“.....बाहिरको तापक्रम ३२ डिग्री सेल्सीयस रहेको छ ..... ” एयरहोस्टेसले प्रायगरी उडान अवधिभर दुईचोटी बोल्छन्, उडान र अवतरणका बेला । सिर्जनशील नहुदाँनहुदै पनि युवतीको आकर्षण छ यो पेशामा । सायद पैसा नै होला । उनीहरु बोल्दा त्यहाँ नयाँपन केही हुन्छ भने त्यो हो सम्बन्धित क्षेत्रको बिमानस्थलको वरपरको तापक्रम । जेठ २२ गते चन्दग्रढीमा अवतरण भएपछि सुरिलो स्वरमा भट्याउने बिमानपरिचारीका हेर्दा ठिकै राम्री हुन्, ले अरु सधै भन्ने कुरा भनिन् तर मेरो ध्यान भने ३२ डिग्रीमा नै केन्द्रित भयो । अर्को तिर बस्ने रजनी र एलिजावेथलाई हेरे, उनीहरुको ध्यान पनि ३२ डिग्रीतीरै केन्द्रित छ भन्ने आभाष पाउन मुस्किल परेन । सामानको प्रतिक्षा गरिरहँदा मन्द मुस्कानमा रुपवती एलीजावेथ भन्दैथिन्, “म त पसिनाले नुहाइरहेकी छु ।” सायद मेरोलागि पनि गर्मि चर्कै थियो । रजनी, त्यसै त खान्दानी ज्यान, पसिनाले निथ्रुक्कै । एलिजाबेथसँग हो मा हो मिलाउनु उनको बाध्यता थियो । सामान संकलन गर्दै दुबैलाई हेरे लाग्यो दुवै जना दुःखी छन् ।
रजनी, एलिजावेथ र म यो उखर्माउलो गर्मिमा हिडेका थियौ बिर्तामोड । भोलिपल्ट कार्यक्रम थियो पुर्वको इलाम, झापा, पाँचथर, ताप्लेजुङ, मोरङ, सुनसरीका मिडिया व्यवस्थापकहरुसँग व्यवस्थापकीय चुनौतीका बारेमा छलफल । हामी तीनैजना काम गर्ने संस्था इक्वल एक्सेस आयोजक संस्था भएकोले कार्यक्रमको नतृत्वदायि भुमिका ममाथि थियो । एलीजाबेथ अर्को महिना अध्ययनको लागि अमेरीका फर्कने भएकोले नेपालको सुदुरपुर्वी तराई देखाइदिउँ भनेर मैले नै जाउँ भनेको थिए । उखरमाउलो गर्मिमा उ बिरामी नहोस् म रातदिन सोचिरहन्थे । बिर्तामोडमा पुगेर पनि के गर्ने? दुईबज्नै लागेको थियो, योजना बनाए कन्याम घुमाउने । कुरो मिल्यो । एलिजावेथ एक्साइटेड देखिइन् । रजनीको पनि पहिलो यात्रा रहेछ इलामको सुन्दर हरियाली पहाडमा ।
कन्याम, वाह क्या रमाईलो । फुसफुसे कुहीरो, सिमसिमे पानी । इलामको चिया, चिसोमा वाइवाईको सुप, त्यो भन्दा धेरै नखाने भन्नेमा मौन सहमत तीनैजना । फर्किदा लागिरह्यो फेरी हाम्रो छालाले यस्तो चिसो र अनुपम आनन्ददायी मौसम अनुभव गर्न पाउँदैन । मनमनै सोचे, बिर्तामोडमा रहँदा शरीरको कुन त्यस्तौ अंग÷भाग नहोला जहाँबाट पसिना नआओस् । भयो पनि त्यस्तै । लोडसेडिङको बेलामा तराईको यात्रा त्यो पनि उखरमाउलो गर्मिमा । होटेल हेभन ग्राण्डको बगैचामा बसेर एक बोतल वियर चुस्की नलगाउने पनि के बिदेशी? मनमनै सरापे एलिजाबेथलाई । बेलुकासम्म त्यहाँ सञ्चारकर्मीमित्रहरु शुशील मैनाली, अर्जुन उप्रेती, जीवन शर्मा भेला भएका थिए । तर उनीहरुको उपस्थितीले वातावरणलाई फरक पारेन । मौसमले च्यालेल्ज गर्यो भन्ने भनाई व्यवहारमा उत्रिएन, चिसो पानी, जिन्दावाद । मैले मनमनै भने ‘चिसोपानी मात्र मुर्दाबाद ।’
भोलीपल्टको छलफलपछि मैले एकछिन बिताएँ चन्द्र भण्डारीसँग । जो पहिले कम्युनिष्ट राजनीति गर्थे, अहिले सञ्चारकर्मी । कुराकानीको क्रममा उनले भने “मैले राजनीती नगरेर गल्ति गरिनछु ।” लामो समयसम्म जेल बसेका चन्द्र अहिले किताव लेख्दैछन् जेलको अनुभवलाई समेटेर । उनले प्रशिक्षित गरेका कमरेडहरु अहिले मन्त्रिछन्, तर उनलाई पछुतो छैन । जेलसम्बन्धि किताबले चाँही कतिजनाको पोल खोल्ने हो, उनले सार्वजनिक गर्न मानेनन् । तर संकेत गरे, “अहिलेका कतिपय नेताका बारेमा थाहा नपाएका कुराहरु कितावले बाहिर ल्याउनेछ ।” अरु पनि थुप्रै कुरा भयो । त्यो अन्तर्वार्तालाई म कतै छाप्ने तयारीमा छु ।
५३÷५४ सालतीर हुनुपर्छ । बिर्तामोडमा एउटा राजनीतीक दलको कार्यक्रममा भाग लिएर फर्कने बेला गाडि पाइएन । मित्र पवन (हाल दुवईमा छन्) र म रिक्सा चढेर झिलझिले आइपुग्यौ, त्यो पनि राती । दमकबाट आमसभामा गा’को, बिद्यार्थीको सहुलियत टिकटमा, ५० रुपैयाँमा रिक्सा चढ्दा पवन र मेरो झगडै भाथ्यो कस्ले तिर्ने भनेर । दमक त्यो बेला यति घना थिएन । वस्ती र बजार दुबैलाई देख्दा लाग्यो मान्छेको उत्पादन दिन दुगुना रात चौगुनाको रुपमा बढेछ । मित्र शुसिलले पनि दिइहाल्यो मान्छे उत्पादनको कारखानामा अहिलेसम्म हडताल नभएर होला । पक्कै ट्रेड युनिएन त्यहाँ चै छैन । पत्रकार मित्र गोपाल गड्तौलाको आतिथ्यतमा भुजा, प्याज, पकौडालाई एकै ठाउँ मोलेर खाँदा कलेज पढ्दाका दिन याद आए । बास बस्न पुगियो, इटहरीको मेचीकाली लेकसाईड होटल ।
“लौन न, त्यस्ले त खाली घरको फोटो खिची?” क्यारामबोर्डमा रमाईरहेका केटाहरुको स्वर सुनियो । उनीहरु एलिजावेथलाई लक्षित गरेर त्यसो भनिरहेका थिए । डर पनि लाग्यो । अनुमति बीना फोटो खिच्दा डरलाग्नु स्वभाविक हो । टुटेफुटेको अंग्रेजीमा साजीलाल मावी सुन्दरपुर, मोरङका प्रधानाध्यापक नारायण सरले आफ्नो परिचय दिदाँ एलिजाले पनि भनिन्, “विनय मेरो साथी हुनुहुन्छ, म घुम्छु र यहाँ आको ।” सायद दुवैले दुवैको कुरा बुझे होलान्, म बीचमा प्वाक्क बोलिन । “उ त्यो भैसीको छेउमा फोटो खिच्देन?” एलिजाको आग्रहलाई मैले नाई भनिन । परबाट फेरी केटाहरु कराए, “यसले त केही नराख्ने भई ।” यतीबेला म एलिजालाई लिएर इटहरीसँग जोडिएको मोरङको सुन्दरपुर गाविस ८ मा अवस्थीत थारु बस्ती घुमिरहेको थिएँ । उसले त्यहाँ हाँसदेखि, बाख्रा कुखुरा, मान्छे, सुँगुर, घर, नाली, ट्युवेल, सबैको फोटो खिची । हरेक घरबाट मान्छेहरु निस्केर उसलाई नै हेर्दै थिए । सबको कौतुहलता देख्दा लाग्थ्यो म भालु नचाउने चटके हुँ सेती रंगको जनावर गाउँमा डुलाउदैछु । एलिजापनि औधी रमाई । उसको त्यो पहिलो भ्रमण थियो जहाँ उसले तराईको आदीबासी समुदाय थारुको जीवनशैलीलाई क्यामेरामा कैद गरिरहेकी थिई ।
मेरो घर जहाँ बुबाआमा बस्नुहुन्छ पनि नजिकै थियो । आमाले पकाएको खाना मलाई मात्र हैन एलिजालाई पनि मन पर्यो । मेरो बुबा उसलाई आफ्नै हजुरबा जस्तो लाग्यो रे । तर फरक के भने उसको हजुरबा अग्रेजी जान्दथ्यो मेरो बुबा स्कुल जानु भएन । अर्को फरक सुन्दा चाँही उ भुतुक्क भई । मेरो बुबाले १५ बर्षमा बिहे गरेको जतिबेला आमा १२ बर्षकी हुनुहुन्थ्यो । सोध्नु सोधी । कति कुराको त मैले उल्था गरेर बुबाआामालाई सुनाउन सकिन । उसको जस्तो खुल्ला समाज मेरो थिएन । १७ वटा बच्चा पेटमा हुर्काएकी मेरी आमा उसका लागि दन्त्यकथाकी पात्र जस्तै लाग्यो होला । यो थाहा पाउँदा उसको मुख एकमिनेट बन्दै भयो । लामो सासमात्र फेर्दै थिई । पछि मलाई भनि, म चाँही तेरो आमाको ठाउँमा भएको भए मर्थे होला । उसको भनाईलाई मैले सुनेमात्र, थप बोल्नु आवश्यक ठानीन । दुईदिनपछि भेडेटारपुग्दा पनि उसले भन्दैथिई, तेरो आमा महान हुनुहुन्छ । त्यो दिन एलिजाले नेपाली महिलाहरुको प्रजनन स्वास्थ्य अधिकार आदी बिषयमा लामो कुरा गरी ।
एकरात बिर्तामोड, तीन रात इटहरी, शरीरमा घमौराले राम्रै घरजम गरेकाथिए । तर एकरातको भेडेटार बसाईले घमौरा भगाउनमात्र हैन एलिजालाई नेपाल चिन्न ठुलो मद्दत गर्यो रे । फरक फरक ठाउँको फरक अनुभव बटुल्न । अर्को महिना अमेरीका फर्कने तयारीमा रहेकी एलिजा भेडेटार पुगेपछि निक्कै भावुक भई । पढाईका लागि चाहिने प्रशस्त पैसा जुटाउने चिन्ता थियो । पढाइसकेपछि नेपाल नै फर्किन प्रयास गर्छु पनि भन्दैथिई । भेडेटारको भ्यु टावर चढेपछि फोटो खिचीरहँदा उसले भनि अहिले भुइचालो अयोभने हामी बाँच्छौ? म हाँसेमात्र । सोचे जहाज चढ्याबेला म पनि सोच्छु, अहिले यो जहाँज झर्यो भने म बाँचौला त? मनमनै गमे, छाला जतिसुकै फरक भएन, चालनचलन फरक भएपनि मान्छेको सोच समान हुदोरहेछ ।
चारवटा माफियाँ र २०÷२५ जना नागरिकको बीचमा माफियाहरु सारै शक्तिशाली । झन्डै झन्डै सबै नागरिक माफियाद्धारा सखाप हुनै आट्दा नागरिकले माफिया चिने र सबैलाई पालैपाली मारे । गाउँमा खुशी छायो । नागरिकले जीते माफियाले हारे । भेडेटारको भेडेटारभ्यू होटलमा सुनसरीका बिद्याथी, प्रहरी, एनजीओ, राजनीतिकदलका प्रतिनिधिहरुलाई खेलाएको खेलको नाम थियो माफिया । तासको सहाराले खेलिने खेलले सबैलाई मनोरञ्जन दियो, सँगै गएकी एलिजालाई पनि । भोलीपल्ट छुट्टिने बेलामा साथीहरुले भन्दैथिए, सरलाई अब माफियाँकै रुपमा चिन्नेछौ । एकैरात भएपनि सही शान्ति, संविधान, सुशासनका लागि युवा, नागरिक समाज, राजनीतिक दल र प्रहरी मिलेर गरिने कामको बारेमा छलफल र कार्यक्रम निर्माणका लागि भेला भएका प्रतिनिधिहरुका बीचमा माफियाँको परिचय बनाएर फर्किए बिराटनगर हुँदै काठमाण्डौ, एकदिन बसेर डडेलधुरायात्राको तयारीका लागि ।
असार ५ गते, २०६८

Popular Posts

Blogger templates

Blogger news

Blogroll