आज मलाई सम्बन्धको परिभाषा खोज्न मन लागेको छ । वास्तवमा के हो सम्बन्ध? कसरी जोडिन्छ यो र कसरी टुक्रिन्छ एकैछिन्मा? के ले सम्बन्धलाई जोडिरहन्छ र के ले यसलाई निमेषमै टुक्र्याउँछ । वास्तवमा सम्बन्धलाई लिएर आज म घोत्लिनु पर्ने कारणहरु धेरै छैनन् । तर एकादुई भएपनि ती कारणहरु बलवान छन् जसले गर्दा म आज घोत्लिन बाध्य छु । के मलाई समयले यस्तो बाध्यता थपेको हो? अथवा मैले आफ्नै कारणले गर्दा यस्तो अवस्था आएको हो? आज तीनबर्षपछि म फेरी एकचोटी आफैसँग हराएजस्तै भएकी छु । मलाई यो अवस्थामा के ले ल्याइपुर्यायो । किन म आज फेरी एकपटक बिक्षिप्त जस्तै छु । कसैसँगको छोटो उठबसले किन मलाई आज सम्बन्धको परिभाषा खोज्न बाध्य बनाएको छ? किन म सुत्न सकिरहेकी छैन? किन मलाई खान रुची छैन? किन म काममा ध्यान दिन सकिरहेकी छैन? के यही सम्बन्धको चक्करले मलाई घनचक्कर बनाइरहेको हो त? मैले तीन साल अघि यस्तै क्षण भोगे । मैले हृदयदेखि मन पराएको मेरो व्वाईफ्रेन्डले मलाई धोका दियो । सम्झन मन लाग्दैन त्यो कहालीलाग्दो क्षण । म झन्डै बौलाएकी थिएँ । अब मर्छु भन्ने अवस्थामा नै पुगेकी थिए । किनकी म उसलाई अत्यन्तै माया गर्थे । ठानेकी थिए उ नै मेरो पहिलो र अन्तिम लोग्नेमान्छे हुनेछ जसलाई मैले मेरो आत्मा सुम्पेको थिएँ । मेरा अंग प्रत्यंगसँग लडिबुडी गर्दै मुटुसम्म पुग्ने ढोका खोल्दै स्वागत गरेकी थिए । तर मैले उसलाई मुटुमा नै बन्द गर्न सकिनछु । मेरो बिश्वास, मेरो मुटुलाई टुक्राटुक्रा पारेर उ म बाट अलग्गीएको क्षण अहिले पनि मेरा लागि कष्टकर छ । तर पनि म सम्हालिए । भलै मलाई सम्हालिन कठिन भयो र बर्षौ लाग्यो पनि, तर मेरो आमा, मेरी बहिनीको निरन्तरको सहयोग र मायाले सम्हालिन सघायो । अथवा भनौ मलाई बचायो । तर आमा भन्या आमा नै हो । मलाई आमाले बचाउनु भयो । नयाँ जीवन दिनु भयो । कोशीस गरे सम्हालिन । सम्हालिए र आज यहाँ आइपुगे । आज फेरी यो बिरानो मुलुकमा मेरो जिवनमा थाहा नपाई कोही आएको जस्तो आभास हुन थालेको छ । यो मुलुक मेरा लागि नयाँ हो । उ मेरा लागि नयाँ हो । म पनि यो देशकी हैन, उ पनि अर्कै देशको हो । तर कामका सिलसिलामा हाम्रो भेट भएको हो । कामको सिलसिलमा उसँग मेरो नियमित उठवस भैरहन्छ । कहिलेकाँही बाक्लै र कहिलेकाँही पातलै । तर पनि कता कता मनले भन्छ हरेक दिन भेट भइरहोस् । म आज तीन बर्ष अगाडिको घाउलाई पुर्न र मेरो व्वाइफे्रन्ड जसले मलाई धोका दियो, लाई सदाका लागि भुल्न आफ्नो देश भन्दा कैयौ माइल टाढाको एउटा सुनसान ठाउँमा छु । यहाँ आएर मैले मेरो नयाँ जिन्दगी शुरु गर्नुछ । करिअरमा नयाँ इटा थप्नु छ । यहाँ सिकेको कामले भविष्यको बाटो रोज्नुछ । तर कतै मेरो अहिलेको यो नयाँ सम्बन्ध मेरो भबिष्यका लागि तगारो त हुदैन । जो ले मलाई धोका दियो । म उसलाई कहिल्यै माफ गर्न सक्दिन । उसको राम्रो होस् भनेर म सोच्न पनि सक्दिन । म भन्छु त्यो नासियोस् । किनभने उसले मजस्ती सोझी र निष्चल केटीलाई यो समाजमा मुख देखाउन असहज बनाएको छ । बाँच्न कठिन तुल्याएको छ । आफुसँगका साथीभाईहरु कोही व्वाइफ्रेन्ड त कोही श्रीमान्सँग मोजमस्तिमा डुवेको देख्दा म आफुलाई अभागिनी महसुस गर्दछु । र मलाई यस्तो बनाउने सिर्फ जो हो जो । म उसलाई कदापी माफ गर्न सक्दिन । उसले अहिले पनि कति केटीलाई मजस्तै बनाएको होला । वास्तवमा उ खेलाडि रहेछ । अरुको जीवनमा खेल्दै हिड्ने । जहाँहोस् त्यसले नपाउने दुःख पाओस् । हुन त म संसारको आधुनिक मध्येको एउटा मुलुककी छोरी हुँ । मेरो परिवारमा धेरै देशका रहनसहन मिसिएको छ । बाजे एउटा देशको, बाउ अर्को र आमा अर्को । म मा तीनवटै देशको बिशेषता झल्किन्छ की झल्किन्न, तर म सभ्य समाजमा हुर्केकी सभ्य केटी हुँ । मलाई मेरो जिम्मेवारी थाहा छ । कर्तव्य थाहा छ । मेरो देशका अरु महिलाले जस्तै मैले मेरो अधिकारको बारेमा बुझेकी छु । म खुल्ला समाजमा हुर्किके हुँ । तर म परम्परा र संस्कृतीलाई माया गर्छु । खुल्ला समाजको नाममा भित्रिएको छाडा संस्कृती मलाई मन पर्दैन । त्यसैले म जति नै खुल्लापनमा हुर्के बढेपनि भला्दमी छु, गम्भिर छु र सुन्दर पनि छु । सबैले मलाई धेरै राम्री छ भन्छन् । जिउडाल मिलेकी भन्छन् । खुशी लाग्छ । अरुको तारिफ सुन्दा को पो रमाउदैन र? म पनि रमाउँछु । तर कहिलेकाँही मेरो यही सुन्दरता, सोझोपन, अरुलाई छिट्टै बिश्वास गर्ने बानी नै मेरो लागि अभिषाप बनिदिन्छ । मलाई जो ले सन् २००६ को अन्त्यतीर बिश्वबिद्यालयमा भेटेको हो । उ म भन्दा अरु नै संस्कृती र परिवेशमा हुर्केको भए पनि खै किन हो उ मलाई मन पर्यो । मैले उसलाई मन पराए । उसले पनि मन परायो । हामी केही समयसँगै पनि बस्यौ । तर म नराम्ररी धोकामा परे । उ त मजस्ता राम्री तर भित्रैदेखि मान्छेलाई बिश्वास गर्ने केटीहरुलाई चाख्दै हिड्दो रहेछ । भेट भएको छ महिना नपुग्दै म नराम्ररी लुटिए । निको नहुने घाउ दिएर उ मबाट टाढियो । मेरो जीवनमा जो पहिलो प्रेमी थियो । तर उसको जीवनमा म त कैयौ नम्बरमा पर्दी रहेछु । मान्छेको भाग्य न हो । मलाई भाग्यप्रति बिश्वास लाग्छ । त्यसैले म आज भाग्यले डोर्याएर बिरानो मुलुक आइपुग्दा फेरी अर्को भाग्य परिक्षा दिने मोडमा उभिएकी छु । म यहाँ आएको ६ महिना भयो । मेरोलागि यो अनाथालय र बालबालिका नै रमाउने संसार भएको छ । मलाई यि बालबालिकाहरु असाध्यै मन पर्छ । हृदयदेखि माया गर्छु त्यसैले यहाँबस्न मलाई सजिलो भएको छ । यि बालबालिकालाई हेरेर नै मैले मेरी आमा भुलेकी छु । बहिनीको याद कम आउँछ । हामी पनि सानामा यस्तै थियौ । हामी आमाबाबुसँग हुर्कियौ बढ्यौ यहाँका बालबालिकाहरुका न आमाको टुङ्गो छ न बाबुको । त्यसैले उनीहरु यहाँ अनाथालयमा आए । महिलाको सवालमा जति नै शसक्तिकरणको कुरा गरेपनि आखिर महिलाका समस्या विकसित र अविकसित मुलुकमा उस्तै छन् । यहाँ भएका केटाहरु त पछि आफ्नै किसिमले हुर्केलान् तर यहाँ अहिले हुर्किरहेका केटीहरुको भविष्य कस्तो होला? कतिजनाबाट कस्तो कस्तो धोका पाउलान् उनीहरुले । यसरी नै सोचिरहँदा र यिनै बालबालिकाहरुसँग काम गर्दा मैले उसलाई भेटेकी हुँ । उ काम गर्ने संस्थाले यो अनाथालयलाई थोर बहुत सघाउने गर्दो रहेछ । यसै सिलसिलामा उसँग मेरो भेट भएको हो । मैले अब पुर्ण रुपमा जो लाई आफुबाट हटाइसकेकी छु । उसको नाम लिन पनि चाहान्न अब म । अनि म फेरी धोका खान चाहान्न । अर्थात अब मलाई व्वाईफ्रेन्ड खोज्दै हिड्नु छैन । म लोग्नेमान्छेलाई बिश्वास गर्नु हुन्न भन्ने अवस्थामा पुगिसकेकी छु । किनभने मेरो आमाले पनि मेरो बाउबाट नमज्जाले धोका पाउनु भएको छ । आमालाई त्यो बेला परेको पिडा म अहिले पनि संझिन सक्दिन । त्यो घटनाले मलाई कति नराम्रो पाठ सिकाएको छ की म व्याख्या गर्न सक्दिन ।
मलाई अहिले सम्बन्धको परिभाषा खोज्न मन लाग्ने कारण के हो भने मेरो अहिलेको त्यही नयाँ साथी जसले मलाई कुन रुपमा हेर्छ भन्ने कुरा हो । उसलाई मैले एउटा असल साथीको स्थान दिन थालिसकेकी थिए । तर अचानक मेरो जिवनमा भुइचालो ल्याउने गरी उ बद्लीयो । आकाश नै खसेजस्तो भयो । भएको केही हैन उसले मलाई एउटा असल साथीमा हुनुपर्ने गुण देखाएर, त्यही अनुरुपको बानी व्यहोरा देखाएर पार्नुसम्म प्रभाव पारेको थियो । त्यति आकर्षक व्यक्तित्वको नभएपनि म उ प्रति थाहा नपाई आकर्षित भइसकेकी थिएँ । तर त्यो परिक्षण अवधि थियो । परिक्षण अवधिमा उ बद्लिनु मेरा लागि खुशीको कुरा पनि थियो । किनभने हामीबीचमा अझै पनि केही भैसकेको थिएन । केही हुनेवालाजस्तो पनि थिएन । थियो त केवल मनको अन्तरकुन्तरमा कुनै खालको भावना । सायद उसमा पनि थियो होला । कहिलेकाँही देखिने उसको अनौठो व्यवहारले पनि त्यो कुरालाई पुष्टि गथ्र्यो । तर एकाएक उ मा आएको परिवर्तनले मलाई झस्कायो । म अलि बढी इमोसनल भएको कारणले पनि यसो भएको हुनुपर्छ । उ मबाट थाहै नपाई टाढियो । मैले नजिक ल्याउने कोशीस गरे तर सम्भव नदेखेपछि म निरास भएर पछि हटे । हुन त मेरो मनमा उप्रति त्यस्तो किसिमको कुनै सोचाई थिएन । तर पनि मैले उमा साथीमा हुनुपर्ने गुण देखेकी थिए । र बिश्वास गर्न थालेकी थिए । बेस्ट फ्रेन्ड नभएपनि असलसाथी होला भन्ने लागेको थियो । तर अचानक उ परिवर्तन हुदाँ त म छाँगाबाट खसेजस्तै भए । हुन त उ फरक संसारको म फरक संसारकी । हाम्रो केही कुरा मिल्दैनथ्यो । तर अहिलेको जमानामा जन्मने ठाउँको अन्तरले मात्र पनि खासै फरक पार्दो रहनेछ । उ पनि आधुनिक थियो । आधुनिकतालाई नजिकबाट नियालेको र त्यसबाट फाइदा लिइरहेको थियो । यसले पनि मलाई उसँग नजिक्याएको थियो ।
झन्डै तीनहप्ता उ पर्ण रुपमा फेरियो । मलाई कति ठाउँमा उसले अपमानित नै गर्यो । कति अवस्थामा बिक्षिप्त बनाउने किसिमले व्यवहार गर्यो । तर फेरी अहिले आएर उ मसँग नजिकिन खोज्दैछ । उसको व्यवहारले मैले ठानेकी थिए उ मलाई मन पराउँछ । त्यसैले म अरुसँग भएको उसलाई मन पर्दैन । अरु भन्नाले कुनै केटाहरुसँग भएको । त्यसैले उसले त्यस्तो व्यवहार गरेको होला । मैले उसलाई यो कुरा भन्दा तेरो र मेरोबीचमा कुनै पर्सनल फिलिङनै छैन भन्छ । हामी प्रोफेसनल रिलेशनमा छौ भन्छ । तर व्यवहार हेर्दा पत्याउन मुस्किल पर्छ । भन्छ मैले गएका तीनहप्ता अक्षम्य गल्ति गरे । मलाई माफ गर मात्र भनिरहन्छ । आज त मैले पनि भनिदिए म तिमीलाई कुनै पनि हालतमा माफ गर्न सक्दिन । मैले तिमीलाई बिश्वास गरेकी थिएँ, तिमीले त्यसलाई थाम्न सकेनौ । सम्हाल्न सकेनौ । गल्ति तिम्रो हो । तिमी आफ्नो काम गर, म आफ्नो काम गर्छु । हाम्रो बाटो अलग छ । आज मैले राम्ररी नै भने उसलाई यि कुरा । उ हाँसिमात्र रह्यो । भन्छ म सबैकुरा स्विकार्छु । बिगतलाई बिर्सेर नयाँ सम्बन्ध शुरु गरौ भन्छ । मैले उसलाई भनिसके बिगतमा तिमीले मेरा लागि जे गर्यौ त्यो सहयोग थियो, मैले त्यसलाई सही ठानेको थिए, तर तिमी अब आएर मलाई जति नै गर म त्यसलाई एउटा अवसरको रुपमा लिनेछु, तिमीले मलाई सूचना दियौ धन्यवाद भन्नेछु तर म बिश्वास गर्न सक्दिन । म तिमीलाई अब पहिलेकै रुपमा साथि बनाउने कुरा सोच्न पनि सक्दिन । किनभने म पनि बढी नै इमोशनल छु । मैले यति भनेपछि उसले कारणहरु भन्न थाल्यो उसले किन गल्ति गर्यो भनेर । मैले सुनिरहे । तर अहिले पनि म यो बिरानो मुलुकमा भाडामा लिएको फ्ल्याटमा बसेर उसले आज भनेका कैयौ कुराहरु सभ्झिरहेकी छु । उसले फेरी नयाँ ठाउँबाट सम्बन्ध शुरु गरौ भन्यो म सोच्दैछु त्यही कुरा । उसले सबैकुरा खुलेर भन्यो मैले पनि भने । अरुबेला यसरी कुरा गर्दा उ रिसाउँथ्यो आज रिसाएन । उसले सबै कुरा सुनिरह्यो । हाँसिरह्यो । भन्यो आफ्ना कमजोरीहरु । स्विकार्यो आफ्नो गल्ति । अनि मलाई फेरी एकचोटी रणभुल्लमा पारि सोच्न बाध्य बनायो सम्बन्धको बारेमा । वास्तवमा सम्बन्ध आफैमा के हो र कसरी थाहा पाउने यो कस्तो सम्बन्ध हो र कहिलेसम्म रहिरहने सम्बन्ध हो भनेर । त्यसैले म आज अरु केही काम गर्ने जोश र जाँगर हराएकीजस्तै भएर सम्बन्धको परिभाषा खोज्ने तरखरमा छु । आफैले आफैलाई धेरैपटक सोधिसके, वास्तवमा यो सम्बन्ध आफैमा के हो?

0 comments:

Popular Posts

Blogger templates

Blogger news

Blogroll