हाsssss । खित्का छोडेर हाँस्न मनलाग्यो शुरुमै । रामायणको रावण हाँसेजसरी । किन थाहा छ? तिमी मानव जो पृथ्वीको यो नेपाल नामक भुभागमा बसेको छौ तिमेरलाई देखेर यस्तो अट्टहास निकालेको मैले । कुरीकुरीकुरीकुरीsss। लाज मलाई लाग्नुपर्ने हो तर कुरीकुरी तिमीलाई भन्दैछु । तिम्रो निरिहता र लाचारी देखेपछि के गर्नु, सारै दया पनि लागेर आउँछ । बिचरा, कस्तो अभागी तिमी? कति दुर्भाग्य तिमीलाई? हाहाहाहाहुहुहुहु... बिचरा नेपाली मानव । मेरै कारणले लाचार, अशक्त । हातपाउ बाँधिएका, चाहेर पनि केही गर्न नसक्ने तिमी ।

मलाई थाहा छ तिमी मसँग रिसले चुर भएकाछौ । मसँग यस्तो रिस उठ्या छ की तिमीले मलाई भेट्यौ भने ठाउँको ठाउँ ऐया भन्न पाउँदिन मैले, त्यति कडा प्रहार हुनेछ ममाथी । तिमी मलाई मुटुमै हान्नेछौ । ठहरै पार्नेछौ । एक्लै सकेनौ भने साथीभाई बोलाउनेछौ । तिमेरु सबै मिलेर मेरो प्राण हरण गर्नेछौ । सब थाहा छ मलाई । तर बिचरा, के गर्नसक्छौ तिमीले? मलाई तिम्ले कहिल्यै भेट्दैनौ । त्यो दिन कहिल्यै आउनेछैन । कहिल्यै तिमीले मलाई कुट्न सक्दैनौ । तिमीले सक्ने, मात्र एउटा काम हो गाली, सिर्फ एकोहोरो गाली ममाथि । अब त म यति गालिप्रुफ भैसकेकी तिमी जतिनै बकबक गरे पनि तिम्रो गालीले मेरो रौ समेत हल्लाउन सक्नेछैन । बुझ, म त्यति बलियो भेसके । मेरा कान त्यति कडा भैसके सानातिना बिरोधका आवाज तिनको नजिकसम्म पुग्नै सक्दैन ।

तिमीलाई थाहा छ मेरो नाम के हो? ‘बन्द̕ । हो बन्द । किन मेरो नाम बन्द रह्यो? किनकी, बन्द गरेपछि सबथोक खुल्छ भन्ने तिम्रो गलत मान्यताले गर्दा मेरो नाम बन्द राख्यौ तिमीले । बन्द गरेपछि दवाव पुग्छ, स्थिती सहज बन्छ त्यसैले बन्द गर्नुपर्छ भनेर तिमीलाई कसैले पढायो अनि मेरो नाम बन्द राखियो । बन्द गरेपछि ठुलाठुला, शक्तिशाली संघसंस्था, संरचना सबै गल्छन्, अनि सदाका लागि ढल्छन् भन्ने बुझाई तिमीलाई कसैले सुझायो अनि मलाई तिमीले बन्द भन्न थाल्यौ । बन्द गरेपछि कलकारखाना, उद्योगधन्दा बन्द हुन्छन् बर्गीय लडाई समाप्त हुन्छ भनेर उद्योगधन्दा, व्यापार व्यवसाय बन्द गर्न मलाई बोलायौ ।

मैले अहिलेसम्म कसैलाई फाइदा पुर्याएको छु ? तिमीसँग उत्तर छ? हुनसक्छ । तिमीले भनौला, १९ दिन देशबन्द गर्दा २४० बर्ष पुरानो राजतन्त्र ढलेको थियो । केहीमात्रामा तिम्रो यो भनाई सहि छ । तर त्यो भन्दा अरु उदाहरण दिनसक्छौ, बन्दले तिमीलाई फाइदा गरेको? अहँ । किनकी तिमीलाई मैले अहिलेसम्म फाइदा दिएको छैन । मेरो काम भनेकै सबैतीर घाटैघाटा पुर्याएर तिमलाई घाटमा पुर्याउनु हो । तिमी घाटमा पुगेपछि तिम्रो देशको अर्थतन्त्रलाई घाटमा पुर्याउनु हो । हो, मेरो अन्तिम लक्ष तिम्रो देशको अर्थतन्त्रलाई कमजोर बनाएर मृत्युको मुखमा पुर्याउनु नै हो । म प्रगतीको लागि ठुलो बाधक हुँ । प्रगतीका लागि अग्रगमन आवश्यक छ । तर म तिम्रो गतिबिधिमा नियन्त्रण राख्छु । तिमीलाई हलचल गर्न दिन्न । तिमीलाई बाँधेर राख्छु अर्थात काम गर्न सक्ने तिम्रो शक्ति र संयन्त्र दुवैलाई बन्द गर्छु । अनि कसरी हुँ म प्रगतिको साधक?

मलाई थाहा छ तिमी मजदुर हौ । म तिमीलाई कमाएर खान धौधौ परोस् भनेर आउँछु । तिमी बिद्यार्थी हौ, पढेर केही सिकौला र तिम्रो देशलाई फाइदा होला भन्ने डरले बिद्यालय, कलेज बन्द गर्न आउँछु । तिमी गृहणी र आमा हौ, बच्चाले खाने दुध र अन्य ताजा तरकारी फलफुल नपाएर कुपोषणको शिकार होस् तिम्रो सन्तान भनेर आउँछु । तिमी बिरामी छौ भने अस्पताल पुर्याउन नसक्दा तिम्रो मृत्यु होस् भन्ने मेरो चाहना हुन्छ । तिमी जागीरे हौ भने बन्दका दिन अफिस पुग्दा र फर्कदा सकिने तिम्रो क्षमताले अफिसको कार्यदक्षता समाप्त होस् भनेर आउँछु । तिमी यातायात मजदुर हौ, दिनभरी कमाउन नपाएर बेलुका भोकभोकै सुत भनेर म आँउछौ । तिमी व्यांकर हौ, व्यांक बन्द गरेर आर्थिक कारोबार ठप्प पार्दै आर्थिक कृयाकलापलाई प्रभावित पार्न म आउछु । अनि तिमी व्यापारी हौ, व्यापार व्यवसाय बन्द गर्न लाएर तिम्रो ढाड भाँच्न आउँछु । हाहाहाहा... अब त थाहा भयो होला नी तिमीलाई म किन हरेकदिन जसो आउँछु? म तिम्रो दुर्गतीको लागि हरेक दिनजसो आउँछु । सक्छौ मलाई रोक्न?

ज्ञानेन्द्र राजाले तिमीलाई गरिखान दिएनन् मलाई बोलायौ, त्यतिबेला मेरो बिरोध हैन समर्थनमा निस्किए तिम्रा आवाज । सरकारले तेलको भाउ बढायो तिमीले फेरी बोलायौ मलाई । कांग्रेसले टनकपुर बेच्यो मलाई बोलायौ तिमीले । एमालेले महाकाली बेच्यो बोलायौ मलाई । माओबादीले जातजाती र मधेश बेच्यो तिमीले फेरी बोलायौ मलाई । तिमीहरु आफै बोलाउँछौ मलाई अनि आफै कुर्लन्छौ मेरो बिरोधमा । मैले सुनेको छु हिजोआज तिमी सडक, स्कुल, कलेज, कार्यालयको छत, चियापसल, खाजाघरमा हैन, इन्टरनेटमा बसेर ममाथि खनिन्छौ रे । त्यसले मलाई केही फरक पार्नेछैन । किनकी म इन्टरनेट चलाउँदिन । फेसबुक र ट्वीटर चलाउन मलाई आउँदैन । मलाई तिम्रो गाली सुन्ने फुर्सद पनि छैन । तिमी कराइराख, म आफ्नो काम गर्छु ।

हे मानव तिमी छक्क नपर । जबजब तिमी राजनीतिमा आफ्नो स्वार्थ पुरा हुने लक्षण देख्दैनौ मलाई गुहार्छौ । जब तिम्रो अधिकार कसैले हनन गर्यो भन्ने महशुस हुन्छ अनि सबभन्दा पहिला मलाई बोलाउँछौ । तिमीलाई अधिकार चाँहिदा बोलाउने तिमीलाई केही नचाँहीदा गालि गर्ने? खराबी म मा हैन तिमीमा छ । देशमा तिमीले चाहेको जस्तो व्यवस्था भएन भने तिमी मलाई बोलाउँछौ । आफुले चाहेको कानुन बनेन भने मेरो साथ माग्छौ । नयाँ संविधानमा आफ्ना कुरा जसरी पनि परुन र सदाका लागि आफुलाई फाइदै होस् भनेर तिमी मलाई अस्त्र बनाउँछौ । अनि कुनामा पसेर मेरो बिरोध गर्छौ । लाज लाग्दैन तिमीलाई?

म बन्द । नामै मेरो बन्द । म तिमीलाई बन्द गर्न सक्छु । यसको मतलब तिम्रो गतिबिधिलाई नियन्त्रण गर्न सक्छु । तिम्रो मानसिकतालाई कमजोर र नकारात्मक बनाउन सक्छु । तिमीमा भएको क्षमतालाई सही काममा प्रयोग गर्न दिन्न किनकी कामका लागि तिमीले हिड्नैपर्छ । हिड्दा तिम्रो तागत सकिन्छ । तागत नभएपछि के नै गर्न सक्छौ तिमीले मलाई गाली गर्न बाहेक ।

तर हे मानव तिमीले बुझः जुनसुकै दल, जात, भाषा, धर्म, सम्प्रदाय, क्षेत्रको तिमी भएपनि तिमी पहिला नेपाली हौ । मैले तिमीलाई सबभन्दा पहिले नेपाली भनेर चिन्छु । अनिमात्र तिमीभित्रको अरु परियच मेरो चासोको बिषय हुन्छ । तर म अहिले किन दुःखी छु भने तिमी नेपाललाई काक्राजसरी टmुक्रा पारेर नेपाली हैन त्यो भन्दा पहिला आफुलाई जात, भाषा, धर्म, सम्पद्राय वा क्षेत्रको आधारमा चिनाउन खोज्दैछौ । ठिक छ, त्यसरी पनि चिनाउनुपर्छ । तर त्यो भन्दा पहिले तिमी नेपाली हौ । नेपालीमात्र भएर आफुले सोचेजस्तो नहुने देखेपछि अहिले तिमी मेरो शरणमा परेका छौ । हिजोआज हरेक दिनजसो मसँग साक्षात्कार गर्छौ । अघि नै भनिसके मैले तिमीलाई, क्षणिक सहयोग गरेपनि तिमीलाई दिर्घकालसम्म मैले गर्ने सहयोगको परिणाम सुखद हुनेछैन तिम्रा लागि । किनकी म तिम्रो क्षमतामाथि धावा वोल्छु । तिम्रो अर्थतन्त्रमा भाइरस बनेर छिर्ने, सम्पुर्ण अर्थतन्त्र तहसनहस पार्ने नै मेरो लक्ष हो । मेरो यो व्यवहारले एकदिन यस्तो दिन आउनेछ कि तिमी डराएर, झुक्किएर पनि मलाई बोलाउन सक्दैनौ । मेरो नाम सुन्न सक्दैनौ । किनकी, मलाई बोलाउने ठाउँ भएपो बोलाउछौ । मैले तिमीलाई त्यो स्थानमा पुर्याउछु जुन दिन पछुताउन बाहेक केही जान्नेछैनौ ।

जेठ ६ , २०६९, कुमारीपाटी, ललितपुर ।

0 comments:

Popular Posts

Blogger templates

Blogger news

Blogroll

Archive