फागून २७, २०६८ शनिबारको ढल्कदो रात, आफै ट्वीट गर्नु एउटा मज्जा अर्काका ट्वीट पढेर आनन्द लिनु झनै मज्जा । यत्तिकैमा एउटा भनाईले झस्कायो “नेपालमा सामाजिक सञ्जालका प्रयोगकर्ता कि त बच्चै छन् कि आदीमानव? कस्तो दुर्भाग्य, उनीहरु आफ्नो परिचय पनि लुकाउछन् ।” यो भनाई अरु कसैको नभई धेरैले चिनेका पत्रकार तथा लेखक किशोर नेपालको टाइमलाईनबाट आयो । म मात्र हैन अरु पनि झस्किएका रछन् नेपालको टाइमलाइनबाट आएको अभिव्यक्ति पढेर । तत्कालै धेरैले त्यसमा प्रतिकृया दिए मैले पनि दिए । बिषयले रोकिने छाँट नलिएपनि यसको पक्षमा पनि स्वरहरु थपिन थाले । यो क्रम निरन्तर चलिरह्यो र आइतबारसम्म पनि जारी नै छ ।
स्वतन्त्र अभिव्यक्ति हरेक नागरिकले राख्न पाउनुपर्छ । झन सामाजिक सञ्जालले गर्दा स्वतन्त्र अभिव्यक्तिका लागि परम्परागत मिडियाको ढोका ढक्ढक्याउने दिन सकिएको छ । आफुलाई लागेको कुरा बोल्नका लागि सम्पादकको स्विकृती कुरिरहनुपर्दैन । तर नेपालको पत्रकारितामा परिचित र धेरैले बरिष्ठ भनेको सफल सञ्चारकर्मी नै सामाजिक सञ्जालको लोकप्रीयताप्रति किन खनिए? किन निष्कृष्ट शब्दका साथ उनले प्रयोगकर्तालाई बच्चा र आदीमयुगका मानव जो भेष लुकाउन चाहान्छन् भन्ने आशयले आफ्नो धारणा पोखे? उनको यो भनाईसँग व्यक्तिको चरित्रसँग जोडिएर पनि वादविवाद किन भयो? सामाजिक सञ्जाल तथा न्यु मिडियाको विकासमा रुची राख्ने र यसलाई समाज परिवर्तनका लागि उपयोग गर्न अभिप्रायले यसमा आवद्धहरुले एकपटक सोच्ने बेला आएको छ । गालि गलौजपुर्ण अभिव्यक्तिको पछाडिको कारण खोज्नुपर्छ जस्तो लाग्छ । किशोर नेपालले आइतबार पनि ट्वीट गर्दै भनेका छन् “सामाजिक सञ्जाल÷न्यु मिडियालाई सामाजिक परिवर्तनमा प्रयोग गर्न सकिएन तर आफ्ना बकम्फुसे गफ दिन मात्र उपयोग गर्ने हो भने एकदिन सबैका लागि यस्तो व्यवहार प्रत्युपादक हुनसक्छ ।” नेपालको यो भनाईमा पुर्ण सहमत हुन नसकेपनि यसको आसयबाट होसियार हुनुपर्छ ।
नेपालमा सामाजिक सञ्जाल÷मिडियाको बारेमा सधै उठ्ने एउटा प्रश्न हो यसका प्रयोगकर्ताहरु आँलाकाँचा ठिटाहरु हुन् जसले मनोरञ्जनका लागि मात्र सामाजिक सञ्जालको प्रयोग गर्छन्? कति छन उपभोक्ता? को हुन् उनीहरु? यकिन संख्या अहिलेपनि अनुमानका आधारमा भन्नेहरु धेरैछन् । अनि सामाजिक सञ्जालको कुरा गर्दा सबभन्दा पहिले फेसबुक आउँछ । विश्वमा ट्वीटर लोकप्रीय भएपनि हामीकहाँ ट्वीटर प्रयोगकर्ताहरु भर्खर बढ्दैछन् । कतिलाई अहिलेपनि थाहा छैन ट्वीटर के हो भलै फेसबुकमा हाम्रो अग्रजपुस्ता पनि जमिसकेको छ । अन्य लोकप्रीय सामाजिक सञ्जाल÷मिडिया जस्तै ब्लग, युट्युव, लिंक्डइन, फोटो सेयरीङ साइट लगायत थुप्रैछन् सामाजिक सञ्जाल जसको बारेमा कमै ज्ञाता छन् भने तीनलाई प्रयोग गर्नेहरु पनि धेरै छैनन् नेपालमा । त्यसैले सामाजिक सञ्जालको लोकप्रीयतासँग यसको प्रयोगको बारेमा जनचेतना बढाउन बिभिन्न संस्था तथा व्यक्ति लागिरहेकाछन् । जुन सह्रानीय छ ।
इन्टरनेटको लोकप्रीयतासँग स्मार्टफोन प्रयोगकर्ताहरुको संख्या दिनानुदिन बढ्दैछ नेपालमा । ५० प्रतिशत जनताको हाराहारीमा पुग्न आँटेको फोन सुबिधाले इन्टरनेटलाई पनि गाउँगाउँ पुर्याउदैछ । युवा जमात इमेल चलाउदैनन् तर फेसबुकका लागि इन्टरनेट चलाउँछन् । त्यो पनि दुरदराजका गाउँमा । धनकुटाको एउटा कार्यक्रममा भेटिएका २५ जना युवाहरु धेरै फेसबुकमा थिए मोवाइल फोनमार्फत । फेसबुकमा लगभग नियमित उनीहरुमध्ये धेरैले इमेलको पासवर्ड चाहीँ भुलेका थिए । भन्नुको मतलव इमेलभन्दा पनि बढी सामाजिक मिडिया प्रयोग गर्ने र त्यसको उपयोगिता देख्ने युवाहरुको जमात उल्लेख्य छ । इन्टरनेटले युवाजमातलाई हरेक क्षण आकर्षण गरिरहेको छ । सामाजिक सञ्जालले लोकप्रीयता हासिल गर्ने क्रम बढेसँग यसको व्यवस्थापन र सही उपयोगको बहस उठिरहेका बेला किशोर नेपालजस्तो दिग्गज पत्रकार जो आफुपनि सामाजिक सञ्जाल ट्वीटरमा अपडेटेडजस्ता देखिन्थे उनको अभिव्यक्ति आदीमानवजस्ता र केटाकेटीले नियन्त्रणमा लिएका सामाजिक सञ्जाल भन्नुले एकपटक सामाजिक सञ्जाल अभियन्ताहरुलाई झस्काएको छ, सोच्न बाध्य बनाएको छ यदी समस्या छ भने सुधार आवश्यक छ ।
यही सेरोफेरोमा लामो भुमिका लेख्दै म अब यो बाँकी छलफलमा यहाँहरुलाई निम्ता गर्छु? के नेपालले भनेको स्थितीमै छौ हामी? यदी हो भने सुधारका लागि उपायहरु के के हुन्?

Origianally published at MeroReport http://meroreport.net/profiles/blogs/6365517:BlogPost:67700

0 comments:

Popular Posts

Blogger templates

Blogger news

Blogroll

Archive