सन् २०१० जुलाई, अन्तराष्ट्रिय सञ्चार प्रतिष्ठान सिएनएनले आफ्नो संस्थामा २० बर्ष सेवा गरेकी मध्यपुर्व बरिष्ठ सम्पादक अक्टाभीया नास्र्लाई अचानक बिदा गर्यो । कारण थियो उनले ट्वीटरमा पोष्ट गरेका १४० अक्षर । तीनै १४० अक्षरका कारण जागिरबाट हात धोएकी नास्र्ले आफ्नो स्पष्टिकरणमा भनेकी छन्, “कुनै पनि विवादीत बिषयमा आफ्ना बिचार राख्नलाई १४० अक्षर पर्याप्त जोखिमले भरिएका छन्, जसको म आफै उदाहरण हुँ ।” जागीरै जाने गरी उनले ट्वीटर ह्याण्डलमा के लेखिन् त? उनको ट्वीट यस्तो थियो, "Sad to hear of the passing of Sayyed Mohammad Hussein Fadlallah.. One of Hezbollah’s giants I respect a lot. #Lebanon.” (प्रभावशाली हज्बुल्लाह नेता सैयद मोहम्मद हुसैन फदलाल्लाह, जसलाई म सम्मान गर्छु, वहाँको मृत्युको खबरले सारै दुःखी छु) । उनको बिचारको चौतर्फी बिरोध हुन थालेपछि कारण सहित आफ्नो स्पष्टिकरण दिएपनि उनलाई सिएएनले बिदा गर्यो । कारण थियो, सैयद हुसैन अमेरीका बिरोधी तथा आतंकबादी नेताको रुपमा चित्रित थिए, उनकै कारणले सयौ अमेरीकी सैनिकको ज्यान गएको थियो । सिएनएनको सोसल मिडिया नीतिले भन्छ “सिएनएनले कुनै पनि सार्वजनिक सवाल, व्यक्ति वा संस्थाका बारेमा यदी समाचार बनाइरहेको छ भने त्यस्ता सवालमा सिएनएनका कर्मचारीले सार्वजनिक अभिव्यक्ति दिनुहुदैन ।” २० बर्ष सेवा गरेकी नास्र्को बिदार्ई सिएनएनका लागि गर्नैपर्ने एउटा बाध्यकारी संझौता थियो । (Octavia Nasr fired by CNN over tweet praising ……  http://www.guardian.co.uk/media/2010/jul/08/octavia-nasr-cnn-tweet-...)

फेसबुक तथा ट्वीटरमा लेखेकै कारण पत्रकारको जागिर गएको घटना नेपालमा आजका दिनसम्म सुन्नमा आएको छैन । यद्यपी सञ्चारगृहहरुमा सोसल मिडियामाथिको प्रतिबन्ध चर्चाको बिषय छ । सोसल मिडियामा पोष्ट भएका व्यक्तिगत सूचना, कुराकानी पत्रिकामा प्रकाशित भएका, अरु नै मिडियामा छापिएको बिषय हुवहु सारेर आफ्नै जस्तो बनाई प्रस्तुत गरेका केही घटना नभएका भने हैनन् । यसो हुनाका एउटा कारण हो नेपालमा सञ्चालित सञ्चार प्रतिष्ठानहरुमा सोसल मिडिया नीति बनेको छैन । सञ्चारसंस्था र कर्मचारीले गर्न हुने र नहुने काम स्पष्ट व्याख्या हुन नसक्दा आफ्ना व्यक्तिगत प्लेटफर्ममार्फत के गर्न हुने र के गर्न नहुने भन्ने बारेमा अस्पष्टता छ । “हामीले फेसबुक बन्द गरेका छैनौ, तर निश्चित केही स्वनियमनका उपायहरु अपनाएका छौ,” काठमाण्डौपोष्टका सम्पादक अखिलेष उपाध्याय भन्छन् “नीतिले सहजीकरण गर्छ यद्यपी त्यस्तो नीति बनेको छैन ।” रिपब्लीकाका सम्पादक कसमस विश्वकर्माका अनुसार उनको मिडिया हाउसमा हरेक दिन एउटा निश्चित समयसम्म फेसबुक बन्द हुन्छ । काममा तालमेल मिलाउन र छिटो काम होस् भन्नका लागि यस्तो गरेको भन्छन् विश्वकर्मा । अन्य सञ्चारमाध्यममा कार्यरत बरिष्ट संवाददाता तथा कर्मचारीका अनुसार मिडिया हाउसमा सोसल मिडिया नीति लागु हुनु त परको कुरा नीति हुनुपर्छ की पर्दैन भन्ने बिषयमा बहस नै भएको छैन ।
नेपालमा इन्टरनेट सेवा शुरु भएको दुई दशक हुन लाग्यो । बल्ल १८ प्रतिशत जनसंख्याको पहुँचमा पुगेको छ इन्टरनेट । अधिकांश सञ्चार प्रतिष्ठानहरुसँग इन्टरनेटको पहुँछ छ यद्यपी इन्टरनेट मार्फत गर्न सकिने बजार बिस्तार तथा अन्य फाइदाको भरपुर उपयोग भएको छैन । इन्टरनेट मार्फत पाठकको संख्या बढ्न थालेपछि अनलाईन र इ—पेपरको अवधारणा शुरु भएपनि सामाजिक सञ्जालको सहि उपयोग कसरी गर्ने भन्नेमा सिकारु चरणमा नै छ हाम्रो मिडिया । “मैले २ बर्ष अघि कान्तिपुर छोडे र द हिमालयनमा गएँ, भर्खरै मलाई कान्तिपुरबाट फोनमा कसैले सोध्यो त्यो कान्तिपुरको ट्वीटर ह्याण्डलको पासवर्ड के होला?” २ महिना अगाडि एक सार्वजनिक कार्यक्रममै द हिमालयन टाइम्स अनलाईन संस्करणका केशब कोइरालाको अभिव्यतिmले स्पष्ट पार्छ सञ्चार प्रतिष्ठानमा सोसल मिडियाको उपयोगमा अन्यौलता छ भन्ने बुझ्नलाई । कान्तिपुर पब्लिकोशनको ट्वीटर ह्याण्डल @ekantipur (https://twitter.com/ekantipur)  मा अहिले ५ हजारको हाराहारीमा फलोअरस् छन् तर त्यो ह्याण्डलबाट न त एउटा ट्वीट नै पोष्ट भएको छ न कसैलाई फलो नै गरेको देखिन्छ । नागरिक, उज्यालो अनलाईन, द हिमालयन, नेपाली टाइम्सजस्ता प्रकाशक तथा अनलाईने भने सामाजिक सञ्जालको उपयोग गर्न खोजेको देखिन्छ ।
सामाजिक सञ्जाल फेसबुक र ट्वीटरको उपयोगबाट गर्न सकिने बजार बिस्तार, पाठकसँगको अन्तरक्रिया र पृष्ठपोषण जस्ता केही फाइदका बारेमा स्पष्ट नहुनुको कारण सोसल मिडिया नीतिसँग पनि जोडिएको छ । एएफपीका नेपाल सम्वाददाता दिपक अधिकारीका अनुसार सोसल मिडिया नीतिले कुन सूचना व्यक्तिगत रुपमा सार्वनजिक गर्ने र कुन संस्थाको तर्फबाट भन्ने अन्यौलता कम गर्छ । एएफपीले कुनै पनि समाचार सबभन्दा पहिले आफ्नो संस्थागत ट्वीटर वा फेसबुकबाट प्रचार गरेपछिमात्र त्यहाँ कार्यरत संवाददाता, कर्मचारीले त्यसलाई आफ्नो व्यक्तिगत च्यानलमार्फत प्रस्तुत गर्न पाउँछन् । “यसो गरियो भने सहजता हुन्छ र अन्यौलको भरमा काम गर्नु पर्दैन, ” बिबीसी मिडिया एक्सनका दिपक भट्टराईको कथन छ । उनी थप्छन्, “सोसल मिडिया नीतिले नराम्रो गर्दैन, बनाउनुपर्छ, चािहन्छ भन्नलाई पनि कसै न कसैले नेतृत्व गर्नु पर्छ जसले गर्दा सञ्चारगृहले आवश्यकता महसुस गरुन् ।”
सोसल मिडियाको लोकप्रीयता नेपाली संचारकर्मीको माझ पनि बढ्दैछ । नेपाल पत्रकार महासंघले गरेको सर्वेक्षणका अनुसार झन्डै ७० प्रतिशत पत्रकार सामाजिक सञ्जाल फेसबुक प्रयोग गर्छन् । त्यसमध्ये आधा पत्रकार सूचना आदानप्रदानकै लागि सामाजिक सञ्जालहरु प्रयोग गर्छन् । बिभिन्न अन्तरक्रियाको क्रममा सुर्खेत, बाँके, दाङ, मकवानपुर, मोरङ, सुनसरी, पाँचथर तथा झापाका अधिकांश पत्रकाहरुले पंक्तिकारलाई बताएका छन् सामाजिक सञ्जाले उनीहरुलाई नयाँ सूचना थाहा पाउनका लागि समेत सहयोग गरेको छ । काठमाण्डौ पोष्टका सम्पादक अखिलेख उपाध्याय पनि स्विकार्छन्, “ट्वीटर जस्ता सामाजिक सञ्जाल मार्फत ब्रेकिङ न्युज थाहा हुन्छ ।”
पत्रकारहरुले इन्टरनेट तथा सामाजिक सञ्जालको भरपुर उपयोग गरिरहेको अबस्थामा पनि सम्बन्धित सञ्चारगृहले यसतर्फ कम चासो देखिएकोले थुप्रै कारण मध्ये किन र कसरी गर्ने भन्ने अन्यौल एउटा कारण हुनसक्छ ।
किन चाहिन्छ सोसल मिडिया नीति?
नीतिले बाँधेर हैन स्वनीयमनलाई प्रोत्साहन गरेर जिम्मेवार बन्न सकिन्छ भन्ने अवधारणालाई बलियो बनाउनका लागि पनि सोसल मिडिया सम्बन्धि सहजीकरण नीति हुनु आवश्यक छ । नियन्त्रण हैन जिम्मेवारी सिकाऔ र बोध गरौ भन्ने बेलामा नीति बनाउँदैमा चुनौती कम हुन्छन् भन्ने पनि हैन । यद्यपी सोसल मिडिया नीतिले केही स्पष्टता र अन्यौललाई सहजीकरण गर्दै जिम्मेवार सञ्चारकर्मी हुनलाई अझ मद्दत पुर्याउँछ । नीति भन्ने बित्तिकै गर्न नहुने कामको फेहरिस्त हैन की सञ्चारगृहका कर्मचारीले गर्न मिल्ने र हुने कामको जानकारी सहितको हुनुपर्छ, ।

कुन सूचना व्यक्तिगत हो कुन चाँही व्यवसायिकको हो भन्ने भेद छुट्याउन सकियो भने संभावित दुर्घटना हुनबाट बच्न सकिन्छ । जुन कुरा नीतिले सहजीकरण गर्न सक्छ । साथै सोसल मिडिया नीतिले सम्बन्धित सञ्चारगृह, उद्देश्य र गतिबिधिको बारेमा आम पाठकलाई सूसुचित गर्ने त छदैछ रचनात्मक अन्तरक्रिया तथा पृष्ठपोषणका लागि पनि सहयोग पुग्छ ।
धेरैजसो सञ्चारगृहले सोसल मिडियामाथि अनुदार दृष्टि राख्ने कारणमध्ये एक हो कर्मचारीको कार्यक्षमताको दुरुपयोग गर्न र समयसिमामा काम नसक्नका लागि सोसल मिडिया जिम्मेवार छन् । यो तर्कमा सहमत हुने आधारहरु छन् । यद्यपी जिम्मेवारीबोध सहितको सहजीकरण नियन्त्रणभन्दा प्रभावकारी हुन्छ ।
परिचय लुकाउने, जथाभावी लेख्ने, पुर्वाग्रही अभिव्यक्ति, गलत सूचना आदी सामाजिक सञ्जालका चुनौती हुन् । नीतिगत सहजीकरणले स्पष्ट परिचय र जिम्मेवारी सहित सत्य सूचना, अभिव्यक्ति प्रदान गरी पाठकसँगको सुमुधुर सम्बन्ध बढाउँदै पाठकको रुची अनुसारका सूचना तथा जानकारी प्रदान गर्नलाई पनि सहयोग पुग्छ । आफुले गरेका गलत कामको जिम्मेवारीबोधका लागि पनि केही न केही नियमनकारी उपाय अपनाउनैपर्छ ।
इन्टरनेट सार्वजनिक माध्यम हो । यद्यपी इन्टरनेटमा जेसुकै पोष्ट गर्न सकिने अबस्था छ । नितान्त व्यक्तिगत र सार्वजनिक चासो भन्दा बाहेकका केही पोष्टहरुले बिगतमा केही मिडिया हाउस बिवादमा नमुछिएका पनि हैनन् । कुन सूचनाको महत्व कति छ? कस्तो कुराकानीलाई कति स्थान दिने, स्थान दिने की नदिने, कुन जिज्ञासाको उत्तर दिने भन्ने कुराको निर्धारण नीतिले गर्यो भने व्यक्ति बिशेषले फरक फरक आचरण गर्नुपर्ने बाध्यता घट्छ ।
सूचनाको महत्व त्यसले पार्न सक्ने प्रभावसँग जोडिन्छ । सञ्चारगृहप्रति स्वतःरुपमा आम नागरिकको चासो हुन्छ । सञ्चारगृहभित्रका गतिबिधि तथा गोप्य सूचनाले आम नागरिकलाई फरक मत बनाउन भुमिका खेल्छ र त्यसको असर समाचारको प्रबद्र्धनमा पनि पर्न सक्छ । नीतिको सहायताले अति गोप्य र आम नागरिकको चासो नभएका कुराहरुमा अनावश्यक पोष्ट गर्न हतोत्साहन गर्छ । साथै नीतिले गर्दा कसैले गरेको पोष्ट नियमित रुपमा अनुगमन गर्न सजिलो हुन्छ र आवश्यक कार्यवाही प्रकृया सहज हुन्छ ।
प्रतिलिपी अधिकारको मुद्दामा इन्टरनेट जोडिएर हरेक दिन नयाँ नयाँ बहसहरु चलिरहेकाछन् । केही समय पहिले सिएनएनका कार्यक्रम सञ्चालक तथा टाइमका सम्पादक फरिद जकरियाको घटना होस् (http://www.huffingtonpost.com/2012/08/10/fareed-zakaria-plagiarism-... )  वा नेपालकै कुनै मिडियाले अन्तबाट हुवहु बिषय चोरेर आफ्नैजस्तो गरी प्रस्तुत गरेको प्रकरण होस्, नियमन तथा जिम्मेवारीका लागि सोसल मिडिया नीति अनुगमनको प्रभावकारी माध्यम हुनसक्छ ।

सोसल मिडियाको बारेमा सहयोगी हुने थप सामग्री सम्बन्धित लिंकहरुः

SOCIAL MEDIA GUIDELINES FOR AP EMPLOYEES http://www.ap.org/Images/Social-Media-Guidelines-7-24-2012_tcm28-83...


Reuters - REPORTING FROM THE INTERNET AND USING SOCIAL MEDIAhttp://handbook.reuters.com/index.php/Reporting_From_the_Internet_A...

THOMSON REUTERS SOCIAL MEDIA GUIDELINEShttp://thomsonreuters.com/content/corporate/docs/Thomson_Reuters_US...

AFP's Social Media policy http://www.afpnet.org/files/ContentDocuments/SocialMediaGuidelines_...

 Social Media Policy database http://socialmediagovernance.com/policies.php


मानौ तपाईका फलोअर धेरै छन् र तपाई कुनै एउटै बिषय, उही कुरा, लगातार ट्वीट गर्नुहुन्छ । आफ्नो ब्लग लिंङ्क अनावश्य रुपमा सेयरीङ गर्नुहुन्छ, अरुका ट्वीटलाई रिट्वीटमात्र गर्नुहुन्छ? यसोगर्दा तपाईका फलोअरले नयाँ सूचना पाउलान्? उनीहरुले के बुझ्लान् र तपाईलाई कस्तो प्रतिकृया देलान्? अरुले के सोच्छन् होलान्? पहिले @iPagalbasti हाल @MadsArea भन्छन्, “मलाई त त्यस्तो बेलामा इरिटेट हुन्छ । यस्तो अवस्थामा म पहिले त्यसो गर्ने साथीहरुलाई तर्क सहित सुझाव दिन्छु, र पनि सुनेन भने ब्लक हान्दिन्छु ।”
@Pokharelketi ले हिन्दी सिनेमा Cock Tail हेरेपछि ट्वीट गरिन, “मलाई ककटेल रमाइलो लाग्यो ।” उनको ट्वीटलाई कसैले तुरुन्तै फेवरेट गर्यो । अनि उनले लेखिन्, “ट्वीटरमा फेवरेट गर्नु भनेको के हो, केलाई र किन गर्ने भन्ने बारेमा कसैले एउटा जानकारीमुलक लेख लेखिदिए पनि हुन्थ्यो ।”
भर्खर भर्खर ट्वीटर प्रयोग गर्न लाग्दा बिद्यार्थी नेता @t_urmila उनका फलोअर र उनले फलो गर्ने केही मान्छेले गरेका हरेक ट्वीटलाई RT अर्थात रिट्वीट र फेवरेट (favorites) दुवै गर्थिन् । उनको यस्तो व्यवहारलाई कसैले कमेन्ट गरेपछि एकदिन उनले सोधिन् “के लाई RT गर्ने र केलाई फेरवेट गर्ने जान्नु आवश्यक रहेछ ।”
प्रस्तुत केही उदाहरणहरुले स्पष्ट भन्छन् भर्खरै यो सञ्जालमा प्रबेशीहरुलाई मात्र हैन नियमित ट्वीट गर्नेहरुलाई पनि ट्वीट, रिट्वीट, फेरवेट किन गर्ने भन्ने जानकारीको अभाव छ । ट्वीटर सोसल मिडिया हो र यो सार्वजनिक माध्यम पनि हो, ट्वीटरमार्फत सूचना र बिचार आदानप्रदान हुने हुनाले पनि आफुले गरेका कुनै पनि ट्वीटर कृयाकलापले अरुले कसरी ग्रहण गर्छन् भन्ने जानकारी हुने हो भने ट्वीटर हरेक दिन झन सुन्दर हुदै जानेछ । बिगत केही समयदेखिको आफ्नो ट्वीटर अनुभव, ट्वीटर प्रशिक्षक पाम मूरे (Social Media Today) र सामाजिक सञ्जालका केही नेपाली प्रबर्धकसँगको भलाकुसारी र उनीहरुका पनि बिचार सुनेपछि ट्वीट, रिट्वीट, र फेरवेट सम्बन्धि आफ्ना कुरा अभिव्यक्त गरेको छु, फरक धारणालाई स्वागत छ 
किन ट्वीट  गर्ने?
सबैका फरक फरक धारणा हुनसक्लान् । तर ट्वीटरलाई मैले इन्टरनेटमा सार्वजनिक सूचना आदानप्रदानको शशक्त माध्यमको रुपमा मानेको कारणले गर्दा ट्वीट गर्दा निम्न कुराको उत्तर सोचेर मात्र ट्वीट गर्छुः 
  • मैले ट्वीट गर्ने बिषय समय सान्दर्भिक छ, त्यो मेरो नितान्त व्यक्तिग कुरा हो की अरु धेरैका लागि उपयोगी पनि छ? 
  • मैले गरेको ट्वीटबाट कसैले कुनै नयाँ सूचना, बिचार वा जानकारी पाउन सक्छ? 
  • मैले गरेको बिषय, सूचना, जानकारी नवीनतम छ की अरुले पटकपटक गरेका कुराहरुलाई नै म दोहोर्याइरहेको छु? 
  • के ट्वीटमार्फत मैले कुनै नयाँ दृष्टिकोण दिन सकेको छु, जुन अरुका ट्वीटमा भन्दा भिन्न छ? 
  • मैले गरेको ट्वीट सतप्रतिशत सही छ? या म अनुमानको भरमा बोल्दैछु? 
  • मैले भनेको कुरालाई पुष्टि गर्ने तथ्य, लिङ्क वा अरु कुनै स्रोत छ जसले मेरो भनाईलाई आधिकारिक बनाउँछ? म बिश्वस्त छैन भने कुनै स्रोतको हवाला दिएको छु? 
  • मैले कुनै पनि अप्रीय वा अपाच्य शब्द बोल्दै छु की? 
  • मैले दिएको सूचना, बिचार वा जानकारी असत्य, भ्रामक, शान्ति सद्भाव भडकाउने, उत्तेजीत बनाउने खालको ठहरीयो भने त्यसबाट पर्ने प्रभावको लेखाजोखा गरेको छ?
  • मलाई साइवर कानूनको बारेमा जानकारी छ?
किन ट्वीट गर्ने भनेर अरु पनि थुप्रै लिष्ट तयार हुनसक्ला, तर माथि उल्लिखित कुराहरुको उत्तर सोचेर जिम्मेवारीपुर्वक ट्वीट गर्नु नै सोसल मिडिया उपभोक्ताको लागि नैतिक संहिता हो । जिम्मेवारी र दायित्वबोध यसरी नै बढ्दै जान्छ जसले गर्दा सोसल मिडियामा हामी फरक परिचयका साथ चिनिन सक्छौ ।
केलाई र किन रिट्वीट (RT) गर्ने?
जब तपाई जतिबेला पनि जुनसुकै ट्वीट रिट्वीट गर्नुहुन्छ एकपटक सोच्नोस् त तपाईका फलोअर्स्ले त्यसलाई कसरी लिनेछन्? ट्वीटजस्तै रिट्वीट गर्दा मैले चाँही निम्न कुरामा निम्न प्रश्नहरुमा ध्यान दिने गरेको छुः
  • सबभन्दा पहिले ध्यान दिने कुरा हो अरुले गरेको ट्वीट बिश्वसनीय छ की छैन? त्यो ट्वीटमा माथि उल्लिखित बिशेषता छन् की छैनन्? 
  • रिट्वीट गर्नुभन्दा पहिले म सोच्छु मैले तपाईलाई प्रत्यक्ष रुपमा चिन्छु वा हाम्रो भेट ट्वीटर मार्फत मात्र भएको छ? हामी एकअर्कालाई फलोमात्र गर्छौ की हाम्रो बीचमा ट्वीटरमा कुराकानी पनि भएको छ? एकअर्काले गर्ने काम र केही व्यक्तिगत जानकारी थाहा छ की छैन? 
  • हामी ट्वीटरमा ब्लग पनि सेयर गर्छौ । सेयर गरेको ब्लगमा मलाई कामलाग्ने खुराक छ? ब्लग लिङ्क स्पष्ट पढ्न सकिन्छ? कुन भाषामा छ? के बिषयको ब्लग हो? आफैले लेखेको हो अरु कसैको कृतिलाई हुवहु सारेको हो? लिङ्कबाट भाइरस प्रवाह हुने संभावना कति छ? ब्लग लिङ्कमा शेयर बटन छ की छैन? बिज्ञापन कति छ? अनावश्यक पप–अपले कति दुःख दिन्छ? 
  • अरुको ट्वीट मेरा फलोअर्स्का लागि उपयोगी होला त? बिषयबस्तुभन्दा आफ्नो बारेमा चर्चा परिचर्चा र बिज्ञापन पो छ की? सामान्य रुपमा भाषिक शुद्धताको कत्तिको ख्याल गरिएकोछ? तपाईको ट्वीट, ब्लगले कुनै बिषयमा आधिकारीक धारणा दिन्छ या तर्कका लागि तर्क गरिरहेको छ? 
  • अरुभन्दा फरक बिचार राख्दैमा पनि स्वतन्त्र मिडिया, इन्टरनेट फ्रिडम, लोकतन्त्र, बिधिको शासन र जनमतको बिपक्षमा पो छ की? कसैलाई आक्षेप लाउदै हुनुहुन्छ की? नकारात्मक कुराहरु बढी छन् समाधानका लागि कुनै सुझाव छैनन् की? 
  • लेखाई कत्तिको स्पष्ट छ? भाषिक शुद्धता नभएपनि भन्न खोजेको कुरा बुझिने गरी अभिव्यक्ति भएको छ?
  • ट्वीट लामो छ? सहमति वा असहमतिमा मैले केही थप्न पाउँछु? 
  • शेयर गरेको लिङ्क स्पष्ट र सही छ? यदी ब्लग हो भने टाइटल आकर्षक छ की छैन? समाचार हो भने कत्तिको प्रभाव पार्ने खालको छ? लेखाई लामो वा छोटो के छ? 
  • ट्वीटरमा नयाँ हुनुहुन्छ र आफ्नो वास्तविक प्रोफाईल तस्विर (DP) समेत नराखी ट्वीटरकै अण्डा फोटो मार्फत ट्वीट गर्नु भएको छ? 
  • आफ्नो वास्तविक नाम र फोटो राख्नु भएको छ, तपाईलाई चिनाउन सहयोग गर्ने सूचनाहरु छन् की छै्रनन्? 
  • बारम्बार रिट्वीट गर्दा फलोअरसलाई दिक्क त लाग्दैन? 
  • हरेक दिन गर्ने कुरा उहि र उस्तै हुन्छन्? वा ट्वीटमा कुनै नयाँ कुराहरु छ? 
  • ट्वीट रमाईलो, मनोरञ्जक खुराकले भरिएको छ की?
माथि उल्लिखित अधिकांश मेरो जिज्ञासा तथा कौतुहलतामा 'छैन (NO)' भन्ने उत्तर आयो भने म रिट्वीट गर्दिन । 
मेरा लागि ट्वीटर सामाजिक सञ्जाल हो । यो सार्वजनिक थलो हो । यहाँ मलाई कसैले फलो गर्छ भने सायद उसको गरेको अपेक्षा सूचना लेनदेन बाहेक कुराकानी पनि हो । मेरा ट्वीटले बोरिङ बनाउछ भने मलाई फलो गर्नु जरुरी छैन । अनलाइन सामाजिक प्राणी बन्नका लागि म जे पायो त्यही ट्वीट गरेर समय खेर फाल्दिन, जे गर्छु आफ्ना फलोअर्स्लाई दिक्क बनाउन गर्दिन भनेर ट्वीट गर्न थालियो भने तपाईको Klout Score पनि बढ्छ, तपाईका फलोअर्स् पनि बढ्छन्, रिट्वीट र फेवरेट पनि बढ्छ ।
फेवरेट (Favorites) भनेको के हो र किन गर्ने?
सरल अर्थमा बुझौ न, फेवरेट गर्नु भनेको कसैले गरेको ट्वीट मलाई मन पर्यो भन्नु नै हो । राम्रो लाग्यो भन्ने Impression दिनलाई नै प्रायःजसो फेवरेट गरिन्छ । साथै फेवरेट गरेको ट्वीट तपाईको ट्वीटर पेजमा सुरक्षित रुपमा रहन्छ । जसलाई तपाईले कुनै पनि बेला पढ्न, रिट्वीट गर्न वा कुनै उपयोगी लिङ्क छ भने त्यसलाई ट्वीटमार्फत सेयर गर्नका लागि उपयोग गर्न सक्नुहुन्छ । ट्वीटरमा हामी कोही पनि २४ सै घण्टा बिताउन सक्दैनौ । ट्वीटरमा भएको बखत आफ्नो टाइमलाइन (RT) मा देखिएका रमाईला, उपयोगी र शिक्षामुलक ट्वीटहरुलाई फेवरेट गरेर राख्न सकिन्छ । यसरी फेवरेट गरेका ट्वीटहरु आफे्नो पेजको देब्रतीर फेवरेटस् (favorites) भन्ने ठाउँमा सुरक्षित रुपमा रहनछन् जसलाई हामीले फुर्सदमा पढ्न र आफ्नो अनुकुल उपयोग गर्न सक्छौ । (यसबारेमा थप जानकारी पछि दिनेछु)।

एssssss, के भयो? लौन, गाडि रोक्नुस् रोक्नोस्, पछाडि बस्ने पाँचैजनाको स्वर एकै भयो । हेटौडाबाट हिडेको २० मिनेट भएकै थिएन, तुफान दगुरिरहेको टाटासुमो द्रेब्रतीर लच्किसकेको थियो । मैले सोचे गाडि पल्टिदैछ । सडकको देब्रतीर तल राप्तीनदी सुसाइरहेको छ यद्यपी त्यो स्थान भिरालो नभै सम्म थियो । गाडि एकदुई बुल्डुङ खेल्न सक्थ्यो होला तर खोलैमा पुग्दैनथ्यो भिरबाट झरेजसरी । हामीले चिच्याएपछि रेडियो अडियोको स्टेशन आइडीमा सुनिने जस्तै गाडिमा झ्याप्प ब्रेक लाग्यो । देब्रेतीर ढल्किएको गाडिबाट झरेपछि ढुक्क भैयो कम्तिमा ठुलो दुर्घटनाबाट बाँचियो । बाराको कलैयामा आदी प्रोडक्सन र निहारिका प्रोडक्सनको टिमसँग बिदा मागेर सौराहा हान्निएका हामी अर्थात म, रबीन्द्र, प्रकाश, भावना र रबीन्द्रको स्पेनिस साथीको यात्रामा यही देखि थपिइन नयाँपात्र अर्थान भट्टिकी साउनी ।
“तपाईले मलाई बर्बाद गर्नुहुन्न भन्ने के ग्यारेन्टी?” “हैन म तपाईलाई केही गर्दिन ।” एउटी अधबैशे महिला र पुरुषको पटकपटकको यस्तो संवादबाट के बुझ्लान् उनीहरुको छेउछाउका मान्छेले । मनहरीबाट झन्डै १५ किलोमिटरको दुरीमा रहेको त्यो स्थानमा अरु केही छाप्राहरु थिए जहाँ सानातीना होटल (भट्टीजस्ता लाग्ने) मा ट्रकका ड्राइभर र सहायकहरु खानपीन गरिरहेका देखिन्थे । अली माथिको गाउँबाट झरेका अरु महिलाहरु पनि मेरो र ती महिलाको संवादमा झुम्मिए । सहयात्रीहरु नजिकिए । विवाद थियो उनी र मेरोबीचमा ।
उनी अर्थात, यो बर्णनमा प्रस्तुत भट्टिकी साउनी । तपाईले मलाई बर्वाद पार्नुहुने भो भन्ने उनको आरोप सुनेपछि मलाई उनको नाम सोध्न डर लाग्यो । हामी मकवानपुरको मनहरीबाट हेटौडा सोझिदाँ झन्डै १५ किमी दुरीमा थियौ जहाँ सडकको एउटा किनाराबाट पत्पत्ती निस्कीएको धुवाँको मुस्लो टाढैबाट स्पष्ट देखिन्थ्यो । त्यहाँ सकड नजिकै किनारामा घ्याम्पामा रक्सी पाकिरहेको थियो । घ्याम्पाको छेउमा थिए २/३ स्थानीय महिला अनि केटाकेटी, र सँगैको भट्टीमा एकजना नाङ्गे साउजी ट्रक ड्राइभर र उनीसँगैकी महिलालाई भुटन तारेर बाँडन व्यस्त थिए । “तपाईको फोटो खिच्छु, लौ यता हेर्नोस्,” तामाङ लवजमा उनले मलाई हल्का धम्किजस्तो सुनीने गरी आदेश दिइन् । उनैले एकछिन अगाडि दिएको चारपानेले रमरम भैरहेको म यो अप्रत्यासीत व्यवहार हाँसोमा उडाउन चाहान्थे । तर उनी पछाडि हटिनन् । सँगैका अरु महिला र केटाकेटीहरु उनको वरपर झुम्मिए । सहयात्रीहरु मतीर नजिकए । अचम्म लाग्यो, उनी हास्दैछिन् वा रिसाइन् । बत्तिसवटै दाँतदेख्ने गरी खुलेको मुख हेर्दा कसरी पत्याउनु उनी मसँग रिसाएकीछन्? उनी तिनै महिला हुन् जसले १५ मिनेट अगाडि मलाई बोलाएर चाख्नु त भन्दै चारपानेको गिलास हातमा थमाएकी थिइन् । “रक्सी पार्दापार्दै कोही आइपुग्यो भने हामी उसलाई सकेजती रक्सी पिउन दिन्छौ सर पनि पिउनोस्” एकछिन अगाडि यसो भन्ने तीनै महिला जसले यतिबेलासम्म आफ्नो मोवाइलमा कैयौ पटक मेरो तस्विर उतारिसकेकी थिइन् । मैले पिएको थिए, उनी पार्दै थिईन्, आगोको राप र पानीको वाफले उनलाई मतायो की मलाई बढी नै लागिसक्यो?

स्थितीलाई साम्य बनाउन, स्टिलको ग्लासलाई अर्कोहातमा सारेर जुँगा मुसार्दै प्रकाश अघि सरे, “दिदी हामी त्यस्ता मान्छे हैनौ, तपाईको भिडियो कतै पनि देखाउँदैनौ । वहाँले त रक्सी कसरी बन्छ भनेर थाहा पाउनका लागि भिडियो खिच्नु भएको हो । तपाईलाई हामीले किन बद्नाम गर्ने?” ओsss हो । कुरो यस्तो पो रहेछ । खासमा मैले केहीछिन अघि रक्सी पारिरहेको दृष्य आफ्नो मोवाइलमा कैद गरेको थिए, उनीसँग रक्सी पकाउने तरिकाबारे कुराकानी गरेको थिए र रक्सी पारेपछि के गर्नुहुन्छ भनेर केही व्यापार व्यवसायका गफलाई पनि भिडियोमा कैद गरेको थिए । र खिचीसकेर सम्पुर्ण कुराकानी सहितको भिडियो उनलाई पनि देखाइदिएको थिएँ । उनी रिसाउने कारण थाहा पाएपछि झल्याँस्स निद्राबाट ब्युझिएजसरी म अघि सरे । “ल ठिक छ फोटो त खिच्नु भो मेरो नाम पनि लेख्नु, ठेगाना दिन्छु, मोवाइल नम्बर दिन्छु, अफिसको ठेगाना दिन्छु । तर ढुक्क हुनोस् दिदी तपाईलाई हामीले केही हानी पुर्याउँदैनौ ।” “तपाईको कुराको के ग्यारेन्टी? त्यो भिड्यो मेट्ना सक्नुहुन्छ?” उनको थप अडानले लाग्यो दिदी निकै तर्सिएकी रहिछन् । सहयात्री सबै मिलेर स्थितीलाई सामान्य बनाइसकेपछि पनि हामी केही समय गफियौ दिदीसँग । बल्ल खुलिन् उनी हामीसँग यसरीः
“परिवारको जग्गा जमिन थोरै छ । सन्तान पढाउनु पर्छ । लोग्नेमान्छेको कमाइले बाह्रैमास खान पुग्दैन । हामी आईमाई (महिला) हरु रक्सी पारेर बेच्छौ । हाम्रो घर यहाँबाट अलिक माथि पर्छ । यो त अस्थायी ठाउँ, त्यो पनि एैलानी जग्गा । सधै यसरी नै कहाँ पाइन्छ दिउसै रक्सी पार्न? कहिलेकाँही मात्र हो । यो बाहेक अरु कामधन्दा पनि हुनुपर्यो नी । हामी त बर्षौदेखि यही काम गर्दै आइरहेका छौ । यसैले परिवार पाल्न थोरै भएनी सघाएको छ ।
अहिले तपाईको खाइरहेको रक्सी कनिकाको हो । म चामलको रक्सी बनाउन जान्दछु । भनौन, मलाई अन्नपातबाट रक्सी बनाउन आउँछ, जस्तै कोदो, मकै, चामल, कनिका, सबैको बनाउन सक्छु । स्याउको? त्यो त अहिलेसम्म बनाएको छैन, देख्यो भने आइहाल्छ । आरुबखडाको पनि रक्सी हुन्छ? मैले त बनाएकी छैन । कतातीर गर्छ त्यस्तो? ए सोलुतीर? हाम्रो यतातीर त बनाउँदैन । एकपटक देख्यो भने बनाउन आइहाल्छ नी । किन नआउनु? स्याउको रक्सीको स्वाद कस्तो हुन्छ? ए स्याउ जस्तै? होला होला, मैले नबनाएकोले मलाई थाहा छैन । देखेको पनि छैन । तपाईलाई त रक्सी कसरी बन्छ सबै थाहा रहेछ, के को बन्छ पनि जान्दोरछ तपाई । अनि किन भिडियो खिचेको त?

हामीले यहाँ बनाको रक्सी हेटौडाको पसलमा लान्छौ । त्यहाँ पसलमा किन्छन् । बिस रुपैया एक बोतलको । हो र? सस्तो भयो र? कहिलेकाँही बिरगञ्जतीर पनि लान्छ । किन्छन् नी, कहिल्यै खेर जाँदैन । किन खेर जानु? बिक्रि हुन्छ र हामी यसरी रक्सी पारिरहने हो । हामीले पनि पेट पाल्नु पर्यो नी । आम्दानीको स्रोत छैन । कसले कति ठग्छ, नाफा खान्छ हामीलाई थाहा हुन्न । हामीले दिने २० रुपैयाँमा हो । हामीलाई फाइदै छ । एकपटकमा ६०/७० बोतल जति बन्छ । सानातिना गर्जो टार्न पुगेकै छ ।
तपाईले भिडियो खिचेपछि के गर्नुहुन्छ हुन्छ नी? किन नरिसाउने त? तपाई को हो कहाँबाट आको? किन भिडियो खिचेको? यस्ता भिडियो टिभीमा आउँछ, टिभीमा मैले कुहेको मोज्जा, जुत्ता, प्लाष्टिकका गन्हाउने बोराबाट रक्सी बनाएको देखेकी छु, त्यसरी बनाउनेलाई प्रहरीले पक्रेको देखेको छु । रक्सीका ग्यालेनहरु पुलिसले फालेको देखाउँछ, अनि डर लाग्दैन । के थाहा तपाईले पनि टिभीमा दिनु भयो भने? यहाँ पुलिस आएर हामीलाई बर्बाद पार्छ, अनि हामीलाई बर्वाद पार्ने अधिकार कसले दियो तपाईलाई? मलाई त अझै पनि विस्वास छैन तपाईप्रति । मलाई पनि पुलिसले दुःख दिएको छ । यहाँ यसरी रक्सी पार्छन् बेच्छन् भन्ने थाहा पायो भने हामीलाई पनि लान्छ । अहँ अहिलेसम्म मैले अन्नपात बाहेकको रक्सी बनाएकी छैन । बोरा हालेर? छि, हामी त्यस्तो गर्दैन् । त्यो त काठमाण्डौतीरमात्र बन्छ रे । हामीले त केही हाल्दैन । अन्नपातको शुद्ध बनाउँछ । यो रक्सी अहिले ४ पाने हो । ९/१० पानेसम्म हामी बनाउँछौ । तीनपाने चाँही कडा हुन्छ । यो चारपाने पनि कडा छ । तपाईलाई कडा भएन? तपाई त जड्याहा हो की क्या हो? तर पार्दा पार्दैको रक्सीले फाइदा गर्छ । मिठो हुन्छ । यसरी पार्दा पार्दै आउनु भयो जति खानुहुन्छ खानोस् हामी पैसा लिदैनौ । उ बैनीले पनि बनाउँदैछन्, चाख्ने हो? त्यो पनि कनिकाकै हो । केही छैन । तर जे गर्नोस, यो भिडियो टिभीमा नदिनोस् । गलत काम हो, तर अर्को काम पनि त छैन । यसैले बिन्ति छ । दिनुभयो भने हामीले पनि जान्या छ ।”
उनको यो बेलिबिस्तार अझै लामो थियो । साँझको पौने सात बजेको थियो । हाम्रो टाटासुमो नबन्ने भयो । संजोगले अर्को गाडि भेटियो । सौराहाबाट लगातार फोन आउन थालिसकेको थियो कतिबेला आइपुग्ने भनेर । हामी हतारमा थियौ, भट्टिवाली दिदी र उनका साथीसँगी पनि गाउँ पर्किन हतारमा थिए । बिदा हुने बेलामा मैले दिदीलाई सधन्यबाद एकसयको नोट दिदै भने “पैसा नलिई हामी पनि केही खाँदैनौ ।”
सानो कारमा पाँचजना खाँदिएर हुइकिरहेको बेला खाल्डाखुल्डी बाटोमा एकअर्कालाई छुनै पथ्र्यो । सायद मनहरी कटिसकेको थियो हाम्रो गाडिले, कुइनामा केही तातो जिनिसले पोलेजस्तो भयो । यसो हेरे प्रकाशको हातमा मिनरलवाटको बोतल थियो । आँखा झिम्क्याउँदै उनी बोले, “अघिकी दिदीले दिएकी, सित्तैमा हो ।” यसपछि के चाहियो र? मध्यगर्मिका बेला पनि सौराहा पुग्दा खानेकुरा मज्जाले सेलाईसकेको थियो ।

हिलोमा कमल फुल्छ भनेझै समस्याकै बीचमा हाम्रो देशको मानव विकास सुचकांक सुधारोन्मुख छ । यसपाली देशको आर्थिक बृद्धिदर बढेको छ । हिजोआज गाँउँगाउँमा बिद्यालय खुलेका छन् । पहिले घाँसदाउरामा मात्र सिमित हाम्रा छोरीचेलीहरु स्कुलमा भेटिन्छन् । चुल्होचौकामा सिमित दिदी, भाउजु, आमा, हजुरआमा अहिले संसारका अत्याधुनिक मुलुकमा सहज आवतजावत र परिश्रम गर्न सक्षम छन् । यातायातका साधन देख्नमात्रै पनि दिनौ हिड्नुपर्ने ठाउँमा धुले नै सही सडक पुगेको छ । महिनौ कुरेर हुलाक मार्फत परदेशी आफन्तको समाचार सुन्न बाध्य दुर दराजका गाउँलेसँग अहिले अत्याधुनि प्रबिधि सहितको मोवाइल फोनमाथि पहुँच बढ्न थालेकोछ । एउटामात्र मोवाइल फोन नभएको घर सायद नभेटिएला हिजोआज केही अपवाद बाहेक । बिदेशमा बस्ने पति, छोरा, बुबा, आमा, श्रीमती, भाउजु र दिदीबैनीसँग भिडियो हेर्दै फोन वा कम्प्युटर मार्फत गरिने प्रत्यक्ष कुराकानी अनौठो हुनथालेको छ । अनुरोध गीतका लागि चिठ्ठी पठाएर प्रसारणको आसमा महिनौ कुर्न बाध्य नागरिक आज आफै रेडियो, टिभी र पत्रपत्रिकाका मालिक भएका छौ । 
सञ्चारक्षेत्रमा भएको विकासमा हामी दक्षिण एशियामै उदाहरणीय छौ । साना तथा मझौला किसिमका बिद्युत आयोजनाले गाउँहरु झलमल्ल छन् । गाविस तथा नगरपालिकामा समुदाय र सरकारको सहकार्यमा उदाहरणीय कामहरु भएकाछन् । पहिलेपहिले महिनौ दिन लाएर काठमाण्डौ पुग्ने पुस्ताका सन्तान अहिले कोषौ टाढा बिदेशमा बसेर देशको अर्थतन्त्रलाई मजबुत बनाउन योगदान दिइरहेका छन् । उनीहरुले पठाएको रकम रेमिट्यान्सको रुपमा देशको अर्थतन्त्रको बलियो मेरुदण्ड बन्दैछ । देशमै भएको युवा जमात केही न केही सिर्जनशिल काममा जुटेका छन् । आमाहरु सुइटर बुन्ने र धारापधेरामा सिमित कुराकानीबाट बाहिर निस्केर समाज विकासका लागि खबरदारीमा लागेकाछन् । जेष्ठ नागरिक जमात आफ्ना अनुभव र ज्ञानहरु नयाँ पुस्तालाई हस्तान्तरण गर्न बाहिर आएका छन् । जात, भाषा, लगायत अन्य किसिमले हिजो दवाइएका पहिचानहरु आज सगर्व बाहिर आएर आफ्नो अस्तित्वका लागि लडिरेका छन् । सूचना प्रबिधिले संसारलाई मोवाईल, कम्प्युटर, टिभी वा अन्य बिद्युतीय सामग्री मार्फत हरेकका घर, कोठा, ओछ्यान, भान्सामा पुर्याएको छ, जससँग सहज पहुँच भएको नेपाली जमात हरेक क्षण बढिरहेको छ । तरकारीको भाउ बुझेर बारीको तरकारी टिप्ने र बजार लाने किसानहरु यही समाजमा छन् । गाइबस्तु पालेर उन्नती गरेका प्रगतिशील हातहरु यही माटोमा छन् । गाउँमा इन्टरनेट पुर्याएर विश्वलाई समेत उदाहरणीय पाठ सिकाउने मेगासेसे पुरस्कार बिजेता नागरिक यही भुमिमा छन् । आँखाको क्षेत्रमा बिश्वमै प्रभावकारी काम गर्ने डाक्टरहरु हामीकहाँ नै छन् । यस्ता थुप्रै कामको फेहरिस्त छ जसले बितेका १० १५ बर्षमा यही भुमिमा श्रम र पसिना बगाएर यो देशको सान उच्च राखेकाछन् ।  
विश्व राजनीतिक, आर्थिक तथा वातावरणीय परिवेशमा आएको परिवर्तनसँगै हामी नेपालीको पनि पैसा र प्रबिधीमा सहज पहुँच स्थापना हुने क्रम तिब्रतर छ । प्रबिधी, पैसा र पहुँचको देखिने प्रभाव हो हामीमा अहिले बढेको आत्मविश्वास । त्यही आत्मविश्वासको परिणाम स्वरुप वितेका दशकमा हामीले यो देशमा उल्लेख्य काम गरेका छौ । तर ती कामहरुले उचित रुपमा चर्चा र सम्मान नपाउँदा हुनसक्छ हामी आफुले गरेका कामहरुलाई पत्याउन सकिरहेकाछैनौ । आफुलाई नपत्याउने र आपुजस्तो राम्रो काम गर्न नसक्नेलाई गाली गर्नु हाम्रो दिनचर्या बनेको छ । गालिको केन्द्रमा छ राजनीति र गालि मार्फत हामी यसरी प्रस्तुत भइरहेका छौ की मानौ यो देशमा बितेको बर्षहरुमा केही भएकै छैन ।
तर त्यसो हैन । बितेको बर्षहरुमा मनग्गे राम्रा कामहरु भएकछन् । हो, खुल्ला र प्रतिस्पर्धी बजार अर्थतन्त्रतका चुनाती मनग्गे छन् । त्यसैले यहाँ टिक्नका लागि पनि ठुलै पापड बेल्नुपर्छ । समाजका हरेक क्षेत्रमा नाफामुखि चरित्र हावी हुनाले समाज विकास गौण बनेको हो की भनेर बुझ्नु गलत होइन । त्यसमाथि ठुला मिडियाको चरित्र नाफामुखि छ । साथै बढ्दो शहरीकरणले निम्त्याएका आम चुनौतीहरु विश्वका अरु ठुला शहरमा पनि तीनै हुन् जुन हामी यहाँ भोगिरहेकाछौ । फरक यतिमात्र हो अरुले चुनौती सामना गरे, समाधान गरे हामी त्यही गर्न नसकेर त्यसको दोष एकअर्कालाई खासगरी राजनीतिमाथि थोपरीरहेकाछौ । सबैलाई थाहा छ, हाम्रो राजनीति ईतिहासको अत्यन्तै जटिल मोडबाट गुज्रिरहेको छ । इतिहासमा सधै यस्तो अवस्था आउँदैन । समय लाग्छ रुपान्तरणका लागि । र पनि २०४६ पछिको राजनीतिले हामीलाई आत्मविश्वासी बनाउँदै आफ्नो भविष्यका लागि आफै जिम्मेवार हुन सिकाएको सत्यलाई हामीले कुल्चिनु भुल हो भन्ने ठान्छु म । माथि बर्णन गरिएका राम्रा कामहरु पनि यही बेला भएका हुन् जुन हामीले नै गरेका हौ । जस मार्फत पैसा र प्रबिधिमा हाम्रो पहुँच बढ्दैछ । प्रबिधीमाथिको पहुँचले हामी र यो राष्ट्रको विकासलाई आउने दिनमा अबस्य सहज बनाउँछ । अहिलेको अवस्थामा खाँचो छ भएका राम्रा कामहरुको उचित चर्चा, सम्मान र सकारात्मक सोच र व्यवहारको ।  
प्रतिस्पर्धी खुल्ला बजार अर्थतन्त्रमा ठुला मिडियाहरु नाफामुखि चरित्रमा सञ्चालित छन् । नाफा बजारले दिने हुनाले बजारमा जे बिक्छ त्यही बिषयको वरिपरी आमसञ्चार माध्यमका बिषयहरु घुम्नु स्वभाविक हो । बजारमा राजनीति, सेक्स, ग्ल्यामर, अपराध, दुर्घटना र नराम्रा घटनाहरु जति छिटो बिक्छन् राम्रा कुराहरुमा मानिसको ध्यान कम जान्छ भन्ने मान्यताले मिडियाले आफ्ना बिषयबस्तु प्रस्तुत गरिहेको अबस्था छ । जसले गर्दा परम्परागत मिडियाप्रति उपभोक्ताको गुनासो बढ्दो छ । यस्तो अबस्था लोकप्रीय हुदै गैरहेको सोसल मिडियाका लागि राम्रो गर्ने अवसर हो । सोसल मिडियाले परम्परागत मिडियाले गर्न नसकेको काम गर्दै विकल्प दिन सक्छ । कसरी भनेः
हामी सोसल मिडियालाई त्यही रुपमा प्रयोग गर्न सक्छौ जुन ठाउँमा यसको आवश्यकता छ । हामी त्यहाँ पुग्न सक्छौ जहाँ परम्परागत मिडियाहरु पुगेनन् । उनीहरुले चाहेर पनि दिन नसकेका बिषयबस्तु हाम्रा छलफलका बिषय हुनसक्छन् । माथि उल्लेख भएका बाहेक अरु पनि थुप्रै राम्रा काम भएका छन् यो समाजमा । सोसल मिडिया मार्फत हामी ती कामहरु बाहिर ल्याउन सक्छौ । सरकार र नागरिकले गर्नै पर्ने कामको फेहरिस्त तयार पार्न सक्छौ । प्राथमिकतामा आधारमा ती सवालहरुलाई छलफल र कार्यान्वयनका लागि दवाव दिन सक्छौ । आवाज विहीनको आवाजको रुपमा सोसल मिडियालाई स्थापीत गर्न सक्छौ । अधिकार र कतव्र्यका लागि वकालत गर्न सक्छौ । कुनै कुराको ठाडो बिरोधमात्र हैन बिकल्प सहित रचनात्मक भुमिका खेल्न सक्छौ ।   
असल कामहरुको सकारात्मक प्रस्तुती सोसल मिडिया प्रयोगकर्ताको रणनीति किन बन्न सक्दैन र? नकारात्मक कुराहरुलाई निरुत्साहनका लागि सोसल मिडिया अगाडि आउन सक्दैन र? हिजो रेडियो नेपाल, नेपाल टिभी र गोरखापत्रको बिकल्पमा एफएम रेडियो, निजी टिभी र पत्रपत्रिका शुरु भए र तीनले राम्रो काम गरिरहेका छन् भने सोसल मिडियाले ती परम्परागत मिडियाको सिमालाई चिर्दै बिकल्प दिन सक्दैन? टिएफसी, गाउँमा किताव, नेपाल युनाइट्स, आइब्लड जस्ता उदाहरणीय कामलाई शुरुवात र सम्पादन गर्न सक्ने मन र मस्तिष्कले अरु पनि राम्रा काम गर्न सक्दैन भनेर कसैले पत्याउँछ? भ्रष्टाचारीलाई किरा परोस् भनेर सराप्ने स्थान सोसल मिडिया मार्फत भ्रष्टाचार बिरोधी अभियान किन शुरु हुन सक्दैन?    
यस्ता थुप्रै सवालहरु छन् जुन सोसल मिडियामार्फत छलफल गर्न सकिने र यो अवसर पनि हो । लोकतन्त्र, बिधिको शासन, नेट फ्रिडम, प्रेस प्रिडमका लागि सोसल मिडिया दह्रो बैकल्पिक पहरेदारको रुपमा स्थापीत हुन सक्छ । सक्दैन र?
बुबा आमाबट अलग्गिएपछि पटकपटक गरी भाडामा बस्न थालेको १७ बर्ष भएछ । काठमाण्डौ खाल्डो र आसपासमा आफ्नै कमाईबाट घरबासको व्यवस्था नभै सकेको र हुने संंभावना पनि कमै भएकोले यसै भन्न सकिन्न अझै कति बर्ष यसरी नै बित्छ जिन्दगी । यसो हिसाब गरेको इटहरी र सोलुखुम्बु बाहेक काठमाण्डौमा मात्रै भाडामा बसेका स्थानहरु जोड्दा १० पुगेछ । त्यसमध्ये आधाजति स्थान जेठो दाजुले जोहो गरेका कोठा र प्mल्याटमा बिते भने बाँकी ५ स्थान आफैले खोजेका र भोगेका परेछन् । सोलु र इटहरीको भाडाको बसाई रहर र बाध्यता दुवै थियो । घर, घरवेटी, पानी, बिजुली, फोहोर व्यवस्थापन र रहनसहन अनि त्यसले घरवेटीलाई पार्ने प्रभाव, एउटा भाडामाबस्नेको १६ बर्षे भोगाईमा आधारित यो लेखका प्रमुख सवाल हुन् ।

‘हेल्लो, हेल्लो, हेल्लो... ‘ १७ बर्ष अगाडिको कुरा हो । एसएलसीको नतिजा सार्वजनिक भएको दुई दिनपछि बल्ल गाँउमा थाहा भयो नतिजा प्रतिकुल आएको थियो । भोलिपल्ट बिहानै भालेको डाकसँगै मेरा पाइलाले घरको जघाँर पार गरे । “गाउँमा बस्नु भन्दा सत्रुका अगाडि मुख नदेखाउनु नै राम्रो हो, जा दाजु छ त्यसैले केही गर्छ अब,” बुबाले भैसी गोठ जानुअघि मलाई बिदा गर्दै भनेका शब्दहरु अहिले पनि मनमा गाडिएर बसेका छन् । भोजपुरको भुल्केबाट २ दिन हिडेर चतरा हुदै इटहरी पुग्दा मामा घरकी हजुरआमाको देहवसान भैसकेको थियो । इटहरीबाट त्यही दिनको रात्रीबस चढेर भोलिपल्ट बिहान ९ बजे कलंकी झरेर जीवनमै पहिलोपल्ट फोन छोएको क्षण डर र उत्सुकताले भरिपुर्ण थियो । पसलवालाले नम्बर थिचेर मलाई बोल्नु त भन्यो तर कहिल्यै फोन नदेखेको मान्छे पहिलोपल्ट फोन कानमा लगाउने बित्तिकै भन्न थालेछु हेल्लो हेल्लो हेल्लो ... कोही बोलेन त भनेर साउजीलाई फोन फर्काएपछि पो थाहा भयो घण्टि गइरहेको थियो तर उतातीर फोन उठेको थिएन । एकछिन् पछि ताहाचलबाट लिन पुग्नु भएको दाजुको मोटरसाईकलमा डराउँदै बसेर पुगेको घर थियो काठमाण्डौमा मेरो दोश्रो डेरा अनुभव । यसअघि ४९ सालताका केही दिनको घुमाईको लागि पहिलोपटक काठमाण्डौ टेक्दा कालिमाटीमा बसेको थिए जहाँबाट दाजु भाउजुले जाउँभनेको स्थानमा जान बाहेक म कहिल्यै डेराबाट बाहिर निस्किन सकिन । कारण थियो, म ९ बर्षको हुदाँ राजबीराजमा हराएको थिए, त्यसैले काठमाण्डौका गल्लिमा एक्लै हिड्न मलाई प्रतिबन्धजस्तै थियो ।

पानी, बिजुली, फोहोर, रहनसहन र उठबसः घरबेटी र भाडावालको सम्बन्धलाई सुमधुर र प्रतिकुल बनाउने मुख्य तत्वहरु हुन् जस्तो लाग्छ । स्थान ताहाचल, घर थियो तीनतलाको । ताहाचलमा बस्दा स्टोभमा खाना पकाउनु पर्ने । भाउजु सानो दुर्घटनामा परेपछि खाना पकाउने जिम्मा मेरो हुन्थ्यो । उत्तिस, पात्ले र गुराँसका सुकेका दाउरा हुर्र बाल्दै अगेनामा आगो बाल्ने हातले स्टोभ बाल्न सिक्न पनि कम्ता धौ हुन्थेन । सबभन्दा डर त्यतिबेला हुन्थ्यो जतिबेला किचन नजिकैको भर्याङमा महिला चप्पल बज्दै ओहोर दोहोर गर्थे । “स्टोभ बालेर घर त कालै मसान नै बनाउने भए, कस्ता मान्छेलाई भाडामा लाइएछ,” घरकी मालिक्नी जसको ब्लड प्रेसर उच्च थियो प्यारप्यार कराउँदै म फुच्चेको समेत प्रेसर उच्च बनाउँथिन् । “ए बाबु, पानी त्यसरी पोख्ने हैन, हेर हेर फोहोर पनि कत्ति पार्न सकेका, ल हेर घर त कालै भएछ, स्टोभमा नपकाउ भन्या हैन तिमेरलाई?, ओहो हेर हेर, कस्ले चप्पल भित्र ल्यार आको, यसो गर्नु हुन्न बुझेउ” नेवारी लवजमा साउनीको यस्तै फतफत नसुनेको दिन कान पनि छक्क पर्थे ।

कुरो नरदेवीको । कोठामा एक्लै थिए । दाजुको हैसियत स्टोभबाट एक खुड्कीला माथि चढेको थियो । मट्टितेलबाट चल्ने अलिक परिष्कृत चुल्हो प्रयोगमा थियो । स्पष्ट सम्झना नभएपनि चाइनीज थियो जस्तो लाग्छ त्यो चुल्हो । सिकारु नै थिए । एकदिन बाल्नमात्र के थालेको थिए चुल्होबाट निस्केको कालो धुवाँले कोठा भरियो । काठको भर्याङमा मानव आकृती हिडेको स्पष्ट आवाज नजिकै आइपुग्यो । “लौ हेर कोठा त बर्वाद भयो नी, ए बाउ, त्यसलाई राम्ररी बाल, कालो भयो कोठा,” “हुन्छ हजुर बल्दैछ तर धुवाँ धेर आयो ।” “ल यसरी बाल्नु हुन्न, कोठा कालो हुन्छ हेर त धुवाँ आएको?” “एकछिनमा ठिक हुन्छ हजुर, बल्दैछ ।” “ओ हो बर्वादै भयो नी, कोठा त खत्तम, ए बाउ त्यसलाई राम्ररी बाल, किन धुवाँ बनाएको?” घर मालिक्नीको एककोहोरो रटान बन्द नभएपछि चुल्हो निभाएर भन्नै पर्यो “हस हजुर बन्द गरे, अब पकाएर पनि खान्न, बाहिर गएर खाएर आउँछु ढुक्क हुनु तपाईको घरमा चुल्हो बल्दैन अब ।” रिसले अनुहार रातो नै भएपनि हाँस्दै बाहिर निस्कनुको अर्को बिकल्प थिएन त्यो दिन ।

घरबेटीले मुलढोका बन्द गर्ने र भाडावालको फिर्ने समयको तालमेल नहुनु भाडावालको जिन्दगीको अर्को महत्वपुर्ण हिस्सा हो । स्थान बिजुलीबजार । रातको १० बजेपछि मुलगेट बन्द हुन्थ्यो । जसरी पनि १० बजे अगाडि नै पुग्नु पर्ने । गेटमा भित्रबाट पनि चाबी लाग्ने भएकोले तीनतले घरमा बस्ने सबैसँग चाबी हुन्थेन । एकदिन घर आउन अलि अबेर भयो । कुनै हालतमा ढोका खुलेन । रातको ११ बजेको हुदो हो । न कसैको फोन थियो न त फोन गर्ने ठाउँ नै । रात बिताउनका लागि कि त गेटमै भुईमा सुत्नुपथ्र्यो कि होटल जानु । गोजीमा पैसा नहुनुको पिडा त्यो दिन भोग्नु पर्यो । केही नलागेपछि सडकमा आएर हिड्दै हिड्दै कोपुण्डोल पुगे । म काम गर्ने अफिसको गेट र अफिस तलाका कोठाको चावी गोजीमा नै थियो । सरासर अफिस कोठामा पुगेर कुर्सी र टेवलमा सुते । त्यो रात त्यसरी नै बित्यो । भोलीपल्ट बिहानै कोठामा पुग्दा मुलगेट खुलिसकेको थियो ।

बिजुली बजारमै एकरातको घटना । पुरै फ्ल्याट लिने हैसियत हाम्रो थिएन । त्यहाँ अरु पनि बस्थे । भर्खर रंङ्गिन टिभी भित्रीएको बेला निकै अबेरसम्म टिभी हेरिन्थ्यो । दाजु बाहिर गएको बेला थियो । कसैले ढोका ढक्ढकायो । खोलेको मात्र के थिए, जिब्रो बटारिएको भावभंगीमा लर्बरिदै एकजना मान्छे करायो, “मेरो कोठामा किन पसेको? चोर्न आको? पुलिसलाई बोलाउ?” छक्कपर्दै एकछिन सवाल जवाफ गरेपछि थाहा भयो उ हाम्रो छेउको कोठामा बस्थ्यो, त्यो रात टन्न रक्सी पिएर आएकोले गर्दा उसले आफ्नो कोठा नचिनेर हाम्रोमा आइपुगेछ ।

बिजुलीबजारमा रहँदा नै हो मैले निर्णय गरे अब एक्लै वा साथीसँग बस्छु । त्रिपुरेश्वरमा अफिस भएकोले नजिकै कोठा खोज्ने मनसाय थियो । घुम्दै जाँदा टेकु पुगे । एउटा घरमा कोठा खाली भएको पत्तो पाएपछि नसोधी भएन भनेर त्यो घरमा पुगे । अधबैसे लोग्नेमान्छे रवाफिलो शैलीमा प्रकट भयो । नामदेखि कामसम्म उमेरदेखि शिक्षासम्म उसले सोधेका प्रश्नको उत्तर रिठ्ठो नबिराईकन दिए । अन्तमा उसले भन्यो रुम त छ तर भाईलाई नदिने । केही दिनपछि उसको घरनजिकै कोठा भेटियो । केही दिनमा थाहा पाए त्यो मान्छेले कोठा नदिने कारण त उसकी श्रीमती रैछन् । पहिलेकी बितेर हो की क्या हो उसले आफुभन्दा आधा उमेर कान्छि केटीलाई बिहे गरेको रैछ । उसको छिमेकीले भन्थ्यो जो आउँछ भाडामा बस्न उसले पहिले उमेर सोध्छ रे । तर भाडामा कोठा चाँही कसैलाई दिएको छैन ।

टेकुकै अर्को घटना । साथी दिपेन्द्र र मैले जीवनमा पहिलोपल्ट मादक पदार्थ सेवनको योजना बनायौ । प्रदर्शनीमार्गको दिपेन्द्रको पसलबाट निस्कँदा साझ छ बजेको थियो । टेकु चोकमा पुगेर १ केजी कुखुराको मासु र गीलमेरी एक क्वार्टर बोकेर डेरा पुग्यौ । मासु पकाउन सौखिन दिपेन्द्रले कोठाका सबै झ्याल खोलेर पकाउन थाल्यो । चिकेनको वास्ना वरिपरी फैलिएरै हो की गर्मि भएर हो पल्लोकोठाको ढोका खुल्यो । ठुलै स्वर भएको तराईतीरको मान्छे सपरिवार बस्थ्यो त्यो कोठामा । बुढाबुढी नै निस्केर गफीन थाले । एकछिनपछि अलि पर कोठा भएको अर्को परिवार पनि निस्कियो । हामी आफ्नै धुनमा मख्ख । मासु र गीलमेरी खाने योजनामा हामीलाई बाहिर मानिस किन उठे भन्ने चासो थिएन । पकायौ, खायौ, झ्याल बन्द गर्यौ, सुत्यौ । सधै मज्जाले बोल्ने पल्लो कोठाकी दिदी भोलीपल्ट बिहान बोल्दै बोल्दिनन् । दाईहरु मुख फुलाएर हिड्न थाले । आफुले बोलेको कुरामा वेवास्ता गर्नेक्रम बढ्दै गएपछि कारण जान्न कोशीस गरे । उनीहरुलाई अघिल्लो रात देखाएर मासु पकाइयो तर खान चाँही नबोलाएको कारण पो रिसाएका रहेछन् उनीहरु । त्यही कारणले गर्दा टुकेको मेरो बास मैतिदेवी सर्यो ।

तत्कालिन राजा वीरेन्द्रको बंशनासको हल्लाले केही दिन म मात्र हैन सिंगो काठमाण्डौ नै अन्यौलमा थियो । तत्कालिन युवराज दिपेन्द्रको मृत्युपछिका केही दिन तनावग्रस्त थिए । कफ्र्युको बिचमा उनको शबयात्रा भएको थियो । त्यसपछि पनि केही दिन कहिले पुरा दिन त कहिले केही समय कफ्र्यु लाग्थ्यो । एकदिन कफ्र्यु खुलेको मौका पारी हामी रेडियो सगरमाथा बखुण्डोलमा भेला भएका थियौ । त्यहाँबाट ननिस्कीदै फेरी कफ्र्यु लागिहाल्यो । त्यो रात रेडियो सगरमाथामा नै सुतियो । भोलिपल्ट १२ बजेतिर आफ्नो कोठा मैतिदेवी पुगे । कोठाको ढोका तोडिएको थियो । कोठा खुल्लै थियो । चोर पसेको आशंका थियो तर कुरो अर्कै परेछ । भएको के रहेछ भने कफ्र्युको बेला मैतिदेवी चोकमा कसैले प्रहरीलाई ढुंगा हानेर भागेछ । प्रहरी पनि के कम, खेद्दै गयो । चोकबाट नजिकै भएकोले भाग्ने मनुष्य म बसेकै घरमा छिरेछ । प्रहरी पनि आइपुग्यो । एउटा फ्ल्याटमा हामी बिद्यार्थीमात्र बस्थ्यौ । सबैका ढोकामा पुलिस पुग्यो र खोल्न अह्रायो । तर मेरो ढोका खुलेन । भाग्ने मान्छे त्यही भित्र छ भन्ने आंशकाले प्रहरीले ढोका फोर्यो तर केही नभेटेपछि प्रहरी फर्कियो । घरवेटीले ७÷८ सय खर्चेर ढोका त बनायो तर भाडा असुल्ने बेला त्यसलाई पनि भाडामा जोडेर मैबाट असुल्यो ।

२०५८ सालमा काठमाण्डौ छोडेपछि ४ बर्ष पुर्ण रुपमा काठमाण्डौ बाहिर नै बिते । सोलु र इटहरीमा भाडामा नै बसेपनि उल्लेख्य र स्मरणीय कुनै घटना भएनन् । हामी बसेको घरमा बाहिरबाट चुकुल लगाएर प्रहरी र सेनालाई माओवादीले घायल पारेको घटना नै अविष्मरणीय रह्यो सोलुको डेरा बसाईमा । त्यो बेला काठमाण्डौ आउजाउ गर्दा बुद्धनगरमा थियो दाजुको फ्ल्याट त्यतै बसिन्थ्यो । तीन तलामाथिको फ्ल्याटमा जानका लागि जमिन तलादेखि नै जुत्ता चप्पल खोलेर हातमा बोक्दै जानुपथ्र्यौ । त्यस्तो बेलामा पनि घर मालिक्नीको रुखो व्यवहार यतिसम्म हुन्थ्यो की जुत्ता चप्पल हातमा बोकेर जानु पनि अपराध गरे सरह हुन्थ्यो । उनको बीचारमा जुत्ता चप्पलको स्थान जमिन तलामा नै हुनुपर्छ तर अचम्म त्यहाँको मुख्य प्रबेशद्धार २४ घण्टा खुला हुन्थ्यो । चारतलामाथि चेनगेटमा सुरक्षित घरवालालाई भाडामा बस्ने र उनका सामानको सुरक्षामा किन मतलब होस् पनि । घरवेटीहरु त्यही बाटो हिड्ने, जुत्ता चप्लल भिरेर निष्फिक्री हिड्थे, यस्तो लाग्थ्यो भाडावालका जुत्ता चप्पललेमात्र फोहोर बोक्थे ।

२०६२ सालमा काठमाण्डौ फर्किने निर्णय गरियो । धुइपाताल खोज्दा पनि भनेजस्तो कोठा भेटिएन । भक्तपुरको लोकन्थलीमा एउटा फ्ल्याट भेटियो । सस्तो रहेछ । नजिकैको फर्निचर पसलबाट एउटा पलङ किनेर लगेर ओछ्याइयो र केही दिनभित्रै सर्ने योजना पनि बन्यो । कार्पेट बिछ्याउने काम पनि भयो । तर लोकन्थली बस्न दुवै जनाको मनले मानिरहेको थिएन । यस्तै अबस्थामा भैसेपाटीमा एउटा सिंगो घर भेटियो । खुबै मन पर्यो । भक्तपुरको फ्ल्याटलाई दिएको बैना रकम समेत माया मारेर पिकअप भ्यानमा पलंग र कार्पेट बोकेर भैसिपाटी पुगेपछि पैसा गुमाउँदा भन्दा पनि भनेजस्तो घर पाउँदाको आत्मसन्तुष्टि बेग्लै थियो ।

लामोसमय भैसेपाटीको बसाई अत्यन्तै सुखद थियो । तर जतिबेला घरवेटी जागिरबाट फर्केर घर थप्ने र बिहे गर्ने योजना बनाउन थाले घर बनाउँदा हुने सम्भावित धुलो र बालुवाको असर नवजात छोरामा पर्ने डरले त्यहाँबाट सर्नका लागि भाईसमेतको सक्रियतामा उचित स्थानको खोजी तीब्र हुनथाल्यो । धोवीघाटमा राम्रो ठाउँ भेटियो । शुरुका केही दिन त रमाईलै बिते । तर बस्दै जाँदा थाहा भयो घरवेटीको हस्तक्षेप नचाहिदो किसिमले बढिरहेछ । “जुत्ता त्यहाँ नराख, त्यो ढोका नखोल, लुगा किन धोएको? यतिका लुगा किन लाउनु पर्यो मैलीने गरी?” सुन्ने नसुन्ने गरी  नियमित जस्तो चियो र चर्चो हुन थाल्यो । आगँनमा भर्खरै बामे सर्दै गरेको छोराको उपस्थिती पनि असह्य हुन थाल्यो साउजीलाई । इटहरीबाट बुबा आउनु भएको, वहाँको बिहानै उठेर नुहाउने बानी, तर तल धारा खोलेको थाहा पाएपछि पानीको मुहान (माथिबाट झर्ने) नै बन्द गर्दिने । टाउको र जिउमा सावुन दलेर पखाल्न नपाउदै बुबा निस्कनुहुन्थ्यो । यस्तो कैयोचोटी भयो । अचाक्ली भएपछि एकदिन झगडै भयो । जुन दिन झगडा भयो त्यही दिन त्यहाँबाट सरेर अहिले जहाँ बसिन्छ त्यहाँ पुगेको छ भाडावालको जिन्दगी ।

२०६९ भदौ २० गते, कुमारीपाटी

While travelling, taking pictures comes in my first priority despite not having professional camera. I use whatever I have taking pictures. I have taken few pictures with my iPhone while travelling to Ilam, Panchthar & Nepalgunj few day/week back. 

Weather was normal. But it seems the rikshwa puller in Nepalgunj taking rest in shade of tree near BP chok.
 It's PhidimBazar Panchthar, the district headquarter. Proposed municipality is naturally beautiful. Local farmer has best utilized their land to grow up corn and vegetables.  
 PhidimBazar, Pancthar.
 PhidimBazar, Pancthar.
 There are many places in Phidim, popular for hiking. This is one among many. 
 Almost during July/August local peaks of phidim & Ilam are covered by heavy fug & cloud. One morning when we are there day started with very beautiful sunshine. 
 From where we enter in to Jhapa district while returning back from Ilam. 
 On way to & from Ilam we can see heavily loaded truck carrying out woods like this. 
 Bikram Tempo is absolutely swept away from Kathmandu Valley many years ago. Reason for that was that Tempo riding was unsafe and it's also highly polluted means of transportation. Now, we can easily see Bikram Tempo freely moving around in emerging cities and country side of Nepal. This picture was taken in Nepalgunj. 
 Cart is often used in some places of South Nepal carrying people & goods. Nepalgunj is famous as many people use cart to go towards markets in Indian boarder like Rupediya. 
Nepalgunj based journalist Durga BC who was harshly beaten by unidentified group of people in Salyan is sharing his experience about how has the incident happened. Journalist is taking his video while Durga is speaking at the program. 

Popular Posts

Blogger templates

Blogger news

Blogroll

Archive