म उच्चजातीय ब्राम्हण । उपाध्याय खानदानको केटो । बुबा भन्नुहुन्छ हजुरबा गाउँमा नाम चलेका पण्डित । तत्कालिन बालागुरु षडानन्दका चेला हुनुहुन्थ्यो रे मेरा हजुरबा । तीनटी फुपुहरुको पनि खान्दानी बाहुन र पण्डितहरुसँगै घरबार भयो । हजुरबाबाको रवाफकै कारण होला दुईटी हजुरआमाका सात छोरा चार छोरीको जन्म । बुबाको बिहे अहिलेभन्दा झन्डै ७० बर्ष अगाडि त्यसगाउँमा ठुलै धाक जमाएर बसेका 'थरी' भट्टराईकी छोरी, गाँउप्रमुखकी बैनीसँग भयो । नजिकदेखि टाढापर्ने सबैतीरका नातागोतामा उपाध्याय बाहुनको धाक र रबाफ नडगमाउने गरी सम्बन्ध बिस्तार र व्यापक हुदैगयो । तीनै हजुरबा सन्तान अहिलेपनि भोजपुर, उदयपुर, सुनसरी, मोरङ र काठमाण्डौमा समेत हजुरबाको रवाफको धङधङी जोगाउन संघर्षरत छौ । बुबापुस्ताको नजरमा छोरा र नातीपुस्ता अलिक अराजक र मतिभ्रष्ट भएकाछन् । किनकी कसैले राईकी छोरी बिहे गरे, कसैले अर्काकी श्रीमती ल्याए जुनकुरा उपाध्याय गुरागाई र कुलको नजरमा पच्न लायक भएन । मेरो बुबाको हामी चारभाई छोरा, सबैको बिहे भयो । बिहे कोसँग गर्ने भनेर पहिलेजसरी अनाबश्यक खोजीनिती नगरेरै पनि होला बुबाआमा ढुक्क हुनुहुन्छ हामी सबैको बिहे उपाध्याय बाहुन परिवारकै छोरीसँग भएको छ भन्नेमा । बुबाको नातीले पनि त्यो परम्परालाई कायम राख्ला, बिश्वास नै नगरेपनि बेलाबेला बुबाको कुरा सुन्दा लाग्छ वहाँमा त्यस्तो अपेक्षा छ ।
यो भुमिका सहित म यहाँ घमण्डका साथ प्रस्तुत भएको छु । मेरो घमण्ड अर्थात म बाहुनमा पनि उच्च बाहुन, उपाध्याय बाहुन् । उपाध्यायभित्र पनि सबै पण्डित हुदैनन् । म पण्डित बाहुन् । पण्डितका सन्तान सबैले आफुसमानकै अर्को पण्डित परिवारकासँग सम्बन्ध जोड्दैनन् तर मेरो परिवारले जोडेकोले म कतैबाट पनि नखसेको बाहुन् । देशको अहिलेसम्म राजनीतिक, आर्थिक, सामाजिक क्षेत्रमा प्रत्यक्ष र परोक्षरुपमा् अरुमाथि शासन गरिरहेको बाहुन् समुदायको बाहुन् । समग्रमा भन्दा बाठो र कपटी बाहुन् । यि सबै पगरीले गर्दा आज म घमण्डले घनिभुत भएर यो लेख लेख्दैछु । बाहुन हुनुको घमण्ड । जात र थरका आधारमा गरिने घमण्ड हिजोआज धेरैले सजिलैसँग गरेको देख्न, सुन्न, पढ्न र भोग्न पाइन्छ । यस्तो घमण्ड नेपालमा यतिबेलाको परिवेशमा स्वभाविक पनि छ ।
२०४६ सालमा प्रजातन्त्र आएपछि बर्गिय शोषणको अन्त्य गर्ने बिगुल फुक्नेहरुसँग मैले पनि कुम जोडेकै हो । समाजबादको सपना देख्नेहरुका झन्डा बोकेर सामन्तीहरुका आँखाको कसिंगर पनि बनेकै हो । बर्गिय बिभेदरहित समानता ल्याउनलाई झन्डा बोकेरमात्र हुदैन अरुपनि तरिकाछन् भन्ने दिब्य ज्ञानलाभ गरेपछि मात्र सक्रिय राजनीतिबाट फरकक्षेत्रमा प्रबेश भयो मेरो । जुन अहिलेसम्म कायम छ । मैले राजनीति बुझेदेखि आजका मितीसम्म हेर्दा लाग्छ दिर्घकालिन महत्वसहित यो देशमा धेरै ठुला उथलपुथल भएकाछन् गएका २२ बर्षमा । सामन्ती शासनको जग राजतन्त्र अहिले छैन । जात, क्षेत्र, बर्गको उत्थान र विकासका लागि समाज सचेत र सजग भएकोछ । भाषा, संस्कृती, धर्मका आधारमा पहिचान बिहीन नागरिकहरु अस्तित्वमा आएकाछन् । महिला समानता स्थापीत सवाल भएको छ । बिभेद उन्मुलनको दिशान्मुख छ समाज । सतहमा अहिले हेर्दा यस्तो देखिन्छ की गरिब दुःखीलाई साम्यबादको गुलियो सपना बाँडेर सत्तामा पुग्न खोज्ने, म्युजियममा हुनुपर्ने भनेर आलोचित भइरहने, प्रगतीशील व्यवस्था साम्यबादका संवाहक मानिने कम्युनिष्टका बिभिन्न घटकहरुले देशमा प्रभाव जमाइरहेकाछन् । हिङ नभएनी हिङ बाँधेको टालो भनेजस्तै प्रजातन्त्रको संरक्षक मै हुँ भनेर स्वघोषणा गर्ने नेपाली कांग्रेस बिचारको राजनीतिमा खडेरी परेकोजस्तो इन्तु न चिन्तुको अबस्थामा छ । राजनीतिमा क्षेत्रीय तथा जातीय शक्तिहरु उल्लेख्य रुपमा प्रभाव जमाउन सफल छन् । अचम्मसँग थाहा हुने गरी के देखिएको छ भने बाद र बिचारबाट निर्देशित बर्गिय राजनीति अब जात, धर्म, क्षेत्र र साम्प्रदायिक किसिमले स्थापित छ । जुनबिन्दुबाद अलिहेको राजनीति पहिलेकै अबस्थामा फर्किनु र आर्यघाटमा पुगेको लाश ब्युझिन्छ भन्नु अब उस्तैउस्तै स्वैरकल्पना हुनथालेकोछ । अपराधले गाँजेको राजनीति र नेताहरुको भ्रष्ट चरित्रले आम मानिसहरु यति निराशछन् की राजनीतिको 'र' उच्चारण गर्यो भने सर्वसाधरण यसरी नाक खुम्च्याँउछन् की सभ्य शहरबाट निस्केको फोहोरको डङगुरले डुङडुङती गन्हाएको बागमति किनारमा यात्रा त्यसो गर्दैनन् ।
बच्चैदेखि सुनेको प्रजातन्त्रको बिकल्प प्रजातन्त्रनै हो । कुरो बुझ्दै गएपछि अहिले पनि लाग्छ प्रजातन्त्र (अहिले लोकतन्त्र भनिन्छ) को बिकल्प प्रजातन्त्र नै हो । प्रजातन्त्रमा अधिकार र कर्तव्य महत्वपुर्ण दुईटा शब्द हुन् जसलाई आत्मसाथ गर्न नसक्ने मान्छे कहिल्यै प्रजातन्त्रबादी हुनसक्दैन । अधिकार माग्नु, पाउनु र त्यसलाई पालना गर्दा आफ्नो कर्तब्य र दायित्व नभुल्नु, सायद नैतिकशिक्षाको सही उपयोग गर्ने व्यवस्था हो प्रजातन्त्र । तर हामीकहाँ २०४६ सालपछि अहिलेसम्म, खासगरी ६३ सालपछिका दिनसम्म पुग्दा यस्तो लाग्छ प्रजातन्त्रलाई हामीले छाडातन्त्रका रुपमा बुझ्यौ र त्यसरी नै आत्मसाथ गर्यौ । हाम्रा व्यवहारहरु छाडा सोच र व्यवहारले नियन्त्रण गर्न थाले । प्रजातन्त्रको व्यवस्थापनमा कौशल बन्न सकेनौ हामी अर्थात न नेता, न कार्यकर्ता न मजस्जा कुनै राजनीतिमा नलागेका व्यक्ति । सबैले धमिलो पानीमा माछा मार्यौ । ४६ सालको उपलब्धी जोगाउन नजान्दै शुरु भएको हिंसात्मक राजनीतिक वातावरणले समाजलाई धेरै अर्थमा रुपान्तरण गर्न त सक्यो तर सँगसँगै कथित जनयुद्ध नाम दिएको त्यो हिंसात्मक मारकाटको अन्त्य हुदाँ त्यसले रोपेको जातीयता र क्षेत्रीयताको आधारमा गरिने राजनीति यतिसम्म झाँगियो की त्यसलाई तहलगाउने क्षमता गुमाईसकेको थियो समाजले ।
संविधानसभा मार्फत नयाँ संविधान बनाई संघिय नेपालको खाका कोर्न लागेको बेलामा अहिले जातको आधारमा राज्य गर्ने व्यवस्था आयो भने त्यसले अल्पसंख्यक जातकालाई सताउनेछ भन्ने गलत आशयका सन्देशले हाम्रो समाजको एउटा ठुलो समुदाय दिग्भ्रमित छ । उटा उदाहरणः केही समय अगाडि बाहुनसमाजले पुर्वाञ्चल बन्द गर्दा म पनि पुर्वमै थिए । स्वघोषित लिम्वुवानमा बसेर बाहुनले आयोजना गरेको बन्दको साक्षि हुनु सामान्य अनुभव रहेन । हरेक मंगोलियन अनुहारमा बाहुनप्रतिको आक्रोस् अनुभव गर्न सक्ने गरी देखिन्थ्यो । बजारमा अरुणपुर्व लिम्वुवानको पोष्टर टाँगिएको थियो । ती पोष्टर र सिनेमाका प्रबर्धकहरु बाहुन बिरोधी दुर्वचन निकालीरहेका थिए । अर्कातिर बाहुन समाजका स्थानीय कार्यकर्ता चुप लागेर बसिन्न भन्दै बन्द सफल पार्न तयार थिए । उनीहरुमा बाहुनलाई कमजोर ठान्ने अन्य जातीप्रति द्धेषपुर्ण आक्रोस दबिएर रहेको थियो । क्षेत्री र बाहुनले अघोषित रुपमा हात मिलाएका थिए । लामो समयसम्म यो देशमा बाहुनक्षेत्री गठबन्धनको राज्यले अरुलाई बिभेद गरेको छ भन्ने स्विकार्न बाहुनहरु तयार थिएनन् । उनीहरुलाई देख्दा लाग्यो मुठभेड हुनलाग्यो भने उनीहरु जनाई र धोतीमा सडमा निस्कनेछन् । मधेशबाट गई कपालकाट्ने व्यवसाय गरिरहेको दाईको ओठमुख सुकेको थियो । चटपटे बेच्नेको अनुहार मलिन थियो । मान्छेका अनुहार पढ्दा यस्तो लाग्थ्यो कोही खुशी छैनन् । उनीहरु चिन्तीत छन् जातका आधारमा राज्य बन्छन् र बहुमत जनसंख्याले अल्पमतलाई दवाउँछ, अब पहिलेको बद्ला लिन्छन् र शिकार हुन्छन् फेरी बाहुन अनि देशमा कहिल्यै शान्ति हुदैन भनेर । यस्तो दृष्य नजिकबाट देख्दा मलाई लाग्यो देश नजोडिने गरी टुक्रिनेबाटोमा लागेको छ । जातीय मेलमिलाप अब कागज र भाषणमा सिमित हुदैछ ।
मेरा पुर्खा कहिले यो देशमा आए? कहिलेदेखि बसिरहेकाछन्? उनीहरु आदिबासी हुन् वा हैनन् मेरा लागि यो कुराले महत्व राख्दैन । म जहिलेसम्म यो देशमा रहन्छु नेपाली भएर रहन्छु न की बाहुन भएर । मैले आत्मसमिक्षा गर्नुपर्छ यो देशमा बाहुनक्षेत्री गठबन्धनले सयौबर्ष शासन गर्यो । यसरी शासन गर्दा निमुखा, गरिवहरु दविए । जातका आधारमा देखिनेगरी भेदभाव भयो । भाषाका आधारमा गरिने बिभेदले एउटा समुदाय नेपाली हुन सकेन । नेपाली भाषा र नेपाली भेषको बिभेदले अरुभाषा र संस्कृतीलाई माथि उठ्न दिएन । त्यसैले गर्दा हिजो दबाईएका स्वरहरु आज जाती, भाषा, सम्प्रदाय, धर्म, संस्कृती र क्षेत्रको आधारमा बाहिर आएकाछन् र अस्तित्वका लागि लडिरहेकाछन् । रुपान्तरणका बेला यस्तो हुनु स्वभाविक हो । तर यसलाई स्वभाविक मान्न तयार नहुने र देशलाई समृद्ध देख्न नचाहने तत्वहरु अहिले जातीय, क्षेत्रीय तथा साम्प्रदायिक रुपमा समाजलाई टुक्र्याउन उद्यतछन् । मेलमिलाप हुन नदिन सक्रियछन् । समाजमा शान्ति नहोस् भन्दै अहोरात्र खटेकाछन् । जुन काम सबै नेपालीका लागि सधैका लागि घातक छ ।
म यो देशको नागरिक हो । ५९ जिल्ला घुमेको छु एउटा नेपालीको भएर, बाहुन भएर हैन । जहाँजाँदा पनि मलाई लाग्छ त्यहाँका भौतिक सम्पदा, सांस्कृतीक धरोहर नेपालका गौरब हुन् । बनपाखा, नदिनाला नेपालका सम्पत्ति हुन् त्यहाँ सबै नेपालीको बराबर हक लाग्छ । तराई, पहाड, हिमाल नेपालीको गौरब हो । जुन गौरब कायम रहेका दिनसम्म हामी नेपाली हुन्छौ । जातीय, धार्मिक, क्षेत्रिय कुनै पनि मुद्दामा गरिने राजनीतिप्रति ठाडो बिमतिसहित यस्ता आन्दोलनमा तटस्थ बस्ने अभियान स्वरुप सानो प्रयास आज म घोषणा गर्छु मलाई बाहुन हुनुमा घमण्ड छैन । म आजैदेखि आफ्नो नाम विनय गुरागाई हैन विनयशेखर लेखेर सार्वजनिक रुपमा प्रस्तुत हुने प्रतिबद्धता जनाउँछु ।

बैशाख १, २०६९, काठमाण्डौ
मैले किन नाम परिवर्तन गरे? यो http://tyamkeview.blogspot.com/2011/11/blog-post_26.html मा पनि छ पढ्न लायक लेख

0 comments:

Popular Posts

Blogger templates

Blogger news

Blogroll