एका बिहानै भुइचालो आएछ । ट्वीटरमा लगइन भाथे, कसैले अपडेड गरेको रहेछ । एका बिहान ५ बजेर ३५ मिनेटको हाराहारीमा गएको भुइचालो ५ रेक्टर स्केलको थियो रे । केन्द्रबीन्दुचाँही गोरखा । यसअघि यहीसाल असोजमा भुइचालो जाँदा म पुर्वी नेपालको परिचित शहर दमकमा थिएँ । मोरङको ईटहरामा केही साथीहरुले रेडियो सुनाखरी शुरुगरेपछि कम्तिमा दुईदिनको लागि मैले जानै पर्ने बाध्यतामा म त्यो बेला एकदिन अगाडिमात्र त्यता पुगेको थिए । दमकको सडक किनारामा नै साथीहरुसँग गफिरहेकोबेला एक्कासी सुनेको मान्छेहरुको चिच्याहटलेमात्र मलाई बोध भयो भुईचालो जाँदैछ । जमिन मजाले हल्लियो । जमिनमा उभिएर बिना संगीतको तालमा नाँचेको महशुस सिवाय ठुलो डर त केही भएन । तर काठमाण्डौमा रहेका श्रीमती र छोराको याद अनि उनीहरु बसेको घर संझेर भने रातभरी नै सुत्न सकेको थिइन, यदी फेरी भुइचालो गयो र त्यो घर भत्कियो भने, जस्ता नानाथरी कुराहरु मनमा खेलेर ।

तर आज फेरी भुइचालो गएछ । कत्रो गयो? कस्तो गयो? राती १२ बजे सुतेको मलाई आज केही थाहा भएन । काठमाण्डौमा म बसेको स्थानबाहेक अन्यत्रयस्को धक्का कस्तो पर्यो कुन्नी, बिहानीपख सपना देख्दै मस्त सुतेकोले गर्दा महशुस हुन सकेन । धन्य थाहा भएन । अहिले सोच्छु भुइचालो आको थापाको भए म के गर्थे होला? सायद आममान्छेजस्तै आत्तिएर, कराउदै, थोरै बस्त्रमा घरबाहिर निस्कनु बाहेक अरु के नै पो गर्थे होला र? छोरा र श्रीमतीलाई उठाउन सक्थे, सानो छोरो बोकेर दौडिन्थे होला, यो बाहेक एउटा श्रीमान् वा बाबुले के नै गर्न सक्छ होला र?

भुइचालो गयो, थाहा भएन, बाँचियो । तर यो बचाईसँग एउटा नयाँ चिन्ता थपिएकोछ । त्यो के हो भने, मस्त निद्रामा सुतेको बेला शक्तिशाली भुइचालो गएको थियो भने यो घर अनि यसका समग्र भित्ताहरु मसँग खुवै खुशी हुने रहेछन् । मलाई र मेरो गुडमा आश्रित अरु दुई मनुवाहरुमाथि छानीछानी खस्न पाएकोमा उनीहरुले उत्सव मनाउने पाउनेछन् । जसले जहाँसक्यो त्यही थिच्नेछन् । के ले कहाँ थिच्ला, किच्ला मैले नियन्त्रण गर्न सक्नेछैन । घाँटीमा थिच्नेले सोचबिचार गर्ला, यस्लाई पुक्लुक्कै त किन मार्नु? सजाय पाओस् न । लामोसमयसम्म सास फेर्न नपाओस्, हलचल गर्न नपाओस्, प्यासले घाँटी सुकीसुकी, छेउमा भएका श्रीमती र नावालक छोरा अबस्थालाई नियाल्दै, निरीह हुदै तड्पी तड्पी मरोस् । निद्रामा नै भएपनि केहीले थिचेपछि, शक्तिशाली हमला गरेपछि, नमर्नेगरी ज्यानमा केही बजारिएपछि निद्रा त खुलिहाल्छ तर प्राण सजिलै जान किन दिन्थे? भन्दो हो यसलाई तड्पाई तड्पाई मार्छु, अझ यसकी अर्धाङ्गीनी र बच्चोलाई पनि तुरुन्तै कहाँ यमराजकहाँ पठाउथे, उनीहरुले चिच्याएको यसले सुनोस्, उनीहरु छटपटिएको, रक्ताम्य भएर, हलचल गर्न नसकी अर्कोकुनामा तेर्सिएको, छटपटिएको यसले देखोस् तर यो निरीह होस्, उनीहरुलाई बचाउन त के, बचाउ भनेर गुहार गर्न पनि नसकोस् । बाहिरको हल्लाखल्ला सुनोस्, तर उसको आवाज त्यो हल्लासम्म नपुगोस् । यस्तै यस्तै नानाथरी सराप दिएर भुइचालोले भत्काएका भित्ताहरु, काठका खम्बाहरु ममाथि सलबलाउलान् । असह्य पिडा थोपरेर श्रीमती र छोरालाई मबाट खोस्दै मलाई मर्नु र बाँच्नुको दोसाधमा पारेर भुईचालो बिजयोत्सब मनाउदो हो ।

किनभने,

म जमिन तलामा बस्छु । म बस्ने घर तीन तले छ । यो घर भुकम्प प्रतिरोधक प्रबिधीबाट बनेको छैन । वरीपरी बिजुलीका तारहरु छन् । दुईवटा समान साइजका घर जोडिएकाछन् । मुल सडकको नजिकै पनि छैन । वरीपरीका घरहरु पनि सुरक्षित छैनन् । यस्तो अबस्था आउला भनेर यो सहरका मजस्ता नागरिकले सायदै सोचेकाहोलान् । र पनि म अहिले खुशी छु, म कमसेकम फेरी बाँचेको छु । भुईचालोजे ज्यान बक्स गरेको छ ।

0 comments:

Popular Posts

Blogger templates

Blogger news

Blogroll

Archive