बडेमानको ल्यापटप, भिडियो क्यामेरा, डिजिटल स्टील क्यामेरा, दुईवटा मोवाइल, इन्टरनेट डिभाईस – सूचना प्रबिधिका अत्याधुनिक उपकरणहरुले भरिएको झोलामा अमेरीकी राष्ट्रपति बाराक ओबामाको पुस्कत अडासिटी अफ होप । उपकरण चलाउ या नचलाउ, किताव पढुँ या नपढुँ, धाकै लाउन भएनि बोक्नुपर्यो नी । भयो भने त्यस्तै, उपकरणको भारी, किताव एकपानाभन्दा पल्टिएन । तैपनि यात्रामा उत्साह थियो । तीनघण्टाको उकालो, उवडखावड बाटोमा धुलो उडाउदै दौडिरहेको महिन्द्राको बोलेरो जीप बेसीसहरबाट उकालो लागेपछि अजंगको पहरो छिचोल्दो रहेछ तर जाँदा देख्नु परेन, डरलाग्दो पहरो पुमेको भिर । मान्नैपर्छ, मान्छेले चाह्यो भने जे पनि हुन्छ । पहरो नै फोरेर गाडि कुद्ने बाटो बनेछ तीनबर्षमा । सर डरलाग्दो छ भिर, तल नहेर्नुहोला, छेउमै बसेका गुरुजी पवनजीलाई भन्दै थिए तर डराइरहेको थिए म ।

मलाई असाध्य डर लाग्न थालेको छ हिजोआज । खासगरी हवाइयात्रामा, अनि बाटोमा भीर छ भने स्थलयातायातमा पनि । सन् २००९ को जुनमा अमेरीकाबाट फर्किदा प्यासिफीक माथिको आकाशमा मध्यराततीर हुनुपर्छ हङकङ आइरहेको क्याथे प्यासिफीकको जहाज बेजोडले हल्लीयो । झन्डै एकघण्टा । मरिन्छ झै लाग्या थियो, तर केही भएन । के भएको हो चाँही थाहा भएन, तर भयो के भने त्यसपछि सधै जहाज यात्रामा डर लाग्न थाल्यो । अनि भीरको बाटोमा गाडि हल्लियो भने पनि खुब डरलाग्छ । डर हामीसँगै आएको अर्को जिपको छतमा बसेर ६÷७ जना तोरी लाहुरे साथीहरु त्यही भीरमा पिङ खेल्दै हिडे, उनीहरुलाई केही भएन, सातो गयो मेरो । धन्य भगवान, बल्ल बाँचियो । भिर काटेर सुरक्षित स्थानमा पुग्दा मैले मात्र हैन सहकर्मी पवनजीले पनि यस्तै सोचेछन् । कम्ता डर लाग्या हो र, भन्न मात्रै नभनेको । उज्यालो अनुहारमा कस्सिकस्सि बोल्दै थिए उनी ।

त्यही भिरको छोटोबाटोमात्र त्यस्तो थियो जहाँ तीनघण्टाको पट्यारलाग्दो बाटोम ाझै धुलो चै थिएन । नत्र धुलो, अर्गानिक पाउडर (गफिदाँको भाषा) खानु खाइयो । बेशीसहरबाट मात्र तीस किलोमिटरको बाटोलाई तीनघण्टा लाग्यो जीपमा । धुलो र अप्ठ्यारो उकालो कहिल्यै नसकिदाँ त लाग्यो बिनासित्ती आएँ मायालू छोरा र श्रीमती छोडेर । रेडियो मस्र्याङदीका साथीहरु प्रेमकुमारी र मिनाले अघिल्लो साँझ भनेका थिए, भिर चाँही खतरा छ, त्यसपछि त सजिलै छ । तर के को सजिलो हुनु । बाटैमा हाप्न नमिल्ने रमात्र, नत्र माँकसम, म त दिक्क भैसकेको थिए । काठमाण्डौबाट गएका सामुदायिक प्रहरीका सई उत्तम श्रेष्ठका ठट्टा र जोकले बाटो चै कटाएकै हो । ट्राफ्रिक प्रहरीले खेदेको देखि पञ्चावी बाबाका जोकहरु साह्रै घतलाग्दा थिए । मैले पहिलोपल्ट सुनेका रहस्यमिश्रीत र हसाँउने जोक । ठिक्ककै भएपनि मलाई पनि एकदुईटा त आए । महादेवले शीवरात्रीमा बागमति पुलमुनि बसेर गाँजा खाएको जोक होस् या अमेरीकीको कुनै शहरमा हिडिरहेको नेपालीलाई अफ्रिकन मूलको कुनै ठगले, पैसा दिदैनस भने एचआइभी सार्दिन्छु भन्दा, सार न त हेरौ, कण्डम लगाएर हिडेको छु भन्ने नेपालीका बारेका ठट्टा चाँही फुरेकै हुन् । प्रकाशजीको सुर्खेतीको सत्य घटनामा आधारित लघुकथा पनि बेजोडको थियो । जे होस्, ताजा धुलो खाँदै, हाँस्दै, गीत सुन्दै जीपको पछाडिको भागमा छ जनाको यात्रा यादगार नै रह्यो ।

सरले क्यामेरामा दृष्य कैद गर्नुपर्यो, अघिल्लो दिन खाएको सिस्नु र कोदोको ढिडोको करामत बिहान पाँचबजेदेखि नै देखिन थालेकोले होला म लगातार चर्पि गैरहेको देखेपछि रसीक स्वभावका सइ साप उत्तमले के बाँकी राख्दे, सिस्नोले पखाला लागेको दृष्य भिडियो क्यामेरामा कैद गर्ने हो क ीभनेर दिनसम्म बाँकी राखेनन् । झन्डै ३५ जनाजति जति अधबैशे अल्लारेहरुलाई के चाहियो, पुग्यो अब मलाई उडाउन । मैले पनि हरेकपटक चर्पीबाट फर्किदा दिन थाले साथी हो जैसा खाया, वैसा हि गया । २१०० मिटर उचाइमा अवस्थीत उत्तरकन्या गाविस लम्जुङको प्रसिद्ध गुरुङबस्ती घलेगाउँको सभाहलमा हाँसो गुञ्जिन्थ्यो । अब त म उठेर हिड्दा पनि साथीहरु भन्न थाले यसलाई त साँच्चै गलाएछ । तर गलाएका अरु पनि थिए । अलि खुल्न डराउने । आ जैसा खाया वैसा दिया, किसका क्या बिगारा, यस्तो कुरा चै मनमनैमा भने । बल्लबल्ल लागेको फोनमा दुई चारशब्द त राम्ररी बुझिन्थे श्रीमतीका, ती शब्द थिए, जीवनजल चै खानु है, अनि पानी धेरै खानु । फोनले पनि कुरा चै राम्रै बुझेको हुनुपर्छ । नत्र दुई दिनबस्दा राम्ररी कुरा हुन पाएन । फोन लाग्या बेला पनि कुरा अस्पष्ट, तर त्यो कुरा चै स्पट । सायद माया भन्या यही होला ।

घलेगाउँ पुगेको भोलिपल्ट बिहान ५ बजे मोवाइलको एलार्म बज्यो । आफ्नै हो क ीभने, रहेछ सइ सापको । सँगै थियौ, पवनजी म र सइसाप । राती किताव पढ्दापढदै घुर्न थालेका सइसाप बिहान पाँचै बजे? मेरो प्रश्न भुईमा खस्न नपाउदै भन्न थाले जोउ जोउ सुर्योदय हेर्न । जानै पर्यो । रातभरी बाजा बजाउने पवनजीलाई किन छोड्ने । चलौ अध्यक्षज्यू । आहा, ठिक गरिएछ, सुर्योदयको दृष्य चै खिच्न पाएकै हो । लमजुङ, माछापुच्छ्रे हिमालको टुप्पोमा पहेलो घाम परेको दृष्यदेखि घाम झुल्किरहेको दृष्य आनन्दले कैद गरियो क्यामेरामा । आफु बसेको घरमा गएर हेर्दै जाँदा थाहा भयो दृष्यभरी म निकै बोलेको रहेछु । त्यो पनि भाषा चै गज्जबकै रहेछ, जे भन्दा पनि अन्त्य चै अवस्था हो, स्थिती हो यस्तै यस्तै । अहिले घाम झुल्किएको स्थिती हो । हामी २१०० मिटर उचाईमा रहेको अवस्था हो, आदी आदी । काठमाण्डौ फर्केपछि

त्यो भिडियो श्रीमतिलाई देखाउँदा उनी पनि भन्दै थिइनु, भाषा चै राम्रै भएछ भन्ने लागेको स्थिती हो ।
स्थिती जे भएपनि घलेगाउँको यात्रा अविष्मरणीय रह्यो । धेरै सुनेको ठाउँमा पुग्नुभन्दा पहिले अपेक्षा धेरै हुनु स्वभाविक हो । बिशुद्ध स्थानीय स्वाद र शैलीमा पाकेको खना, सागको तरकारी, अगेनामा दाउरा बालेर पकाएको लोकल चामलको भात, अर्गानिक चिया, आलुको तरकारी, सेल रोटी, झिलझिले, गुन्द्रुक र भटमासका अचार भन्दा मिठो थियो घरवेटी बुबा र आमाको बोल्ने शैली । ए बाबु भित्र आइज । दिउँसो त्यहाँ पुग्दा त कसैले पनि त्यसरी बोलाएन । अहिले को के भन्छ? फेरी बोलायो, एबाबुहरु बाहिर नबस, सितझर्छ, चिसो लाग्छ, भित्रै आइजा । आगो ताप । सुन्दा मलाईमात्र हैन सइसापलाई पनि रिस उठेछ । एकछिन अगाडि त खै कसलाई हो फोनमा भन्दै थिए म तिमीलाई हिउँ ल्याइदिन्छ, तिम्रो लागी त्यो भन्दा ठुलो उपहार के हुनसक्छ? तर नबोलीकन चुल्हैमा पुगे अहिले चै । हामीसँगैको घरमा बस्ने बाराका असइसाप अरुबेला बोल्दैनथे, भाषा नबुझेर हो की भन्या, तर त्यो कुराले उनी पनि छक्क परेछन् । एकदुई चोटी अप्ठेरो भएपनि बुझ्दै जाँदा थाहा भयो त्यो त उनीहरुले सम्मानजनक रुपमा नै बोलाएका रहेछन् । त्यहाँको शैली नै त्यस्तै रहेछ । आगाको छेउमा बसेर एकहातले नाक पुछ्दै अर्को हातले खानेकुरा चलाउने ७२ बर्षे हजुरआमा पनि आइजा नै भन्छिन् बाँ । त्यतिमात्र कहाँ हो र बेशीशहरदेखि गएका लमजुङे पत्रकार तथा मानवअधिकारकर्मी कृष्ण अधिकारी पनि पो त्यहाँका सबैलाई आइजा, आइजा भन्छन् बा । बुझेपछि थाहा भयो यो त यहाँको चलन नै रहेछ । अनि मैले पनि भन्न थाले, ए सइसाप आइजा । ए पवन बाबु आइजा, चिया खा । लु बस् । लोकल कुखुरो पो खान्छास् की? झ्वाइखटटे पनि पाइन्छ रे है । खा, खाँ काठमाण्डौ गएपछि के हो के हो, यही खा बाबु आइजा । पवनलाई किन जोस नचढोस्, जानेबित्तिकै चौरमा बसेर हिमालको काखमा नुहाँउदाको चोट कसरी बिर्सन सक्नु । त्यो चिसो भगाउनका लागि पनि लोकल कुखुराको भाले मर्ने नै भयो । बिचरा, एकछिन अगाडि उज्यालोमा घरबेटी आमाले ख्वाक्क खोकेर थुँ गर्दा डौदिदै गएर खकार खान लालायित त्यही भाले खान अहिले त्यहाँ उपस्थित हामी मान्छे लालायित । त्यसैले त उखान बनेको होला, पाएपछि अलकत्रा पनि खाइन्छ । झ्वाइखटट्े र कुखुराको भाले स्वाहा । तर धन्न कोही मातेनन् । त्यही भएर त्यसलाई कोदो भनेको होला । काठमाण्डौमा पाइने झोल भए, देखाइदिन्थ्यो बाउआमाको बिहे, बिहान उठेपछि राती खानेहरु सबैको तर्क एकै नासको थियो ।

भाले र कोदोको खट्टे खाएर फुर्ति गर्नेमा हामी बस्ने घरमात्र परेनछ । कोदोले त सहकर्मी प्रकाश र विकास बसेको घरमा पो आतंक मच्चाएछ बा । अघिल्लो दिन क्याम्प फायर भयो रे भन्ने हल्ला भोलिपल्ट खुब सुनियो । हाम्रो समुह बुढा युवाहरुको भएकोले होला, क्याम्प फायरमा जान सकिएन । चाहना पनि भएन । फायर त अरु पनि थुप्रै भएछन् । यात्री शेखरको गजल त ठिकै पो थियो रे हाम्री बिद्यार्थी नेता उर्मिला थपलीयाको अगाडि । प्रकाशले भनेको बडो रसीक गजलकार रहिछन् नेवीसँघकी केन्द्रिय सदस्यसमेत रहेकी उर्मिलाजी । प्रतिभा छ भन्ने मलाई अघिल्लोदिन कर्लकीबाट अघिबढेपछि नै थाहा भएको हो । माइक्रोबसमा अरु भने गफमा उनी चै साम्यवाद सम्बन्धि किताव अध्ययनमा व्यस्त । कसरी सकेको होला, रिंगटा पनि नलागेको, कस्तो अचम्म? मैले त यही नै सोच्दै बेशीसहर पुग्दा पो थाहा भयो उनी त गजलकार पनि रहिछन् । रहस्य खुल्दै गयो । घलेगाउँ पुगेपछि उनको पनि गलज फायर भएछ क्याम्प फायरको अगाडि बसेर । अनि प्रकाशको दोहोरी । के मात्रै गाएनन् उनले अरुलाई झम्टनै नदिने । मै हुँ भन्दै गाउन अघि सरेका विकासजी त एकैछिनमा दुलापसे । रुवावासी, कोकोहोलो, प्रकाशका चुनौतीका अगाडि कोही टिकेनन् । भोलीपल्ट हल्ला भयो प्रकाशको त्यो तागतमा कोदो रस मिश्रित थियो । धन्य कोदो । मैले त फेसबुक स्टाटसमा कतै उल्लेख नै गरे, कोदे दोहोरी । जे होस्, कोदे दोहोरीले हातमा कोदोकै खाएजसरी तातोपानी खाइरहने साधनाजीलाई पनि बाँकी राखेन । जान्ने हुँ भन्दै एउटा दोहोरीको गेडो के गाइथिन् प्रकाशको झम्टाइपछि थुचुक्कै । साझँतीर दाङ, बारा बिरुद्ध काठमाण्डौ सुनसरी बीचको शत्रुतापुर्ण फुटवल प्रतियोगीतामा काठमाण्डौको टिममा रहेको त्यही प्रकाशलाई हौस्याउँदाको गुन प्रकाशले दोहोरीमा नराम्ररी तिरेपछि उनको पनि के लागोस् । ए साँच्ची फुटवल खेल्दा म चाँही एकपटक गोलकिपर बने । चार गोल बचाए, दुइ गोल खाएँ क्यारे । पछि खै व्याकवार्ड हो की फरवार्डको जिम्मा लिएको थिए, बल अगाडि बढाउने मौका नै कम पाइयो । दर्शकमा बस्नेहरुले हुटिङ गर्दा मेरो नाम कहिल्यै लिएनन् । पवन लगायत केहीको नाम लिएर हुटिङगर्दा एउटा नामले चै दर्शकदिर्घामा बसेर हुटिङ गरिरहेका महिला साथीहरुलाई निकै अप्ठयारो भएको महशुस गर्न सकिन्थ्यो, त्यो नाम थियो अनेरास्ववीयुका सचिवालय सदस्य दुध प्रसाद घलेको । पवन, पवन, पवन भन्न सजिलो, तर जतिबेला दुधप्रसादले बल अगाडि लान्थे महिला साथीहरुको आवाज बिस्तारै हराउथ्यो । बरु गलल्ल हाँस्थे । हो नी त भन्न पनि गाह्रो नाम, दुधप्रसादजी राम्रो खेलाडी हुटिङ त चाहियो नै तर कसरी भन्ने, दुध, दुध, दुध ... दुई चोटी पछि आवाज नै गायव । कारण त्यो दुध भन्ने शब्द नै हुनुपर्छ भन्ने अनुमान सबैले अनुमान लगाए । हे दुध तेरो रुप अनेक, मैले मनमनै भनेहुँला । फुटवलमा खेलाडी पनि नेपालीमात्र हो र? एउटा बिदेशी, स्पेनी पनि मिसियो । केटो तगडा, बीसबर्षपछि फुटवल खेलेपनि करामत देखाइहाल्यो । गर्मि भएछ, पेन्ट खोल्यो, त्यो पनि दर्शकमा रहेका महिलाहरुको अघिल्तिर उभिएर । गाला राता भए साथीहरुका । गञ्जि खोल्यो, सेतो पेट देखेर कसैले त खैरेलाई उडाइहालेछ, सालेको छालामा चाया परेछ । पछि थाहा भयो त्यो भन्ने चाँही अरु कोही नभएर साधनाजी नै रहिछन् । अरु महिला पनि के कम, भनेछन्, चाया हैन हिउँ नै परेछ नी । जे होस् । खेल मज्जाले नै खेलियो, त्यो पनि २१०० मिटर उचाईको मैदानमा । तर दुर्भाग्य, फुटबल भनेर खेलेको भलिबल परेछ ।

, क्लवका साथीहरुलाई ६०० रुपैयाँ क्यास बुझाउनु परिगो । खेलले पसिनामात्र काढेन, जुनसुकै कुरामा पनि गज्जबको आइडिया निकालेर केह ीगर्न खोज्ने मित्र भाष्करजीलाई अर्को आइडिया फुराउन सघायो खेलले । काठमाण्डौ फर्केपछि इक्वल एक्सेस, युथ एक्सन र इन्टरनेशनल एलर्ट मिलेर मैत्रिपुर्ण क्रिकेट खेल्ने । तालिका साथ पास भयो उनको आइडिया ।
यो लेखपढ्दै यहाँसम्म पुग्दा तपाईलाई लाग्यो होला, साथीहरुले मोजमस्ति नै गरेछन् । सही हो, तर मोजमस्तिमात्र हैन, युवा, सुरक्षा तथा न्यायको सवालमा समुदायमा सार्वजनिक सुरक्षाको क्षेत्रमा युवा बिद्यार्थी, सामुदायिक प्रहरी, शान्ति समिती, बिभिन्न एनजीओ र युवाहरु मिलेर गर्नसक्ने थुप्रै कामहरुको सूची पनि तयार भयो दुई दिनको बसाईमा । बारा, दाङ, काठमाण्डौ र सुनसरीबाट भेला भएका ३७ जना युवाहरुको दस्तालाई घलेगाउँ बसाईले अबस्य नयाँ उर्जा दिएको छ । घाटु, कुष्णचरित्र जस्ता गुरुङ संस्कृती झल्काउने प्रस्तुती, जेठो छोराको लागि गरिने बिशेष समानित कार्यक्रम पुटपुटे, सेल रोटीसँगै एकाबिहानै कोदोको जुस, हिमालको काख, गुरुङसेनी आमाहरुको स्वागत र बिदाई, होमस्टे, स्वादीलो खाना, अनि उकाली ओरालीकै बिचमा हराभरा चियाबगान, जाँदा आउँदा जति सास्ती भएपनि घलेगाउँ यात्रा अबिष्मरणीय लागिरहेको स्थिती हो भन्ने हामीलाई लाग्छ, यहाालाई के लाग्छ कुन्नी?

2 comments:

Urmila Thapaliya said...

हजुर को लेख पढ्दा फेरी म घले गाउ पुगे जस्तो लाग्यो त्यहाँ को हुबहु घाटनालाई उजागर गर्नु भएको रहेछ ।

Unknown said...

वास्तवमा घलेगाउँको यात्रा अविस्मरणीय रह्यो । म पनि यो लेख बेला बेला पढ्छु, त्यही पुगेजस्तो लाग्छ । प्रतिकृयाको लागि धन्यबाद ।

Popular Posts

Blogger templates

Blogger news

Blogroll