अनौठो मन
कहिले फुरुङ्ग कारण बिना,
कहिले खस्रक्क कारण बिनै,
कस्तो कमलो?
जसले जता लग्यो त्यतै जाने,
जे भन्यो त्यही मान्ने
छिनमै रुने, छिनमै हाँस्ने,
कस्तो मन, अरुको इशारामा थाहै नपाई नाँच्ने ।
एउटा गभ्मिर प्रश्न आफैसँग
के हामी मान्छेलाई ब्रम्हाले श्रृष्टि गर्या हुन्?
अनि फलोअप प्रश्न पनि
त्यसो भए ब्रम्हालाई कस्ले सृष्टि गर्यो होला?
अनि तेश्रो प्रश्न,
जसले जसलाई सृष्टि गरेपनि सृष्टिकर्ताले यो मनलाई
ढुङगाजस्तो सारो बनाइदिएको भएपनि त हुन्थ्यो नी
आज यो मन ढुङगा भइदिएको भए
कसैको बहकाईमा लाग्दैनथ्यो होला,
जसले जता मोड्यो मोडिदैनथ्यो होला,
हावा जता चल्छ उतै दौडिनथ्यो होला
छिनमै हाँस्ने छिनमै रुने
अभिनयमा मान्छेलाई अभ्यस्त बनाउदैनथ्यो होला,
यो मन कस्तो कमलो ?
मेरा एकजना अग्रज मित्रले भन्ने गर्छन् देश चिन्ने हो भने हिडौ, लामो बाटो छ यातायातको सुविधा छ भने स्थलयातायात प्रयोग गरौ, हैन भने मात्र अर्को बिकल्प खोजौ । वास्तवमा यात्रा जुन तरिकाले गरेपनि बिभिन्न ठाउँको भ्रमण गर्नु गज्जबको सिकाई हो । गएको मे २०१० को पहिलोसाता बंगलादेशको ढाकाबाट शुरु भएको मेरो यात्रा जुनमा देशका बिभिन्न भागमा केन्द्रित थियो । जुलाईको पहिलो साता पाकिस्तानको इस्लामावाद र कराँची पुग्ने मौका जुर्यो । अनि नेपाल फर्किने बित्तिकै बारा र पोखरा । पोखराबाट काठमाण्डौ आएको केही समयपछि फेरी बंगलादेशको ढाका जानु पर्ने भयो । ढाकाबाट फर्किन नपाउदै पुर्वी नेपालको मोरङ, सुनसरी, धनकुटा र तेह्रथुम जानै पर्यो । फर्केको पर्सिपल्ट नवलपरासीको गैडाकोट अनि फेरी झापा भद्रपुरहुदै इलाम, इलामबाट फर्केको भोलिपल्ट चितवनको भरतपुरहुदै दुई रात तीनदिनका लागि सौराहा । मेरो व्यस्त कार्यतालिका र घुमघामदेखेकी सहकर्मीले भनिन् दाईलाई त क्या मोज, हिडेको हिडै । यो भनाई स्वभाविक पनि थियो । एकै ठाउँबसेर काम गरिहरन बाध्य मानिसलाई हिड्नुको मज्जा नै बेग्लै । मलाई पनि यस्तै लाग्थ्यो । तर धेरै हिडेपछि यस्तो पनि दिन आउँदो रहेछ, हे प्रभु हिड्नु नपरोस् । मलाई पनि लगातारको यात्रा, जहाजको निरन्तर उडाई, गाडिमा लामो दुरीको थकान, अनि परिवारबाट टाढा हुनुको नमज्जाले राम्रै सताउन थालेको रहेछ । त्यसैले सौराहा जाने लिष्टमा मैले नजाने भन्दा भन्दै पनि श्रीमति र छोरालाई लिएरै गए, उनीहरु दुईरात र तीनदिन सँगै बिताए । थकान मेटाए । अनि एक किसिमको ताजापन महसुस गर्दै फर्किए काठमाण्डौ ।
अब कुरा गरौ यात्रा र सिकाईको । बंगलादेश यात्राबाट मैले अन्तराष्ट्रिय परियोजना व्यवस्थापनका लागि चाहिने सीप, धैर्यता, संचार सीप, कुटनीिितक संचार, काम गराउनसक्ने सीप, अरुको भावना बुझ्ने, आफ्ना कुरामात्र नलाद्ने तर परियोजनाको उद्देश्य प्राप्तिका लागि स्थानीय ज्ञान र सीपलाई अगाडि आउन महत्व दिनुपर्ने कुराहरु सिके । धैर्यता, सम्मान, सुन्ने सीप आदीको लागि मेरो अर्धज्ञानलाई पुर्ण बनाउन बाटो पहिल्याउन सिके । साथै बंगलादेशको संस्कृती, मानिसको रहनसहन, वातावरण, फुड कल्चर, विकासका सवाल, आधुनिकीकरण, शहरी जीवनशैली, साउथ एशियन समानता र विविधतालाई नजिकबाट अध्ययन गर्ने मौका मिल्यो ।
पाकिस्तान मेरा लागि नौलो थियो । एक किसिमको भय थियो त्यहाँ जानु अगाडि की म आतंकबादले जर्जर बनाएको मुलुक जाँदैछु । वास्तवमा मेरो भयमा केही सत्यता थियो । तर मिडियामार्फत जसरी चित्रित थियो पाकिस्तान त्यहाँपुगेपछि मेरो भ्रम हट्यो । भौतिक ंंसरचनाको उच्च विकास, साक्षरता प्रतिशत कम हुदाँहुदै पनि आणविक शक्ति राष्ट्र सौम्य र सुसस्कृत देखिने महिला र पुरुष, सभ्य किसिमको कुराकानी शैली, सम्मानजनक बोली, व्यवहार, सुनेको भन्दा देखेको पाकिस्तान कहाँ हो कहाँ अन्तर । वास्तवमा मस्लिम भुमिका बारेमा बिश्वमा एक किसिमको सोच हावी छ, मुस्लिमहरुलाई आतंककारीको नजरबाटमात्र हेरिन्छ । केही घटनाहरुमा यो समुदायमा उग्र मानिसहरुको संलग्नताले पनि हुनसक्छ तर यो व्यक्तिले गरेपनि सिंगो समुदाय नै बद्नाम हुनुको पछाडि मिडियाको पनि हात छ, बिशेषगरी पश्चिमा ठुला मिडियाहरुको । मिडियाले कुनै समाज, घटना वा बिषयलाई जसरी व्याख्या गर्छन् त्यसबाट सम्बन्धित घटना, समुदाय वा बिषयको बारेमा मिडिया उपभोक्तामा नकारात्मक र सकारात्मक दुवै छाप पर्छ । यसको प्रभाव व्यापक भएकोले पनि होला समाजको चित्रण गर्नका लागि मिडियाको जिम्मेवारी ठुलो छ । मैले पाकिस्तान बसाईमा सिकेको सानो तर महत्वपुर्ण कुरा हो यो जस्तो लाग्छ ।
नेपाल घुम्दा मलाई मानिसहरुको अध्ययन गर्न मन लाग्छ । यातायात खासगरी सडकले कसरी संस्कृती र सभ्याताको ओसार पसार गर्छ? मानिसहरु बसाई सराई गर्दा कुन भागबाट कुन भागमा सरे, किन सरे, कुन बाटो प्रयोग गरे? जमिनमाथि मानिसको अधिकार, बसाई सराईले वातावरण तथा आदिबासी समुदायलाई नकारात्मक प्रभावको बारेमा घोत्लिन मनलाग्छ । मैले समाजशास्त्र त पढिन, तर मेरो कामका लागि समाजको अध्ययन आवश्यक छ, मानवको अध्ययन आवश्यक छ । मैले विकासका बद्लिदा सवालहरुको बारेमा गहन भएर सोच्नुपर्छ, ती सवाललाई मिडिया मार्फत कसरी अन्तरक्रियात्मक रुपमा प्रस्तुत गर्न सकिन्छ जसबाट प्रभावकारी रुपमा सूचना प्रदान गर्न सकियोस् अनि मानिसको जिवनस्तरमा देख्न सकिने सकारात्मक परिवर्तन होस् । यसपटक पुर्वाञ्चलको सुन्दर स्थान धनकुटामा बस्ने मौका जुर्यो । हिलेमा भर्खरै खुलेको काञ्जिरोवा होटलमा । हिलेलाई नजिकबाट अध्ययन गर्ने मौका मिल्यो । वास्तवमा हिले अहिले अत्यन्त संभावना बोकेको ठाउँ बनेजस्तो लाग्यो मलाई यसपटक । त्यहाँबाट तेह्रथुमको बसन्तपुरहुदै म्याग्लुङ, संखुवासभाको चैनपुर पुग्न दुई चार घण्टामात्र लाग्ने, त्यो पनि बाटो पक्की, यातायातको सुलभ सुबिधा । सुन्दर पहाडि राजमार्गबाट यात्रा गर्नुको मज्जा नै बेग्लै । सोचे वाह नेपाल । यदी साँच्चिकै विकास हुने हो भने नेपालको भविष्य सुन्दर छ, त्यो भनेको नेपालीको पनि भविष्य सुन्दर छ । र विकासका लागि सडकले जति अरु कुनै भौतिक संरचनाले योगदान गर्न सक्दैन । हिलले मलाई लोभ्यायो, साथिहरुसँग ठट्ठा पनि गरे, धनकुटामा जग्गा किन्छु भनेर, के थाहा? यो ठट्ठा व्यवहारमा परिवर्तन होला की । आशा छ । हुन सक्छ ।
भोजपुरको छिनामखुबाट इलामको फिक्कलमा पुगेका गणेश रसिकको जीवन भोग्नेलाई कस्तो छ तर देख्नेहरुका लागि लोभलाग्दो छ । फिक्कल, आहा कति सुन्दर छ, चियाबगानको बिचमा नागबेली बाटो, घमाइलो मौसम, दर्के पानी परिरहेको बेलामा पनि यात्रा गर्नुको मज्जा नै बेग्लै । चिसो मौसम, स्वादीलो खाना, अकबरे खुर्सानी, थरिथरीका चिया, छुर्पी बोकेर फर्किदा कम्ता रमाइलो लाग्दैन । अनि हिले होस या फिक्कल, कन्याम होस् या इलामबजार न्यानो लुगा लगाएर तुम्वा खानुको मज्जा नै बेग्लै । ढिडो खान पाए झनै आनन्द ।
यसपटक सौराहाको जंगलमा हात्ति सवार गर्दा गैडा देख्न पाइएन, तर हरिण, बाह्रसिंगे, जरायोहरु भने केही देखिए, नजिकबाट हेर्न पाइयो । हातिमा छोरा डराउला की भन्ने डर थियो, तर छोराकी आमा पो डराइन धेरै । वास्तवमा यात्रा थकान मेटाउने माध्यम पनि हो, यात्रा सिक्के मौका पनि हो, यात्रा खुल्ला पुस्तक हो जसलाई गहन रुपमा अध्ययन गर्ने हो भने असंख्य कुरा सिक्ने अवसर हो, यात्रा ।
अगष्ट २४, २०१०, कुमारीपाटी ।

Popular Posts

Blogger templates

Blogger news

Blogroll