१५० जना जतिको लामो लर्को । भर्खरका तन्नेरीदेखि बयस्कहरु, सबैमा उस्तै जोश र जाँगर । फागूनको घाम न्यानो छ । र पनि हिड्दा पसिना आउन थालेपछि अधिकांशले आफ्नो ज्यानको मोटो र न्यानो पोशाक फुकालेर आ–आफ्नो सजिलो हुनेगरी बोकेकाछन् । सबैका टाउकामा एउटै प्रकार र रङका टोपी, जहाँ लेखिएको छ ‘आफ्नो स्वास्थ्य आफ्नै हातमा, निरोगधाम ।’ फागुन २७, २०६८, शनिबारको दिन । दिन छिप्पिन लाग्दै गर्दा एकाएक गाँउमा लस्करै ठुलो हुल छिरेपछि डुकुछापको दनुवार समुदायका मानिसहरुले के हुन लाग्यो ठम्याउनै सकेनन् । हुलबाट बाहिर निस्केर एउटा घरको पेटीमा सुस्ताउँदै थिए एकदुई जना युवाहरु नजिक आएर सोधे, “यहाँहरु कहाँबाट आउनु भएको?” “हामी काठमाण्डौमा बस्छौ, अहिले चाँही हाइकिङ हो यो, पदयात्रा हो हाम्रो ।” मेरो उत्तर भुईमा खस्न नपाउदै हेर्दा नेताजस्ता देखिने युवाले सोधे, “तपाईहरुलाई यसरी हिड्न सहयोग कहाँबाट आउँछ?” “सहयोग आउँदैन, हामी आफ्नै खर्चमा तपाईहरुको गाउँ हेर्दै घुम्न रुचाउँछौ, त्यसैले योबाटोबाट आएका ।” उत्तर सजिलै दिएपनि ती नेता झै लाग्ने युवाको भनाईले चस्स घोचेजस्तो भयो । उनको भनाईमा व्यंग थियो वा निर्दोष उत्सुकता, मलाई भने कताकता आई÷एनजीओहरुले जुनसुकै क्षेत्रमा पैसा खन्याउछन् भन्ने सुनेका आम सर्वसाधरण अभिव्यक्तिजस्तो लाग्यो । मैले थप बहस गर्न चाहिन, बरु सोचे एकछिन् म पनि एनजीओकै कारिन्दा, मान्छेमा रहेको भ्रम कसरी हटाउने सबै एनजीओ खराब छैनन् भनेर ।

अलिक तल माइकमा सुनियो, १४ हजार ७ सय .. कान ठाडो पारेर सुनिरहेका युवाहरुको मुखमा एकाएक उज्यालो छायो । फेरी नजिक आए र भने “यहाँहरुलाई धन्यबाद ।” मैले भने, “धन्यबाद मलाई हैन ति सहयोगी हातहरुलाई दिनोस् जसले सकेजति रुपैयाँ दिएर तपाईहरुलाई सहयोग गरे । अनि धन्यबाद उनलाई दिनु जसले यि दयालु मनहरुलाई योबाटोबाट हिड्ने चाँजोपाँजो मिलाए ।” मेरो कुरामा भन्दा पनि भर्खरै समूहले दिएको सहयोग रकममा केन्द्रित थिए उनीहरु । गाउँमा केही दिन पहिले आगलागी भएको थियो, चारवटा घर ध्वस्त । एउटा घरको अस्थिपञ्जरबाट अहिलेपनि धुवाँ पुत्पुताईरहेको थियो । आगोले उजाड बनाएका घरका बासिन्दाहरुको मनमा पदयात्राका सहभागिहरुले दिएको सहयोगले केही हाँसो ल्याएको देखिन्थ्यो । सुकेर काला र टाटैटाटा भएका ओठहरु च्यातिएरै भएपनि मुस्कुराएको देख्न पाउँदा मनमनै धन्यबाद दिए डा. उमेश श्रेष्ठलाई जसले हाम्रो हाइकिङ समूहको पदयात्रामार्गमा यसपाली ललितपुर जिल्लाको डुकुछापमा पर्ने दनुवारबस्तीलाई पनि पारेका थिए । अनि धन्यबाद ती दयालु मनहरुलाई जसले यात्राको आनन्दमा थप आनन्द र आत्मसंतुष्टिका थप्नलाई आगलागि पिडितलाई सकेको आर्थिक सहयोग गरे । पदयात्रा आयोजकले एकदिन अगाडि नै जानकारी दिएका भए लुगा कपडा पनि ल्याउन सकिन्थ्यो नी, केही पदयात्रीहरु यसरी पनि सहयोगको संभावना औल्याइरहेका थिए ।

मान्छेको जिवन्त तस्बिर क्यामेरामा कैद गर्नु मेरो सोख हो । आगलागि भएको स्थानबाट अलिकति अगाडि पुग्दा बाटो लहरै उभिएका तीनवटी युवतीहरु हेर्दा लाग्यो उनीहरु त्यो गाउँमा सबैभन्दा सुुन्दर नारीहरु हुन् । मैले हाँसेर भने, “फोटो खिचौ?” उनीहरुले प्रस्ताव स्विकारे । आफ्नो तस्बिर एकैछिनमा क्यामेरामा हेर्न पाउँदा उनीहरु पनि दंग । “दाईहरु छ्याङ खाने?” एकछिन त छक्कै पार्यो उनीहरुको प्रस्तावले । छिप्पिन थालेको घाम, बढ्न लागेको थकाई अनि युवतीहरुको प्रस्ताव । बिष्णु र मलाई उनीहरुको यो प्रस्ताव प्रीय लाग्नु अस्वभाविक थिएन । तर हामी त्यहाँ बस्न सक्ने अबस्था नभएकोल बिष्णुले भन्यो, “हामी पछि आउँछौ अहिले चाँही गयौ है ।” कस्तो अचम्म, उनीहरुको बिदाईमा आत्मियता स्पष्टसँग देख्न सकिन्थ्यो ।

कतै मुलबाटो, कतै सहायक बाटो । बाटोभरी तोरी टिप्दै गरेका स्थानीय बासिन्दा हुन् वा दोकान र आ–आफ्ना घरमा बसेका, गोठालादेखि केटाकेटीसम्म हाम्रो लामो लस्करप्रति कौतुहलता मिश्रीत आँखाले हेरिहेका भेटिन्थे । थकाई मार्ने निश्चित स्थानहरु । पानी र सुन्तला खानका लागि आराम गर्ने समय । सातदोवाटो ललितपुरबाट यात्रा शुरु गर्नु अघि आयोजकले हामीलाई एउटा प्लाष्टिकको झोला थमाएका थिए । त्यो झोलामा तीनदाना देशी सुन्तला थिए । डुकुछाप बगरमा सबैले तीनै सुन्तला नास्ताको रुपमा प्रयोग गर्दा आयोजकले भनेका थिए, ‘खाना खानका लागि १२ बजेको समय तोकिएको छ । बाटो उकालो ओरालो उकालो ओरालो छ ।’ १२ बजे, उकालो ओरालोको आसय सबै सुन्तला एकैचोटी नखानुस् भन्ने रहेछ क्यारे तर हामी यात्रामा नयाँयात्रीहरुले एकै बसाईमा तीनवटा सुन्तला चटपार्न समयै लागेन । आयोजकमध्येका डा. श्रेष्ठ हातेमाइकको सहारामा भनिरहन्थे, ‘पानी पनि जतिबेला पायो त्यही बेला नखानोस् ।’

पुर्ण तयारीका साथ समूहमा गरिने पदयात्राको पहिलो अनुभव थियो मेरो लागि । अनि अनुशासन पनि कडै थियो । भोकले लखतरान हुदाँ पनि खान नपाईने । सुन्तला बाहेक अन्य खानेकुरा जतिबेला पनि खाएको देखेभने आयोजकले राम्रो नमान्ने भएकोले पनि यात्रामा भोकलाई लुकाउन मुस्किलै पथ्र्यो । ट्वीटरमा सबैका काका, हरि न्यौपानेले लुकाएर जोहो गरेको मकै र फुरुनदानाले उकालोमा प्राण धान्नलाई खुब मद्दत गर्यो । पदयात्रामा हाम्रो समूहको संयोजक नै थिए काकाबा । समूहमा १८ जनाजति थियौ, जो बिभिन्न किसिमले पदयात्राको सूचिमा एकबद्ध भएका थियौ । आफैले पटकौ यात्रा गरेका काका नाममा मात्र हैन व्यवहारमा पनि परिपक्क र सबैले सम्मान गर्न लायक थिए । तीनदिन अघि नै नामदेखि सबै कुरा सुनिश्चित गर्नुपर्ने आयोजकको बाध्यताकाबीचमा पनि काकाले मलाई एकदिन अगाडि त्यो पनि ढिलोमात्र समावेश गरिपाँउ भनेको हालेको निवेदन स्विकारेका थिए ।

पदयात्रामा अनुशासनमा रहनु मजस्ता अस्थिर बिचार र व्यवहार दुवै हुनेहरुका लागि सजाय नै थियो । खाना खाने बेला, भोकले खुट्टा चल्न मुस्कीलको क्षणमा पदयात्रामै पर्ने घरमा खुईल्याइरहेको बोको र पकाउन तयार पारेको मासु देख्दा सहभागि उपेन्द्र अर्याल, तुलसी नेपाल लगायत अरुलाई पनि यात्रा बंक गर्न मन नलागेको हैन । कुपन लिएर खाना खानुपर्ने, त्यो पनि लाइन लागेर । बल्ल पालो आयो, खाना थापेर हतारमा मुखमा के परेको थियो, मुखै बिग्रिएजस्तो भयो । ब्राउन राइस त्यो पनि उसिनेको, उसिनेकै साग र झोल हालेको गेडागुडी । थोरै स्वादीलो गुन्द्रुकमात्र थिएन भने एकगाँस छिर्ने छाँट थिएन । उता डाक्टर साव भन्दै थिए, ‘३२ पटक चपाएर खानुहोला, मात्र १५ सेकेन्ड लाग्छ ।’ ‘खोले पनि के चपाएर खाने?’ पदयात्रीहरुमा यस्तो टिप्पणी आदानप्रदान भैरहेको थियो । लेन्दाई, अनन्त, इन्द्र, पागलबस्ती लगायत हाम्रा समूहका साथीहरु बाहिर नबोलेपनि खानाको बारेमा उनीहरुको मन अमिलिएको स्पष्ट थाहा हुन्थ्यो ।

खाना त खाइयो । खाना नफ्याक्ने उर्दीलाई कसले काट्न सक्ने? ३२ पटक नभएपनि २३ पटक सम्म चपाएर पेट भरियो । पेटले किन मान्थ्यो, नुन, तेल र मसला बिनाको उसिनेको खाना खाएपछि रिसाएरजस्तो गहु्रंगो भएको थियो । उर्दी आयो, अब नाँच्ने । लौ मार्यो । र पनि सहभागि हुनैपर्यो । उपेन्द्र अर्यालले छोटो भाषण गरे हाम्रो समूहको तर्फबाट “धेरै टिप्पणी नगरुँ, यात्रा बहुत रमाईलो छ ।” यसो भन्नु अर्यालको बाध्यता थियो । नाचगान टालीका बीचमा एकपदयात्री महिलाले न्याप न्युप भन्दै लामो भाषण गरिन् जुन त्यहाँ कसले सुनोस् ध्यान दिएर । अर्की महिला गीत लिएर आइन्, ‘ब्राउन राइस खाँउ, ब्राउन राइस खाँउ, आफ्नो स्वास्थ्य राम्रो पार्न ब्राउन राइस खाँउ... ’ उनको चुरीफुरीबाट अनुमान लाउन सकिन्थ्यो कि ती महिला एनजीओ चलाउछिन्, कि त प्रशिक्षक हुन् । जे भएपनि उनको गीतमा हाम्रो समूह रमाइरहेको थियो लेन्दाईको नाचमा ।

यात्रा लामै थियो । उकाली ओरालीहरु टन्नै थिए । नथाकेको कोही थिएन । रमाईलाको लागि खानालाई कसैले खोले, कसैले केही नाम दिएपनि किन त्यस्तो खाइयो, कारणबाट सबै जानकार भएकाले थप र अनावश्यक चर्चा कसैले गरेन । एकैस्थानमा वरिपरी पर्नेगरी पदयात्रामार्ग तय भएपनि कसैले आयोजकलाई सोधेन किन यस्तो? उकाली ओराली गर्दै ठुलो लस्करमा अपरिचितहरुकोबीचमा परिचित हुदै यात्रा गर्नुको मुख्य उद्देश्य स्वास्थ्यलाई बलियो बनाउनु, पकृतीलाई माया गर्नुकै वरिपरी घुमेको छजस्तो लाग्यो । दिनभरीको यात्राले एउटा नयाँ अनुभव हासिल गर्न मद्दत गर्यो । धन्यबाद सबभन्दा पहिले काकाबा अर्थात हरि न्यौपानेलाई यो पदयात्राको संयोजनका लागि, अनि इन्द्र क्षेत्रीलाई अन्तिम समयसम्म मलाई पदयात्रामा समेट्नका लागि । कुनैपनि क्षण र अवसर त्यही किसिमले दोहोरिदैन । अनि धन्यबाद प्रकृती प्रेमी समूह, निरोगधाम र डा. उमेश श्रेष्ठलाई ।

0 comments:

Popular Posts

Blogger templates

Blogger news

Blogroll

Archive