इस्लामावाद शहरको तुलनात्मक रुपमा लो प्रोफाइलमा रहेको हिलभ्यु होटलमा छिर्ने बित्तिकै ठुलो क्रिनमा टिभी संवाददाताहरु कतै लाइभ त कतै रेकर्डेड समाचारहरु दिइरहेका थिए । फुटवलको चासो कम थियो, तर चासो र चर्चा थियो अघिल्लो दिन अर्थात जुलाई १ मा लाहोरमा भएको दर्दनाक सुसाइड बम हमलाको । कुनै कुनै च्यानलहरुले त हमलाकारीहरुले कसरी हमला गरे भनेर ऋऋ ऋबmभचब ले खिचेको तस्विरलाई महत्वका साथ देखाईरहेको थियो । हमला दर्दनाकै थियो । झन्डै ५ दर्जनको ज्यान गयो, सयौ घाइते भए । साँझ पर्न लाग्दा बेनन्जिर भुट्टो अन्तराष्ट्रिय विमानस्थलमा उत्रेपछि मेरो पहिलो प्रश्न थियो सहकर्मी इरफानलाई वास्तवमा को हुन् हमलाकारी? किन हुन्छ यस्तो हमला जहाँ निर्दोष मान्छेको ज्यान जान्छ? इरफान एउटा पाकिस्तानी नागरिक, उसलाई मेरो प्रश्नको जवाफ दिन गाह्रो भएको महसुस भयो मलाई । र पनि बोल्यो, उनीहरुको यो जेहाद हो, वास्तविक रुपमा अमेरीकीहरुको नेतृत्वमा रहेका पश्चिमा शक्तिहरुको थिचोमिचोको बिरोधमा । पश्चिमाहरुलाई डराउन उनीहरु आफ ्नै देशका नागरिक मार्दैछन् त्यो पनि निर्दोष । त्यही त, मेरो भनाई भुईमा खस्न नपाउदै उ बोल्यो जसले यो काम गरेको हो उनीहरु भन्छन् पश्चिमाहरु भन्दा पनि उनीहरुको लागि काम गर्ने यो देशका नागरिक गद्दार हुन् । खै मलाई त साह्रै नराम्रो लाग्यो । धन्न मैले यो बम हमलाको खबर घरमा हुदाँ सुनिन । कविताले पक्कै गुनासो गर्थिन होला । हुन पनि सही हो, यस्तो ठाउँमा एक्लै जाँदा कसलाई डर लाग्दैन र, र पनि उनले मलाई हाँसीहाँसी बिदा दिइन् । बिश्रुद सानै छ, त्यसैले धेरै कुरा थाहा पाउँदैन । पाकिस्तान जाने भन्दा ए अपिस जाने हो बाबा हजुर? भन्दा उसको बाल्यापनसँग कस्तो माया लाग्छ भन्या । कति सुन्दर उमेरमा छ उ । उसलाई के थाहा पाकिस्तान कहाँ हो? त्यहाँ हुने बमबारी, अपहरण, जेहाद, हत्या आदीले उसलाई के फरक पार्छ र? उसलाई थाहा छ मात्र माइक्रो चढ्यो भने बाटामा टन्नै गाडी देख्न पाइन्छ । आनन्द मान्छ । स्कुल जान पनि मन गर्छ अहिले त ।
अफिस आउने बित्तिकै क्रान्तिले सर हजुर जाने ठाउँमा कस्तो बम पड्कीन्छ, हामीलाई त कस्तो डर लागिरहेको छ सर्? उसको भनाईमा पनि निर्दोषपना र मप्रतिको सम्मान देखे । सायद उनीहरुल समूहमा मलाई स्वीकार्छन होला, र त सम्मान प्रकट गर्छन् थाहा छैन के सोच्छन् उनीहरु? विनीताले पनि हिजो हिड्ने बेलामा निकै भावुक बनेर सुरक्षाको सवाल उठाइन् । खुशी लाग्यो ।
हिल भ्यु होटल छिरेपछि लाग्यो इरफानले बाटोमा भनेको कुरा सही हो । झन्डै एकघण्टाको ड्राइभिङमा उसले गाडिको स्टेरिङ घुमाउदै इस्लामाबादको अति फराकिला र चिल्ला सडकमा भनेको थियो कम्तिमा मिडिया स्वतन्त्र छन् हाम्रा । र थपेको थियो कहिले भने स्वतन्त्रताको सिमा नाघ्छन्, र पनि मिडियाप्रति मान्छेको विश्वास छ । अनि न्यायधिसहरुप्रति । उसले पुर्व प्रधानन्यायधिस चौधरीलाई सम्झ्यो । उनीप्रति श्रद्धा व्यक्त गर्दै भन्यो, वहाँहरु र मिडियाले गर्दा नै लाग्छ हामीकहाँ प्रजातन्त्र छ । पाकिस्तान इन्टरनेशनलको जहाजमा झन्डै दुईघण्टा लामो यात्रामा न्युजविक पढेको थिए, धेरे लेखहरुमध्ये एउटा किन प्रजातन्त्र असफल हुदैछ अफ्रिकामा भन्ने घतलाग्दो थियो । कतै पाकिस्तानमा पनि? अथवा पुरै दक्षिण एशियामा? इरफानसँग आज विहानपनि प्रजातन्त्रलाई जोडेर राजनीतिमा परिवार हावी हुने दक्षिण एशियाली उदाहरणहरुमा गफ भएको थियो । एकसमयको आर्थिक शक्ति पाकिस्तान आजको अवस्थामा खासै शक्तिशालि छैन भन्न उसलाई कुनै अपठ्यारो लागेन क्यार भन्यो हाम्रो पनि भविष्य त्यति सुनिश्चित छैन । मैले मनमनै संझे त्यसो भए के हाम्रो चाँही छ त? अहँ? मनमनै जवाफ पनि खोजे । अनि मुसर्रफ? उनी त आउनै सक्दैनन् अमेरिकामा छन्, आएभने सयौ सुसाइड अट्याकरहरु उसलाई सिध्याउन अघि सरिहाल्छन् नी ।
आज इस्लामवादको एउटा प्रमुख फुड चैनमा गएर पुलाउ स्पेशल खाइयो । ज्यादै स्वादीलो थियो । त्यसपछि फर्केर काम गर्न मन लागेन । त्यसो त मसँग अरु दुई दिन बाँकी छ । धेरै काम गर्नुछ । यद्यपी आजको पहिलो हाफको काम साह्रै रमाइलोसँग सकियो । धेरै कुरा सिक्ने र सिकाउने दुवै काम भयो । दिउसो एकछिन अनलाईन बस्दा केही साथीहरुसँग भेट भयो । भोजपुर एफएमको लागि केही गर्न पनि भ्याए । साँझमा इरफानले रावल लेक घुम्न लग्यो । साह्रै रमाईलो ठाउँ रहेछ । सप्ताहान्त भएकोले होला मानिसहरुको घुइचो । आठबजे साँझ नपरेपनि बत्ति बचाउनका लागि आठै बजे बन्द गर्ने नियम रहेछ । लोडसेडिङको कारणले होला । यस्तो नियम हामीकहाँ त छैन होला, बिजुली बचाउनका लागि प्राय अतिआवश्यक नपर्ने क्षेत्रको बिजुली निश्चित अवधि भएपछि काटिदिने । प्रणाली राम्रो लाग्यो । अनि इस्लामाबादका फराकीला सडकहरु । वाह, क्या चिल्ला र फराकिला सडक? इरफानले भनेको पाकिस्तानको यो शहर १९६० पछि बनेको हो । त्यसैले यहाँको भौतिक संरचना खासगरी सडक कुनै पनि विकसित देशको भब्य शहर भन्दा कम छैन । अनि नो ट्राफिक । कस्तो मज्जा सडकमा । इरफान साह्रै रमाईलो मान्छे, आफ्नै कारमा मलाई सयर गराइरहेको छ । भोलि पनि यस्तै सुन्दर ठाउँमा जाने योजना छ उसको । मैले पनि हुन्छ भनेको छु । किनभने फेरी यहाँ आइन्छ की आइन्न? आएको बेला यहाँको रमाइलो भरपुर आनन्द लिनुपर्यो नी हैन ?
श्रीमतिसँग घरछोडेपछि गफ हुन पाएन । उनी कति निराश होलिन्? ठान्या थिए, तर त्यति धेरै हैन रछ । जर्मनीले आजको गेममा अर्जेन्टिनालाई जित्दा उनी निकै उत्साहित थिइन । मैले भने किन यत्रो उत्साह? के उसले जित्दैमा हाम्रो घरमा बिहानै दुध आइपुग्छ? भाडामा बसेको छौ घर बन्छ? वा कार चढ्न पाइन्छ? मलाई आफ्नै प्रश्न सोधाईप्रति मुर्खता महशुस भयो । उनीले जवाफ नफर्काउदै म लज्जित भए । यस्तै हो । म कता कता अर्जेन्टिनाको पक्षमा थिए । तर हैन रछ । अनि अलि फुर्ति गर्ने टिमले हार्नु पनि पर्छ भनेर मनमनमा चित्त बुझाँए । उता च्याटमा फेसबुक मार्फत उपलब्ध कविताको खुशीको सिमा नै थिएन । एकछिन त झगडै होला जस्तो भयो । अनलाइनमा अरु साथीहरु पनि भेटिए । केही छिन गफ भयो । वास्तवमा पाकिस्तान आएको दोश्रो दिन रमाइलोसँग बित्यो । सुरक्षाको चासो र चिन्ता त छदै छ त्यही पनि आएको बेला थोरबहुत फन पनि त हुनै पर्यो कि कसो? फोटोहरु पछि अपलोड गरुला ।

0 comments:

Popular Posts

Blogger templates

Blogger news

Blogroll