२८ वटाबाट १५ वटामा सिमित गरिएका माओवादी पुर्व–लडाकुबस्ने शिवीरमा अहिले पनि ९ हजार ७ सय ५ जना माओवादी सेना, समायोजनमा जाने वा पुनःस्थापनामा, निर्णयको पर्खाईमा छन् । सरकारले बढीमा छ हजार ५ सयलाई सुरक्षा निकायमा समायोजन गर्यो भनेपनि हाल त्यहाँ भएका अढाई हजारभन्दा बढी लडाकुले स्वेच्छिक अवकास रोज्नु बाहेक अर्को बिकल्प छैन । अनमिनले जम्मा १९ हजार ६ सय २ लडाकुलाई मात्र प्रमाणिकरण गरी शिवीरबन्द गरेको थियो । प्रमाणिकरणमा उपस्थित भएकामध्येपनि अढाइ हजारजति अहिलेसम्म सम्पर्कमा छैनन् । उपस्थितमध्ये ४ हजार ८ जना माओवादी सेना, शीबिरमा जानका लागि तोकिएको निर्धारित योग्यता नपुग्दा शिवीर बाहिर परे । सेना समायोजन समितीको नजरबाट हराइरहेका अढाईहजार तथा बहिर्गमनमा परेका ४ हजार पुर्व लडाकुहरु अहिले कहाँछन्? कसको सम्पर्कमाछन्? के गर्दैछन् कसैसँग छैन सूचना छैन । पछिल्लो प्रकृयामा समायोजनमा गएका ७ हजार ६ सय ३५ जनासमेत अहिलेसम्म १६/१७ हजारको हाराहारीमा पुर्व माओवादी लडाकु जो हिजोका दिनमा लुटपाटदेखि मान्छे मार्नेसम्मको काम गर्ने गर्न बाध्य भए, अहिले त्यही जमात, समुदायमा छ ।

१) समाजमा फर्किएका माओवादी लडाकुहरु तीनै हुन् जसले हिजो बर्गीय शत्रु खत्तम अभियान अन्तर्गत कसैको हात भाँचे, कसैका खुट्टा काटे, कसैलाई घरबाट लखेटे, कसैलाई निर्मम तरिकाले मारे । सम्पत्ति खोसेर खाए । खाइपाई आएको जग्गाजमिनमा झन्डा गाडे । त्यो बेलाका माओवादी गतिबिधिबाट पिडितको परिवार अहिले पनि त्यही समाजमा छ जहाँबाट निस्केर माओवादीहरु हिजो जंगल पसेका थिए । यदी हिजोका ती पिडितका परिवारमा बद्लाको भावना विकास भयो र पुर्व लडाकुहरुले पनि त्यसलाई सहन गर्न सकनेन् भने हुने विकाराल परिस्थितीको अनुमानले पनि सबैलाई झस्काउँछ । सरकारसँग यस्तो अबस्थालाई व्यवस्थापन गर्न चाँहिने न्युनतम संरचना शान्ति समिती बाहेक छैन । सत्य निरुपण आयोग नबनिसकेको अबस्थामा समाजमा पुनःस्थापनाका लागि दुई पक्ष राखेर गरिनुपर्ने सक्रमणकालिन न्यायका कार्यहरु सहज हुनेछैनन् ।

२) माओवादीको झन्डा र हतियार बोक्ने तत्कालिन कार्यकर्ताहरुले हिजो तत्कालिन र अहिले पनि लागु, शैक्षिक प्रणालीलाई बुर्जुवा शिक्षाको पगरी गुथाएँ । बुर्जुवा शिक्षाका किताब जलाए । शिक्षा बहिष्कार गरे । शिक्षकलाई झुन्ड्याए । कतिठाउँमा नयाँ जनबादी शिक्षा लागु गराए । तर शान्तिस्थापनाको आजको दिनसम्म आइपुग्दा पनि माओबादी नीतिले जलाएकै, उनीहरुले नमानेकै बुर्जुवा शिक्षाले नै काम गरिहेको छ । जनबादी शिक्षा लागु हुनु त परैजाओस् हुने सम्भावना ज्यादै न्युन छ । बुर्जुवा शिक्षाले दिएको प्रमाणपत्र नभएसम्म अहिले उनीहरुलाई कुनै पनि निकायले पत्याउन सक्ने अबस्थामा छैनन् । यस्तो बेला उनीहरु निकम्बा र बेरोजगार हुनुबाहेकको बिकल्प छैन ।

३) बेरोजगार हुनु नपरोस्, निकम्बा भएर डुल्नु नपरोस् भनेर नै सरकारले पुनःस्थापनामा जाने पुर्व लडाकुहरुलाई बढीमा ८ लाखसम्म दिएर पठायो । तर दुर्भाग्य, आठलाख रुपैयाँ सदुपयोग गरी भबिष्य सुन्दर बनाउने सीपको अभाव छ ती लडाकुहरुमा जो पुनःस्थापनामा गए । उनीहरुलाई सजिलै आउने एउटा काम हो, बम र बारुद बनाउने, बन्दुक पड्काउने । जुन कामका लागि समाजमा लगानीको संभवना नै छैन । अनि गरुन् के? यस्तो अबस्थामा पैसा हुन्जेल पनि बिकृतीमा फस्ने नहुँदा झनै बिकृती ल्याउने संभावनालाई नकार्न सकिदैन । किनभने सरकारले पैसा त दियो तर त्यसको सदुपयोग कसरी गर्ने भन्ने सीप सिकाएको छैन । सिक्नेमा पनि त्यतातिर रुची छ जस्तो लाग्दैन । पहिलो किस्था बाँड्दा भएको लफडाबाट पाठ सिक्ने हो भने दोश्रो किस्ता दिनुभन्दा अगाडि धेरैपटक सोच्नुपर्छ त्यो रकम कसरी सदुपयोग हुन्छ र शान्ति प्रकृयामा सघाउँछ भनेर ।

४) क्रान्तिकै क्रममा माओवादीहरुमा अन्तरजातीय विवाहले व्यापकता पायो । त्यसरी विवाह हुने जोडिहरु पनि फर्किदैछन् गाउँमा बस्नलाई । तर समाज बद्लीएकोछैन् । सामाजिक रिती रिवाज हिजोकै ठाउँमा छन् । सोच उही छ । परिवार र समाजले नस्वीकारेको खण्डमा अन्तरजातीय विवाह गर्ने जोडी र उनीहरुका सन्तानको भबिष्य के हुन्छ? बर्गिय, जातीय घुलनका लागि यही कुरा प्रत्पुपादक त हुदैन?

५) हिजो बेपत्ता हुनेहरुमध्ये धेरैजना कि माओवादी छन् कि उनीहरुलाई नजिकबाट सघाउने । उनीहरुमध्ये अहिले पनि हजारौको संख्या जिउँदो वा मरेको, निधो नभएको अबस्थामा छ । जसले बेपत्ता पारेपनि समग्र घटना माओवादी युद्धसँग नै जोडिएर आँउछ । यसले पनि शान्ति निर्धारणमा सहजता ल्याइहाल्ला भन्न सकिदैन ।

६) र, अन्त्यमा, पुनःस्थापनमा जाने लडाकु हुन् वा सुरक्षा निकायमा । सबैलाई हिजो माओवादी पार्टीले बाँडको सपना ठुलो थियो । तर आजका दिनसम्म आइपुग्दा त्यसरी बाँडिएका सपनामध्ये धेरै कम पुरा भएकाछन् । स्कुल छोडेर लडाईमा होमिएका युवा जमातको भबिष्य अहिले सबभन्दा अन्यौलमा छ । किनभने माओवादीले बाँडेजसरी अहिले लड्डु हातमा परेन र पर्ने पनि छैन । यस्तो अबस्थामा ती जमातले आफु र आफुसँग जोडिएकाहरुको भबिष्यमाथि खेलबाड बाहेक अन्य केही सम्झनेछैनन् । किनभने ती आश्वासनले ६ हजार ५ सयलाई त केही भएपनि राहत दिएको होला, बाँकी १७ हजारले के पाए त? झुठो आश्वासन र अध्याँरो भविष्य ।
घर नं १
यो घरमा कोठा खाली छ?
छ, यहाँको बिहे भको छ की छैन?
छैन, छिट्टै हुन्छ होला
पाँच महिनाको एडभान्स चाहिन्छ,
एक महिनाको दिन सक्छु
त्यसो भए खाली छैन

घर नं २
साहुजी, तपाईको घरमा कोठा खाली रछ
छ, कति जना बस्ने हो?
तीनजना, एउटा छोरी, एउटी बुढी र म आफै
अरु सबै राम्रो छ, पानीको चाँही समस्या छ
खानेपानी त होला नी
छैन
नुहाउनलाई
त्यो पनि छैन
तपाईहरु के खानुहुन्छ?
हामी ढुङ्गेधाराबाट ल्याउछौ, अनि कहिले ट्यांकरमा
श्रीमती मुटुकी रोगी, आफु जागीरे, छोरो बच्चै
त्यसो भए गारो हुन्छ, अर्को घरमा हेर्छ,

घर नं ३
तपाईलाई कति कोठा चाहिएको?
एउटा फ्ल्याट हो
पाहुना आउँछन् की आउदैनन्
महिनामा एकचोटी त अबस्य आउँछन्
होहल्ला हुन्छ होला
नबोल्ने मान्छे कोही छैन, १० जनामा सात जना महिला छन्
जाँडरक्सी बोकेरै आउँछन्
तास खेल्न पनि रुचाउँछन्
त्यसो भए जानोस् कोठा तपाईलाई दिन सक्दिन

घर नं ४
ए बज्यै, कोठा खालिजस्तो छ नी?
बज्यै चै नभन्ने की, दिदी भन्दा हुन्छ नी भाई,
मैले कोठा खोजेको, फ्ल्याट,
कति कोठाको भाई?
तीनकोठा कम्तीमा
छ, हेर्नुहुन्छ?
भाडा कति भन्नु भाछ
१२ हजार
के के सुबिधा छ?
पानी भर्न चारबजे उठ्नैपर्छ
कहिलेकाँही आफ्नो पालो आउँदा पानी सकिन्छ
कुकुर पनि रैछ त?
छ, यो मेरो सोख हो,
मेरी बुढीका लागि कुकुर भको घर हुदैन

घर नं ५
मेरो घरमा फ्ल्याट खाली छ
तर एट्याज बाथरुम छैन
घर बाहिर जानुपर्छ
ट्वाइलेटमा पानी छैन भित्रबाटै बोकेर लानुपर्छ
आफ्नो घरमा आफु एक्लै छु
कहिलेकाँही खाना खान दिनुपर्छ
तीन महिनाको भाडा चै पहिले नै दिनुपर्छ
जुत्ता, चप्पल मिलाएर सफासुग्घर राख्नुपर्छ
झ्यालको धुलो दिनैपिच्छे पानी लगाई धुनुपर्छ
दुईटा रुममा चाँही दिउसै बत्ति बाल्नुपर्छ
घामको मुख हेर्नलाई पल्लोघरमा जानुपर्छ
मञ्जुर छ भने यहाँ खुशीसाथ बस्न सक्नुहुन्छ ।

जहाँ जाँदा पनि आफनो अनुकुलको फ्याट नभेटेपछि, दिक्क हुदाको परिणाम
एउटा कविता बन्यो
मन पराई दिनु भएकोमा धन्यवाद ।

चैत ९,२०६८
१५० जना जतिको लामो लर्को । भर्खरका तन्नेरीदेखि बयस्कहरु, सबैमा उस्तै जोश र जाँगर । फागूनको घाम न्यानो छ । र पनि हिड्दा पसिना आउन थालेपछि अधिकांशले आफ्नो ज्यानको मोटो र न्यानो पोशाक फुकालेर आ–आफ्नो सजिलो हुनेगरी बोकेकाछन् । सबैका टाउकामा एउटै प्रकार र रङका टोपी, जहाँ लेखिएको छ ‘आफ्नो स्वास्थ्य आफ्नै हातमा, निरोगधाम ।’ फागुन २७, २०६८, शनिबारको दिन । दिन छिप्पिन लाग्दै गर्दा एकाएक गाँउमा लस्करै ठुलो हुल छिरेपछि डुकुछापको दनुवार समुदायका मानिसहरुले के हुन लाग्यो ठम्याउनै सकेनन् । हुलबाट बाहिर निस्केर एउटा घरको पेटीमा सुस्ताउँदै थिए एकदुई जना युवाहरु नजिक आएर सोधे, “यहाँहरु कहाँबाट आउनु भएको?” “हामी काठमाण्डौमा बस्छौ, अहिले चाँही हाइकिङ हो यो, पदयात्रा हो हाम्रो ।” मेरो उत्तर भुईमा खस्न नपाउदै हेर्दा नेताजस्ता देखिने युवाले सोधे, “तपाईहरुलाई यसरी हिड्न सहयोग कहाँबाट आउँछ?” “सहयोग आउँदैन, हामी आफ्नै खर्चमा तपाईहरुको गाउँ हेर्दै घुम्न रुचाउँछौ, त्यसैले योबाटोबाट आएका ।” उत्तर सजिलै दिएपनि ती नेता झै लाग्ने युवाको भनाईले चस्स घोचेजस्तो भयो । उनको भनाईमा व्यंग थियो वा निर्दोष उत्सुकता, मलाई भने कताकता आई÷एनजीओहरुले जुनसुकै क्षेत्रमा पैसा खन्याउछन् भन्ने सुनेका आम सर्वसाधरण अभिव्यक्तिजस्तो लाग्यो । मैले थप बहस गर्न चाहिन, बरु सोचे एकछिन् म पनि एनजीओकै कारिन्दा, मान्छेमा रहेको भ्रम कसरी हटाउने सबै एनजीओ खराब छैनन् भनेर ।

अलिक तल माइकमा सुनियो, १४ हजार ७ सय .. कान ठाडो पारेर सुनिरहेका युवाहरुको मुखमा एकाएक उज्यालो छायो । फेरी नजिक आए र भने “यहाँहरुलाई धन्यबाद ।” मैले भने, “धन्यबाद मलाई हैन ति सहयोगी हातहरुलाई दिनोस् जसले सकेजति रुपैयाँ दिएर तपाईहरुलाई सहयोग गरे । अनि धन्यबाद उनलाई दिनु जसले यि दयालु मनहरुलाई योबाटोबाट हिड्ने चाँजोपाँजो मिलाए ।” मेरो कुरामा भन्दा पनि भर्खरै समूहले दिएको सहयोग रकममा केन्द्रित थिए उनीहरु । गाउँमा केही दिन पहिले आगलागी भएको थियो, चारवटा घर ध्वस्त । एउटा घरको अस्थिपञ्जरबाट अहिलेपनि धुवाँ पुत्पुताईरहेको थियो । आगोले उजाड बनाएका घरका बासिन्दाहरुको मनमा पदयात्राका सहभागिहरुले दिएको सहयोगले केही हाँसो ल्याएको देखिन्थ्यो । सुकेर काला र टाटैटाटा भएका ओठहरु च्यातिएरै भएपनि मुस्कुराएको देख्न पाउँदा मनमनै धन्यबाद दिए डा. उमेश श्रेष्ठलाई जसले हाम्रो हाइकिङ समूहको पदयात्रामार्गमा यसपाली ललितपुर जिल्लाको डुकुछापमा पर्ने दनुवारबस्तीलाई पनि पारेका थिए । अनि धन्यबाद ती दयालु मनहरुलाई जसले यात्राको आनन्दमा थप आनन्द र आत्मसंतुष्टिका थप्नलाई आगलागि पिडितलाई सकेको आर्थिक सहयोग गरे । पदयात्रा आयोजकले एकदिन अगाडि नै जानकारी दिएका भए लुगा कपडा पनि ल्याउन सकिन्थ्यो नी, केही पदयात्रीहरु यसरी पनि सहयोगको संभावना औल्याइरहेका थिए ।

मान्छेको जिवन्त तस्बिर क्यामेरामा कैद गर्नु मेरो सोख हो । आगलागि भएको स्थानबाट अलिकति अगाडि पुग्दा बाटो लहरै उभिएका तीनवटी युवतीहरु हेर्दा लाग्यो उनीहरु त्यो गाउँमा सबैभन्दा सुुन्दर नारीहरु हुन् । मैले हाँसेर भने, “फोटो खिचौ?” उनीहरुले प्रस्ताव स्विकारे । आफ्नो तस्बिर एकैछिनमा क्यामेरामा हेर्न पाउँदा उनीहरु पनि दंग । “दाईहरु छ्याङ खाने?” एकछिन त छक्कै पार्यो उनीहरुको प्रस्तावले । छिप्पिन थालेको घाम, बढ्न लागेको थकाई अनि युवतीहरुको प्रस्ताव । बिष्णु र मलाई उनीहरुको यो प्रस्ताव प्रीय लाग्नु अस्वभाविक थिएन । तर हामी त्यहाँ बस्न सक्ने अबस्था नभएकोल बिष्णुले भन्यो, “हामी पछि आउँछौ अहिले चाँही गयौ है ।” कस्तो अचम्म, उनीहरुको बिदाईमा आत्मियता स्पष्टसँग देख्न सकिन्थ्यो ।

कतै मुलबाटो, कतै सहायक बाटो । बाटोभरी तोरी टिप्दै गरेका स्थानीय बासिन्दा हुन् वा दोकान र आ–आफ्ना घरमा बसेका, गोठालादेखि केटाकेटीसम्म हाम्रो लामो लस्करप्रति कौतुहलता मिश्रीत आँखाले हेरिहेका भेटिन्थे । थकाई मार्ने निश्चित स्थानहरु । पानी र सुन्तला खानका लागि आराम गर्ने समय । सातदोवाटो ललितपुरबाट यात्रा शुरु गर्नु अघि आयोजकले हामीलाई एउटा प्लाष्टिकको झोला थमाएका थिए । त्यो झोलामा तीनदाना देशी सुन्तला थिए । डुकुछाप बगरमा सबैले तीनै सुन्तला नास्ताको रुपमा प्रयोग गर्दा आयोजकले भनेका थिए, ‘खाना खानका लागि १२ बजेको समय तोकिएको छ । बाटो उकालो ओरालो उकालो ओरालो छ ।’ १२ बजे, उकालो ओरालोको आसय सबै सुन्तला एकैचोटी नखानुस् भन्ने रहेछ क्यारे तर हामी यात्रामा नयाँयात्रीहरुले एकै बसाईमा तीनवटा सुन्तला चटपार्न समयै लागेन । आयोजकमध्येका डा. श्रेष्ठ हातेमाइकको सहारामा भनिरहन्थे, ‘पानी पनि जतिबेला पायो त्यही बेला नखानोस् ।’

पुर्ण तयारीका साथ समूहमा गरिने पदयात्राको पहिलो अनुभव थियो मेरो लागि । अनि अनुशासन पनि कडै थियो । भोकले लखतरान हुदाँ पनि खान नपाईने । सुन्तला बाहेक अन्य खानेकुरा जतिबेला पनि खाएको देखेभने आयोजकले राम्रो नमान्ने भएकोले पनि यात्रामा भोकलाई लुकाउन मुस्किलै पथ्र्यो । ट्वीटरमा सबैका काका, हरि न्यौपानेले लुकाएर जोहो गरेको मकै र फुरुनदानाले उकालोमा प्राण धान्नलाई खुब मद्दत गर्यो । पदयात्रामा हाम्रो समूहको संयोजक नै थिए काकाबा । समूहमा १८ जनाजति थियौ, जो बिभिन्न किसिमले पदयात्राको सूचिमा एकबद्ध भएका थियौ । आफैले पटकौ यात्रा गरेका काका नाममा मात्र हैन व्यवहारमा पनि परिपक्क र सबैले सम्मान गर्न लायक थिए । तीनदिन अघि नै नामदेखि सबै कुरा सुनिश्चित गर्नुपर्ने आयोजकको बाध्यताकाबीचमा पनि काकाले मलाई एकदिन अगाडि त्यो पनि ढिलोमात्र समावेश गरिपाँउ भनेको हालेको निवेदन स्विकारेका थिए ।

पदयात्रामा अनुशासनमा रहनु मजस्ता अस्थिर बिचार र व्यवहार दुवै हुनेहरुका लागि सजाय नै थियो । खाना खाने बेला, भोकले खुट्टा चल्न मुस्कीलको क्षणमा पदयात्रामै पर्ने घरमा खुईल्याइरहेको बोको र पकाउन तयार पारेको मासु देख्दा सहभागि उपेन्द्र अर्याल, तुलसी नेपाल लगायत अरुलाई पनि यात्रा बंक गर्न मन नलागेको हैन । कुपन लिएर खाना खानुपर्ने, त्यो पनि लाइन लागेर । बल्ल पालो आयो, खाना थापेर हतारमा मुखमा के परेको थियो, मुखै बिग्रिएजस्तो भयो । ब्राउन राइस त्यो पनि उसिनेको, उसिनेकै साग र झोल हालेको गेडागुडी । थोरै स्वादीलो गुन्द्रुकमात्र थिएन भने एकगाँस छिर्ने छाँट थिएन । उता डाक्टर साव भन्दै थिए, ‘३२ पटक चपाएर खानुहोला, मात्र १५ सेकेन्ड लाग्छ ।’ ‘खोले पनि के चपाएर खाने?’ पदयात्रीहरुमा यस्तो टिप्पणी आदानप्रदान भैरहेको थियो । लेन्दाई, अनन्त, इन्द्र, पागलबस्ती लगायत हाम्रा समूहका साथीहरु बाहिर नबोलेपनि खानाको बारेमा उनीहरुको मन अमिलिएको स्पष्ट थाहा हुन्थ्यो ।

खाना त खाइयो । खाना नफ्याक्ने उर्दीलाई कसले काट्न सक्ने? ३२ पटक नभएपनि २३ पटक सम्म चपाएर पेट भरियो । पेटले किन मान्थ्यो, नुन, तेल र मसला बिनाको उसिनेको खाना खाएपछि रिसाएरजस्तो गहु्रंगो भएको थियो । उर्दी आयो, अब नाँच्ने । लौ मार्यो । र पनि सहभागि हुनैपर्यो । उपेन्द्र अर्यालले छोटो भाषण गरे हाम्रो समूहको तर्फबाट “धेरै टिप्पणी नगरुँ, यात्रा बहुत रमाईलो छ ।” यसो भन्नु अर्यालको बाध्यता थियो । नाचगान टालीका बीचमा एकपदयात्री महिलाले न्याप न्युप भन्दै लामो भाषण गरिन् जुन त्यहाँ कसले सुनोस् ध्यान दिएर । अर्की महिला गीत लिएर आइन्, ‘ब्राउन राइस खाँउ, ब्राउन राइस खाँउ, आफ्नो स्वास्थ्य राम्रो पार्न ब्राउन राइस खाँउ... ’ उनको चुरीफुरीबाट अनुमान लाउन सकिन्थ्यो कि ती महिला एनजीओ चलाउछिन्, कि त प्रशिक्षक हुन् । जे भएपनि उनको गीतमा हाम्रो समूह रमाइरहेको थियो लेन्दाईको नाचमा ।

यात्रा लामै थियो । उकाली ओरालीहरु टन्नै थिए । नथाकेको कोही थिएन । रमाईलाको लागि खानालाई कसैले खोले, कसैले केही नाम दिएपनि किन त्यस्तो खाइयो, कारणबाट सबै जानकार भएकाले थप र अनावश्यक चर्चा कसैले गरेन । एकैस्थानमा वरिपरी पर्नेगरी पदयात्रामार्ग तय भएपनि कसैले आयोजकलाई सोधेन किन यस्तो? उकाली ओराली गर्दै ठुलो लस्करमा अपरिचितहरुकोबीचमा परिचित हुदै यात्रा गर्नुको मुख्य उद्देश्य स्वास्थ्यलाई बलियो बनाउनु, पकृतीलाई माया गर्नुकै वरिपरी घुमेको छजस्तो लाग्यो । दिनभरीको यात्राले एउटा नयाँ अनुभव हासिल गर्न मद्दत गर्यो । धन्यबाद सबभन्दा पहिले काकाबा अर्थात हरि न्यौपानेलाई यो पदयात्राको संयोजनका लागि, अनि इन्द्र क्षेत्रीलाई अन्तिम समयसम्म मलाई पदयात्रामा समेट्नका लागि । कुनैपनि क्षण र अवसर त्यही किसिमले दोहोरिदैन । अनि धन्यबाद प्रकृती प्रेमी समूह, निरोगधाम र डा. उमेश श्रेष्ठलाई ।
फागून २७, २०६८ शनिबारको ढल्कदो रात, आफै ट्वीट गर्नु एउटा मज्जा अर्काका ट्वीट पढेर आनन्द लिनु झनै मज्जा । यत्तिकैमा एउटा भनाईले झस्कायो “नेपालमा सामाजिक सञ्जालका प्रयोगकर्ता कि त बच्चै छन् कि आदीमानव? कस्तो दुर्भाग्य, उनीहरु आफ्नो परिचय पनि लुकाउछन् ।” यो भनाई अरु कसैको नभई धेरैले चिनेका पत्रकार तथा लेखक किशोर नेपालको टाइमलाईनबाट आयो । म मात्र हैन अरु पनि झस्किएका रछन् नेपालको टाइमलाइनबाट आएको अभिव्यक्ति पढेर । तत्कालै धेरैले त्यसमा प्रतिकृया दिए मैले पनि दिए । बिषयले रोकिने छाँट नलिएपनि यसको पक्षमा पनि स्वरहरु थपिन थाले । यो क्रम निरन्तर चलिरह्यो र आइतबारसम्म पनि जारी नै छ ।
स्वतन्त्र अभिव्यक्ति हरेक नागरिकले राख्न पाउनुपर्छ । झन सामाजिक सञ्जालले गर्दा स्वतन्त्र अभिव्यक्तिका लागि परम्परागत मिडियाको ढोका ढक्ढक्याउने दिन सकिएको छ । आफुलाई लागेको कुरा बोल्नका लागि सम्पादकको स्विकृती कुरिरहनुपर्दैन । तर नेपालको पत्रकारितामा परिचित र धेरैले बरिष्ठ भनेको सफल सञ्चारकर्मी नै सामाजिक सञ्जालको लोकप्रीयताप्रति किन खनिए? किन निष्कृष्ट शब्दका साथ उनले प्रयोगकर्तालाई बच्चा र आदीमयुगका मानव जो भेष लुकाउन चाहान्छन् भन्ने आशयले आफ्नो धारणा पोखे? उनको यो भनाईसँग व्यक्तिको चरित्रसँग जोडिएर पनि वादविवाद किन भयो? सामाजिक सञ्जाल तथा न्यु मिडियाको विकासमा रुची राख्ने र यसलाई समाज परिवर्तनका लागि उपयोग गर्न अभिप्रायले यसमा आवद्धहरुले एकपटक सोच्ने बेला आएको छ । गालि गलौजपुर्ण अभिव्यक्तिको पछाडिको कारण खोज्नुपर्छ जस्तो लाग्छ । किशोर नेपालले आइतबार पनि ट्वीट गर्दै भनेका छन् “सामाजिक सञ्जाल÷न्यु मिडियालाई सामाजिक परिवर्तनमा प्रयोग गर्न सकिएन तर आफ्ना बकम्फुसे गफ दिन मात्र उपयोग गर्ने हो भने एकदिन सबैका लागि यस्तो व्यवहार प्रत्युपादक हुनसक्छ ।” नेपालको यो भनाईमा पुर्ण सहमत हुन नसकेपनि यसको आसयबाट होसियार हुनुपर्छ ।
नेपालमा सामाजिक सञ्जाल÷मिडियाको बारेमा सधै उठ्ने एउटा प्रश्न हो यसका प्रयोगकर्ताहरु आँलाकाँचा ठिटाहरु हुन् जसले मनोरञ्जनका लागि मात्र सामाजिक सञ्जालको प्रयोग गर्छन्? कति छन उपभोक्ता? को हुन् उनीहरु? यकिन संख्या अहिलेपनि अनुमानका आधारमा भन्नेहरु धेरैछन् । अनि सामाजिक सञ्जालको कुरा गर्दा सबभन्दा पहिले फेसबुक आउँछ । विश्वमा ट्वीटर लोकप्रीय भएपनि हामीकहाँ ट्वीटर प्रयोगकर्ताहरु भर्खर बढ्दैछन् । कतिलाई अहिलेपनि थाहा छैन ट्वीटर के हो भलै फेसबुकमा हाम्रो अग्रजपुस्ता पनि जमिसकेको छ । अन्य लोकप्रीय सामाजिक सञ्जाल÷मिडिया जस्तै ब्लग, युट्युव, लिंक्डइन, फोटो सेयरीङ साइट लगायत थुप्रैछन् सामाजिक सञ्जाल जसको बारेमा कमै ज्ञाता छन् भने तीनलाई प्रयोग गर्नेहरु पनि धेरै छैनन् नेपालमा । त्यसैले सामाजिक सञ्जालको लोकप्रीयतासँग यसको प्रयोगको बारेमा जनचेतना बढाउन बिभिन्न संस्था तथा व्यक्ति लागिरहेकाछन् । जुन सह्रानीय छ ।
इन्टरनेटको लोकप्रीयतासँग स्मार्टफोन प्रयोगकर्ताहरुको संख्या दिनानुदिन बढ्दैछ नेपालमा । ५० प्रतिशत जनताको हाराहारीमा पुग्न आँटेको फोन सुबिधाले इन्टरनेटलाई पनि गाउँगाउँ पुर्याउदैछ । युवा जमात इमेल चलाउदैनन् तर फेसबुकका लागि इन्टरनेट चलाउँछन् । त्यो पनि दुरदराजका गाउँमा । धनकुटाको एउटा कार्यक्रममा भेटिएका २५ जना युवाहरु धेरै फेसबुकमा थिए मोवाइल फोनमार्फत । फेसबुकमा लगभग नियमित उनीहरुमध्ये धेरैले इमेलको पासवर्ड चाहीँ भुलेका थिए । भन्नुको मतलव इमेलभन्दा पनि बढी सामाजिक मिडिया प्रयोग गर्ने र त्यसको उपयोगिता देख्ने युवाहरुको जमात उल्लेख्य छ । इन्टरनेटले युवाजमातलाई हरेक क्षण आकर्षण गरिरहेको छ । सामाजिक सञ्जालले लोकप्रीयता हासिल गर्ने क्रम बढेसँग यसको व्यवस्थापन र सही उपयोगको बहस उठिरहेका बेला किशोर नेपालजस्तो दिग्गज पत्रकार जो आफुपनि सामाजिक सञ्जाल ट्वीटरमा अपडेटेडजस्ता देखिन्थे उनको अभिव्यक्ति आदीमानवजस्ता र केटाकेटीले नियन्त्रणमा लिएका सामाजिक सञ्जाल भन्नुले एकपटक सामाजिक सञ्जाल अभियन्ताहरुलाई झस्काएको छ, सोच्न बाध्य बनाएको छ यदी समस्या छ भने सुधार आवश्यक छ ।
यही सेरोफेरोमा लामो भुमिका लेख्दै म अब यो बाँकी छलफलमा यहाँहरुलाई निम्ता गर्छु? के नेपालले भनेको स्थितीमै छौ हामी? यदी हो भने सुधारका लागि उपायहरु के के हुन्?

Origianally published at MeroReport http://meroreport.net/profiles/blogs/6365517:BlogPost:67700

“तिमीहरु नजाने भए म त आजै जान्छु,” बिष्णुले यसरी घुर्की लगाईरहँदा मनभित्र दबिएर रहेको मेरो चाहना जाग्नु स्वभाविक थियो । म बर्षमा कम्तिमा पनि दुईपटक धनकुटा पुग्ने गर्छु, तर छिन्ताङ जाने मौका जुरेको रहेनछ । यसपाली साथी बिष्णु खत्रीले छिन्ताङ जाने अड्डी लिएपछि सहकर्मी इन्द्र क्षेत्री र म पनि मिसिने भयौ छिन्ताङयात्रामा ।

“छिन्ताङमात्र हैन तिमीहरुलाई म अर्को पनि एउटा ठाउँमा लान्छु जुन छिन्ताङजस्तै ऐतिहासिक महत्वको त छैन तर भविष्यमा त्यो एउटा इतिहासको प्रतिबिम्ब हुनेछ,” मैले पनि शर्त तेस्र्याए । कौतुहलताले बिष्णु, इन्द्र, कविता सबैजना राजी भए । धनकुटाका मेरा मित्र नैन बिश्वकर्मा, जो अहिले रेडियो मकालुमा स्टेशन म्यानेजर छन्, त जहिलेपनि यात्राका संयोजक नै भएर राजी हुन्छन् यसपाली पनि भए । नपत्याउने किसिमले योजना बन्यो घोर्लिखर्कमा बन्दै गरेको शान्ति पार्क भ्रमणपछि छिन्ताङ पुग्ने र त्यही दिन बेलुका बास बस्न भेडेटार झर्ने । बिहान ११ बजेसम्म नेपाल पत्रकार महासंघ धनकुटाका पदाधिकारी र स्थानीय पत्रकारहरुसँग सामाजिक मिडिया र सञ्जालको प्रभावका बारेमा छलफल गरेर हामी हुर्रियौ हिले पाख्रीबास हुदै सिधै घोर्लिखर्कको ढिकुरेतीर जहाँ केही बर्ष अगाडिदेखि स्थानीय बासिन्दाको पहलमा शान्ति पार्क निर्माण भइरहेको छ ।

नियमजस्तै छ मेरो, धनकुटा पुगेपछि मलाई शान्तिपार्क जानै पर्छ । शान्तिपार्क जाने भएपछि त्यही गएर लोकल कुखुरा र भात टन्न खानैपर्छ । “खाना त सेलाएर सिङ नै उम्रियो नि” सामान्य होटलको अगाडि गाडि रोक्नेबित्तिकै भित्रबाट महिला आवाज आयो । नैनजीले माफ माग्दै भोक लागेको कुरा गर्दा यात्राका अरु सहभागिहरु दिपक, बिष्णु, इन्द्र, कविता र सबैभन्दा सानो यात्री बिश्रुद पनि भोकले पाइला सार्न नसक्ने अबस्थामा थिए । भोक लागेपनि नलागेको स्वाङ पार्दै दरो छु भन्ने देखाउन मलाई अलिकति पनि संकोच थिएन । आहा, कस्तो स्वादिलो खाना, मोही, साग, अचार, लोकल कुखुरा र मासको दालसँग भात बजाउन पाएपछि को बोल्छ? खाउँन्जेल चुँसम्म गरेनन् कोही । धनकुटाबाट लेगुवा हुदै भोजपुर र संखुवासभा पुग्ने बाटोको किनारामा बसेर हामीले खाना खायौ ।
शान्तिपार्क बनिरहेको स्थानमा पहिले तामाङ जातीको ‘माने’ थियो । द्धन्द्धको समयमा त्यसलाई भिडन्तस्थलको रुपमा उपयोग गर्न तत्कालिन अबस्थामा कोही पछि परेनन् । रेडियो कार्यक्रम नयाँ नेपाल सुन्ने श्रोता समूहका बीचमा अन्तरक्रिया हुदाँ प्रस्ताब आयो “यहाँ किन शान्ति पार्क नबनाउने? तामाङजातीको पबित्रस्थलको संरक्षण पनि हुने, इतिहासमा युद्धको निशान कायम पनि रहने ।” यस्तै तर्क बितर्कका बीचमा बिभिन्न चरणहरु पारगर्दै शुरु भयो शान्तिपार्क निर्माण योजना । भोजपुरको ट्याम्केडाँडादेखि पुर्वी दक्षिण भोजपुरको अधिकांश भाग, संखुवासभाको तुम्लिङटार बिमानस्थल, अरुण उपत्यका, अरुण नदी, मकालु हिमाल समेत छर्लङ्घ देखिने अग्लो ठाउँमा भ्यु–टावर बन्ने भयो । गाउँलेहरु उत्साहित भए । धेरै काम जनश्रमदानबाटै भयो । बिभिन्न निकाय तथा सरकारी संयन्त्रबाट सहयोग हुने भएपछि शुरु भएको शान्तिपार्क निर्माण अहिले अन्तिम चरणमा पुगेको छ । तथापी समुदाय केही आर्थिक सहयोगको अभावमा काम रोकेर बसेको छ । “सरहरुले शुरु गर्नलाई प्रोत्साहन गर्नुभयो र यहाँसम्म पुग्यौ, टुङयाउनलाई पनि सहयोगको अपेक्षा छ,” स्थानीय युवा झमक श्रेष्ठको अपेक्षाले चित्तबुझ्दा उत्तर नपाएपनि मैले मनमनै सोचे, “केही त गर्नैपर्छ । यस्तो ऐतिहासिक कामका लागि सहयोग गर्ने मौका फेरी कहाँ आउँछ र?”

अजंङ्घको डाँडामो चढ्नलाई खुट्टा कामीरहेका भएपनि मैले पाँचबर्ष पुग्नै लागेको बिश्रुदलाई पनि टुप्पोमा पुर्याउने आँट गरे । डराउँदै उक्ल्यो उ पनि । कवितालाई डर लागेको परैबाट महसुश गर्न सकिन्थ्यो, तर छोरो नै चढेपछि आमालाई चुनौती । दुई खुड्कीला चढेर चार खुड्कीला झर्दै भएपनि उनी पनि पुगिन् टुप्पामा जहाँ पुगेपछि लाग्छ संसारमा डर भन्ने चिज नै छैन । जताहेरे पनि रमाइलै रमाईलो । बिष्णु र इन्द्रको जोडि खुब जमेको थियो । उनीहरुलाई हेर्दा लाग्थ्यो यात्राको मज्जा लुट्नमा को भन्दा को कम । दिपक, नैनजीको लोकप्रीयता देखेर चकित भैसकेको थियो । जसले पनि नमस्ते गर्ने, नचिनेको मान्छे कोही छैन जस्तो । हो पनि नैन बिश्वकर्मा धनकुटामा धेरै गाउँलेले चिनेको ग्रामिण पत्रकार हुन् । सरल जीवनशैली र आत्मीयता उनका गहना हुन् । बिगत छ बर्षदेखि निरन्तर संगतमा छु म उनको । मलाई सर भनेर संवोधन गरेपनि म अहिले पनि उनको स्थानमा पुग्न सकेकोछैन न त सक्छु नै ।
ओ, छिन्ताङ्घको कुरो त भुसुक्कै बिर्सिएछ । हामी अब छिन्ताङ्घका लागि प्रस्थान गर्यौ । घडीले १ बजाउनै लाग्दा हाम्रो जीपले गति नलिदै पाख्रिबास हुदै हिले पुगेर बाटो सोभियो खोकु छिन्ताङ्घतीर । “किन खोकु छिन्ताङ?” “हेर यो ऐतिहासिक स्थान हो । पहिले राजनीति गर्दा यसको बारेमा खुब चर्चा गरियो । १६ जना स्थानीय नागरिकलाई निर्मम हत्या भएको स्थान हो छिन्ताङ । म पाल्पालीलाई त यति कुरा थाहा छ भने तिमी भन्छौ छिन्ताङ किन जाने?” बिष्णुको कुरामा मैले सवाल जवाफ गर्नु आवश्यक ठानीन । बाग्लुङे (हाल चितवन) इन्द्र रमाइलो मानिरहेका थिए । एक महिनापछि कोरीया जाने तयारीमा रहेका दिपक भारतीलाई यो मौका चिठ्ठा नै परेको थियो । कविता र बिश्रुद यात्राको आनन्द लिन पुर्ण तयार देखिन्थे । मैले बिष्णुलाई जवाफ दिन आवश्यक ठानीन कीनकी धनकुटाको छिन्ताङ इतिहासमा कलंकित नाम हो । २०३६ सालमा सुर्य बहादुर थापा प्रधानमन्त्रि हुदाँ छिन्ताङका निर्दोष गरिव, किसानहरुले खानेकुरा मागेका के थिए राज्यका सिपाहीहरु लगाएर उनीहरुलाई निर्मम तरिकाले मारियो । उनीहरु राजनीतिक रुपमा जोसुकैबाट प्रशिक्षित भएपनि त्यहाँका गरिब जनता थिए । धनकुटामा बिकट मानिने छिन्ताङको गरिबीले आक्रान्त पारेका उनीहरुसँग बिकल्प केही नभएपछि स्थानीय साहूहरुका अन्नपात लुटेकै भरमा उनीहरुलाई क्रुर तरिकाले प्रशाशनले हत्या गरेको थियो । राजनीतिक रंग लगाएर खेदीखेदी, यातना दिएर, भीरबाट गुल्ट्याएर, भर्खरकी सुत्केरीलाई लतारेर उनीहरुका लाश भीरमा पुरेर गरिब हुनु अपराधी हुनु हो भन्ने सन्देश छर्दै एकदुई दिनको अन्तरमा १६ जनालाई पाशविक तरिकाले हत्या गर्ने बेलाका प्रधानमन्त्रि सुर्य बहादुर थापा छिन्ताङबाट एकडेढघण्टाको दुरीमा रहेका मुगा गाउँका स्थानीय बासिन्दा थिए । त्यही क्रुर इतिहासको झलक दिने जिउँदो ऐतिहासिकस्थल जानु हामी न्यायमा बिश्वास गर्ने युवाहरुका लागि छिन्ताङ मात्र एउटा गाउँ नभएर ऐतिहासिकस्थल र पवित्र थियो । त्यहाँ पुग्नुपनि इतिहासलाई नजिकबाट अध्ययन गर्नु थियो ।

मेरा आदरणीय दाजू तथा मित्र किशोर थुलुङले कैयौ चोटी सुनाएको गीत ‘खोकु छिन्ताङ दुख्यो की अरुण सुसाँउदा....’ आज एकपटक फेरी कानैनेर बजेजस्तो भान भइरहेको थियो बाटोभरी । भीर र पहरा फोरेर लमतन्न परेको धुले सडकलाई चिर्दै हामी छिन्ताङ पुगेर सहिद (राज्यले औपचारिक रुपमा भनेको छैन) को मुर्तिको अगाडि उभिदा छाती ढक्क फुलेको थियो । मनमनै सोचे मैले यो देशका लागि के गर्न सक्या छु, यो समाजका लागि म बाँचेको छु र? म त मेरै लागि बाँचेको छु, मेराहरुका लागि बाँचेको छु । देश र समाजका लागि मेरो योगदान के छ र? यि यहाँ लामबद्ध १६ जना बीर योद्धाहरु जसले न्याय माग्दा राज्यको बन्दुकले उनीहरुको प्राण लियो । उनीहरुमा फुल अर्पण गर्दा श्रद्धाले शिर निहुरियो । सँगै गएका अरु पनि भावुक देखिन्थे । तर त्यतिबेला चस्स दुख्यो जतिबेला मदन भण्डारीको सालिक पनि ती १६ जना छिन्ताङे गरिब किसानहरुको भन्दा अलि पर ठडिएको देखे, मानौ भण्डारी त्यहाँ बसेर ती १६ जनाको सुरक्षा दिइरहेकाछन् । भण्डारीप्रति पुर्वाग्रह छैन मेरो तर त्यहाँ त्यो सालिक नराख्या भएपनि केही हुन्नथ्यो भन्ने चाँही लागेकै हो । नैनजीले भने, “वहाँकै पालामा यो पार्क बनेको हुनाले सम्मान स्वरुप सम्झना हो वहाँका लागि, अन्य अर्थमा नबुझ्दा बेश ।” नैनजीको कुरा सुन्दै अरु लम्व्याउनु ठिक लागेन यो सवाललाई । मनमनै संझे आज मित्र किशोर थुलुङ पनि सँगै थिए भने यहाँ बसेर उनको सदावहार गीत खोकु छिन्ताङ सुन्दा बेग्लै अनुभुति हुन्थ्यो होला । संयोग पनि कस्तो? हामी छिन्ताङ पुगेकै दिन धनकुटामा बिशेष कार्यक्रम आयोजना गरेर पिडित परिवारका सदस्यहरु ती १६ जना न्यायप्रेमीहरुलाई राज्यले शहिद घोषणा गरिदियोस् भनेर दवाबमुलक अन्तरक्रिया गरिरहेका थिए ।

शहिदपार्क छिन्ताङको एउटा ऐतिहासिक पाटो हो भने त्यहाँ रहेको छिन्ताङ जाल्पादेवी मन्दिर त्यहाँको अर्को लोकप्रीय धार्मिकस्थल । सुनेको धेरै भएकोले पनि होला कस्तो होला मन्दिर भनेर कौतुहलता धेरै थियो मनमा । तर मन्दिरको गेटमा नपुग्दै सियोले घोचेसरी चसक्क भयो मन मानौ कमिलाले मुटुको बीचमै गएर चिलिरहेछ । किन त? सूचना पाटीमा टाँसिएको थियो ‘१२ बर्ष माथिका महिलालाई प्रबेश निषेध ।’ किन यस्तो बिभेद? स्थानीयहरुसँग “खै पहिलेदेखि चलेको चलन हो हामीलाई पनि थाहा छैन किन पस्न नदिएको हो महिलालाई” भन्ने बाहेक चित्तबुझ्दो जवाफ थिएन । कविताको मन झनै दुखेको महशुस गर्न सकिन्थ्यो । तर हामी त्यहाँ लड्न गएका थिएनौ, खुरुक्क आज्ञापालक झै गरी उनी गेटमै बसुन्जेल हामीले भने मन्दिरभित्र गएर १५ मिनेटजति बितायौ । त्यो बसाईमा मैले केही पनि त्यस्तो रहस्य थाहा पाइन जुन महिलाबाट लुकाइएको होस् । धन्य हाम्रो समाज? कुनै बैज्ञानीक कारण र आधारबीना नै मनमा जे आयो व्यवहारमा त्यही गर्छ । “यहाँ दलितलाई पनि प्रबेश निषेध थियो, तर हामीले सामूहिक रुपमा तोडेको हो । अहिले कसैले हिम्मत गर्दैन नत्र हामीलाई पनि पस्न दिदैनन् यो मन्दिरमा,” नैनजीले स्पष्ट नपार्या भए मैले सोध्नै आँटेको थिए, महिलाबाहेक अरु ककसलाई निषेध यहाँ प्रबेश गर्नलाई? कुनै कारणबीना नै बनेको नियमलाई कहिलेसम्म कायम राख्ला छिन्ताङे समाजले? बिभिन्न तर्क बितर्क गर्दै धनकुटा फर्किदा हिलेमै सात बजेको थियो ।

“आज भेडेटार जाने? नजानु बेश हुन्छ । राती भयो, समय ठिक छैन ।” यसो भनिरहँदा स्थानीय हिङवाले ट्रीप दिने छाँट नदेखेपछि नैनजीले कोदोको मगाइसक्नु भएको थियो जुन एक गिलास मेरो लागि पनि थियो । बिष्णु, इन्द्र र दिपक भने तोङवामा भिडिसकेका थिए । मैले तोङवा नाँई भन्ने एउटै कारण थियो, खान समय दिएर खानुपर्ने अनि लाग्न पनि समय लिएरै लाग्छ, खाँदा भन्दा पछि धेरै गन्हाउँछ, त्यो पनि कोठा, ट्वाइलेट सबैतीर । स्वाद र गन्ध दुवै मननपर्ने अनि स्वास्थ्य र श्रीमती दुवैका लागि हानीकारक भएपनि धनकुटाको कोदोकै ठिक हुने ठानेर हिङ्वा जीब्रोमा नझुन्डिएपछि मैले पनि साथ दिए नैनजीलाई । कतिन्जेल हिलेमा बसियो कुन्नी भात खाएर धनकुटा पुग्दा रातको साढेदश भएको रहेछ । धन्न कोठा पाइयो ।

भोलीपल्ट शुक्रबार बाहुन समाजको आह्वानमा पुर्वाञ्चल बन्दको कार्यक्रम । अघिल्लो दिन हिलेबाट समाजका जिल्ला सचिवसँग त फोनमा लामै कुरा भएको हो । तर के कुरा भयो भोलिपल्ट अलि हेक्का भएन । उनले भनेपनि तपाईहरुलाई धरानसम्म पुग्नका लागि हामी बाधा गर्दैनौ । तर भोलीपल्ट जति पैसा दिन्छु भन्दा पनि कुनै गाडिवाला तयार भएनन् हामीलाई धनकुटाको सिमाना कटाउन । बिष्णु र इन्द्र त तीनपटक बसपार्क नै पुगे छट्पटीएर । तर आफ्ना हातमा केही थिएन । बजार घुम्नु, होटलमा पुग्नु, खुइय गर्नु निरन्तरजस्तै हुन थाल्यो । ए, यत्तिकैमा आन्दोलनरत शिक्षकहरुले धनकुटा बजारमा सिठ्ठी जुलुस निकाले । कारण रहेछ, सरकारले शिक्षकका माग सुनेन अनि सुन्ला की भनेर सिठ्ठी बजाएको । बन्दको दिन भएकोले त्यो दिन बजारमा फुकेको सिठ्ठी सरकारको कानमा पर्यो की परेन हामीलाई भने केही समय भएपनि समय कटाउने मेलो भयो सिठ्ठी जुलुस र त्यसलाई लिएर स्थानीय नागरिकले गरेको प्रत्तिकृया ।

दुइबजेतिर साथीहरुले जुक्ति निकाले, ‘नाइट बस जान्छ रे त्यसैमा जाने ।’ जसरी पनि धरान, इटहरी फिर्नु नै थियो राजी भयौ सबैजना बसमा जानलाई । तीनबजे बस छुट्छ भनेर काउन्टरवालाले हावादारी गफ दिइरहे पनि हामीले पत्यायौ र तुरुन्तै भेला भयौ सामान सहित बसपार्कमा । परबाट एउटा माइक्रो आयो । लौ न के हुन लाग्यो? सबैमा यस्तै उत्साह भरिएर आयो । नभन्दै तीनजनाको सिटमा पाँचजना कोचिएर धरानपुग्दा दिउसोका चार बजेको थियो ।

“अब के धरान घुम्ने?” बिष्णु र इन्द्रलाई धरान पनि नौलो नै थियो क्यारे । म, दिपक र कविता खासै उत्साहित भएनौ धरान घुम्नलाई । “त्यसो भए बराहक्षेत्र जाने त?” सबैले एकैसाथ खल्ती छामे । पाँचजनाले ७ सयका दरले तीर्ने हो भने बराहक्षेत्र पुगेर इटहरी फर्किन सकिने भयो । “तर अहिले गएर फर्किन सकिन्छ त?” अधबैशे गुरुजीले मारुती भ्यान तेस्र्याउदै भने “भ्याउँछ नी किन नभ्याइनु । आउनोस् न मसँग जाउ ।” उनको कुरा सुन्दा लाग्यो बराहक्षेत्र उनका लागि नौलो ठाउँ होइन । हामीलाई बराहक्षेत्र लान अरु मारुती भ्यानचालकहरु पनि राजी हुदाँहुदै मैले तीनै अधबैशे गुरुजीलाई बिश्वास गर्नु उचित ठाने ।

धरान–चतरा–बराहक्षेत्र । मेरा लागि यी स्थानको नामले नै मात्रपनि बाल्यकालको याद ताजा गराउँछ । बर्षौ भएको थियो चतरा नपुगेको । बराहक्षेत्र पनि । उत्साहित म थिए अरुभन्दा धेरै । ९ बर्षको छँदा पहिलोपल्ट मैले बाटो खनिरहेको डोजर त्यही बराहक्षेत्र र चतराको भीरको बीचमा देखेको थिए जसलाई देख्दा म त्यो बेला कम्ता रोमाञ्चीत भएको थिइँन । तर म १७ बर्षको हुदाँसम्म पनि त्यो बाटोमा गाडि चलेन । चतरादेखि धरान, चतरादेखि झुम्का त पहिलेदेखि नै यातायातले सुगम बनाएको थियो । तर बराहक्षेत्रबाट चतरा पुग्न चाँही कम्तिमा दुईघण्टाको पैदल यात्रा गर्नैपथ्र्यो । ती ८ बर्षहरुमा यो बाटो मैले कैयौपटक छिचोलेको छु । भोजपुरको भुल्केबाट चतरा नआइकन चियामा हाल्ने चिनि पाइदैनथ्यो म जन्मे हुर्केको गाउँमा । नुनदेखि सुनसम्म खरिद बिक्रिका लागि दुई दिनको अविरल यात्राबाट मानिसहरु आवत जावत गर्थे हिडेरै । त्यसरी हिड्नेमा म पनि एक थिए, भलै मैले सुनको कारोबार गरिन, ढाकरमा तक्मा टेकाउँदै कैयौपटक नुन भने बोकेको छु त्यो बाटोमा । बर्खामा उर्लिएर आउने सप्तकोशीले कैयौ ढाकरेको ज्यान लिन्थ्यो किनकी बराहक्षेत्रदेखि तम्मोर (त्रीवेणी) सम्मको बाटो सारै डरलाग्दो भिर थियो र अहिलेपछि त्यस्तै छ । खुट्टा चिप्लियो की कोशीमा ।
तर चमत्कार भएछ । यसपाली म मारुती भ्यानमा बसेर आरामले बराहक्षेत्र जाँदै थिए । मलाई पत्यार लागेको थिएन । बरु उल्टो डर थियो मनमा कताकता । तल सुसाइरहेको सप्तकोशी, पहरो छिचोल्दै बनेको ग्राभेल बाटो, ठाउँ ठाउँमा कठिन उकालो, अनि डरलाग्दा घुम्तिहरु । ‘साँझमा किन आएको होला म?’ बाटैभरी यस्तै सोच्दै गर्दा ड्राइभरले ल झर्नोस भन्दा पो म झसंग भए, बराहक्षेत्र त नजिकै पो आइसकेछ । १० मिनेटको हिडाईपछि मन्दिरमा पुग्दा साँझको आरती शुरु भयो । सबैले ठान्यौ यस्तो मौका दुर्लभ नै हुन्छ । हो पनि । अरुले पनि यस्तै भने, आरतीको समयमा पुजा गर्न, दर्शन पाउनु भनेको दुर्लभ नै हो । त्यो पनि एकैदिनमा, एकछिनका लागि बराहक्षेत्र पुग्नेहरुले । बराहक्षेत्र, मुक्तिक्षेत्र, कुरुक्षेत्र र हरिहरक्षेत्र यि चार क्षेत्र हिन्दु धर्मावलम्बीहरुकाबीचमा अत्यन्तै लोकप्रीय तीर्थस्थल हुन् । पुजापछि पुजारीले हामीलाई यस्ता धेरै कुरा बताए ।

यात्रामा सबैकुरा हामीले सोचेजस्तो भएन । धरानबाट हिड्नेबेलामा इटहरी छोडिदिने बाचा गरेर भाडा कबुल गरेका गुरुजीले एकबोतल लोकल दन्काएको देख्नेबित्तिकै मनमा चसक्क पसेको थियो । ‘कतै सपरिवार कोशीमा..?’ एकघण्टाको भिरको बाटोमा अरु पनि डराएका रहेछन् । हसिमजाक मन पराउने बिष्णुलाई पनि त्यो बेला मैले यात्राभरीकै गम्भिर अबस्थामा देखे । चुँसम्म आवाज निकालेन । बोल्न खोज्दा पनि स्वर थर्थराएजस्तो । अनुहार पनि निन्याउरो । म अगाडि गएर गुरुजीलाई गति नियन्त्रीत गर्न उत्प्रेरित गर्छु भन्ने इन्द्र पनि जाँदा जति उत्साहित थिए अहिले लाग्थ्यो डराइरहेकाछन् । दिपक र बिश्रुद दुवैजना बाटैमा निदाए । कविता मेरो छेउमा सास रोकेर टाँसिएकी थिइन् । मलाई भने गुरुजीप्रति शंका लाग्न थालेको थियो ‘कतै यस्ले गलत काम त गर्दैन?’ शंका लाग्ने केही आधारहरु थिए, जस्तै गुरुजी हामीलाई बराहक्षेत्रमै रात बसाउने तरखरमा थिए । प्रयास गरिहेरे । अरुले निर्णय गर्न सकेनन् तर मैले मानिन । जसरी पनि इटहरी पुग्ने मेरो योजना थियो । पुजा सकेर गाडि चढ्न लाग्दा गुरुजी फेरी अघि सरे र भने “तपाईहरु धरानै बस्नोस् ।” मैले फेरी मानिन । लाग्थ्यो उनी रिसाइरहेका पो छन् की? लामो यात्रामा सबैथोक गर्नु ड्राइभरलाई नजिस्क्याउनु, मैले लामो यात्रा गरिरहँदा अनुभव गरेको यथार्थ के हो भने गुरुजीलाई आफ्नै किसिमले काम गर्न दिनु तर किचकिच कहिल्यै नगर्नु । तर यहाँ भने गुरुजी नै किचकिच गर्ने तहमा ओर्लिएको र मादक पदार्थ सेवन गरेको थाहाा हुदाँहुदै हामीसँग बिकल्प थिएन ।
बल्ल चतरा पुगियो । लामो सास तान्यौ सबैले । तर अचानक गाडिमा खरावीको संकेत देखियो । पछाडिको चक्का आसपास केही चिजले भुई छुन्छ बेलाबेलामा अजङ्घको डरलाग्दो आवाज निकालेर । के भएको हो गुरुजीले पनि थाहा पाएनन् । बीचमा गाडि रोके, हेरे, तर पत्तो लागेन । इन्जिन बन्द नहुन्जेल चलाउँछु भनेरै होला गुरुजीले गाडि कुदाउने निर्णय गरे । तर फेरी भने “म झुम्काबाट इटहरी जान्न । धरानमा पनि राम्रा होटलहरु छन् त्यही बस्नोस् ।” मलाई रिसको पारो राम्ररी नै चढिसेको थियो । बिष्णु र कविताले नजोसिन आग्रह गरे । अब म बोलिन । गुरुजीले सिधै धरानको बाटो समाते । बिष्णु र इन्द्र दुवैको जोड थियो जताबाट होस् हामी इटहरी पुग्नैपर्छ नत्र एकरुपैयाँ पनि तिरिदैन । डर पनि लाग्यो । धरानमा लगेर गुरुले नै लुट्यो भने? जंगलकै बीचमा गाडि बिग्रीयो भने? चतराबाट धरान पुग्न पनि चारकोशे झाडि काट्नुपथ्र्यो । पटनालीको जंगल पहिलेदेखि नै अपराधीको लागि नामुद स्थान भन्ने सुन्या हो । तर न त बोल्न नै सकिन्थ्यो न त केही गर्न नै । धुलोले भरिभराउ गाडिमा चुपचाप धरान छिर्नु यात्राको कष्टदायि क्षण थियो त्यो पनि रातको ९ बज्नै लाग्दा ।

“मलाई त्यो बाटो डर लाग्छ, अनि इटहरीबाट फर्कदा एक्लै हुन्छु त्यसैले साथी लिन यताबाट आएको ।” डरले नै होला बाटोमा कुदिरहेको गाडिमा चुरोट सल्काउँदै स्टेरिङ समाउने गुरुले बल्ल रहस्य खोले । “म पनि इमान्दार छु, धोका दिन्न । तपाईहरुलाई इटहरी पुर्याइदिन्छु ।” बल्ल आनन्दको सास आयो । सबैजना एकैचोटी मुखामुख गर्दै मुस्कुरायौ । धरान पुगेर इटहरीको पाथीभरा गेष्ट हाउसमा फोन गरी खाना र कोठा दुवैको बन्दोबस्त गरिसकेपछि यात्रामा फेरी रौनतकता छायो । कोरिया जान लागेको दिपक बुझिए । गाडि १० बजेर १० मिनेटजाँदा पाथीभरा गेष्टहाउस इटहरीको अगाडि रोकिदाँसम्म हामी खुलेर यात्राको समिक्षा गरिरहेका थियौ । तर एकाएक उही गुरुजी नयाँ रुपमा प्रस्तुत भए । कबुल गरेको भन्दा बढी भाडा माग्न थाले । म एकरुपैयाँ थप्ने मुडमा थिइन । बिष्णु र इन्द्रतीर देखाउँदै भने “ल साथी हो व्यवस्था गर ।” उनीहरुले के बुझे कुन्नी बिष्णु एकाएक जङ्घिएको देखे । बिष्णुले भनेको सबै कुरा सुनिन् जे सुने त्यसले गुरुजीको चर्को स्वर एकाएक बन्द भयो, गुरु त भुतभुताउन पो थालेछन् । बिष्णुले भनेको यत्तिमात्र थियो, “पाहुनासँग निहुँ खोज्ने, कबुल गरे भन्दा बढी पैसा माग्ने? भनेजति हामीले दिएको छ की छैन? पुलिसलाई बोलाउ?” एकाएक बोल्ती बन्द भएका बिचरा गुरुजी । गेष्टहाउसको तीनतलामाथि पुगेर झ्यालबाट तल चियाउँदा देखे गुरुजी त चुरोटमात्र हैन, नजिकैको ठेलावालासँग झर्किएर माग्दै थिए, “यतिरातीसम्म व्यापार गरेपछि सबै खाले ग्राहकलाई चाहिने कुरा राख्नुपर्दैन? खाली समोसा र चाटमात्र बेच्ने?” अनुमान लाए, सायद गुरुजी एकपटक फेरी खुकुरी रम वा लोकल मध्ये एक नभई गाडि गुडाउने हालतमा थिएनन् ।
फागून २२, २०६८

Popular Posts

Blogger templates

Blogger news

Blogroll

Archive