“तिमीहरु नजाने भए म त आजै जान्छु,” बिष्णुले यसरी घुर्की लगाईरहँदा मनभित्र दबिएर रहेको मेरो चाहना जाग्नु स्वभाविक थियो । म बर्षमा कम्तिमा पनि दुईपटक धनकुटा पुग्ने गर्छु, तर छिन्ताङ जाने मौका जुरेको रहेनछ । यसपाली साथी बिष्णु खत्रीले छिन्ताङ जाने अड्डी लिएपछि सहकर्मी इन्द्र क्षेत्री र म पनि मिसिने भयौ छिन्ताङयात्रामा ।
“छिन्ताङमात्र हैन तिमीहरुलाई म अर्को पनि एउटा ठाउँमा लान्छु जुन छिन्ताङजस्तै ऐतिहासिक महत्वको त छैन तर भविष्यमा त्यो एउटा इतिहासको प्रतिबिम्ब हुनेछ,” मैले पनि शर्त तेस्र्याए । कौतुहलताले बिष्णु, इन्द्र, कविता सबैजना राजी भए । धनकुटाका मेरा मित्र नैन बिश्वकर्मा, जो अहिले रेडियो मकालुमा स्टेशन म्यानेजर छन्, त जहिलेपनि यात्राका संयोजक नै भएर राजी हुन्छन् यसपाली पनि भए । नपत्याउने किसिमले योजना बन्यो घोर्लिखर्कमा बन्दै गरेको शान्ति पार्क भ्रमणपछि छिन्ताङ पुग्ने र त्यही दिन बेलुका बास बस्न भेडेटार झर्ने । बिहान ११ बजेसम्म नेपाल पत्रकार महासंघ धनकुटाका पदाधिकारी र स्थानीय पत्रकारहरुसँग सामाजिक मिडिया र सञ्जालको प्रभावका बारेमा छलफल गरेर हामी हुर्रियौ हिले पाख्रीबास हुदै सिधै घोर्लिखर्कको ढिकुरेतीर जहाँ केही बर्ष अगाडिदेखि स्थानीय बासिन्दाको पहलमा शान्ति पार्क निर्माण भइरहेको छ ।
नियमजस्तै छ मेरो, धनकुटा पुगेपछि मलाई शान्तिपार्क जानै पर्छ । शान्तिपार्क जाने भएपछि त्यही गएर लोकल कुखुरा र भात टन्न खानैपर्छ । “खाना त सेलाएर सिङ नै उम्रियो नि” सामान्य होटलको अगाडि गाडि रोक्नेबित्तिकै भित्रबाट महिला आवाज आयो । नैनजीले माफ माग्दै भोक लागेको कुरा गर्दा यात्राका अरु सहभागिहरु दिपक, बिष्णु, इन्द्र, कविता र सबैभन्दा सानो यात्री बिश्रुद पनि भोकले पाइला सार्न नसक्ने अबस्थामा थिए । भोक लागेपनि नलागेको स्वाङ पार्दै दरो छु भन्ने देखाउन मलाई अलिकति पनि संकोच थिएन । आहा, कस्तो स्वादिलो खाना, मोही, साग, अचार, लोकल कुखुरा र मासको दालसँग भात बजाउन पाएपछि को बोल्छ? खाउँन्जेल चुँसम्म गरेनन् कोही । धनकुटाबाट लेगुवा हुदै भोजपुर र संखुवासभा पुग्ने बाटोको किनारामा बसेर हामीले खाना खायौ ।
शान्तिपार्क बनिरहेको स्थानमा पहिले तामाङ जातीको ‘माने’ थियो । द्धन्द्धको समयमा त्यसलाई भिडन्तस्थलको रुपमा उपयोग गर्न तत्कालिन अबस्थामा कोही पछि परेनन् । रेडियो कार्यक्रम नयाँ नेपाल सुन्ने श्रोता समूहका बीचमा अन्तरक्रिया हुदाँ प्रस्ताब आयो “यहाँ किन शान्ति पार्क नबनाउने? तामाङजातीको पबित्रस्थलको संरक्षण पनि हुने, इतिहासमा युद्धको निशान कायम पनि रहने ।” यस्तै तर्क बितर्कका बीचमा बिभिन्न चरणहरु पारगर्दै शुरु भयो शान्तिपार्क निर्माण योजना । भोजपुरको ट्याम्केडाँडादेखि पुर्वी दक्षिण भोजपुरको अधिकांश भाग, संखुवासभाको तुम्लिङटार बिमानस्थल, अरुण उपत्यका, अरुण नदी, मकालु हिमाल समेत छर्लङ्घ देखिने अग्लो ठाउँमा भ्यु–टावर बन्ने भयो । गाउँलेहरु उत्साहित भए । धेरै काम जनश्रमदानबाटै भयो । बिभिन्न निकाय तथा सरकारी संयन्त्रबाट सहयोग हुने भएपछि शुरु भएको शान्तिपार्क निर्माण अहिले अन्तिम चरणमा पुगेको छ । तथापी समुदाय केही आर्थिक सहयोगको अभावमा काम रोकेर बसेको छ । “सरहरुले शुरु गर्नलाई प्रोत्साहन गर्नुभयो र यहाँसम्म पुग्यौ, टुङयाउनलाई पनि सहयोगको अपेक्षा छ,” स्थानीय युवा झमक श्रेष्ठको अपेक्षाले चित्तबुझ्दा उत्तर नपाएपनि मैले मनमनै सोचे, “केही त गर्नैपर्छ । यस्तो ऐतिहासिक कामका लागि सहयोग गर्ने मौका फेरी कहाँ आउँछ र?”
अजंङ्घको डाँडामो चढ्नलाई खुट्टा कामीरहेका भएपनि मैले पाँचबर्ष पुग्नै लागेको बिश्रुदलाई पनि टुप्पोमा पुर्याउने आँट गरे । डराउँदै उक्ल्यो उ पनि । कवितालाई डर लागेको परैबाट महसुश गर्न सकिन्थ्यो, तर छोरो नै चढेपछि आमालाई चुनौती । दुई खुड्कीला चढेर चार खुड्कीला झर्दै भएपनि उनी पनि पुगिन् टुप्पामा जहाँ पुगेपछि लाग्छ संसारमा डर भन्ने चिज नै छैन । जताहेरे पनि रमाइलै रमाईलो । बिष्णु र इन्द्रको जोडि खुब जमेको थियो । उनीहरुलाई हेर्दा लाग्थ्यो यात्राको मज्जा लुट्नमा को भन्दा को कम । दिपक, नैनजीको लोकप्रीयता देखेर चकित भैसकेको थियो । जसले पनि नमस्ते गर्ने, नचिनेको मान्छे कोही छैन जस्तो । हो पनि नैन बिश्वकर्मा धनकुटामा धेरै गाउँलेले चिनेको ग्रामिण पत्रकार हुन् । सरल जीवनशैली र आत्मीयता उनका गहना हुन् । बिगत छ बर्षदेखि निरन्तर संगतमा छु म उनको । मलाई सर भनेर संवोधन गरेपनि म अहिले पनि उनको स्थानमा पुग्न सकेकोछैन न त सक्छु नै ।
ओ, छिन्ताङ्घको कुरो त भुसुक्कै बिर्सिएछ । हामी अब छिन्ताङ्घका लागि प्रस्थान गर्यौ । घडीले १ बजाउनै लाग्दा हाम्रो जीपले गति नलिदै पाख्रिबास हुदै हिले पुगेर बाटो सोभियो खोकु छिन्ताङ्घतीर । “किन खोकु छिन्ताङ?” “हेर यो ऐतिहासिक स्थान हो । पहिले राजनीति गर्दा यसको बारेमा खुब चर्चा गरियो । १६ जना स्थानीय नागरिकलाई निर्मम हत्या भएको स्थान हो छिन्ताङ । म पाल्पालीलाई त यति कुरा थाहा छ भने तिमी भन्छौ छिन्ताङ किन जाने?” बिष्णुको कुरामा मैले सवाल जवाफ गर्नु आवश्यक ठानीन । बाग्लुङे (हाल चितवन) इन्द्र रमाइलो मानिरहेका थिए । एक महिनापछि कोरीया जाने तयारीमा रहेका दिपक भारतीलाई यो मौका चिठ्ठा नै परेको थियो । कविता र बिश्रुद यात्राको आनन्द लिन पुर्ण तयार देखिन्थे । मैले बिष्णुलाई जवाफ दिन आवश्यक ठानीन कीनकी धनकुटाको छिन्ताङ इतिहासमा कलंकित नाम हो । २०३६ सालमा सुर्य बहादुर थापा प्रधानमन्त्रि हुदाँ छिन्ताङका निर्दोष गरिव, किसानहरुले खानेकुरा मागेका के थिए राज्यका सिपाहीहरु लगाएर उनीहरुलाई निर्मम तरिकाले मारियो । उनीहरु राजनीतिक रुपमा जोसुकैबाट प्रशिक्षित भएपनि त्यहाँका गरिब जनता थिए । धनकुटामा बिकट मानिने छिन्ताङको गरिबीले आक्रान्त पारेका उनीहरुसँग बिकल्प केही नभएपछि स्थानीय साहूहरुका अन्नपात लुटेकै भरमा उनीहरुलाई क्रुर तरिकाले प्रशाशनले हत्या गरेको थियो । राजनीतिक रंग लगाएर खेदीखेदी, यातना दिएर, भीरबाट गुल्ट्याएर, भर्खरकी सुत्केरीलाई लतारेर उनीहरुका लाश भीरमा पुरेर गरिब हुनु अपराधी हुनु हो भन्ने सन्देश छर्दै एकदुई दिनको अन्तरमा १६ जनालाई पाशविक तरिकाले हत्या गर्ने बेलाका प्रधानमन्त्रि सुर्य बहादुर थापा छिन्ताङबाट एकडेढघण्टाको दुरीमा रहेका मुगा गाउँका स्थानीय बासिन्दा थिए । त्यही क्रुर इतिहासको झलक दिने जिउँदो ऐतिहासिकस्थल जानु हामी न्यायमा बिश्वास गर्ने युवाहरुका लागि छिन्ताङ मात्र एउटा गाउँ नभएर ऐतिहासिकस्थल र पवित्र थियो । त्यहाँ पुग्नुपनि इतिहासलाई नजिकबाट अध्ययन गर्नु थियो ।
मेरा आदरणीय दाजू तथा मित्र किशोर थुलुङले कैयौ चोटी सुनाएको गीत ‘खोकु छिन्ताङ दुख्यो की अरुण सुसाँउदा....’ आज एकपटक फेरी कानैनेर बजेजस्तो भान भइरहेको थियो बाटोभरी । भीर र पहरा फोरेर लमतन्न परेको धुले सडकलाई चिर्दै हामी छिन्ताङ पुगेर सहिद (राज्यले औपचारिक रुपमा भनेको छैन) को मुर्तिको अगाडि उभिदा छाती ढक्क फुलेको थियो । मनमनै सोचे मैले यो देशका लागि के गर्न सक्या छु, यो समाजका लागि म बाँचेको छु र? म त मेरै लागि बाँचेको छु, मेराहरुका लागि बाँचेको छु । देश र समाजका लागि मेरो योगदान के छ र? यि यहाँ लामबद्ध १६ जना बीर योद्धाहरु जसले न्याय माग्दा राज्यको बन्दुकले उनीहरुको प्राण लियो । उनीहरुमा फुल अर्पण गर्दा श्रद्धाले शिर निहुरियो । सँगै गएका अरु पनि भावुक देखिन्थे । तर त्यतिबेला चस्स दुख्यो जतिबेला मदन भण्डारीको सालिक पनि ती १६ जना छिन्ताङे गरिब किसानहरुको भन्दा अलि पर ठडिएको देखे, मानौ भण्डारी त्यहाँ बसेर ती १६ जनाको सुरक्षा दिइरहेकाछन् । भण्डारीप्रति पुर्वाग्रह छैन मेरो तर त्यहाँ त्यो सालिक नराख्या भएपनि केही हुन्नथ्यो भन्ने चाँही लागेकै हो । नैनजीले भने, “वहाँकै पालामा यो पार्क बनेको हुनाले सम्मान स्वरुप सम्झना हो वहाँका लागि, अन्य अर्थमा नबुझ्दा बेश ।” नैनजीको कुरा सुन्दै अरु लम्व्याउनु ठिक लागेन यो सवाललाई । मनमनै संझे आज मित्र किशोर थुलुङ पनि सँगै थिए भने यहाँ बसेर उनको सदावहार गीत खोकु छिन्ताङ सुन्दा बेग्लै अनुभुति हुन्थ्यो होला । संयोग पनि कस्तो? हामी छिन्ताङ पुगेकै दिन धनकुटामा बिशेष कार्यक्रम आयोजना गरेर पिडित परिवारका सदस्यहरु ती १६ जना न्यायप्रेमीहरुलाई राज्यले शहिद घोषणा गरिदियोस् भनेर दवाबमुलक अन्तरक्रिया गरिरहेका थिए ।
शहिदपार्क छिन्ताङको एउटा ऐतिहासिक पाटो हो भने त्यहाँ रहेको छिन्ताङ जाल्पादेवी मन्दिर त्यहाँको अर्को लोकप्रीय धार्मिकस्थल । सुनेको धेरै भएकोले पनि होला कस्तो होला मन्दिर भनेर कौतुहलता धेरै थियो मनमा । तर मन्दिरको गेटमा नपुग्दै सियोले घोचेसरी चसक्क भयो मन मानौ कमिलाले मुटुको बीचमै गएर चिलिरहेछ । किन त? सूचना पाटीमा टाँसिएको थियो ‘१२ बर्ष माथिका महिलालाई प्रबेश निषेध ।’ किन यस्तो बिभेद? स्थानीयहरुसँग “खै पहिलेदेखि चलेको चलन हो हामीलाई पनि थाहा छैन किन पस्न नदिएको हो महिलालाई” भन्ने बाहेक चित्तबुझ्दो जवाफ थिएन । कविताको मन झनै दुखेको महशुस गर्न सकिन्थ्यो । तर हामी त्यहाँ लड्न गएका थिएनौ, खुरुक्क आज्ञापालक झै गरी उनी गेटमै बसुन्जेल हामीले भने मन्दिरभित्र गएर १५ मिनेटजति बितायौ । त्यो बसाईमा मैले केही पनि त्यस्तो रहस्य थाहा पाइन जुन महिलाबाट लुकाइएको होस् । धन्य हाम्रो समाज? कुनै बैज्ञानीक कारण र आधारबीना नै मनमा जे आयो व्यवहारमा त्यही गर्छ । “यहाँ दलितलाई पनि प्रबेश निषेध थियो, तर हामीले सामूहिक रुपमा तोडेको हो । अहिले कसैले हिम्मत गर्दैन नत्र हामीलाई पनि पस्न दिदैनन् यो मन्दिरमा,” नैनजीले स्पष्ट नपार्या भए मैले सोध्नै आँटेको थिए, महिलाबाहेक अरु ककसलाई निषेध यहाँ प्रबेश गर्नलाई? कुनै कारणबीना नै बनेको नियमलाई कहिलेसम्म कायम राख्ला छिन्ताङे समाजले? बिभिन्न तर्क बितर्क गर्दै धनकुटा फर्किदा हिलेमै सात बजेको थियो ।
“आज भेडेटार जाने? नजानु बेश हुन्छ । राती भयो, समय ठिक छैन ।” यसो भनिरहँदा स्थानीय हिङवाले ट्रीप दिने छाँट नदेखेपछि नैनजीले कोदोको मगाइसक्नु भएको थियो जुन एक गिलास मेरो लागि पनि थियो । बिष्णु, इन्द्र र दिपक भने तोङवामा भिडिसकेका थिए । मैले तोङवा नाँई भन्ने एउटै कारण थियो, खान समय दिएर खानुपर्ने अनि लाग्न पनि समय लिएरै लाग्छ, खाँदा भन्दा पछि धेरै गन्हाउँछ, त्यो पनि कोठा, ट्वाइलेट सबैतीर । स्वाद र गन्ध दुवै मननपर्ने अनि स्वास्थ्य र श्रीमती दुवैका लागि हानीकारक भएपनि धनकुटाको कोदोकै ठिक हुने ठानेर हिङ्वा जीब्रोमा नझुन्डिएपछि मैले पनि साथ दिए नैनजीलाई । कतिन्जेल हिलेमा बसियो कुन्नी भात खाएर धनकुटा पुग्दा रातको साढेदश भएको रहेछ । धन्न कोठा पाइयो ।
भोलीपल्ट शुक्रबार बाहुन समाजको आह्वानमा पुर्वाञ्चल बन्दको कार्यक्रम । अघिल्लो दिन हिलेबाट समाजका जिल्ला सचिवसँग त फोनमा लामै कुरा भएको हो । तर के कुरा भयो भोलिपल्ट अलि हेक्का भएन । उनले भनेपनि तपाईहरुलाई धरानसम्म पुग्नका लागि हामी बाधा गर्दैनौ । तर भोलीपल्ट जति पैसा दिन्छु भन्दा पनि कुनै गाडिवाला तयार भएनन् हामीलाई धनकुटाको सिमाना कटाउन । बिष्णु र इन्द्र त तीनपटक बसपार्क नै पुगे छट्पटीएर । तर आफ्ना हातमा केही थिएन । बजार घुम्नु, होटलमा पुग्नु, खुइय गर्नु निरन्तरजस्तै हुन थाल्यो । ए, यत्तिकैमा आन्दोलनरत शिक्षकहरुले धनकुटा बजारमा सिठ्ठी जुलुस निकाले । कारण रहेछ, सरकारले शिक्षकका माग सुनेन अनि सुन्ला की भनेर सिठ्ठी बजाएको । बन्दको दिन भएकोले त्यो दिन बजारमा फुकेको सिठ्ठी सरकारको कानमा पर्यो की परेन हामीलाई भने केही समय भएपनि समय कटाउने मेलो भयो सिठ्ठी जुलुस र त्यसलाई लिएर स्थानीय नागरिकले गरेको प्रत्तिकृया ।
दुइबजेतिर साथीहरुले जुक्ति निकाले, ‘नाइट बस जान्छ रे त्यसैमा जाने ।’ जसरी पनि धरान, इटहरी फिर्नु नै थियो राजी भयौ सबैजना बसमा जानलाई । तीनबजे बस छुट्छ भनेर काउन्टरवालाले हावादारी गफ दिइरहे पनि हामीले पत्यायौ र तुरुन्तै भेला भयौ सामान सहित बसपार्कमा । परबाट एउटा माइक्रो आयो । लौ न के हुन लाग्यो? सबैमा यस्तै उत्साह भरिएर आयो । नभन्दै तीनजनाको सिटमा पाँचजना कोचिएर धरानपुग्दा दिउसोका चार बजेको थियो ।
“अब के धरान घुम्ने?” बिष्णु र इन्द्रलाई धरान पनि नौलो नै थियो क्यारे । म, दिपक र कविता खासै उत्साहित भएनौ धरान घुम्नलाई । “त्यसो भए बराहक्षेत्र जाने त?” सबैले एकैसाथ खल्ती छामे । पाँचजनाले ७ सयका दरले तीर्ने हो भने बराहक्षेत्र पुगेर इटहरी फर्किन सकिने भयो । “तर अहिले गएर फर्किन सकिन्छ त?” अधबैशे गुरुजीले मारुती भ्यान तेस्र्याउदै भने “भ्याउँछ नी किन नभ्याइनु । आउनोस् न मसँग जाउ ।” उनको कुरा सुन्दा लाग्यो बराहक्षेत्र उनका लागि नौलो ठाउँ होइन । हामीलाई बराहक्षेत्र लान अरु मारुती भ्यानचालकहरु पनि राजी हुदाँहुदै मैले तीनै अधबैशे गुरुजीलाई बिश्वास गर्नु उचित ठाने ।
धरान–चतरा–बराहक्षेत्र । मेरा लागि यी स्थानको नामले नै मात्रपनि बाल्यकालको याद ताजा गराउँछ । बर्षौ भएको थियो चतरा नपुगेको । बराहक्षेत्र पनि । उत्साहित म थिए अरुभन्दा धेरै । ९ बर्षको छँदा पहिलोपल्ट मैले बाटो खनिरहेको डोजर त्यही बराहक्षेत्र र चतराको भीरको बीचमा देखेको थिए जसलाई देख्दा म त्यो बेला कम्ता रोमाञ्चीत भएको थिइँन । तर म १७ बर्षको हुदाँसम्म पनि त्यो बाटोमा गाडि चलेन । चतरादेखि धरान, चतरादेखि झुम्का त पहिलेदेखि नै यातायातले सुगम बनाएको थियो । तर बराहक्षेत्रबाट चतरा पुग्न चाँही कम्तिमा दुईघण्टाको पैदल यात्रा गर्नैपथ्र्यो । ती ८ बर्षहरुमा यो बाटो मैले कैयौपटक छिचोलेको छु । भोजपुरको भुल्केबाट चतरा नआइकन चियामा हाल्ने चिनि पाइदैनथ्यो म जन्मे हुर्केको गाउँमा । नुनदेखि सुनसम्म खरिद बिक्रिका लागि दुई दिनको अविरल यात्राबाट मानिसहरु आवत जावत गर्थे हिडेरै । त्यसरी हिड्नेमा म पनि एक थिए, भलै मैले सुनको कारोबार गरिन, ढाकरमा तक्मा टेकाउँदै कैयौपटक नुन भने बोकेको छु त्यो बाटोमा । बर्खामा उर्लिएर आउने सप्तकोशीले कैयौ ढाकरेको ज्यान लिन्थ्यो किनकी बराहक्षेत्रदेखि तम्मोर (त्रीवेणी) सम्मको बाटो सारै डरलाग्दो भिर थियो र अहिलेपछि त्यस्तै छ । खुट्टा चिप्लियो की कोशीमा ।
तर चमत्कार भएछ । यसपाली म मारुती भ्यानमा बसेर आरामले बराहक्षेत्र जाँदै थिए । मलाई पत्यार लागेको थिएन । बरु उल्टो डर थियो मनमा कताकता । तल सुसाइरहेको सप्तकोशी, पहरो छिचोल्दै बनेको ग्राभेल बाटो, ठाउँ ठाउँमा कठिन उकालो, अनि डरलाग्दा घुम्तिहरु । ‘साँझमा किन आएको होला म?’ बाटैभरी यस्तै सोच्दै गर्दा ड्राइभरले ल झर्नोस भन्दा पो म झसंग भए, बराहक्षेत्र त नजिकै पो आइसकेछ । १० मिनेटको हिडाईपछि मन्दिरमा पुग्दा साँझको आरती शुरु भयो । सबैले ठान्यौ यस्तो मौका दुर्लभ नै हुन्छ । हो पनि । अरुले पनि यस्तै भने, आरतीको समयमा पुजा गर्न, दर्शन पाउनु भनेको दुर्लभ नै हो । त्यो पनि एकैदिनमा, एकछिनका लागि बराहक्षेत्र पुग्नेहरुले । बराहक्षेत्र, मुक्तिक्षेत्र, कुरुक्षेत्र र हरिहरक्षेत्र यि चार क्षेत्र हिन्दु धर्मावलम्बीहरुकाबीचमा अत्यन्तै लोकप्रीय तीर्थस्थल हुन् । पुजापछि पुजारीले हामीलाई यस्ता धेरै कुरा बताए ।
यात्रामा सबैकुरा हामीले सोचेजस्तो भएन । धरानबाट हिड्नेबेलामा इटहरी छोडिदिने बाचा गरेर भाडा कबुल गरेका गुरुजीले एकबोतल लोकल दन्काएको देख्नेबित्तिकै मनमा चसक्क पसेको थियो । ‘कतै सपरिवार कोशीमा..?’ एकघण्टाको भिरको बाटोमा अरु पनि डराएका रहेछन् । हसिमजाक मन पराउने बिष्णुलाई पनि त्यो बेला मैले यात्राभरीकै गम्भिर अबस्थामा देखे । चुँसम्म आवाज निकालेन । बोल्न खोज्दा पनि स्वर थर्थराएजस्तो । अनुहार पनि निन्याउरो । म अगाडि गएर गुरुजीलाई गति नियन्त्रीत गर्न उत्प्रेरित गर्छु भन्ने इन्द्र पनि जाँदा जति उत्साहित थिए अहिले लाग्थ्यो डराइरहेकाछन् । दिपक र बिश्रुद दुवैजना बाटैमा निदाए । कविता मेरो छेउमा सास रोकेर टाँसिएकी थिइन् । मलाई भने गुरुजीप्रति शंका लाग्न थालेको थियो ‘कतै यस्ले गलत काम त गर्दैन?’ शंका लाग्ने केही आधारहरु थिए, जस्तै गुरुजी हामीलाई बराहक्षेत्रमै रात बसाउने तरखरमा थिए । प्रयास गरिहेरे । अरुले निर्णय गर्न सकेनन् तर मैले मानिन । जसरी पनि इटहरी पुग्ने मेरो योजना थियो । पुजा सकेर गाडि चढ्न लाग्दा गुरुजी फेरी अघि सरे र भने “तपाईहरु धरानै बस्नोस् ।” मैले फेरी मानिन । लाग्थ्यो उनी रिसाइरहेका पो छन् की? लामो यात्रामा सबैथोक गर्नु ड्राइभरलाई नजिस्क्याउनु, मैले लामो यात्रा गरिरहँदा अनुभव गरेको यथार्थ के हो भने गुरुजीलाई आफ्नै किसिमले काम गर्न दिनु तर किचकिच कहिल्यै नगर्नु । तर यहाँ भने गुरुजी नै किचकिच गर्ने तहमा ओर्लिएको र मादक पदार्थ सेवन गरेको थाहाा हुदाँहुदै हामीसँग बिकल्प थिएन ।
बल्ल चतरा पुगियो । लामो सास तान्यौ सबैले । तर अचानक गाडिमा खरावीको संकेत देखियो । पछाडिको चक्का आसपास केही चिजले भुई छुन्छ बेलाबेलामा अजङ्घको डरलाग्दो आवाज निकालेर । के भएको हो गुरुजीले पनि थाहा पाएनन् । बीचमा गाडि रोके, हेरे, तर पत्तो लागेन । इन्जिन बन्द नहुन्जेल चलाउँछु भनेरै होला गुरुजीले गाडि कुदाउने निर्णय गरे । तर फेरी भने “म झुम्काबाट इटहरी जान्न । धरानमा पनि राम्रा होटलहरु छन् त्यही बस्नोस् ।” मलाई रिसको पारो राम्ररी नै चढिसेको थियो । बिष्णु र कविताले नजोसिन आग्रह गरे । अब म बोलिन । गुरुजीले सिधै धरानको बाटो समाते । बिष्णु र इन्द्र दुवैको जोड थियो जताबाट होस् हामी इटहरी पुग्नैपर्छ नत्र एकरुपैयाँ पनि तिरिदैन । डर पनि लाग्यो । धरानमा लगेर गुरुले नै लुट्यो भने? जंगलकै बीचमा गाडि बिग्रीयो भने? चतराबाट धरान पुग्न पनि चारकोशे झाडि काट्नुपथ्र्यो । पटनालीको जंगल पहिलेदेखि नै अपराधीको लागि नामुद स्थान भन्ने सुन्या हो । तर न त बोल्न नै सकिन्थ्यो न त केही गर्न नै । धुलोले भरिभराउ गाडिमा चुपचाप धरान छिर्नु यात्राको कष्टदायि क्षण थियो त्यो पनि रातको ९ बज्नै लाग्दा ।
“मलाई त्यो बाटो डर लाग्छ, अनि इटहरीबाट फर्कदा एक्लै हुन्छु त्यसैले साथी लिन यताबाट आएको ।” डरले नै होला बाटोमा कुदिरहेको गाडिमा चुरोट सल्काउँदै स्टेरिङ समाउने गुरुले बल्ल रहस्य खोले । “म पनि इमान्दार छु, धोका दिन्न । तपाईहरुलाई इटहरी पुर्याइदिन्छु ।” बल्ल आनन्दको सास आयो । सबैजना एकैचोटी मुखामुख गर्दै मुस्कुरायौ । धरान पुगेर इटहरीको पाथीभरा गेष्ट हाउसमा फोन गरी खाना र कोठा दुवैको बन्दोबस्त गरिसकेपछि यात्रामा फेरी रौनतकता छायो । कोरिया जान लागेको दिपक बुझिए । गाडि १० बजेर १० मिनेटजाँदा पाथीभरा गेष्टहाउस इटहरीको अगाडि रोकिदाँसम्म हामी खुलेर यात्राको समिक्षा गरिरहेका थियौ । तर एकाएक उही गुरुजी नयाँ रुपमा प्रस्तुत भए । कबुल गरेको भन्दा बढी भाडा माग्न थाले । म एकरुपैयाँ थप्ने मुडमा थिइन । बिष्णु र इन्द्रतीर देखाउँदै भने “ल साथी हो व्यवस्था गर ।” उनीहरुले के बुझे कुन्नी बिष्णु एकाएक जङ्घिएको देखे । बिष्णुले भनेको सबै कुरा सुनिन् जे सुने त्यसले गुरुजीको चर्को स्वर एकाएक बन्द भयो, गुरु त भुतभुताउन पो थालेछन् । बिष्णुले भनेको यत्तिमात्र थियो, “पाहुनासँग निहुँ खोज्ने, कबुल गरे भन्दा बढी पैसा माग्ने? भनेजति हामीले दिएको छ की छैन? पुलिसलाई बोलाउ?” एकाएक बोल्ती बन्द भएका बिचरा गुरुजी । गेष्टहाउसको तीनतलामाथि पुगेर झ्यालबाट तल चियाउँदा देखे गुरुजी त चुरोटमात्र हैन, नजिकैको ठेलावालासँग झर्किएर माग्दै थिए, “यतिरातीसम्म व्यापार गरेपछि सबै खाले ग्राहकलाई चाहिने कुरा राख्नुपर्दैन? खाली समोसा र चाटमात्र बेच्ने?” अनुमान लाए, सायद गुरुजी एकपटक फेरी खुकुरी रम वा लोकल मध्ये एक नभई गाडि गुडाउने हालतमा थिएनन् ।
फागून २२, २०६८