पोखराको लेकसाइडमा टहल्टाको स्थितीमा अनौठो गीत सुन्ने मौका मिलेको अवस्था थियो । त्यो बेलाको समय साँझ पर्नै लागेको थियो भन्ने अहिले हामीलाई लाग्छ । चिसो थियो वाह्य वातावरण । वास्तवमा गीतको भाका, लय सुने सुने जस्तो लाग्नु स्वभाविक थियो, तर शब्दहरुको बनौट बडो अनौठो भएको हुनाले मेरोमात्र हैन साथमा भएका मित्रहरुलाई पनि त्यसले ध्यान आफुतीर खिच्नु स्वभाविक थियो भन्ने हामीले महशुस गरेको स्थिती थियो । त्यसैले हामीले के निर्णय गर्यौ भने एकछिन भएपनि त्यो गीतलाई सुन्नै पर्ने बस्तुगत परिस्थितीको आधारमा मुल्यांकन गरियो । अनि त्यही अनुसार निर्णय गरी गीत सुनियो । गीतका शब्द अनौठा थिए, जस्तै के खान्छौ कमला, सुन्तला की अमला । वाह, लोकतन्त्रको कमाल? यस्तै रमाइलो र खुलापनकै कारणले बर्षौ जंगलमा बिताएका हाम्रा नेताहरु पनि अहिले लोकतन्त्रकै काखमा लुटपुटिन आएको अबस्था थियो मुलुकमा । हामी त १२÷१३ बर्षदेखि लोकतन्त्रका नाममा हुर्किएको वातावरणमा मौलाएका न परियो । मोजमस्ति, खुलापन, स्वच्छन्दता, के चाहियो? गीत सित्तैमा सुन्न पाएपछि सुन्नै पर्ने निर्णय गरेको अबस्थामा गन्धर्व दाजुभाईहरुको अगाडि बसियो पलेटी कसेर । केटा र केटीले प्रश्नउत्तर शैलीमा गाएको त्यो गीत भएपनि त्यहाँ हाम्रा गन्धर्व दाजुभाईहरुमात्र उपस्थिीत भएर गीत गाईरहेको स्थिती थियो । गायक महिला थिएनन् । नहुनु स्वभाविक पनि हो भन्ने हामीलाई लाग्छ । गीतको अर्को शब्दः सारै राम्र्री भइछ्यौ, कुन साबुनले मुख धोइछौ, म पनि राम्रो हुन्छु त्यही सावुनले मुख धुन्छु भन्ने रहेछ, ताली नपीटी कहाँ बस्न सकिन्छ? गीतका शब्दहरु सुनेपछि दिनभरीको थकान, धुलो र धुवाँले गलेको मुख नछामिकन मन किन मान्ने स्थिती हुन्थ्यो र? मैले मात्र हैन गीत सुनिरहँदा त्यहाँ उपस्थित अन्य दर्शकहरुले पनि मुख छामेको अवस्था हेर्नलायक नै थियो । सायद त्यो गीतमा सावुन र मुख धुएको प्रसंग बलियोसँग उठेकोले हुनुपर्छ । काठमाण्डौमा पानी आउँदैन । पानी नआएपछि मुख कसरी राम्ररी धुन सकिन्छ । त्यसैले यस्तो बेलामा कसैले सावुन, पानीको कुरा गरिहाल्यो भने त्यो अवस्थामा के गर्न सकिन्छ, यहाँहरुलाई भन्नुपर्छ जस्तो लाग्दैन । वास्तवमा शहरको जिन्दगी व्यस्तमात्र हैन अस्तव्यस्त हुन्छ जस्तो हामीलाई लाग्छ । काम पनि छैन फुर्सद पनि छैन जस्तो । अलिक कडा रुपमा भन्नुपर्दा मिसिन जस्तो हो की मान्छे जस्तो लाग्छ हामीलाई । अनि त्यस्तो कोलाहलको अवस्थाबाट बाहिरीनु पाउँदा एउटा उन्मुक्तिको महशुस त अवश्य हुन्छ, तथापी के कुराले सताँउछ भने प्यारो छोरो, मायालू श्रीमती, दुवैको साथबाट भने बाहिरीनु पर्ने अवस्था कम्ता असह्य हुदैन । यसो हुने स्वभाविक पनि हो भन्ने हामीलाई लाग्छ । यसैलाई पहिलेका मान्छेले मायाजाल भनेको हुनुपर्छ भन्ने हामीलाई लाग्छ । अनि यो पनि लाग्छ की यसरी परिवारबाट बिछोडिदाँ माया गाढा बन्छ भन्ने पनि लागिरहन्छ । अनि, हिडदाँ खेरी यस्तै आक्कल झुक्कल, समय र परिस्थितीले सिर्जना गर्ने यस्ता अवसरको भरपुर उपभोग गर्नुपर्छ भन्ने हामीलाई लाग्छ । नेताहरुले भन्ने गर्छन नी, प्राप्त उपलब्धिको रक्षा गर्दै थप उपलब्धिका लागि अगाडि बढनु पर्छ । यो भनाई सही हो भन्ने हामीलाई लाग्छ ।
लोकगीतका पारखी धेरै छन की भन्ने लाग्छ अहिले । तर अग्रेजी गीतका पनि रैछन धेरै । यहाँ फत्तेमानको कन्सर्ट भयो भने कसैले दुइ हजार तीर्ने स्थिती होला त? तर खै ब्रायन आडम्स रे, उ आउँदा ६ हजार रुपैया तीरेर कन्सर्ट हेर्न पनि मान्छे तयार भएको अवस्था देखियो । रंगशालाबरपरको भागमा आज बिहानैदेखि जे देखियो, मानौ त्यहाँ ठुलो उत्सव हुदैछ अनि बिजयोत्सवका लागि नागरिकहरु सडकमा उत्रिएका छन् । अनि जसको गीत सुन्न उनीहरु त्यहाँ भेला भएकाछन् उसलाई भव्य सुरक्षाका साथ प्रहरीहरुले स्कर्टिङ गरेर हर्न बजाउदै ल्याएको पनि देखिएको अवस्था थियो आज दिउँसो त्यहाँ वरपर । बाँच्नुपर्छ देख्न धेरै पाइन्छ भन्ने हामीलाई लाग्न थालेको छ । हेरियो आज त्यो पनि जसका लागि दुनियाँले हजारौ रकम बगाए । आफुलाई अहिले लाग्छ कतै आफुले पनि त बगाएको स्थिती हैन? समय अनुसार चल्नुपर्छ भन्ने लागेर नै होला आ जे होस् भनिरहेको स्थिती हो यो ।
अलिबर्ष पहिलेको कुरा याद आएको अवस्था हो यो लेख लेख्दा लेख्दै । मैतिदेवीको एउटा कोठामा बिद्यार्थी जीवनको दुःखी बास भएको अबस्था थियो । साथी पनि भएको स्थिती थियो भन्ने अहिले लाग्छ । बजारमा एउटा अनौठो गीत आएको हल्ला चल्यो । साथी तोया र म घुम्न भृकुटीमण्डपको हङकङ बजार गएको अवस्थामा हामीले त्यो गीतको अनौठो शैलीलाई मन पराएर क्यासेट किन्ने निर्णय गरियो । गीत थियो वारी जमूना, पारिजमूना । सुन्दै जाँदा मज्जा नै बेग्लै । तोयाले त्यो गीत पहिलोपल्ट रेडियो सगरमाथामा उसको साप्ताहिक कार्यक्रम सगरमाथा लोक सुसेलीबाट बजायो भन्ने लाग्छ अहिले हामीलाई । त्यसपछि त्यो गीत खुव लोकप्रीय भएको अबस्था थियो । पछिसम्म पनि चर्चित भयो त्यो गीत । गीतमात्र चर्चित हुने कुरै भएन, गायक खेम गुरुङ पनि मज्जाले जमेको अबस्था रह्यो केही समय ।
अहिले हामीलाई के लाग्छ भने गीतसंगीतमा शक्ति हुन्छ । हतियार शक्ति थियो एकजमानामा । पैसा शक्ति थियो । र अहिले पनि छ । सूचनालाई शक्ति मानिन्छ अहिले । अब सूचना प्रबिधी शक्ति हो भन्ने हामीलाई लाग्छ । गीतसंगीत भने जुनसुकैबेला पनि शक्तिकै स्थितीमा रहेको अवस्था हो भन्ने हामीलाई लाग्छ जसले व्यक्तिलाई मात्र हैन समाजलाई नै रुपान्तरण हुन पनि महत्वपुर्ण योगदान दिएको स्थिती हो र यो आउने दिनहरुमा पनि रहिरहन्छ भन्ने हामीलाई लाग्छ । नेपाली होस् वा छिमेकी प्रभुको गन्ध मिश्रीत हिन्दी नै, बहुराष्ट्रिय अंग्रेजी त झनै शक्तिशाली रहेछ भन्ने कुरा अहिले कोणकोणबाट चर्चा चलिरहेको स्थिती भएकोले नै हुनुपर्छ आज ब्रायन आडम्सको कन्सर्टमा हजारौ मानिसले हजारौ रुपैयाँ खर्च गरेको । अमला होस् या कमला, जमूना होस् वा लाइछौ बेसन, गीतमा दम छ र नै हामीलाई अहिले पनि के खान्छौ कमला सुन्तला की अमला सुन्न धित नमरेको स्थिती हो । यहाँलाई के लागेको स्थिती हो कुन्नी?

0 comments:

Popular Posts

Blogger templates

Blogger news

Blogroll