एssssss, के भयो? लौन, गाडि रोक्नुस् रोक्नोस्, पछाडि बस्ने पाँचैजनाको स्वर एकै भयो । हेटौडाबाट हिडेको २० मिनेट भएकै थिएन, तुफान दगुरिरहेको टाटासुमो द्रेब्रतीर लच्किसकेको थियो । मैले सोचे गाडि पल्टिदैछ । सडकको देब्रतीर तल राप्तीनदी सुसाइरहेको छ यद्यपी त्यो स्थान भिरालो नभै सम्म थियो । गाडि एकदुई बुल्डुङ खेल्न सक्थ्यो होला तर खोलैमा पुग्दैनथ्यो भिरबाट झरेजसरी । हामीले चिच्याएपछि रेडियो अडियोको स्टेशन आइडीमा सुनिने जस्तै गाडिमा झ्याप्प ब्रेक लाग्यो । देब्रेतीर ढल्किएको गाडिबाट झरेपछि ढुक्क भैयो कम्तिमा ठुलो दुर्घटनाबाट बाँचियो । बाराको कलैयामा आदी प्रोडक्सन र निहारिका प्रोडक्सनको टिमसँग बिदा मागेर सौराहा हान्निएका हामी अर्थात म, रबीन्द्र, प्रकाश, भावना र रबीन्द्रको स्पेनिस साथीको यात्रामा यही देखि थपिइन नयाँपात्र अर्थान भट्टिकी साउनी ।
“तपाईले मलाई बर्बाद गर्नुहुन्न भन्ने के ग्यारेन्टी?” “हैन म तपाईलाई केही गर्दिन ।” एउटी अधबैशे महिला र पुरुषको पटकपटकको यस्तो संवादबाट के बुझ्लान् उनीहरुको छेउछाउका मान्छेले । मनहरीबाट झन्डै १५ किलोमिटरको दुरीमा रहेको त्यो स्थानमा अरु केही छाप्राहरु थिए जहाँ सानातीना होटल (भट्टीजस्ता लाग्ने) मा ट्रकका ड्राइभर र सहायकहरु खानपीन गरिरहेका देखिन्थे । अली माथिको गाउँबाट झरेका अरु महिलाहरु पनि मेरो र ती महिलाको संवादमा झुम्मिए । सहयात्रीहरु नजिकिए । विवाद थियो उनी र मेरोबीचमा ।
उनी अर्थात, यो बर्णनमा प्रस्तुत भट्टिकी साउनी । तपाईले मलाई बर्वाद पार्नुहुने भो भन्ने उनको आरोप सुनेपछि मलाई उनको नाम सोध्न डर लाग्यो । हामी मकवानपुरको मनहरीबाट हेटौडा सोझिदाँ झन्डै १५ किमी दुरीमा थियौ जहाँ सडकको एउटा किनाराबाट पत्पत्ती निस्कीएको धुवाँको मुस्लो टाढैबाट स्पष्ट देखिन्थ्यो । त्यहाँ सकड नजिकै किनारामा घ्याम्पामा रक्सी पाकिरहेको थियो । घ्याम्पाको छेउमा थिए २/३ स्थानीय महिला अनि केटाकेटी, र सँगैको भट्टीमा एकजना नाङ्गे साउजी ट्रक ड्राइभर र उनीसँगैकी महिलालाई भुटन तारेर बाँडन व्यस्त थिए । “तपाईको फोटो खिच्छु, लौ यता हेर्नोस्,” तामाङ लवजमा उनले मलाई हल्का धम्किजस्तो सुनीने गरी आदेश दिइन् । उनैले एकछिन अगाडि दिएको चारपानेले रमरम भैरहेको म यो अप्रत्यासीत व्यवहार हाँसोमा उडाउन चाहान्थे । तर उनी पछाडि हटिनन् । सँगैका अरु महिला र केटाकेटीहरु उनको वरपर झुम्मिए । सहयात्रीहरु मतीर नजिकए । अचम्म लाग्यो, उनी हास्दैछिन् वा रिसाइन् । बत्तिसवटै दाँतदेख्ने गरी खुलेको मुख हेर्दा कसरी पत्याउनु उनी मसँग रिसाएकीछन्? उनी तिनै महिला हुन् जसले १५ मिनेट अगाडि मलाई बोलाएर चाख्नु त भन्दै चारपानेको गिलास हातमा थमाएकी थिइन् । “रक्सी पार्दापार्दै कोही आइपुग्यो भने हामी उसलाई सकेजती रक्सी पिउन दिन्छौ सर पनि पिउनोस्” एकछिन अगाडि यसो भन्ने तीनै महिला जसले यतिबेलासम्म आफ्नो मोवाइलमा कैयौ पटक मेरो तस्विर उतारिसकेकी थिइन् । मैले पिएको थिए, उनी पार्दै थिईन्, आगोको राप र पानीको वाफले उनलाई मतायो की मलाई बढी नै लागिसक्यो?

स्थितीलाई साम्य बनाउन, स्टिलको ग्लासलाई अर्कोहातमा सारेर जुँगा मुसार्दै प्रकाश अघि सरे, “दिदी हामी त्यस्ता मान्छे हैनौ, तपाईको भिडियो कतै पनि देखाउँदैनौ । वहाँले त रक्सी कसरी बन्छ भनेर थाहा पाउनका लागि भिडियो खिच्नु भएको हो । तपाईलाई हामीले किन बद्नाम गर्ने?” ओsss हो । कुरो यस्तो पो रहेछ । खासमा मैले केहीछिन अघि रक्सी पारिरहेको दृष्य आफ्नो मोवाइलमा कैद गरेको थिए, उनीसँग रक्सी पकाउने तरिकाबारे कुराकानी गरेको थिए र रक्सी पारेपछि के गर्नुहुन्छ भनेर केही व्यापार व्यवसायका गफलाई पनि भिडियोमा कैद गरेको थिए । र खिचीसकेर सम्पुर्ण कुराकानी सहितको भिडियो उनलाई पनि देखाइदिएको थिएँ । उनी रिसाउने कारण थाहा पाएपछि झल्याँस्स निद्राबाट ब्युझिएजसरी म अघि सरे । “ल ठिक छ फोटो त खिच्नु भो मेरो नाम पनि लेख्नु, ठेगाना दिन्छु, मोवाइल नम्बर दिन्छु, अफिसको ठेगाना दिन्छु । तर ढुक्क हुनोस् दिदी तपाईलाई हामीले केही हानी पुर्याउँदैनौ ।” “तपाईको कुराको के ग्यारेन्टी? त्यो भिड्यो मेट्ना सक्नुहुन्छ?” उनको थप अडानले लाग्यो दिदी निकै तर्सिएकी रहिछन् । सहयात्री सबै मिलेर स्थितीलाई सामान्य बनाइसकेपछि पनि हामी केही समय गफियौ दिदीसँग । बल्ल खुलिन् उनी हामीसँग यसरीः
“परिवारको जग्गा जमिन थोरै छ । सन्तान पढाउनु पर्छ । लोग्नेमान्छेको कमाइले बाह्रैमास खान पुग्दैन । हामी आईमाई (महिला) हरु रक्सी पारेर बेच्छौ । हाम्रो घर यहाँबाट अलिक माथि पर्छ । यो त अस्थायी ठाउँ, त्यो पनि एैलानी जग्गा । सधै यसरी नै कहाँ पाइन्छ दिउसै रक्सी पार्न? कहिलेकाँही मात्र हो । यो बाहेक अरु कामधन्दा पनि हुनुपर्यो नी । हामी त बर्षौदेखि यही काम गर्दै आइरहेका छौ । यसैले परिवार पाल्न थोरै भएनी सघाएको छ ।
अहिले तपाईको खाइरहेको रक्सी कनिकाको हो । म चामलको रक्सी बनाउन जान्दछु । भनौन, मलाई अन्नपातबाट रक्सी बनाउन आउँछ, जस्तै कोदो, मकै, चामल, कनिका, सबैको बनाउन सक्छु । स्याउको? त्यो त अहिलेसम्म बनाएको छैन, देख्यो भने आइहाल्छ । आरुबखडाको पनि रक्सी हुन्छ? मैले त बनाएकी छैन । कतातीर गर्छ त्यस्तो? ए सोलुतीर? हाम्रो यतातीर त बनाउँदैन । एकपटक देख्यो भने बनाउन आइहाल्छ नी । किन नआउनु? स्याउको रक्सीको स्वाद कस्तो हुन्छ? ए स्याउ जस्तै? होला होला, मैले नबनाएकोले मलाई थाहा छैन । देखेको पनि छैन । तपाईलाई त रक्सी कसरी बन्छ सबै थाहा रहेछ, के को बन्छ पनि जान्दोरछ तपाई । अनि किन भिडियो खिचेको त?

हामीले यहाँ बनाको रक्सी हेटौडाको पसलमा लान्छौ । त्यहाँ पसलमा किन्छन् । बिस रुपैया एक बोतलको । हो र? सस्तो भयो र? कहिलेकाँही बिरगञ्जतीर पनि लान्छ । किन्छन् नी, कहिल्यै खेर जाँदैन । किन खेर जानु? बिक्रि हुन्छ र हामी यसरी रक्सी पारिरहने हो । हामीले पनि पेट पाल्नु पर्यो नी । आम्दानीको स्रोत छैन । कसले कति ठग्छ, नाफा खान्छ हामीलाई थाहा हुन्न । हामीले दिने २० रुपैयाँमा हो । हामीलाई फाइदै छ । एकपटकमा ६०/७० बोतल जति बन्छ । सानातिना गर्जो टार्न पुगेकै छ ।
तपाईले भिडियो खिचेपछि के गर्नुहुन्छ हुन्छ नी? किन नरिसाउने त? तपाई को हो कहाँबाट आको? किन भिडियो खिचेको? यस्ता भिडियो टिभीमा आउँछ, टिभीमा मैले कुहेको मोज्जा, जुत्ता, प्लाष्टिकका गन्हाउने बोराबाट रक्सी बनाएको देखेकी छु, त्यसरी बनाउनेलाई प्रहरीले पक्रेको देखेको छु । रक्सीका ग्यालेनहरु पुलिसले फालेको देखाउँछ, अनि डर लाग्दैन । के थाहा तपाईले पनि टिभीमा दिनु भयो भने? यहाँ पुलिस आएर हामीलाई बर्बाद पार्छ, अनि हामीलाई बर्वाद पार्ने अधिकार कसले दियो तपाईलाई? मलाई त अझै पनि विस्वास छैन तपाईप्रति । मलाई पनि पुलिसले दुःख दिएको छ । यहाँ यसरी रक्सी पार्छन् बेच्छन् भन्ने थाहा पायो भने हामीलाई पनि लान्छ । अहँ अहिलेसम्म मैले अन्नपात बाहेकको रक्सी बनाएकी छैन । बोरा हालेर? छि, हामी त्यस्तो गर्दैन् । त्यो त काठमाण्डौतीरमात्र बन्छ रे । हामीले त केही हाल्दैन । अन्नपातको शुद्ध बनाउँछ । यो रक्सी अहिले ४ पाने हो । ९/१० पानेसम्म हामी बनाउँछौ । तीनपाने चाँही कडा हुन्छ । यो चारपाने पनि कडा छ । तपाईलाई कडा भएन? तपाई त जड्याहा हो की क्या हो? तर पार्दा पार्दैको रक्सीले फाइदा गर्छ । मिठो हुन्छ । यसरी पार्दा पार्दै आउनु भयो जति खानुहुन्छ खानोस् हामी पैसा लिदैनौ । उ बैनीले पनि बनाउँदैछन्, चाख्ने हो? त्यो पनि कनिकाकै हो । केही छैन । तर जे गर्नोस, यो भिडियो टिभीमा नदिनोस् । गलत काम हो, तर अर्को काम पनि त छैन । यसैले बिन्ति छ । दिनुभयो भने हामीले पनि जान्या छ ।”
उनको यो बेलिबिस्तार अझै लामो थियो । साँझको पौने सात बजेको थियो । हाम्रो टाटासुमो नबन्ने भयो । संजोगले अर्को गाडि भेटियो । सौराहाबाट लगातार फोन आउन थालिसकेको थियो कतिबेला आइपुग्ने भनेर । हामी हतारमा थियौ, भट्टिवाली दिदी र उनका साथीसँगी पनि गाउँ पर्किन हतारमा थिए । बिदा हुने बेलामा मैले दिदीलाई सधन्यबाद एकसयको नोट दिदै भने “पैसा नलिई हामी पनि केही खाँदैनौ ।”
सानो कारमा पाँचजना खाँदिएर हुइकिरहेको बेला खाल्डाखुल्डी बाटोमा एकअर्कालाई छुनै पथ्र्यो । सायद मनहरी कटिसकेको थियो हाम्रो गाडिले, कुइनामा केही तातो जिनिसले पोलेजस्तो भयो । यसो हेरे प्रकाशको हातमा मिनरलवाटको बोतल थियो । आँखा झिम्क्याउँदै उनी बोले, “अघिकी दिदीले दिएकी, सित्तैमा हो ।” यसपछि के चाहियो र? मध्यगर्मिका बेला पनि सौराहा पुग्दा खानेकुरा मज्जाले सेलाईसकेको थियो ।

0 comments:

Popular Posts

Blogger templates

Blogger news

Blogroll

Archive