एकैछिन अगाडि जुठेल्नामा बासिरहेको भाले रेडियोमा पो बास्यो । आम्मै रेडियोमा कुखुरा बासेको? हसिलो मुहारमा स्वादीलो खाना पस्किने सबैकी दिदी छक्कै परिन् । रेडियोमा बिहान ५ बजेदेखि एकएक घण्टाको अन्तरमा भाले बास्न थालेको थियो । कतिपय ठाउँमा कुखुराको भालेलाई घडिचरो पनि भनिन्छ । यसैले रेडियो मकालु धनकुटाले पनि समय बताउन कुखुराको भाले प्रयोग गर्ने निधो गर्यो । यो भालेलाई अम्मर बनाईयो । सहकर्मी संचारकर्मी कुल प्रसाद राइले भने । उनको बिचार अबको खानामा भाले पनि काटौ र सबैकुरा लोकल बनाउ भन्ने थियो । सुन्ने श्रोतालाई कस्तो लाग्यो प्रतिकृयाको पर्खाइतीरै नलागी रेडियोकर्मी कविता वराल र कविता बस्नेत अघि सरे, भाले बास्छ भने संगीनी गाउन किन नमिल्ने । स्थानीय रेडियोलाई यस्तै कुराले स्वादीलो बनाउँछ भन्ने कुरा बुझाउन नपाउदै अर्का रेडियोकर्मी बलराम दाहाल बालान गाउन थाले । रेडियो धनकुटाको परिचय बालन र संगीनीमा तयार भयो । सुृन्ने र सुनाउने दुवै चकित । तर मैले भने यो मात्र हैन, जिल्लाका अरु पनि भाषा, संस्कृती, धर्मलाई रेडियोले समेट्नुपर्छ, संतुलन चाहिन्छ । सबैको एकमत देखियो यो शुरुवातमात्र हो ।

दशै सकिदै थियो । पुर्णिमा आउनै लागेकोले धनकुटा बजार टहटह जुनको उज्यालोमा बलिरहको थियो । जाडो पनि थिएन गर्मि हुने कुरै भएन । पुर्वाञ्चलको सुन्दर नगर धनकुटा मैले रुचाएको गन्तब्यस्थल हो । चारबर्ष पछि श्रीमति र छोरो लिएर ससुराली मोरंगको ववीया टिका थाप्न गएको मौका पारी गर्मी छल्ने बहानामा म पहाड चढेको थिए । रेडियो मकालु शुरु हुनु अगाडि पनि त्यहाँ गएर टिमलाई उत्साहित बनाएकै कारण मेरो धनकुटा प्रवेश साथीहरुका लागि राम्रो मौका भयो । दशै कमै मनाएर उनीहरु भेला भए रेडियोमा अनि समिक्षा भयो ६ महिनाको प्रसारणको । साँच्चिकै राम्ररी चलाएका रहेछन् । कुल प्रसाद लगायत अन्य पत्रकार, सोवीस लगायत अन्य सामाजिक कार्यकर्ता र नैन जस्ता अनुभवी युवाहरुको जमातले चलाएको रेडियो छि भन्न लायक कतै पनि थिएन । भन्दै थिए, नजानिकन यस्तो बनाइयो, तपाईको अनुभव सुनाउनु पर्यो हामीलाई काम लाग्छ ।

अनुभव आदान प्रदानमा एकदुई दिन बिताएर म फर्कै विराटनगर हुदै काठमाण्डौ । काठमाण्डौ पुग्न नपाई सहकर्मी नैनको फोन आयो रेडियो त साँच्चिकै जिउदोजस्तो लाग्यो आजबाट । हिजोसम्म हामीले रेकर्डेड रेडियो चलाएका रहेछौ आज साँच्चिकै लाइभ सुनियो । उनले मेरो तारिफ गरेको नभइ सत्य कुरा नै बताइरहेका थिए । रेडियो बल्ल स्थानीयजस्तो सुनिन थाल्यो । हामीजस्ता स्वतन्त्र रेडियोको अभियानमा होमिएकाहरुले यस्ता कुरालाई तारिफ भनेर गमक्क फुल्नु पर्ने कारणनै छैन किनभने यो हाम्रो कर्तब्य हो । धनकुटे युवाहरुले होस्टे गरे मैले व्यक्तिगर रुपमा र मेरो संस्था इक्वल एक्सेसले हैसेमात्र गरेको हो । विगतमा पनि यस्तो काम थुप्रै गरिएको थियो पछि पनि गर्नु नै छ । किनभने गरिखाने, अलिकति जानेको र जान्न चाहेको क्षेत्र यही हो । धनकुटामा ६ महिना चलेको रेडियोलाई धनकुटाकै रेडियो बनाउन सहयोग पुगेको थाहा पाँउदा मान्छे न हो अलिकति खुशी लागिनै हाल्छ ।

रेडियो समाज परिवर्तनको साधन हो । गीत बजाउनुमात्र यसको काम हैन । सूचनाले श्रोताको व्यवहार बदल्न सहयोग गरोस् भनेर नै धनकुटाका उत्साही युवाहरुले खाइनखाई रेडियो चलाएका छन् । भोजपुरे र धनकुटे युवाहरुको जमात अहोरात्र खटेको छ । सिक्दै छन् सिकाउँदै छन् । त्यसैले छोटो अवधिमा नै रेडियो मकालुलाई पुर्वमा लोकप्रीय रेडियोको कोटीमा पारेका छन् । जोगमाया र बिशाल प्राबिधिक हुन् तर फेडरमात्र चलाउदैनन् । युवा लक्षित युथ आइडिया कार्यक्रम चलाउँदा उनीहरुले धेरै कुरा सिकेका छन् । भन्छन् यो त निरन्तरको सिकाइ रहेछ । रेडियोले त मेहनति र लगनशील बनायो । उनीहरुजस्तै झन्डै डेढ दर्जन युवाहरुलाई रेडियोले लगनशील, मेहनतीमात्र बनाएको छैन असल सामाजिक कार्यकर्ता बन्ने बाटोमा अग्रसर गराएको छ । झापाका भिम गौतममात्र हैन भोजपुरका रामानन्द, मणिकुमार, शंकर र राजेश मज्जाले जमेका छन् । धनकुटे युवाहरु गया, कमला, देवकला, बलराम, कविता, सन्तोष, बिमलाको त परिचय नै नयाँ भएको छ । कहिलेकाँही कार्यक्रममा नबोल्दा श्रोताबाट सञ्चो बिसञ्चो पनि खोजखबर हुन थालेपछि गाँउघरमा बरालीएर हिड्ने युवाहरु सफल रेडियोकर्मी हुने होडमा लम्किएका छन् ।

रेडियोको लोकप्रीयतासँगै रेडियोकर्मीहरुमा चिन्ता पनि बढेको छ रे । कविता बस्नेत म पनि गाउँछु म पनि बोल्छु नामको कार्यक्रम चलाउछिन् । साप्ताहिक रुपमा चल्ने यो कार्यक्रमको लोकप्रीयता खपिनसक्नु छ । गाउँगाउँमा मान्छेहरु आउँछन् बा्ेल्नलाई । मान्छेको चाप बढेपछि रेडियो व्यवस्थापनले प्रवेश शुल्क लगाउदाँ के होला भन्ने प्रस्ताव गर्यो । कवितालाई यसले कतै श्रोता त घट्दैनन भन्न्े चिन्ता छ । साथै यसो नगर्दा आएका मानिसलाई कसरी सम्हाल्ने भने डर पनि छ ।

धनकुटा साँिच्चकै सुन्दर छ । बजार झनै सुन्दर । महंगो पनि छैन । तराईको चर्को घाम छल्नलाई भेडेटार नै काफि भएपनि धनकुटा पुग्नुको मजा नै बेग्लै छ । शितल हावापानी, स्वादीलो खाना, सस्तो तरकारी, शुद्ध लोकल रक्सी र राँगाको सुकुटी, चल्छ भने कालो बंगुर पनि । सेटै खानेलाई खयर मिश्रीत लोकल ठर्रा । तातोभातमा घिउ मिसाएर सागसँग मात्र खाँदा पनि बेग्लै आनन्द । देव्रेवासमा पोखरेलको पसलको लालमोहन त कम्तिमा पनि ५ वटासम्म रुच्छ रुच्छ । सरर हिले पुगेपछि स्थानीय तुम्वामात्र हैन संखुवासभाको एकमात्र वाइन हिंवाको ताजा स्वाद लिन पनि पाइने । धनकुटामा मज्जाले गफीनु पर्यो भने पुर्व क्याम्पस प्रमुख नारायणजोशीमात्रै पनि काफीछन् । मोफसलमा बसेर झर्रोै शब्दमा लेख लेखिरहने झमककुमारी पनि धनकुटाकै हुन् । अरु पनि थुप्रै कुरा होलान् । क्याम्पसमा इतिहास पढाउने भिम सर राम्रा भलिबल खेलाडिमात्र हैनन गायक पनि हुन् । हिजोआज त भिम सर रेडियो मकालुको प्राबिधिक पनि भएका छन् । आफैले पढाएका बिद्यार्थीले प्राबिधि साथी भनेर सम्बोधन गर्दा अनौठो लाग्दो हो तर मज्जाले जमेका छन् भिम सर रेडियोमा ।

0 comments:

Popular Posts

Blogger templates

Blogger news

Blogroll