“शेखर म गाउँ फर्किने भए, १२ बर्षको यो निरन्तर लडाईलाई टुङगोमा पुर्याउन पनि म गाउँ फर्किदैछु । मान यार् म हराएको हैन, अहिलेसम्म कुनै जागीरमा थिए, केही लाख पैसा बोकेर आफ्नो पुरानो जिन्दगीमा फर्किदैछु । साले फेरी हामी भलिबल खेलौला । डण्डिबीयो खेल्दा झन्डै आँखा फुटाएको बिर्सिस् । हेर अब म फेरी ती सुनौला दिनहरुलाई आँखामा सजाउँदै फर्किदैछु । बन्दुक बोकेर निस्केको त्यो संघार अब सदाका लागि बन्दुक थन्क्याएका पाइलाहरुले तर्नेछन् जहाँ मलाई मेरी आमाले अंकमाल गरेर स्वागत गर्नेछिन् । ओइ शेखरे भन्त तँ कस्तो भइस्? बिहे गरिस्? ट्युसन पढ्न त च्वाँक च्वाँक ठिटीहरु आउछन् होला नी, प्लस टु भएपछि तेरो खुब मोज होला, साले गधा, पख । म अब केही दिनमै गाउँमा आउँछु । अनि जान्या छु तलाई ।” हेल्लो हेल्लो,.....मैले एकशब्द नबोल्दै उताबाट फोन राखेको संकेत फोनमा आइसकेको थियो । ट्याम्के महोत्सवमा भाग लिएर फर्केको, थाकेको ज्यान, राम्ररी सुतेछु । फोनको घण्टि नबजेको भए अझै धेरै सुत्थे होला । एकछिनसम्म त पत्याउन नसक्ने नै थियो त्यो एकोहोरो संवाद । फोन राखेर कान कोट्याए, आँखा मिचे, गाला चिमोटे । त्यो सपना थिएन । म बिपनामा थिए । हिजोको हिडाई, ज्यान अहिलेपनि हलचल गर्न मानिरहेको थिएन । फोनमा हेरे, ०२१ कोड नम्बरबाट फोन आएको थियो । रिडायल गरे । उता फोन बिजी रहेछ । एकमिनेटसम्म घण्टि नबजेपछि पत्याउन बाध्य भए त्यो उत्तमकै फोन थियो । त्यो संवाद सपना हैन, मैले बिपनामा नै गरेको थिए । ६ः३० बजेको कान्तिपुर डायरी सुनेपछि झनै पत्यार लाग्यो त्यो उत्तमे नै हो, जसले एकछिन अगाडि मलाई फोन गर्या थियो । समाचारले भन्यो आजदेखि भेरीफिकेशन प्रकृया शुरु । माओवादी लडाकुहरु जो अहिलेसम्म अस्थायी ब्यारेकमा थिए उनीहरुको पुनस्र्थापना प्रकृया शुरु भएको छ ।

तँ कस्तो भईस्? बिहे गरीस् की छैन? केटीहरु, ट्युसन, साले ... दिनैभरी यिनै शब्दहरु कानमा गुञ्जिनै रहे । उत्तम अर्थात मेरो बच्चैदेखिको साथी, छिमेकी । कट्टु नलगाई स्कुल दौडने, माटाको काल्पनीक घर बनाउने, रुखका हाँगा बटुलेर गोठ बनाउने, तोरी बारीमा उभिएर फोटो खिच्ने, उमेर छिप्पिदै गएपछि महादेबथानको मेलामा रातभरी अल्लारिने, सप्तमी बजारमा भेला भएका चारैतीरका युवतीहरुलाई हेर्र्दै मस्किने, सकेकालाई जिस्क्याउने आदी इत्यादीमा एकैछिन नछु्ट्ने । गाई चराउदाँ पल्लाघरे बुढालाई दुःख दिने, बाँदरले मकै खाला भनेर रातभर मकैबारीमा छाप्रो बनाएर जाग्राम बस्ने, दिनभरी स्कुल जाने, राँकेभुतको डरले अध्याँरोमा कट्टुमा पिसाव फेर्ने, मास्टरले गालि गर्छन् भनेर सुरुवालमा आँची पोको पारेर घर आउँने, आमाको डरले हगेको सुरुवाल खोल्सामा फ्याँक्ने .. यस्ता अनगिन्ती सकारात्मक, नकारात्मक हर्कतहरुमा साथ दिने मेरो लगौटिया यार उत्तम । मैले अरुणालाई मन पराउँदा रुपकुमारीमार्फत अरुणाालाई मबाट खोस्ने, मनपरेकी कौशीलालाई रगतको अक्षर भन्दै रातो रंगका अक्षरले लभलेटर लेख्ने, आफु फस्ने ठाउँमा मलाई फसाउँने, त्यही उत्तम जसले आज मलाई ७ बर्ष दुई महिना २३ दिनपछि त्यही पुरानै शैलीमा फोनमा एकोहोरो आफ्नो फतफत सुनायो र एकाएक बिगतमा पुर्यायो ।

आज ठ्याक्कै ७ बर्ष दुई महिना २३ दिन भयो । जुन दिन उसले मलाई छोडेर हिडेको । उसकी आमा, जसलाई म सानीमा भन्थे अहिले पनि भन्नुहुन्छ, “तिमीहरु दुवैलाई मैले दुध चुसाएकी छु । तर मेरै दुध चुस्ने तिमीहरु आज किन फरक भयौ? के कुराले भड्कायो मेरो उत्तमलाई? किन रोक्न सकेनौ तिमीले?” युद्धकालमा जबजब लडाईका घटनाहरु समाचारमा सुनिन्थे, यति मरे, उती मरे भनेर रेडियोले भन्थ्यो, सानीमाका कान सधै टाठा हुन्थे । मैले झन्डै ५ बर्षमा एकदिन पनि देखिन सानीमाको आँखामा हाँसोको एक अंश । उत्तम कहाँ छ? के गर्दैछ? जिउदो छ की छैन? भिडन्त, पक्राउ, क्रस फायरीङ, जम्काभेट, एम्बुस, यस्ता कुरा सुन्दा मेरो पनि आङ सिरिङ हुन्थ्यो, कतै मेरो उत्तम त परेन । शान्ति संझौता भएपछि एकदिन माथ्लो गाउँको खगेश्वर गाउँमा झुल्कियो । सबैले उ मार्फत थाहा पाए, उत्तम पनि जिउदै छ । अहिले अस्थायी व्यारेकमा बसेको छ । छुट्टी पाएपनि उ गाउँ फर्कन मान्दैन । फुङ्ग उडेको आमाको अनुहार हेर्न चाहाँदैन । परिवारको एकमात्र छोरो, बैनी र आमालाई रुवाउन गाउँ फर्किन मान्दैन । “त्यसले मेरो कुरा गर्छ की गर्दैन?” मैले खगेश्वरलाई पटक पटक सोधेको थिए । अहिले पनि सबैभन्दा धेरै संझना मेरै गर्छ रे । मैले क्यान्टोनमेन्टको फोन नम्बर पत्ता लाए, फोन गरे, तर उत्तम कहिल्यै मेरो सामु परेन । सधै भागि नै रह्यो ।

“हेर शेखर फलानो मास्टरले स्कुलको यति पैसा हिनामिना गरेको छ । त्यसलाई सञ्चालक समितीका अध्यक्षको साथ छ । त्यो अध्यक्ष, चारपटक प्रधानपञ्च भएको । अहिले पनि गाउँमा त्यसको धाक देख्याछस्, हामीलाई खाउँला जस्तो गर्छ । बिर्सिस् एकदिन त्यसले तँ र तेरा बाउलाई कस्तो अपशब्दमा गालि गरेको थियो? तिमेरले उसको जग्गा कमाउथ्यौ तर के तिमीहरु उसका नोकर थियौ? उसले त्यति गर्दा पनि तेरा बाउ चुँ गरेनन् । तँ काँतर के बोल्थिस् । मलाई त बाटाको ढुङ्गो टिपेर त्यसको टाउकामा बजाउन मन थियो । तर त्यै बेला ती रामसर् आइपुगे र मात्रै ।” उत्तमले मसँग यस्ता कडा कडा कुराहरु गर्न थालेको महिनौ हुन थालेको थियो । उ झनझनै क्रान्तिकारी बन्दै थियो । क्रान्तिकारीको कुरा गर्दा हामी लगभग उस्तै अबस्थामा थियौ भन्ने मलाई भ्रम रहेछ । उ म भन्दा कैयौ बढी क्रान्तिकारी भैसकेको मलाई पत्तो नै भएनछ ।

भन्यो, “डाडागाउँको राजन छैन, त्यो पनि क्रान्तिमा होमिएछ । मलाई आज खानीगाउँको चण्डीले भनेको । उ पनि अब पढाई छोड्छ रे । मलाई पनि हिड भन्दै थियो । तँ पनि जाउँ न, हामी सँगै मिलेर हाम्रा दुस्मन त्यो पञ्चे छ नी? त्यसलाई सखाप पार्नुपर्छ ।” एकाएक उत्तमको यस्तो कुरा सुन्दा त्यो दिन म छाँगाबाट खसेजस्तो भएको थिए । भने, “राजनीति भनेको शत्रु खत्तम पार्नलाई हतियार बोक्नुमात्र हैन, यहाँ बसेर, शान्तिपुर्ण रुपमा पनि हामी अन्यायको बिरुद्ध उभिन सक्छौ । उत्तम तँ कुनै पनि हालतमा गलत निर्णय नगर । आमा र बैनीलाई नछोड् ।”

“मलाई संझाउने भन्दा पनि मेरो प्रश्नको उत्तर दे, तँ मसँग जान्छ् की जान्नस्?”

“भनेपछि तैले जाने निर्णय गरीसकिस् ।”

“हो म अब यहाँ बस्दीन । म क्रान्तिमा होमीन्छु । देशलाई मेरो तातो रगतको खाँचो छ । म बलिदानीका लागि तयार छु । राष्ट्रियता जोगाउन अब मैले बलिदानी दिनैपर्छ । जनताको शासन स्थापनाका लागि महान क्रान्तिमा होमीनै पर्छ । मैले निर्णय गरिसके । त्यो प्रधानपञ्चलाई अब म छोड्दीन । त्यो हिसाब हिनामिना गर्ने शिक्षकलाई पनि बाँकी राख्दिन ।”

छाँगाबाट खसेजस्तो म अवाक थिए । उ धारा प्रवाह क्रान्तिकारी भाषण दिइरहेको थियो । घरीघरी दारा किट्थ्यो । भुईमा मुड्कीले बजार्रथ्यो । म भने अवाक थिए, शान्तिप्रीय मेरो प्यारो उत्तम मेरो हातबाट धेरै अगाडि उम्किसकेको आभास नपाउदै म एक्लो भैसकेको थिए ।

“उत्तम एकपटक ठण्डा दिमागले सोच, जे गर्न गइरहेकोछस् त्यो बाटो गलत छ । मैले पनि चाहेको त्यही हो जुन कुरा तैले त्यहाँ गएर गर्न खोज्दैछस् । मेरो बाटो र तैले पक्रिन आँटटेको बाटो फरक छ । तैले हिड्न चाहेको बाटोमा खतरा धेरै छ । तँ कसैको लहडमा बाटो बिराउदैछस् । क्रान्ति गर्नलाई मान्छे मार्नैपर्छ भन्ने छैन, हिंसाको बाटो लिनैपर्छ भन्ने छैन । ठण्डा दिमागले सोच मेरो प्यारो साथी ।”

“भयो, तँ अब मेरा लागि प्रतिकृयाबादी । तँ पनि आत्मसमर्पणबादी भइस् आजदेखि । तँ काँतर भईस् । देश र जनताका लागि बलिदानी दिन डराउने काँतर होस् तँ पनि । तैले पनि त्यही अध्यक्षलाई साथ दिदैछस् जसले स्कुलको हिसाव किताव हिनामिना गर्ने मास्टरलाई सरक्षण दिएको छ । तैले आफ्नो खुटटमा लात हान्दैछस् । अन्यायी, अत्यारी, बलात्कारीहरुलाई साथ दिदैछस् । तँ पनि अब क्रान्तिकारी रहिनस् । तँसँग गफ गर्नु अब बेकार हुनेछ । तैपनि अन्तिमपल्ट सझाउदैछु, हिड । क्रान्तिको महासागमा होमीयौ । देशका लागि बलिदानी गरौ । आमादिदी बैनीको धुजाधुजा भएको अस्मिता जोगाउँ, अपराधीलाई सखाप पारौ, सर्वहारा जनताको शासन स्थापना गर्ने महान अभियानमा सहिद हुन तयार होँउ ।”

अघिदेखिको निरन्तरता मेरो लागि उत्तमले गरेको बकबासजस्तै थियो । हामी यस्तो मोडमा थियौ अब उ र म सँगै हिड्न नसक्ने अबस्थामा थियौ । मैले पनि क्रान्ति आवश्यक छ भन्ने महसुस गरेको थिए, गाउँमा थुप्रै सुधारका कामहरु गर्नुपर्ने थिए । उत्तम र मैले सँगै बसेर योजना बनाएका थियौ । केही कुरामा सफल भएकामा हामीलाई बिश्वास थियो हामीले शान्तिपुर्ण रुपमा पनि थुप्रै राम्रा काम गरेर यो समाजलाई निमुखा जनताको पक्षमा काम गर्न सक्ने बनाउने बाटो तयार थियो । तर उत्तम एकाएक उग्र क्रान्तिकारी भैसकेको रहेछ । त्यसैले अब बाटो नै फरक हुने मोडमा पुगेको बेला न मैले रोक्दा उ रोकिने थियो, न उसले बहकाउदा म बहकिन तयार थिएँ । एउटै नदीमा पौडिदै गर्दा हामी एकाएक उछिट्टीएर दुई किनारामा बजारीन पुग्यौ, जहाँबाट फेरी एकपल्ट मिलन असम्भव जस्तै बन्यो । त्यही रात उत्तमले गाउँ छोड्यो । मैले छ महिनापछि गाउँमा अस्थायी कोटामा शिक्षकको दरबन्दी पाएँ ।

आज एकाएक त्यही उत्तमले फोन गरेपछि मैले ७ बर्ष २ महिना २३ दिन अगाडिको त्यही बेलुकी उग्रसँग मुडकी बजारीबजारी क्रान्तिकारी कुरा गर्ने उत्तम र आजको उत्तमलाई तुलना गरे । उसको स्वरमा त्यही कुरा भेटे जुन उ क्रान्तिकारी हुनुभन्दा अगाडि उसँग थियो । उसले बोल्ने शैली त्यही थियो जुन हामीले बाल्यकालका बेला सँगै भोगेका थियौ । एकाएक खुशी भएको आँखामा आसुले भरिएर आयो । लाग्यो उत्तम अहिले नै आइसकेकोछ । हामी सँगै छौ । हाम्रो बाल्यकाल फेरी दोहोरीएको छ ।

एकाएक भित्तामा झुन्डिएका तस्बीरका पात्रहरु आँखामा परेपछि मन चसक्क भयो । आँखा तिरमिराए । एकाएक संशयको बादल मडारिन थाल्यो । पृथ्वी फनफनी घुमेर रिङ्गटा लागेको जस्तो भयो । त्यहाँ झुन्डिएको क्यालेन्डरमा स्कुलका सम्पुर्ण शिक्षक, सञ्चालक समितिका पदाधिकारी स्कुल भवनलाई व्याकग्राउण्डमा राखेर लामबद्ध उभिएको फोटो थियो । त्यो फोटोमा सबै जना थिए । बिद्यालयको पैसा हिनामिना गरेर शहरमा छोराछोरी पढाउने शिक्षक, चारबर्ष प्रधानपञ्च, पछि बिद्यालय सञ्चालक समितिका अध्यक्ष, प्रधानाध्यापक, हिसाव र बिज्ञान पढाउने शिक्षक सहित सबै शिक्षक र सञ्चालक समितीका सदस्यहरु फोटोमा लामबद्ध थिए ।

एकाएक ओछ्यानबाट जुरुक्क उठे । मोवाइलमा बिहान उत्तमले गरेको नम्बर डायल गर्नासाथ फोन उठ्यो । उत्तमलाई बोलाउन १ मिनेट जति लागेपनि मलाई भने एकघण्टा जति कुरेजस्तै लागिरहेको थियो । हेल्लो .... उताबाट उत्तमको स्वर सुन्नेबित्तिकै यताबाट म बर्बराउन थाले,

“उत्तम तँ नआइज । तँ कुनै पनि हालतमा नफर्कि । तैले जति पैसा पाउछस् त्यो लिएर तँ अन्यत्र कतै जा । तर भुलेर पनि यहाँ नआइज । आमाको चिन्ता नगर । बैनी पढ्दैछिन् । बिहे गर्ने बेला भयो भने तँ बसेकै ठाउँमा उनलाई लिएर आँउछु । त्यहीबाट बिहे गर्नुपर्छ । आमा मेरो जिम्मामा छोडिदे । गाउँमा फर्किनु पर्दैन । त्यत्रो पैसा लिएर यहाँ किन आउँछस्? यहाँ आएर के गर्छस्? यहाँ आउने कामै छैन । अँ सुन्, मैले बिहे गरे । मेरी एउटी छोरी पनि छ । १ कक्षामा पढ्छे । अनि सुन् मैले अरु कसैसँग हैन त्यही अरुणासँग बिहे गरे । साले धोकेबाज, तँ जस्तो म हो र?” उताबाट उत्तम बोल्न खोजिरहेको थियो । तर मैले उसलाई बोल्न दिइन । भक्कानिदै भने, “मेरो प्यारो साथी उत्तम तँ कुनै पनि हालतमा नआइज गाउँमा । म तेरो सुरक्षा दिन सक्दिन । त्यो शिक्षक जसले स्कुलको पैसाले छोराछोरीलाई पढायो, सञ्चालक समितीको अध्यक्ष जसले मेरो बाउलाई सार्वजनिक रुपमै बेइज्जत गर्यो, त्यो आइएएस्सी सर जसले गाउँका चेलीबेटीलाई निशुल्क ट्युशन पढाउने नाममा गर्नुसम्म यौन शोषण गर्यो, अनि त्यही आइएस्सी सरलाई निर्दोेष प्रमाणित गर्ने हेडमास्टर आज कोही पनि गाउँमा छैनन् । उनीहरुलाई तैले नै सफाया गरिस् भन्ने कुरामा यहाँ सबै बिश्वस्तछन् । यस्तो बेलामा मैले सदाका लागि फर्केको तेरो सुरक्षा गर्न सक्दिन । अहिलेको अबस्थामा यहाँको सिस्टमले पनि तेरो सुरक्षा दिन सक्दैन । न आइज मेरो दोस्त । तँ गाउँमा नआइज ।”

मैले यति भनिन्जेलसम्म मेरो हातबाट खसेको फोन आफै स्वीच अफ भन्न थालेको थियो ।

मंसिर ३, २०६८ । ललितपुर ।

0 comments:

Popular Posts

Blogger templates

Blogger news

Blogroll

Archive