कुरा यसरी शुरु हुन्छ, अक्टोवर २००९ ताका अमेरीकी बिदेश मन्त्रालय अन्तर्गतको एउटा कार्यक्रम डिआरएलले एउटा प्रस्ताव आह्वान गर्यो । जसले नेपालको लोकतान्त्रिक सक्रमणमा स्वतन्त्र र जिम्मेवार प्रेसकोबारेमा काम गर्ने इच्छुक र क्षमतावान संस्थालाई प्रस्ताब पेश गर्न भनिएको थियो । रेडियोमा अुनभवी र सूचना प्रबिधीमा पनि काम गरिसकेको कारण इक्वल एक्सेसले प्रस्ताव पेश गर्यो । त्यसका लागि इक्वल एक्सेसका सहकर्मीहरु रघु थपलीया, म, पवनप्रकाश उप्रेती, उपेन्द्र अर्याल, निर्मल रिजाल, माइकल बोसे, जेमा क्वील्ट र एलिजाबेथ मिलेर काम गर्यौ । हामीले अरु थुप्रै कार्यक्रम प्रस्तावित गरेका थियौ । यसमध्ये दुईटा अवधारणा बिल्कुलै नौला र सिर्जनशील थिए, त्यसैले चुनौतीपुर्ण पनि । एउटा थियो, नागरिक पत्रकारिताको साझा थलो विकास गर्ने र अर्को नेपाली सञ्चारकर्मीहरुको व्यवसायीक दक्षता र पेशागत सुरक्षासँग जोडिएको सवालमा आन्तरिक बहसको थलो अनलाइन नेटवर्कको अवधारणा । मोवाईल र सूचना प्रबिधिका अरु अवसरहरुलाई उपयोग गरेर इन्टरनेट नभएका स्थानका नागरिकलाई पनि उपयोगी हुने गरी दुईवा अनलाईन प्लेटफर्मको निर्माण जहाँ एसएमएस, फोन, अडियो, भिडियो, फोटो जुनसुकै तरिकाले सहभागि हुन र अन्तरक्रिया गर्न पाइनेछ ।
काम त शुरु भयो, तालिम लगायतका अरु कामहरुमा सजिला थिए । तर अनलाइन नेटवर्क त्यो पनि दुईटा एकै समयमा? अनि त्यस्तो देशमा जहाँका १० प्रतिशत नागरिकसम्म दुःखले इन्टरनेटको पहुँच छ । इन्टरनेटमा भाषाको कारणले त्यहाँ उपलब्ध स्रोत साधनको उपयोग गर्न र आफ्ना सामग्री राख्न पनि इन्टरनेट आकाशको फल नै छ अझैपनि नेपालीलाई । यस्तो अवस्थामा कसरी काम गर्ने?
संस्थागत रुपमा इक्वल एक्सेस अनुभवी संस्था थियो । तर काम गर्ने जिम्मेवारी थियो बीबीसीमा अनुभव बटुलेकी सहकर्मी जेमा क्वील्ट, सूचना प्रबिधीका जानकार मित्र पवनप्रकाश र मेरो काँधमा । जेमा बेलायतमा बस्थीन्, पवनप्रकाशका अरु पनि धेरै जिम्मेवारी थिए, मैले धेरै कुरा जानेको थिएन । कामका बारेमा जे कुरा हुन्छ इमेलमा हुन्छ तर कुरा धेरै बुझिदैन । कसरी गर्ने नागरिक पत्रकारिता सञ्जालको शुरुवात? कस्तो ढाँचाको बनाउने? के के बिषय राख्ने? कसरी अरुभन्दा फरक बनाउने? मुकुन्द, रुपेन्द्र, अनिल र पवनप्रकाशसँग भेट्ने, छलफल गर्ने, यस्तैमा तीनचार महिना बिते । यसक्रममा अरु बिज्ञ अग्रज, सहकर्मी र नेपालमै बसेर सोसल मिडिया र ब्लगिंङमा अनुभवी मित्रहरु उज्वल आचार्य, आकार अनिलको योगदान अमुल्य रह्यो शुरुवात्ताका । यो अवधिमा एउटा बारक्याम्प पनि भयो । एकआपसमा बिभिन्न नामहरु झटारो हान्दै गर्दा फाइनल्ली एउटा नाममा सबैको सहमति भयो मेरोरिपोर्ट । फेब्रअरी २०११ का शुरुवाती ४ दिनले दियो, मेरोरिपोर्टको स्पष्ट आकार । यसका लागि बेलायतबाट जेमासँगै आएकी न्याट्ली म्याकडर्मट, जोसँग यस किसिमको कामको अनुभव थियो उनले तालीम दिईन केही साथीहरुलाई । ४ दिनको अहोरात्र खटाईपछि देखियो मेरोरिपोर्ट इन्टरनेटमा, जति बेला थोरै कौतुहलता, थोरै शंका, धेरै डर थियो मेरो मनमा, अब कसरी अगाडि बढ्छ मेरो रिपोर्ट भनेर?
पहिलो डरः एनजीओले शुरु गरेको परियोजना आउँछ जान्छ के मतलब भन्ने खाले आरोपको खण्डन । दोश्रोः बिषयबस्तु के राख्ने? तेश्रोः सिपालु जनशक्ति कति छ? चौथोः कसरी नेपाली ब्लगर र सिटिजन जोर्नलिष्टको साझा थलो बनाउने? पाँचौ...छैटौ.. कति हो कति चुनौती । अनुभवी र सिर्जनशील साथीहरुको आन्तरिक र बाह्य दुवै सहयोग र इक्वल एक्सेस नेपाल र इन्टरनेशनलको निरन्तर प्रयासबाट मेरोरिपोर्ट बिस्तारै चिनिन थाल्यो । व्लगर अफ दि विकको अवधारणा शुरुभयो । व्यवसायिक र रुचीका आधारमा ब्लग र सोसल मिडिया प्रयोग गर्ने अनुहारलाई प्रस्तुत गर्न पाइयो । र, मे २ जुन दिन विश्व ब्लगर्स दिवसको दोश्रो संस्करण मनाइदैथियो, त्यहीदिन नेपाली ब्लगर्स, पत्रकार, नागरिक समाज र मिडिया विकासमा काम गर्ने राष्ट्रिय अन्तराष्ट्रिय दाताहरुका अगाडि शुभारम्भ भयो मेरो रिपोर्ट ।
मेरो रिपोर्टको उद्देश्य स्पष्ट छ, नेपाली आम–सञ्चारमाध्यमलाई सहयोग गर्नु, उनीहरुलाई जिम्मेवार बनाउन भुमिका खेल्नु, सक्रमणकालिन कठिन राजनीतीमा आमसञ्चार स्वतन्त्र र जिम्मेवार भएनन् भने नागरिक पत्रकारको रुपमा सूचनाको कारोबार गर्नु, परम्परागत सञ्चारमाध्यमको सत्यता, विश्वसनीयता र जवावदेहिताप्रति औला ठड्याउन सक्षम युवा र नागरिकसमाज तयार पार्नु र कुनै पनि ठुला मिडियाले नियतबस वा नदेखेर कुनै सवाललाई सञ्चारसामग्री नबाउँदा त्यस्ता सामग्री बाहिर ल्याउनलाई सहयोग गर्ने गरी बैकल्पिक माध्यमको रुपमा खडा हुनु । साथै सामाजिक सञ्जालका बिभिन्न टुल्स मार्फत स्वस्थ मनोरञ्जनका लागि सदस्यहरुलाई स्थान दिनु । औपचारिक शुरुवातको एक बर्षलाई फर्केर हेर्दा लाग्छ मेरो रिपोर्ट त्यो दिशामा अगाडि बढिरहेको छ । यसका लागि मेरो रिपोर्ट बामे सरेर आफै एकपाइला हिड्ने प्रयास गर्दैछ । तर यात्रा धेरैै लामो छ ।
स्पष्ट भन्नुपर्दा मेरो रिपोर्ट एउटा प्रोजेक्टले शुरु गरेको पाइलट प्रोडक्ट हो । पत्रकार उज्वल आचार्यले आज बिहानै शुभकामना दिदै ट्वीट गर्नु भएको छ “नेपालको सबैभन्दा ठुलो नागरिक पत्रकारीता सञ्जाल मेरो रिपोर्ट ।” ठुलो हुनका लागि चुनौती झेल्नुपर्छ । मेरो रिपोर्टका पछाडि थुप्रै चुनौतीछन् । यसको स्थायित्व कसरी हुन्छ? मुख्य चुनौती यही हो । मेरो रिपोर्ट इक्वल एक्सेस नामक ठुलो संस्थाको छातामा छ । त्यसैले स्थायित्वको चुनौतीको सरोकार यसमा काम गर्ने म र समूहका साथीहरुलाई मात्र हैन संस्थागत रुपमा इक्वल एक्सेललाई पनि उत्तिकै छ । तर पनि भोली इक्वल एक्सेसले यसलाई अगाडि लान सकेन भने मेरो रिपोर्ट के हुन्छ? आम नेपाली ब्लगरहरुको साझा थलो भन्दैमा हामी सबैले यसको स्वामित्व लिन सकिएला? प्रश्नको उत्तर सजिलो छैन ।
वाह्य चुनौतीहरु थुप्रै छन् । जस्तैः इन्टरनेट सबैको पहुँचमा छैन । इन्टरनेटसँग साक्षरता जोडिएर आँउछ । इन्टरनेटले सजिलैसँग नेपाली भाषालाई स्विकार्दैन । इन्टरनेट प्रबिधी पनि भएकोले यसको उपयोगका लागि आधारभुत सिप चाहिन्छ । हाल भएको सरकारी नीतिले मात्र यसको विकासमा योगदान दिदैन, नयाँ बन्ने नीति कस्तो हुन्छ भन्न सकिदैन । यस्ता कैयौ कुराले पनि निर्धारण गर्छ मेरो रिपोर्टको आगामी यात्रालाई ।
यद्यपी, यस्ता चुनौती हिजो पनि थिए । आउने दिन इन्टरनेट सहयोगी दिन र समय अहिलेभन्दा प्रभावकारी ढंगले देख्न र भोग्न पाइनेछ । त्यसैले पनि आजका दिनसम्म आइपुग्दा के खुशी लाग्छ भने चुनौती सामना गर्ने हिम्मतले नै नयाँ बाटो देखाउँछ । त्यसैले मेरो रिपार्टको सम्भावना धेरै छ । बिभिन्न कारणले गर्दा बद्नाम र गैर जिम्मेवार भुमिकामा विवादीत नेपाली आमसञ्चार कार्यक्रमलाई खबरदारी गर्दै आमसञ्चार शिक्षामा नागरिकसम्म पुगेर परम्परागत मिडियाको पहरेदारी गर्नका लागि मेरो रिपोर्टजस्ता बैकल्पिक मञ्चहरु प्रभावकारी हुनेछन् । परम्परागत सञ्चारलाई सामाजिक सञ्जालमार्फत गरिने सञ्चारले परिपुरण गर्छ नकी प्रतिस्पर्धा । ठुला र परम्परागत मिडियाहरु चाहेर पनि नपुगेको ठाउँमा मेरो रिपोर्टजस्ता बैकल्पिक माध्यम पुग्न सक्छन् । यसले सूचना संस्कृतीको विकासमा योगदान गर्छ । बिधिको शासन, लोकतन्त्र र नागरिक सवोच्चताका लागि यस्ता माध्यमले गर्न सक्ने योगदान अरुपनि छन् । समग्रमा भन्दा अभिव्यक्ति स्वतन्त्रताका लागि मेरोरिपोर्ट प्रभावकारी माध्यम हो ।
यो अवधिमा मेरो रिपोर्टलाई प्रत्यक्ष, अप्रत्यक्ष किसिमले योगदान पुर्याउनु हुने नेपाली ब्लगर्स, सोसल मिडिया युजर्स, अग्रज सञ्चारकर्मी, पत्रकार, मानवअधिकारकर्मी, युवा, बिद्यार्थी, राजनीतिक बृत्तका मित्रहरुप्रति व्यक्तिगत, मेरो रिपोर्ट टिम र इक्वल एक्सेस नेपाल र इक्वल एक्सेस इन्टरनेशनलका तर्फबाट हार्दिक आभार प्रकट गर्दछु । र समूहका साथीहरु इन्द्र, श्रुती, अजिता, यमुना, दुर्गा, प्रकाश, क्रान्ति, पंकज, सपन, रुपेन्द्र, विनया सन्तोष, निरोशन, अनिल प्रति बिशेष आभारी छु । इक्वल एक्सेसका अग्रज सहकर्मीहरु भरतमणी देवकोटा, उपेन्द्र अर्याल, आलोक रजौरिया, गोर्डन सेटल, माइकल बोसे, जेमा फर्गुसन लगायत सबैको निरन्तर साथ र सहयोगको अपेक्षा छ ।
अन्त्यमा, मेरो रिपोर्टका सदस्य, पाठक तथा शुभेच्छुकहरुको साथ र सहयोग यसरी नै पाइरहने अपेक्षा छ । धन्यवाद ।

0 comments:

Popular Posts

Blogger templates

Blogger news

Blogroll

Archive