̕तिमीलाई थाहा छ त्यो केटी को हो?̕
̕थाहा छ, उसको नाम सुमित्रा हो । थर परियार । पल्लोघरमा डेरा गरेर बसेको बर्षौ भयो । पद्मकन्या कलेजमा बिए तेश्रो बर्षमा पढ्छे ....̕
̕ओहोहोहो, मेरो बारेमा तिम्लाई त्यति थाहा छैन, त्यो कालिको बारेमा त्यत्रो इन्फर्मेशन? मैले माने, तिमी पुरुषहरु लभ गरुन्जेलमात्र ठिक पार्छाै, बिहेगरेपछि आफ्नो असलीयतमा आउछौ । मलाई अहिलेसम्म कस्ती राम्री भन्याछौ? त्यो चाँही काली, हिस्सी परेकी, बोल्ड, के के हो के के? हैन स्वास्नीको अगाडि त्यस्ता थर्डक्लास आइमाईको तारिफ गर्न कति पनि डर छैन है तिमीलाई ।̕

बिचमा केही समय स्थिर र सुमूधुर भएको हाम्रो लोग्ने स्वास्नीको सम्बन्धमा फेरी एकपटक बादल मडारिन थालेको थियो । रिचाले आज केही गरेपनि आफ्नो मुड बद्लेकी छैन । हेर्दा लाग्छ उ आज मलाई सजिलै छाड्नेवाला पनि छैन । छोरोको स्कुल बस आइसकेको थियो । छोरालाई पुर्याउन जानुको साटो यस्तो लाग्थ्यो, उ मसँग तयारीका साथ निहुँ खोज्न बसेकी छु, छोराको बस छुटेछुटोस् । हिजो राती किन निदाइन भन्ने कुरा अहिले बल्ल बुझ्दैछु । रिचा जति नै तनाव आएपनि मैले अठोट गरिसकेको छु, म होस गुमाउँदिन । केही दिन अगाडिमात्र बिपश्यनाको फाइदाको बारेमा पढेकोले होला मेरो सोचमा जसरी पनि बिपश्यना जाने अनि पुर्ण रुपमा आफुलाई बदलेर आउने दिनको मात्र प्रतिक्षा थियो । यही कुरा सल्लाह गर्ने बिचारमा थिए रिचासँग कहिले जाउँ? तर एकाएक सुमित्राको बिषय छिर्यो हाम्रो बीचमा । मैले बिपश्यना जाने मेरो योजना नसुनाउदै उसले ५ पटक भन्दा बढी मलाई त्यो केटीलाई लिएर घोचपेच गरिरहेकी थिई जसको बारेमा मैले सही कुरा बताए भने के होला हालत? मनको डर अनुहारमा नदेखाउनका लागि फ्रिडम एट मिडनाइटका पाना पल्टाउँदै छोरालाई हेरे, उ पनि आजित देखिन्थ्यो । मनमनै सोचे, ̕गल्ति मेरै हो त?̕
̕हो त? कसको हुन्छ? घरमा श्रीमती, छोराछोरी भको मान्छे, उनीहरुलाई दिने समय छैन, सुमित्राको भबिष्यको चिन्ता छ तिमीलाई ? हैन मलाई भन त को हो त्यो तिम्रो?̕
को भन्नु? कसरी भन्नु? नभनिकन कसरी बस्नु? कुनै पनि कुरा स्पष्ट नभन्नु पनि मान्छेलाई भ्रममा राख्नु हो । लोग्नेस्वास्नीका कैयौ झगडाहरु बिवाहेतर सम्बन्धलाई लिएर नै हुन्छ । मेरो सवालमा त यो हरेक महिना हुन्छ । के यसको अर्थ म घरबाहिर रमाउन बढी रुचाउँछु?
̕हेर मुकेश, अब चाँही अति भयो । यो ७ बर्षका बीचमा तिमी कहिल्यै सुध्रिएनौ । म मात्र सधै सहेर बस्दिन । अस्तिमात्र अब म सुध्रे भनेको मान्छे अहिले फेरी उही कुला । किन त्यो सुमित्रासँगको उठबस बढायौ? खोई मेरो प्रश्नको जवाफ? को हो त्यो सुमित्रा? हु इज सी? म त्यसलाई आज जान्याछु । कलेजबाट फर्कियोस् न, बाटामै आँखा फोरीदिन्छु, अनि थाहा पाउँछे अर्काको लोग्नेसँग सल्किनुको परिणाम । खुब मोजमस्ती सोचिरहेकी होली नी, जिन्दगीमा तिमीलाई त के कुनै पनि पुरुषलाई हेर्न नसक्ने गरी आज म त्यसलाई ठिक पार्छु, अनि थाहा पाउँछे ।̕
अब भने मैले मुख खोल्नैपर्ने बाध्यता महशुस गरे । ̕हेर रिचा, तिमी जे भन्दैछौ, सबै कुरा अनुमानको आधारमा भन्दैछौ । शंकाको भरमा भन्दैछौ । तिमीलाई केही पनि थाहा छैन, तिमी फेरी मलाई पहिलेकै जस्तै उही पुराना कुराहरुमा लाँदैछौ जुन मैले पहिले पनि स्पष्ट जवाफ दिइसकेको छु । फेरी तिमी किन?̕
̕आफैलाई सोधन किन? हिजोराती कता गइएको थियो? किन सँगै आइयो सुमित्रासँग? मैले फोन गर्दा म पार्टीमा छु भन्ने, पछि थाहा भो नी मलाई, पार्टी कस्तो र कोसँग रहेछ भन्ने कुरा?̕
̕बिश्वास गर रिचा, हिजो म पार्टीमै थिए ।'
̕अनि त्यो नकच्चरी?̕
̕उ पनि पार्टीमा थिई ।'
̕अब भयो, मैले धेरै सुन्नु छैन, त्यो कालिका बारेमा । तिमीलाई राम्ररी चिने । हिड छोरा, यो घरमा हाम्रो काम छैन । तेरा बाउलाई अरु केही चाँहिदैन रक्सी र केटी भए पुग्छ । हिड छिटो ।'
एकाएक ढ्याम्म बज्यो ढोका । गेटको आवाज पनि अरुदिनभन्दा कडै थियो । पाँच मिनेटको अन्तरमा भएको यस्तो घटनाले मलाई ९ बर्ष अगाडि पुर्यायो ।

̕तपाईले लाएको यो लुगामा अधिनायकबादीको गन्ध आँउछ । यस्तो छाडा भएर फेरी यो गाउँमा नछिर्दा राम्रो ।̕ हाफ जिन्स र टिसर्टमा गाउँमा एउटी अपरिचित केटी देखेपछि उसले भनि, ̕तपाई भोली नै यो गाउँ छोडेर जानोस्, नत्र हामी तपाईलाई कार्वाही गर्छौ ।̕ नसोचेको वातावरण आइलागेपछि रिचा झस्किई र डर–मिश्रित भावमा मलाई हेरी, यस्तो लाग्यो उ मसँग सहयोग मागिरहेकी छ । रिचालाई थाहा छैन उसलाई त्यो केटीले किन गाली गरी, त्यो केटी को हो? लुगा, अधिनायबाद, छाडापन, भोली नै फिर्ने, सायद रिचाको मथिंगल पुर्णरुपमा बिचलित हुनुपर्छ, उसको अनुहारमा मैले त्यस्तै भाव पढ्न सके ।
̕भुषण के हो यो? किन उनीहरुले मलाई गालि गरेका?̕ मैले रिचालाई एउटा कुनामा बोलाएर उनीहरु को हुन्? किन यसो भन्दैछन् भन्ने बताइरहँदा मलाई यस्तो लाग्यो रिचा अब झनै डराइरहेकी छ ।
नडराउ, मैले यहाँका केही साथीहरुलाई भेटिसकेको छु । अघि त्यो बाटोमा तिम्रो झोला मनपर्यो भन्ने केटो पनि यही कतै छ । उसले हामी को हौ, किन आएका भन्ने थाहा पाइसेको छ । आत्तिनुपर्दैन । हामी सुराकी हैनौ भन्ने कुरा उनीहरुले बुझेका छन् । त्यो केटी यहाँकी हैन, उसलाई पनि थाहा छैन हामी के गर्छौ? म त पहिले पनि यहाँ आएको हुनाले यो गाउँका अरुलाई पनि चिन्छु, डराउनु पर्दैन ।̕
त्यो रात रिचा अर्को खाटमा छटपटाएको प्रष्टै सुनिन्थ्यो । उ निदाउन सकिरहेकी थिइन । गाउँको बास दुई कोठामात्र भएको घर, एककोठामा घरबाला र अर्को कोठामा हामी सुत्नु त्यस क्षणको लागि असहज बाध्यता थियो रिचा र मेरा लागि । रिचाले कसरी बुझेकी थिई त्यो अप्ठ्यारोलाई कुन्नी? मेरो लागि भने यस्तो अनुभव नौलो थिएन । जिल्लाको प्रतिष्ठित एनजीओमा आइएनजीओको तर्फबाट काम गर्न जाँदा रिचा र म सहकर्मी थियौ । म सिनीयर भएपनि रिचा मेरा लागि समकक्षिजस्तै थिई, अर्थात साथी हुदै पछि उ नै मेरी श्रीमती बनि । सायद त्यो दिनको एउटा कोठा, दुईटा ओछ्यानको सुताई उसका लागि यस्तो क्षण बन्यो उसले मलाई बिश्वास गर्न सक्ने आधार भेटाई होला ।

̕सर तपाईलाई मैले बर्षौ पहिले केरुङको ओरालोमा हतास मनस्थितीमा भाग्दै गरेको देखेकी थिए । हामी पनि भाग्दै थियौ त्यो बेला । झाप्रेमा झन्डै भिडन्त भएपछि हामीले तपाईहरुलाई सुराकीको शंका गरेका थियौ, तर तुरुन्तै त्यो शंका असत्यमा परिणत भएको स्थितीमा हामीले तपाईहरुलाई भाग्नलाई रोकेनौ,̕ अपरिचित युवतीको एकोहोरो भट्याइले मलाई अनायासै उ प्रति तानीरहेको थियो । बर्षौ पहिलेको त्यो साँझ आँखै अगाडि नाँच्न थाल्यो, भाग्ने सुरमा एउटा महंगो लठ्ठि जुन मैले ठमेलमा किनेको थिए, हराएको थियो । जुत्ता च्यातिएको थियो । बल्लबल्ल एउटा घरमा पुगेर राती आठ बजे आलु उसिनेर खाएपछि हामी भोलिपल्ट बाटो लागेका थियौ केरुङ हुदै सोलुको सदरमुकाम सल्लेरी । त्यो दिन संझाउने त्यो केटीलाई मैले एकोहोरो हेरिरहे । उ रोकीने छाँटमा थिइन । बोल्दै थिइ, ̕तपाईहरुले बिहे गर्नुभएछ । तपाईको मिसेस रिचा जी हैन? हो वहाँलाई मैले एकदिन नराम्ररी गालि गरेकी छु, वहाँको लुगालाई लिएर । तपाईले थाहा पाउनु भयो?̕ मेरो अनुहारको भाव एकाएक फेरियो । मैले पत्याउन सकिन । आफुलाई चिमोटे । म बिपनामा नै थिए । संझे त्यो दिन र आजको यो क्षणलाई जोड्ने त्यो लामो समयको अन्तराललाई । कसरी यस्तो भयो नसोचेको दिन, नसोचेको क्षण, कल्पना नगरेको पस्थिती । फेरी एकोहोरिए त्यही काली, हिस्सिपरेकी युवतीतीर जतिबेला उ कसैको कुरा ध्यान दिएर सुनिरहेकी थिई । मैले उसलाई तलदेखि माथिसम्म हेरे । उसको लुगालाई हेरे । उसले गरेको मेकअप हेरे । उसको जिउलाई तलदेखि माथिसम्म स्क्यान गरेर हेरे । अनि फेरी संझे त्यो दिन जुन दिन रिचालाई उसले बेस्मारी थर्काएकी थिई । कस्तो अचम्म, मैले पत्याउन सकिन । म एकोहोरो उसलाई हेरिरहेको थिए । बोल्न खोज्थे ओठ हल्लिदैनथे । मुख सुकेजस्तो भयो । पानी माग्ने स्वर दविएको थियो ।
̕
वाइदवे, सर मेरो नाम सुमित्रा, सुमित्रा परियार । म पार्टीको युवादस्तामा आवद्ध छु । झुक्किनुपर्दैन । त्यो बेला र अहिलेको समयमा बर्षौको अन्तर छ । म त्यो बेला गाउँमा थिए, अहिले शहरमा छु, एउटा त्यस्तो शहर जहाँ संसारका सबै आधुनिक शहरका उपभोग्य बस्तुहरुमात्र हैन मान्छेहरु पनि खुल्लमखुल्ला बेचिन्छन् । शरिरको मोलमोलाई हुन्छ, अंगअंगको भाउ लगाईन्छ । मान्छेलाई बस्तुको रुपमा व्यवहार गरिन्छ । अलिहे म त्यही शहरमा छु, तपाईलाई मैले एकोहोरो रुपमा चिनेको हुनाले मलाई असजिलो लागेन कुरा गर्न । तर तपाई?̕
̕हैन हैन मलाई पनि ठिक छ । लामो समय, शहरको व्यस्तताले सझनेशक्ति समेत कमजोर बनाउँदो रहेछ । अब मैले चिने ।̕ सम्हालिदै मैले पनि बोल्नै पर्ने बाध्यता आइलागेको थियो ।
̕बाइदवे सर, म अहिले पत्रकारिता तालिम लिदैछु । पार्टीका लागि संचारक्षेत्रमा काम गर्छु । पिकेमा समाजसेवा पनि पढ्न थालेकी छु, बिएमा । तपाईजस्ता मान्छेको संगत गर्न मन छ । मलाई तपाईको नम्बर दिनोस् अहिले जान्छु पछि कुरा गर्छु । सर डन्ट माइन्ड है, देशलाई फेर्छौ भन्दै हिडेका मजस्ता कैयौ दिदी बैनीहरु अहिले म जस्तै फेरिएका छन्, देश चाँही कति फेरियो यो चाँही तपाईहरु नै जान्नोस् । बाई सर । फोन चाँही उठाउनोस् है ।̕
मैले फेरी पनि आफुलाई चिमोटे । त्यो म नै थिए । अनि पुर्ण रुपमा बिपनामा थिए । यताउति हेरे । नाङलो बेकरीमा चहलपहल थुप्रै थियो । एकछिन अगाडि सञ्चयकोष भवन ठमेल अगाडि सडकमा उभिएर खाएको स्वादीलो चिया फेरी खाँउखाँउ लाग्यो । कफि पाए त? गोजी छामे, नाङलोमा छिर्ने हैसियत थिएन आज । उ भने सरासरी होटल अन्नपुर्णतिर पसी । फोनमा झुन्डिएकी थिई उ । रिचाको फोन आएपछि म सरासर रत्नपार्क पुगेर चावहिलको टेम्पो समाते ।

कफिमा लिप्त म, बियर नभै नहुने सुमित्रा । हेर्दा शहरकी कुनै मोडर्न युवती भन्दा कम देखिन्नथी । कस्तो बाध्यता, उठबस बाक्लिन थालेपछि मैले पनि बियर शुरु गरे । चुरोट पनि चाहिन थाल्यो । हरेक दिनजसोको फोन र एसएमएस, हुदाँहुदै उसले अब मलाई फेसबुकमा एड गरि । रातीसम्म च्याट हुन थाल्यो । अफिसमा पनि मेरो काम गराईलाई लिएर सिनीयरहरुले प्रश्न गर्ने बेला आउन थालिसकेको थियो भने घरमा रिचाले ।
̕सर म काठमाण्डौ आएको चार बर्ष भयो । के गर्नु बाँच्नका लागि जहाँ जस्तो हावा चल्छ त्यतैतिर बहकीनुपर्ने रहेछ । म पनि यो शहरमा अभ्यस्त भैसके । त्यही भएर मेरो रुप यस्तो भएको । हेर्दा अचम्म लाग्यो होला है तपाईलाई? यो सब बाँच्नका लागि हो सर । मान्छेहरु मेरो बौद्धिकतालाई हैन, मैले समाजका लागि लडेको बिगतलाई हैन मेरो शरिरलाई हेर्छन् । मेरो आत्मालाई पढ्दैन, ज्यानको फिगर नाप्छन् । यस्तोमा मैले के चाँही गर्नुपरेको छैन । म जति बाहिर सुन्दर, हसमुख र पुठ्ठ देखिन्छु म भित्र त्यति नै खोक्रो छु सर । मेरो जीवन नरकमा छ । म हरेक दिन आफ्नो आत्मा बेचेर यो शहरमा शहरिया भएकी छु । सभ्य, सुन्दर र मोडर्न युवती भएकी छु । तर म जिर्ण छु, दिनदिनै जलेकी छु जसरी यो सलाईको काँटी सल्काएपछि यो चुरोट जल्छ ।̕ सुमित्राले यसो भन्दा उसले दुइवटा चुरोट भ्याइसकेकी थिई । मैले पनि एकबोटल गोर्खा बियर सिध्याएपछि रिचाको डरले पनि अर्को बोतल आँट्न सकेको थिइन । उसका अगाडि ठडिएका क्लार्जबर्गका दुई बोतल रित्तिइसकेका थिए । लाग्यो सुमित्रा आज उठ्ने मुडमा थिइन, न त मलाई नै जान दिन्थी ।

̕मलाई यो दलदलबाट मुक्त गर्नोस् सर । म पत्रकारिता तालिम र बिएको पढाई पुरा गर्नका लागि यो प्यारो शरिर बेच्न सक्दिन । म यो पेशाबाट वाक्क भैसके । तर मेरो अगाडि बिकल्प छैन । पार्टीले गर्ने सहयोगले मेरो लिपीस्टीकको खर्च धान्दैन । काठमाण्डौको महंगाई यहाँलाई थाहा छदैछ नी । म जागीर खान चाहान्छु । मलाई केही सहयोग गर्दिनुपर्यो । म यो समाजका लागि केही गर्न चाहान्छु, त्यसका लागि मलाई आत्मबल चाहिएको छ, शिक्षा चाहिएको छ ।̕

लामो र निरन्तरको उठबसपछि मैले उसलाई म बस्ने घर नजिकै एउटा सस्तो फ्ल्याटको व्यवस्था मिलाइदिए । महिला अधिकारको क्षेत्रमा काम गर्ने एउटा एनजीओमा सानोतिनो काम लगाईदिएको थिए । जसले गर्दा उ मसँग अरुभन्दा बढी नजिक थिई । भन्थी, म नै उसका लागि गडफादर हुँ । त्यसैले उसले मलाई चाहिनेभन्दा धेरै पटक फोन गर्ने, मेसेज पठाउने, चिया, कफिको बहाना बनाउने गरेकी थिई । यो अवधिमा उसमा आएको परिवर्तन थियो, उसले चुरोट र रक्सी चटक्कै छोडेकी थिई । उसका ओठहरुमा निरन्तर चुरोट पिउनेको जस्ता काला धब्बाहरु चाही बाँकी नै थिए, र पनि ओठमा हेरिरहँदा लाग्थ्यो सारै मादक छन मोरीका ओठ पनि । पहिलेजस्तो बिभिन्न अंगप्रत्यंग पुठ्ठ देखिने गरी लुगा नलाएपनि उ काली, हिस्सि परेकी र पहिले जस्तै बोल्ड थिई जुन बेला उसले रिचालाई लुगा, कपाल र हल्का मेकअपलाई लिएर गाउँ निकाला गर्न खोजेकी थिई ।

एकदिन चावहिल मित्रपार्कको टिम्मुर रेष्टुराँबाट सुमित्रासँग बाहिरिदै गर्दा रिचाकी साथी कल्पनाले देखेर पोल लगाएदेखि रिचा हाम्रो पछि लागेकी छन् । रिचा जसरी पनि यो कुरा थाहा पाउने दृढ अठोटमा छन् सुमित्रा र मेरो सम्बन्ध के हो? किन म उसलाई भेटिरहन्छु? मलाई हाम्रो सम्बन्ध बताउन गारो छैन तर डर मलाई यो छ की कसरी म भन्न सक्छु रिचालाई सुमित्रा त्यही केटी हो जसले तिमीलाई बर्षौ अघि तिमीले लाएको लुगालाई लिएर थर्काएकी थिई । कसरी सुनाउ रिचालाई सुमित्रा त्यही केटी हो जसले तिम्रो घुङग्रीएको कपाल काट्दिन्छु भनेर कैची लिएर आएकी थिई । सुमित्रा त्यही केटी हो जसले तिम्रा चिल्ला पिडुला र घुडामाथिको थोरै भाग देखेर उच्छृङखल र गतिछाडा आइमाइको आरोप लगाएकी थिई । कसरी भनौ त्यही केटी जसको नाम सुमित्रा हो आज मसँग निकटस्थमात्र हैन अन्तरंग बनिसकेको छु । छोरालाई बस चढाएर रिचा फर्किने बेलासम्म पनि मैले उत्तर पाएको थिइन र तत्कालै पाउने पनि थिइन होला ।

कुमारीपाटी, फागुन ८, २०६८

3 comments:

Urmila Thapaliya said...

पढ्दा पढ्दै कति ठाउँमा रोकिए, धेरै मर्मिक छ ।
झन्डै रोएको म त ।

Unknown said...

धन्यबाद उर्मिला जी । कुनै कुनै त्यस्ता घटना तथा आलेखहरुले चाहिनेभन्दा धेरै भावुक बनाउँछ मानिसलाई । लेख्न एकथोक खोज्यो लेखिन्छ अर्को कुरा । यहाँलाई परेको मर्मप्रति क्षमापार्थी छु ।

Unknown said...

heart touching writing love that
"अन्तरद्धन्द्ध -'तिमीलाई थाहा छ त्यो केटी को हो? '"

Popular Posts

Blogger templates

Blogger news

Blogroll

Archive