरिद जकरियाको घटना होस् (http://www.huffingtonpost.com/2012/08/10/fareed-zakaria-plagiarism-... )  वा नेपालकै कुनै मिडियाले अन्तबाट हुवहु बिषय चोरेर आफ्नैजस्तो गरी प्रस्तुत गरेको प्रकरण होस्, नियमन तथा जिम्मेवारीका लागि सोसल मिडिया नीति अनुगमनको प्रभावकारी माध्यम हुनसक्छ ।

सोसल मिडियाको बारेमा सहयोगी हुने थप सामग्री सम्बन्धित लिंकहरुः

SOCIAL MEDIA GUIDELINES FOR AP EMPLOYEES http://www.ap.org/Images/Social-Media-Guidelines-7-24-2012_tcm28-83...


Reuters - REPORTING FROM THE INTERNET AND USING SOCIAL MEDIAhttp://handbook.reuters.com/index.php/Reporting_From_the_Internet_A...

THOMSON REUTERS SOCIAL MEDIA GUIDELINEShttp://thomsonreuters.com/content/corporate/docs/Thomson_Reuters_US...

AFP's Social Media policy http://www.afpnet.org/files/ContentDocuments/SocialMediaGuidelines_...

 Social Media Policy database http://socialmediagovernance.com/policies.php


मानौ तपाईका फलोअर धेरै छन् र तपाई कुनै एउटै बिषय, उही कुरा, लगातार ट्वीट गर्नुहुन्छ । आफ्नो ब्लग लिंङ्क अनावश्य रुपमा सेयरीङ गर्नुहुन्छ, अरुका ट्वीटलाई रिट्वीटमात्र गर्नुहुन्छ? यसोगर्दा तपाईका फलोअरले नयाँ सूचना पाउलान्? उनीहरुले के बुझ्लान् र तपाईलाई कस्तो प्रतिकृया देलान्? अरुले के सोच्छन् होलान्? पहिले @iPagalbasti हाल @MadsArea भन्छन्, “मलाई त त्यस्तो बेलामा इरिटेट हुन्छ । यस्तो अवस्थामा म पहिले त्यसो गर्ने साथीहरुलाई तर्क सहित सुझाव दिन्छु, र पनि सुनेन भने ब्लक हान्दिन्छु ।”
@Pokharelketi ले हिन्दी सिनेमा Cock Tail हेरेपछि ट्वीट गरिन, “मलाई ककटेल रमाइलो लाग्यो ।” उनको ट्वीटलाई कसैले तुरुन्तै फेवरेट गर्यो । अनि उनले लेखिन्, “ट्वीटरमा फेवरेट गर्नु भनेको के हो, केलाई र किन गर्ने भन्ने बारेमा कसैले एउटा जानकारीमुलक लेख लेखिदिए पनि हुन्थ्यो ।”
भर्खर भर्खर ट्वीटर प्रयोग गर्न लाग्दा बिद्यार्थी नेता @t_urmila उनका फलोअर र उनले फलो गर्ने केही मान्छेले गरेका हरेक ट्वीटलाई RT अर्थात रिट्वीट र फेवरेट (favorites) दुवै गर्थिन् । उनको यस्तो व्यवहारलाई कसैले कमेन्ट गरेपछि एकदिन उनले सोधिन् “के लाई RT गर्ने र केलाई फेरवेट गर्ने जान्नु आवश्यक रहेछ ।”
प्रस्तुत केही उदाहरणहरुले स्पष्ट भन्छन् भर्खरै यो सञ्जालमा प्रबेशीहरुलाई मात्र हैन नियमित ट्वीट गर्नेहरुलाई पनि ट्वीट, रिट्वीट, फेरवेट किन गर्ने भन्ने जानकारीको अभाव छ । ट्वीटर सोसल मिडिया हो र यो सार्वजनिक माध्यम पनि हो, ट्वीटरमार्फत सूचना र बिचार आदानप्रदान हुने हुनाले पनि आफुले गरेका कुनै पनि ट्वीटर कृयाकलापले अरुले कसरी ग्रहण गर्छन् भन्ने जानकारी हुने हो भने ट्वीटर हरेक दिन झन सुन्दर हुदै जानेछ । बिगत केही समयदेखिको आफ्नो ट्वीटर अनुभव, ट्वीटर प्रशिक्षक पाम मूरे (Social Media Today) र सामाजिक सञ्जालका केही नेपाली प्रबर्धकसँगको भलाकुसारी र उनीहरुका पनि बिचार सुनेपछि ट्वीट, रिट्वीट, र फेरवेट सम्बन्धि आफ्ना कुरा अभिव्यक्त गरेको छु, फरक धारणालाई स्वागत छ 
किन ट्वीट  गर्ने?
सबैका फरक फरक धारणा हुनसक्लान् । तर ट्वीटरलाई मैले इन्टरनेटमा सार्वजनिक सूचना आदानप्रदानको शशक्त माध्यमको रुपमा मानेको कारणले गर्दा ट्वीट गर्दा निम्न कुराको उत्तर सोचेर मात्र ट्वीट गर्छुः 
  • मैले ट्वीट गर्ने बिषय समय सान्दर्भिक छ, त्यो मेरो नितान्त व्यक्तिग कुरा हो की अरु धेरैका लागि उपयोगी पनि छ? 
  • मैले गरेको ट्वीटबाट कसैले कुनै नयाँ सूचना, बिचार वा जानकारी पाउन सक्छ? 
  • मैले गरेको बिषय, सूचना, जानकारी नवीनतम छ की अरुले पटकपटक गरेका कुराहरुलाई नै म दोहोर्याइरहेको छु? 
  • के ट्वीटमार्फत मैले कुनै नयाँ दृष्टिकोण दिन सकेको छु, जुन अरुका ट्वीटमा भन्दा भिन्न छ? 
  • मैले गरेको ट्वीट सतप्रतिशत सही छ? या म अनुमानको भरमा बोल्दैछु? 
  • मैले भनेको कुरालाई पुष्टि गर्ने तथ्य, लिङ्क वा अरु कुनै स्रोत छ जसले मेरो भनाईलाई आधिकारिक बनाउँछ? म बिश्वस्त छैन भने कुनै स्रोतको हवाला दिएको छु? 
  • मैले कुनै पनि अप्रीय वा अपाच्य शब्द बोल्दै छु की? 
  • मैले दिएको सूचना, बिचार वा जानकारी असत्य, भ्रामक, शान्ति सद्भाव भडकाउने, उत्तेजीत बनाउने खालको ठहरीयो भने त्यसबाट पर्ने प्रभावको लेखाजोखा गरेको छ?
  • मलाई साइवर कानूनको बारेमा जानकारी छ?
किन ट्वीट गर्ने भनेर अरु पनि थुप्रै लिष्ट तयार हुनसक्ला, तर माथि उल्लिखित कुराहरुको उत्तर सोचेर जिम्मेवारीपुर्वक ट्वीट गर्नु नै सोसल मिडिया उपभोक्ताको लागि नैतिक संहिता हो । जिम्मेवारी र दायित्वबोध यसरी नै बढ्दै जान्छ जसले गर्दा सोसल मिडियामा हामी फरक परिचयका साथ चिनिन सक्छौ ।
केलाई र किन रिट्वीट (RT) गर्ने?
जब तपाई जतिबेला पनि जुनसुकै ट्वीट रिट्वीट गर्नुहुन्छ एकपटक सोच्नोस् त तपाईका फलोअर्स्ले त्यसलाई कसरी लिनेछन्? ट्वीटजस्तै रिट्वीट गर्दा मैले चाँही निम्न कुरामा निम्न प्रश्नहरुमा ध्यान दिने गरेको छुः
  • सबभन्दा पहिले ध्यान दिने कुरा हो अरुले गरेको ट्वीट बिश्वसनीय छ की छैन? त्यो ट्वीटमा माथि उल्लिखित बिशेषता छन् की छैनन्? 
  • रिट्वीट गर्नुभन्दा पहिले म सोच्छु मैले तपाईलाई प्रत्यक्ष रुपमा चिन्छु वा हाम्रो भेट ट्वीटर मार्फत मात्र भएको छ? हामी एकअर्कालाई फलोमात्र गर्छौ की हाम्रो बीचमा ट्वीटरमा कुराकानी पनि भएको छ? एकअर्काले गर्ने काम र केही व्यक्तिगत जानकारी थाहा छ की छैन? 
  • हामी ट्वीटरमा ब्लग पनि सेयर गर्छौ । सेयर गरेको ब्लगमा मलाई कामलाग्ने खुराक छ? ब्लग लिङ्क स्पष्ट पढ्न सकिन्छ? कुन भाषामा छ? के बिषयको ब्लग हो? आफैले लेखेको हो अरु कसैको कृतिलाई हुवहु सारेको हो? लिङ्कबाट भाइरस प्रवाह हुने संभावना कति छ? ब्लग लिङ्कमा शेयर बटन छ की छैन? बिज्ञापन कति छ? अनावश्यक पप–अपले कति दुःख दिन्छ? 
  • अरुको ट्वीट मेरा फलोअर्स्का लागि उपयोगी होला त? बिषयबस्तुभन्दा आफ्नो बारेमा चर्चा परिचर्चा र बिज्ञापन पो छ की? सामान्य रुपमा भाषिक शुद्धताको कत्तिको ख्याल गरिएकोछ? तपाईको ट्वीट, ब्लगले कुनै बिषयमा आधिकारीक धारणा दिन्छ या तर्कका लागि तर्क गरिरहेको छ? 
  • अरुभन्दा फरक बिचार राख्दैमा पनि स्वतन्त्र मिडिया, इन्टरनेट फ्रिडम, लोकतन्त्र, बिधिको शासन र जनमतको बिपक्षमा पो छ की? कसैलाई आक्षेप लाउदै हुनुहुन्छ की? नकारात्मक कुराहरु बढी छन् समाधानका लागि कुनै सुझाव छैनन् की? 
  • लेखाई कत्तिको स्पष्ट छ? भाषिक शुद्धता नभएपनि भन्न खोजेको कुरा बुझिने गरी अभिव्यक्ति भएको छ?
  • ट्वीट लामो छ? सहमति वा असहमतिमा मैले केही थप्न पाउँछु? 
  • शेयर गरेको लिङ्क स्पष्ट र सही छ? यदी ब्लग हो भने टाइटल आकर्षक छ की छैन? समाचार हो भने कत्तिको प्रभाव पार्ने खालको छ? लेखाई लामो वा छोटो के छ? 
  • ट्वीटरमा नयाँ हुनुहुन्छ र आफ्नो वास्तविक प्रोफाईल तस्विर (DP) समेत नराखी ट्वीटरकै अण्डा फोटो मार्फत ट्वीट गर्नु भएको छ? 
  • आफ्नो वास्तविक नाम र फोटो राख्नु भएको छ, तपाईलाई चिनाउन सहयोग गर्ने सूचनाहरु छन् की छै्रनन्? 
  • बारम्बार रिट्वीट गर्दा फलोअरसलाई दिक्क त लाग्दैन? 
  • हरेक दिन गर्ने कुरा उहि र उस्तै हुन्छन्? वा ट्वीटमा कुनै नयाँ कुराहरु छ? 
  • ट्वीट रमाईलो, मनोरञ्जक खुराकले भरिएको छ की?
माथि उल्लिखित अधिकांश मेरो जिज्ञासा तथा कौतुहलतामा 'छैन (NO)' भन्ने उत्तर आयो भने म रिट्वीट गर्दिन । 
मेरा लागि ट्वीटर सामाजिक सञ्जाल हो । यो सार्वजनिक थलो हो । यहाँ मलाई कसैले फलो गर्छ भने सायद उसको गरेको अपेक्षा सूचना लेनदेन बाहेक कुराकानी पनि हो । मेरा ट्वीटले बोरिङ बनाउछ भने मलाई फलो गर्नु जरुरी छैन । अनलाइन सामाजिक प्राणी बन्नका लागि म जे पायो त्यही ट्वीट गरेर समय खेर फाल्दिन, जे गर्छु आफ्ना फलोअर्स्लाई दिक्क बनाउन गर्दिन भनेर ट्वीट गर्न थालियो भने तपाईको Klout Score पनि बढ्छ, तपाईका फलोअर्स् पनि बढ्छन्, रिट्वीट र फेवरेट पनि बढ्छ ।
फेवरेट (Favorites) भनेको के हो र किन गर्ने?
सरल अर्थमा बुझौ न, फेवरेट गर्नु भनेको कसैले गरेको ट्वीट मलाई मन पर्यो भन्नु नै हो । राम्रो लाग्यो भन्ने Impression दिनलाई नै प्रायःजसो फेवरेट गरिन्छ । साथै फेवरेट गरेको ट्वीट तपाईको ट्वीटर पेजमा सुरक्षित रुपमा रहन्छ । जसलाई तपाईले कुनै पनि बेला पढ्न, रिट्वीट गर्न वा कुनै उपयोगी लिङ्क छ भने त्यसलाई ट्वीटमार्फत सेयर गर्नका लागि उपयोग गर्न सक्नुहुन्छ । ट्वीटरमा हामी कोही पनि २४ सै घण्टा बिताउन सक्दैनौ । ट्वीटरमा भएको बखत आफ्नो टाइमलाइन (RT) मा देखिएका रमाईला, उपयोगी र शिक्षामुलक ट्वीटहरुलाई फेवरेट गरेर राख्न सकिन्छ । यसरी फेवरेट गरेका ट्वीटहरु आफे्नो पेजको देब्रतीर फेवरेटस् (favorites) भन्ने ठाउँमा सुरक्षित रुपमा रहनछन् जसलाई हामीले फुर्सदमा पढ्न र आफ्नो अनुकुल उपयोग गर्न सक्छौ । (यसबारेमा थप जानकारी पछि दिनेछु)।

एssssss, के भयो? लौन, गाडि रोक्नुस् रोक्नोस्, पछाडि बस्ने पाँचैजनाको स्वर एकै भयो । हेटौडाबाट हिडेको २० मिनेट भएकै थिएन, तुफान दगुरिरहेको टाटासुमो द्रेब्रतीर लच्किसकेको थियो । मैले सोचे गाडि पल्टिदैछ । सडकको देब्रतीर तल राप्तीनदी सुसाइरहेको छ यद्यपी त्यो स्थान भिरालो नभै सम्म थियो । गाडि एकदुई बुल्डुङ खेल्न सक्थ्यो होला तर खोलैमा पुग्दैनथ्यो भिरबाट झरेजसरी । हामीले चिच्याएपछि रेडियो अडियोको स्टेशन आइडीमा सुनिने जस्तै गाडिमा झ्याप्प ब्रेक लाग्यो । देब्रेतीर ढल्किएको गाडिबाट झरेपछि ढुक्क भैयो कम्तिमा ठुलो दुर्घटनाबाट बाँचियो । बाराको कलैयामा आदी प्रोडक्सन र निहारिका प्रोडक्सनको टिमसँग बिदा मागेर सौराहा हान्निएका हामी अर्थात म, रबीन्द्र, प्रकाश, भावना र रबीन्द्रको स्पेनिस साथीको यात्रामा यही देखि थपिइन नयाँपात्र अर्थान भट्टिकी साउनी ।
“तपाईले मलाई बर्बाद गर्नुहुन्न भन्ने के ग्यारेन्टी?” “हैन म तपाईलाई केही गर्दिन ।” एउटी अधबैशे महिला र पुरुषको पटकपटकको यस्तो संवादबाट के बुझ्लान् उनीहरुको छेउछाउका मान्छेले । मनहरीबाट झन्डै १५ किलोमिटरको दुरीमा रहेको त्यो स्थानमा अरु केही छाप्राहरु थिए जहाँ सानातीना होटल (भट्टीजस्ता लाग्ने) मा ट्रकका ड्राइभर र सहायकहरु खानपीन गरिरहेका देखिन्थे । अली माथिको गाउँबाट झरेका अरु महिलाहरु पनि मेरो र ती महिलाको संवादमा झुम्मिए । सहयात्रीहरु नजिकिए । विवाद थियो उनी र मेरोबीचमा ।
उनी अर्थात, यो बर्णनमा प्रस्तुत भट्टिकी साउनी । तपाईले मलाई बर्वाद पार्नुहुने भो भन्ने उनको आरोप सुनेपछि मलाई उनको नाम सोध्न डर लाग्यो । हामी मकवानपुरको मनहरीबाट हेटौडा सोझिदाँ झन्डै १५ किमी दुरीमा थियौ जहाँ सडकको एउटा किनाराबाट पत्पत्ती निस्कीएको धुवाँको मुस्लो टाढैबाट स्पष्ट देखिन्थ्यो । त्यहाँ सकड नजिकै किनारामा घ्याम्पामा रक्सी पाकिरहेको थियो । घ्याम्पाको छेउमा थिए २/३ स्थानीय महिला अनि केटाकेटी, र सँगैको भट्टीमा एकजना नाङ्गे साउजी ट्रक ड्राइभर र उनीसँगैकी महिलालाई भुटन तारेर बाँडन व्यस्त थिए । “तपाईको फोटो खिच्छु, लौ यता हेर्नोस्,” तामाङ लवजमा उनले मलाई हल्का धम्किजस्तो सुनीने गरी आदेश दिइन् । उनैले एकछिन अगाडि दिएको चारपानेले रमरम भैरहेको म यो अप्रत्यासीत व्यवहार हाँसोमा उडाउन चाहान्थे । तर उनी पछाडि हटिनन् । सँगैका अरु महिला र केटाकेटीहरु उनको वरपर झुम्मिए । सहयात्रीहरु मतीर नजिकए । अचम्म लाग्यो, उनी हास्दैछिन् वा रिसाइन् । बत्तिसवटै दाँतदेख्ने गरी खुलेको मुख हेर्दा कसरी पत्याउनु उनी मसँग रिसाएकीछन्? उनी तिनै महिला हुन् जसले १५ मिनेट अगाडि मलाई बोलाएर चाख्नु त भन्दै चारपानेको गिलास हातमा थमाएकी थिइन् । “रक्सी पार्दापार्दै कोही आइपुग्यो भने हामी उसलाई सकेजती रक्सी पिउन दिन्छौ सर पनि पिउनोस्” एकछिन अगाडि यसो भन्ने तीनै महिला जसले यतिबेलासम्म आफ्नो मोवाइलमा कैयौ पटक मेरो तस्विर उतारिसकेकी थिइन् । मैले पिएको थिए, उनी पार्दै थिईन्, आगोको राप र पानीको वाफले उनलाई मतायो की मलाई बढी नै लागिसक्यो?

स्थितीलाई साम्य बनाउन, स्टिलको ग्लासलाई अर्कोहातमा सारेर जुँगा मुसार्दै प्रकाश अघि सरे, “दिदी हामी त्यस्ता मान्छे हैनौ, तपाईको भिडियो कतै पनि देखाउँदैनौ । वहाँले त रक्सी कसरी बन्छ भनेर थाहा पाउनका लागि भिडियो खिच्नु भएको हो । तपाईलाई हामीले किन बद्नाम गर्ने?” ओsss हो । कुरो यस्तो पो रहेछ । खासमा मैले केहीछिन अघि रक्सी पारिरहेको दृष्य आफ्नो मोवाइलमा कैद गरेको थिए, उनीसँग रक्सी पकाउने तरिकाबारे कुराकानी गरेको थिए र रक्सी पारेपछि के गर्नुहुन्छ भनेर केही व्यापार व्यवसायका गफलाई पनि भिडियोमा कैद गरेको थिए । र खिचीसकेर सम्पुर्ण कुराकानी सहितको भिडियो उनलाई पनि देखाइदिएको थिएँ । उनी रिसाउने कारण थाहा पाएपछि झल्याँस्स निद्राबाट ब्युझिएजसरी म अघि सरे । “ल ठिक छ फोटो त खिच्नु भो मेरो नाम पनि लेख्नु, ठेगाना दिन्छु, मोवाइल नम्बर दिन्छु, अफिसको ठेगाना दिन्छु । तर ढुक्क हुनोस् दिदी तपाईलाई हामीले केही हानी पुर्याउँदैनौ ।” “तपाईको कुराको के ग्यारेन्टी? त्यो भिड्यो मेट्ना सक्नुहुन्छ?” उनको थप अडानले लाग्यो दिदी निकै तर्सिएकी रहिछन् । सहयात्री सबै मिलेर स्थितीलाई सामान्य बनाइसकेपछि पनि हामी केही समय गफियौ दिदीसँग । बल्ल खुलिन् उनी हामीसँग यसरीः
“परिवारको जग्गा जमिन थोरै छ । सन्तान पढाउनु पर्छ । लोग्नेमान्छेको कमाइले बाह्रैमास खान पुग्दैन । हामी आईमाई (महिला) हरु रक्सी पारेर बेच्छौ । हाम्रो घर यहाँबाट अलिक माथि पर्छ । यो त अस्थायी ठाउँ, त्यो पनि एैलानी जग्गा । सधै यसरी नै कहाँ पाइन्छ दिउसै रक्सी पार्न? कहिलेकाँही मात्र हो । यो बाहेक अरु कामधन्दा पनि हुनुपर्यो नी । हामी त बर्षौदेखि यही काम गर्दै आइरहेका छौ । यसैले परिवार पाल्न थोरै भएनी सघाएको छ ।
अहिले तपाईको खाइरहेको रक्सी कनिकाको हो । म चामलको रक्सी बनाउन जान्दछु । भनौन, मलाई अन्नपातबाट रक्सी बनाउन आउँछ, जस्तै कोदो, मकै, चामल, कनिका, सबैको बनाउन सक्छु । स्याउको? त्यो त अहिलेसम्म बनाएको छैन, देख्यो भने आइहाल्छ । आरुबखडाको पनि रक्सी हुन्छ? मैले त बनाएकी छैन । कतातीर गर्छ त्यस्तो? ए सोलुतीर? हाम्रो यतातीर त बनाउँदैन । एकपटक देख्यो भने बनाउन आइहाल्छ नी । किन नआउनु? स्याउको रक्सीको स्वाद कस्तो हुन्छ? ए स्याउ जस्तै? होला होला, मैले नबनाएकोले मलाई थाहा छैन । देखेको पनि छैन । तपाईलाई त रक्सी कसरी बन्छ सबै थाहा रहेछ, के को बन्छ पनि जान्दोरछ तपाई । अनि किन भिडियो खिचेको त?

हामीले यहाँ बनाको रक्सी हेटौडाको पसलमा लान्छौ । त्यहाँ पसलमा किन्छन् । बिस रुपैया एक बोतलको । हो र? सस्तो भयो र? कहिलेकाँही बिरगञ्जतीर पनि लान्छ । किन्छन् नी, कहिल्यै खेर जाँदैन । किन खेर जानु? बिक्रि हुन्छ र हामी यसरी रक्सी पारिरहने हो । हामीले पनि पेट पाल्नु पर्यो नी । आम्दानीको स्रोत छैन । कसले कति ठग्छ, नाफा खान्छ हामीलाई थाहा हुन्न । हामीले दिने २० रुपैयाँमा हो । हामीलाई फाइदै छ । एकपटकमा ६०/७० बोतल जति बन्छ । सानातिना गर्जो टार्न पुगेकै छ ।
तपाईले भिडियो खिचेपछि के गर्नुहुन्छ हुन्छ नी? किन नरिसाउने त? तपाई को हो कहाँबाट आको? किन भिडियो खिचेको? यस्ता भिडियो टिभीमा आउँछ, टिभीमा मैले कुहेको मोज्जा, जुत्ता, प्लाष्टिकका गन्हाउने बोराबाट रक्सी बनाएको देखेकी छु, त्यसरी बनाउनेलाई प्रहरीले पक्रेको देखेको छु । रक्सीका ग्यालेनहरु पुलिसले फालेको देखाउँछ, अनि डर लाग्दैन । के थाहा तपाईले पनि टिभीमा दिनु भयो भने? यहाँ पुलिस आएर हामीलाई बर्बाद पार्छ, अनि हामीलाई बर्वाद पार्ने अधिकार कसले दियो तपाईलाई? मलाई त अझै पनि विस्वास छैन तपाईप्रति । मलाई पनि पुलिसले दुःख दिएको छ । यहाँ यसरी रक्सी पार्छन् बेच्छन् भन्ने थाहा पायो भने हामीलाई पनि लान्छ । अहँ अहिलेसम्म मैले अन्नपात बाहेकको रक्सी बनाएकी छैन । बोरा हालेर? छि, हामी त्यस्तो गर्दैन् । त्यो त काठमाण्डौतीरमात्र बन्छ रे । हामीले त केही हाल्दैन । अन्नपातको शुद्ध बनाउँछ । यो रक्सी अहिले ४ पाने हो । ९/१० पानेसम्म हामी बनाउँछौ । तीनपाने चाँही कडा हुन्छ । यो चारपाने पनि कडा छ । तपाईलाई कडा भएन? तपाई त जड्याहा हो की क्या हो? तर पार्दा पार्दैको रक्सीले फाइदा गर्छ । मिठो हुन्छ । यसरी पार्दा पार्दै आउनु भयो जति खानुहुन्छ खानोस् हामी पैसा लिदैनौ । उ बैनीले पनि बनाउँदैछन्, चाख्ने हो? त्यो पनि कनिकाकै हो । केही छैन । तर जे गर्नोस, यो भिडियो टिभीमा नदिनोस् । गलत काम हो, तर अर्को काम पनि त छैन । यसैले बिन्ति छ । दिनुभयो भने हामीले पनि जान्या छ ।”
उनको यो बेलिबिस्तार अझै लामो थियो । साँझको पौने सात बजेको थियो । हाम्रो टाटासुमो नबन्ने भयो । संजोगले अर्को गाडि भेटियो । सौराहाबाट लगातार फोन आउन थालिसकेको थियो कतिबेला आइपुग्ने भनेर । हामी हतारमा थियौ, भट्टिवाली दिदी र उनका साथीसँगी पनि गाउँ पर्किन हतारमा थिए । बिदा हुने बेलामा मैले दिदीलाई सधन्यबाद एकसयको नोट दिदै भने “पैसा नलिई हामी पनि केही खाँदैनौ ।”
सानो कारमा पाँचजना खाँदिएर हुइकिरहेको बेला खाल्डाखुल्डी बाटोमा एकअर्कालाई छुनै पथ्र्यो । सायद मनहरी कटिसकेको थियो हाम्रो गाडिले, कुइनामा केही तातो जिनिसले पोलेजस्तो भयो । यसो हेरे प्रकाशको हातमा मिनरलवाटको बोतल थियो । आँखा झिम्क्याउँदै उनी बोले, “अघिकी दिदीले दिएकी, सित्तैमा हो ।” यसपछि के चाहियो र? मध्यगर्मिका बेला पनि सौराहा पुग्दा खानेकुरा मज्जाले सेलाईसकेको थियो ।

Popular Posts

Blogger templates

Blogger news

Blogroll