जनजाती बन्दको पहिलो दिन ३ दर्जन बढी पत्रकार कुटिए । झन्डै त्यति नै संख्यामा मिडियाका सवारीसाधन जलाउने तथा तोडफोडको काम भयो । परिचयपत्र हेरेर तँ बाहुन, तँ क्षेत्री तँ फलाना भन्दै पत्रकारमाथि कुटपिट तथा दुव्र्यवहार भयो । प्रदर्शनकारीको सभ्भावित हमलाको डरबाट उपत्यकाभित्रको एउटा रेडियोलाई जोगाउन प्रहरी खटाउनुपर्यो । जनजातीका एकजना नेताले त खुलेआम कुनै मिडिया हाउसलाई लक्षित गर्दै यदी हाम्रा समाचारहरुलाई वेवास्ता गरियो भने दुई दिनमा टावर ढालिन्छ समेत भने । उनले थप आक्रोसित हुदै एउटा कार्यक्रममा बाहुन पत्रकारको छाता संगठन नेपाल पत्रकार महासंघले प्रतिकार गर्न खोजे उनीहरुलाई पनि छाडिन्न भनेर धम्कि दिए । एकजना पत्रकारलाई ज्यानमार्ने धम्कि दिन पनि जनजाती नेता पछि परेनन् । अज्ञातस्थलको हवाला दिदै एक टेलिभिजनलाई २४ घण्टामा उडाइदिने धम्कि आयो ।

मिडियामाथिको भएका श्रृङखलाबन्द हमला घोर निन्दनीय छन् । यद्यपी मिडियालाई निर्बाधरुपमा चल्न दिने आयोजकको प्रतिबद्धताको बिपरित पनि किन भयो मिडियामाथि श्रृङखलाबद्ध हमला? किन कुटिए पत्रकार? किन जलाइए पत्रकारका नीजि सवारीसाधन? किन खोजीयो पत्रकारको जात? के यो सबै नियोजीत षडयन्त्र थियो? मिडिया समिक्षक तथा सञ्चारकर्मीहरुले त्यो घटनाका कारणहरुमा छलफल नगर्ने र गलत भएको ठाउँमा सुधारको पहल नथाल्ने हो भने यस्ता हमला रोकिदैनन् ।

एउटा यथार्थ के हो भने नेपाली सञ्चारमाध्यमको मुख्य समाचार बिषय राजनीतिक गतिबिधिको वरिपरी घुमेको छ । राजनीतिक गुट, उपगुट तथा उनीहरुको गतिबिधि र नेताको भाषणले मिडियाका अधिकांश पेज तथा समय भरिएको सत्य सबैले स्विकानैैपर्ने वास्तविकता हो । सनसनीपुर्ण प्रस्तुती र असंवेदनशील रिपोर्टिंङका कारण समाजका सबै जात, तह र तप्काका नागरिकले मेरो मिडिया भनेर कुनै पनि मिडिया हाउसलाई स्विकार्न सकेका छैनन् । राजनीति, अपराध र सेक्सको वरिपरी घुमेको मिडिया गतिबिधि व्यापार केन्द्रित छ । समाजमा विद्यमान अरु सवालहरु जस्तै शिक्षा, स्वास्थ्य, मानवअधिकार, महिला, आदीबासी, मधेशी, दलित तथा अन्य पछाडि परेका र पारिएका समुदायका सवालहरुले अति नै न्युन स्थान पाउँछन् मिडियामा । पत्रकार महासंघका सभापति शीव गाउलेले सार्वजनिक समारोहमा भन्ने गरेको वाक्य सापटी लिएर भन्ने होे सबै मिडिया राम्रा हुन खोज्छन् तर बिडम्बना न तिनहिरु राम्रा भए न त हाम्रा नै । हिजोको बन्दका आयोजकहरुको गुनासो पनि त्यस्तै थियो, मिडियाले उनीहरुलाई उचित स्थान दिएन । उनीहरुका सवाल राख्ने ठाउँ नपाएर आक्रोसित भिडको चेतावनीका रुपमा बुझ्न आन्दोलनकारीले आग्रह गरे हिजोका घटनाक्रमलाई आन्दोलनकारीहरुले ।
मिडिया सोसाइटीले स्विकार्नैपर्छ की रिपोर्टिङ तथ्यपरक छैन । अनुमानको भरमा समाचार बनाउने प्रबृत्ति हावी छ खासगरी टेलिभिजन पत्रकारितामा । पछिल्लो उदाहरण जनकपुरबाट काठमाण्डौका लागि उडेको बिमान दुर्घटना सम्बन्धि टेलिभिजनले चलाएको हल्ला नै काफी छ । समाचार र बिचारलाई छुट्याएर प्रस्तुत गरेको सन्तुतिल सामग्रीको अभाव हुन थालेको छ । समाचार पढ्दा पाठकले नै महसुस गर्ने गरी पार्टीगत, जातीय तथा एकपक्षिय समाचारहरु बग्रैल्ती बाहिर आउँछन् हिजोआज । अनि रातदिन खट्दा पनि तलब लगायत आधारभुत सुबिधाबाट बिमुख हुनुपर्दाको पिडाले हुनसक्छ मिहिनेत नगर्ने अल्छि प्रबृत्ति हावी छ पत्रकारहरुमा । राजनीतिक आग्रह र पुर्वाग्रह मिश्रीत व्याख्या स्पष्ट रुपमा देख्न, सुन्न र पढ्न पाइन्छ । न्युजरुमा बसेर टेलिभिजन तथा अनलाइनको समाचारलाई प्रसारण गर्ने प्रबृत्ति यसअघि नै सर्बत्र आलोचित नभएको हैन ।

सञ्चारमाध्यम खासगरी रेडियोको बृद्धिसँगै समाजमा बिस्तारै बढदै गएको मिडियामाथी नागरिकको पहुँच र सामाजिक सञ्जालमार्फत भैरहने खबरदारीले पनि आमसञ्चार गतिबिधि पहिलेभन्दा बढी आलोचित छन् । आलोचना गर्नेहरुलाई मिडियाले गरिरहेका र गर्न सक्ने संभावित गल्तिहरु थाहा हुन थालेको छ । नागरिक समाज मिडियाप्रति चनाखो छ । समाचार जे हो त्यसरी नआउने, आइहाले पनि बंग्याइने, आरोप लगाउने तथा समाजमा भ्रम फैलाउने आसयका मात्र हुने गर्छन् भन्ने आरोप दवाएर बसेको एउटापक्ष यो सब बाहुनबादी पत्रकार र उनीहरुको संकिर्ण सोचले भएको हो भन्ने भ्रम पालेर बसको छ । सायद त्यही भ्रमको परिणाम बन्दको दिन आफ्नै अगाडि पत्रकार देख्दाको आक्रोस हातहालाहालमा बद्लीयो । जुन दुःखद छ ।

हिजोको घटनापछि मिडियाले पनि चनाखो हुनैपर्छ । यदी समाचारकक्ष समावेशी छैन भने कसरी सबैको बनाउने? समाचारहरु सन्तुलित छैनन् भने कसरी सन्तुलन कायम राख्ने भन्ने सवालमा न्युजरुममा छलफल हुनुपर्छ । राजनीति बाहेक अरु पनि सवालछन् जसको प्रस्तुती उति नै महत्वपुर्ण छ भन्ने बुझ्नु जरुरी छ । घटना र बिषयलाई सन्सनीपुर्ण बनाएर गरिने पत्रकारिता द्धन्द्ध संवेदनशील पत्रकारिता हैन । त्यसैले पनि कुनै घटना भइसकेपछिका क्रिया प्रतिक्रिया स्वभाविक हुन् र पनि फेरी यस्ता घटनाहरु हुन नदिनका लागि मिडिया समुदाय सजग र सचेत हुदाँ त्यसको फाइदा सिगो समाज र स्वतन्त्र प्रेसले नै भोग्न पाउँछ । तथापी मिडियामाथि हमला गर्नेहरुलाई कानूनी कार्वाहीको दायरामा ल्याउन सकिएन भने उनीहरुको मात्र हैन अरुको पनि मनोवल बढ्ने हुदाँ मिडिया समुदायबाट गतिलो आन्दोलनको पनि आवश्यक छ ।

0 comments:

Popular Posts

Blogger templates

Blogger news

Blogroll

Archive